नेपाली आधुनिक कविताका खम्बा मानिनुहुने, कतिपयले नेपाली टिएस इलियटका उपाधि दिइएका कवि मोहन कोइराला पञ्चायतकालमा राजा महेन्द्रले यातायात संस्थानको कारिन्दा हुँदा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा भित्र्याए, बहुदलकालमा उनी पुन: प्राज्ञ बने र काँग्रेसी नातामा कुलपति पदमा समेत पुगे । यौटा कविको जीवनको यो यात्रा निःसन्देह रोमाञ्चक र अविश्वसनीय हो ।

मैले मोहन कोइरालासँग २०३६ सालको ऐतिहासिक जनमत सङ्ग्रहको बेला भएको सडक कविता क्रान्तिमा बसउठ गर्ने मौका पाएको हुँ, झण्डै एक महिना । सादा, सरल, विनम्र देखिने र वास्तवमै देखिए अनुसारकै व्यवहार पाइने खालको व्यक्तित्व थियो उनको। बोल्न पनि कम बोल्ने यिनको स्वभाव थियो ।

सडक कविता क्रान्तिमा भाग लिएपछि उनको सहभागितालाई लिएर विवाद पनि उठेको थियो । कतिपय साहित्यकारहरू भन्ने गर्थे, उनी आफ्नो प्राज्ञ पदको निरन्तरता नभएको झोकमा सडक कविता क्रान्तिमा होमिएका हुन् । कारण जे भए पनि उनी सडक कविता क्रान्तिमा सहभागी भएका थिए सकृय रूपमा । उनको सहभागिताले सडक कविता क्रान्तिको उचाइ बढेको थियो । मानिसहरू “ए मोहन कोइराला पनि छन् ?” भनेर आकर्षित हुन्थे ।

झण्डै एक महिना काठमाडौँ, भक्तपुर, ललितपुर र बनेपामा सडक कविता क्रान्ति सम्पन्न भएपछि कविको टोली भानु जयन्तीका लागि चुँदी जाने र त्यहाँ तनहुँमा पनि सडक कविता क्रान्ति गर्दै पोखरासम्म पुग्ने कार्यक्रम बन्यो । यसरी काठमाडौँबाहिर जान कति विद्यार्थी थिए- पढाइले रोक्यो । कति जागिरे थिए-जागिरले रोक्यो । कति पढाइ र जागिर दुवैलाई मतलब नगरी हिँडे, जस्तो म आफैँ । मोहन कोइरालाले भने अन्तिम समयमा जान मन गरेनन् । “कहाँ भवानी घिमिरेको नेतृत्वमा जानु” भन्ने उनको भनाइ थियो रे ! हामी केही कवि लेखक छक्क पर्यौँ । काठमाडौँमा एक महिनासम्म भवानी घिमिरेको नेतृत्व चल्ने, तर एक महिनापछि काठमाडौँ बाहिर उनको नेतृत्व अस्वीकार हुने, यो अलि उदेकलाग्दो कुरा नै थियो । जे होस्, उनी गएनन्, कुरै सकियो ।

काठमाडौँ घट्टेकुलोमा उनको साधारण घर थियो । प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदबाट बाहिर निस्केपछि उनको आयश्रोत थिएन । तर सरल, सोझो रूपरङ र सधैँ दौरा, सुरुवाल, कोट, टोपीमा उनी नयाँ सडकमा साँझपख बसन्तपुरबाट नियमित रूपले फर्किरहँदा म आफ्नो जागिरे समय सकेर न्यूरोड पीपलबोटमा केहीबेर टहलिएर डेरा फर्कदा उनलाई भेट्ने गर्थेँ । क्षेम कुशलका कुरा हुन्थे । बस् त्यत्ती मात्र ।

गोविन्द गिरी प्रेरणा

मोहन कोइराला नबुझिने कविताका पर्याय मानिन्थे । त्यतिबेला नबुझिने कविका रूपमा दुई खम्बा थिए नेपाली कविताको संसारमा- मोहन कोइराला र ईश्वरबल्लभ । बामपन्थी लाइनका साहित्यकारहरू ईश्वरबल्लभको कविता नबुझिने भए पनि बौद्धिक छ, उनी विद्वान छन् भन्ने मत राख्थे भने प्रजातनत्रवादीहरू मोहन कोइरालाको कविताको उचाइ अग्लो छ, उनी नेपाली टिएस इलियट हुन् भनेर व्याख्या विश्लेषण गर्थे ।

२०३६ सालपछि मोहन कोइरालाले केही कथा लेखे । तर कथामा उनी जम्न सकेनन् । उनले नाटक एकाङ्की पनि लेखे । त्यो पनि उपलब्धिमूलक हुन सकेन । यद्यपि ती रचनाहरू प्रकाशित भए फूटकर रूपमा । प्रज्ञा प्रतिष्ठानमा सुरूमा हरेक प्राज्ञले आफ्नो विभागको विषय अनुरूपको प्रवचन दिनु अनिवार्य थियो तीन तीन महिनामा । मोहन कोइरालाले दिएका त्यस्ता प्रवचनको पुस्तक पनि प्रकाशित भयो । त्यस पुस्तकमा उनको काव्य धारणा बुझ्न सकिन्छ । तर मोहन कोइराला भन्नेबित्तिकै उनको “फर्सीको जरा” कविता सम्झन्छन् सबैले । त्यो कविता नै मिथक बन्यो । मोहन कोइरालाको पर्यायवाची भयो । नबुझिने कविताको बिम्ब बन्यो, प्रतीक बन्यो । अहिले पनि मान्छेहरू मोहन कोइराला भन्नेबित्तिकै फर्सीको जरा याद गर्छन्, फर्सीको जरा भन्नेबित्तिकै मोहन कोइराला सम्झिन्छन् ।

डा. ईश्वर बरालको सम्पादनमा “मोहन कोइरालाका कविता” प्रकाशित नहुन्जेल मोहन कोइराला कृतिकार बनेका थिएनन् । यो संग्रह उनको कविता लेखन यात्राको कोसेढुङ्गा सावित भयो । यसको प्रकाशनले मोहन कोइरालाको कवि व्यक्तित्व टड्कारो भयो र सबै विद्वानहरूले बाध्य भएर उनका कवितामाथि चर्चा गर्नुपर्ने अवस्था आयो ।

मोहन कोइरालालाई कविका रूपमा स्थापित गराउने ठूलो श्रेय रूपरेखालाई जान्छ । रूपरेखाले उनका कवितालाई सधैँ उच्च महत्वका साथ स्थान दिएको थियो । लेक, नूनका शिखरहरू जस्ता लामा कविताहरूलाई रूपरेखाले पूरै अङ्कमा प्रकाशित गरेर तथा त्यसको अफ प्रिन्ट किताबसमेत निकालेर मोहन कोइरालाको कवित्वलाई स्थापित गरिदिएको थियो ।

२०३८ सालमा साहित्यिक पत्रकार संघले एउटा आयोजक समिति बनाएर नेपालमै पहिलोचोटि साहित्य सङ्गोष्ठी गरेको थियो । त्यो तीन दिनसम्म पद्मकन्या क्याम्पसमा चलेको थियो । सो सङ्गोष्ठीमा परोक्षरूपले मदन पुरस्कारको आलोचना पनि भएको थियो, कमल दीक्षितकै सामुन्ने । सङ्गोष्ठीको दोश्रो दिनको सत्र चलिरहँदा अचानक हलमा कमल दीक्षित प्रवेश गरेका थिए र दर्शकदीर्घामा गएर उनी बसेका थिए अनि अचानक उनी उठेर बोलेका थिए, “म भर्खर मदन पुरस्कार गुठीको बैठकबाट फर्केको हुँ । गुठीको बैठकले कवि मोहन कोइरालाको “नदी किनारका माझी” कृतिका लागि यस वर्षको मदन पुरस्कार दिने निर्णय गरेको छ ।” त्यसपछि हलमा ताली गुञ्जिएको थियो ।

मोहन कोइराला

मोहन कोइराला दोश्रोपल्ट एकेडेमी जानु अघि २०४४ सालको राजाको हेटौंडा सवारी शिविरमा भएको कवि गोष्ठीमा हामी साथै हुने मौका जुरेको थियो । हेटौंडामा हामी एकदिन बिहान सँगै चिया पिउँदै थियौँ । उनले भने, “तपाईंसँग यौटा सल्लाह गर्नु छ, मेरो कोठामा जाउँ ।”

मैले हुन्छ भनेँ र हामी उनको कोठामा गयौँ । अनि उनले सल्लाह गर्न खोजेको कुरा भने, “गोविन्दजी, हामी सवारी शिविरमा आएका छौँ । यस्तो सवारीको बेला राजालाई बिन्तीपत्र हालेर राम्रो योजना फुत्काउन सकिन्छ । हामी कवि लेखकका लागि लेखकग्राम बनाउने भनेर योजना बनाऊँ । तपाईं त्यसमा लाग्नुस् । अनि बिन्तीपत्र हालौँ ।”

मेरो कल्पनाशील विचारले भोलिपल्टै हेटौंडाको पायक पर्ने ठाउँमा लेखक ग्राम बनाउने र त्यसमा लेखकहरूको लागि आवास पनि व्यवस्था गर्ने गरी योजना बनाएँ । अनि हामी दुवै मिलेर लेखक ग्राममा को को लेखकलाई आवास दिने त्यसको पनि सूची बनायौँ र अर्को दिन हामीले संयुक्त हस्ताक्षर गरेर राजाको सवारी शिविरमा बिन्तीपत्र दर्ता गरायौँ । मोहन कोइराला यो योजनामा आशावादी थिए । म पनि गजबले आशावादी भएँ । तर हामीले यो योजना गोप्य राखेका थियौँ । मोहन कोइरालाको हेटौंडाको दक्षिणपट्टि पदमपोखरीमा केही जग्गा थियो । त्यो उनले राजा महेन्द्रबाट पाएका थिए । त्यसबाट शिक्षा लिएर यसपाली राजा वीरेन्द्रबाट पनि निगाह हुन्छ कि भन्ने उनको आशा थियो ।
तर त्यो आशा आशामै सीमित भयो । बिन्तीपत्रले काम गरेन । तर हामी भने यो प्रकरणले बढी नजिकियौँ ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए ।

२०४६ सालको सफल जनआन्दोलनपछि देशमा व्यापक परिवर्तन देखा पर्यो । साहित्य त्यसबाट अछूतो रहने कुरा थिएन । प्रज्ञाप्रतिष्ठानको हलमै पञ्चायतकालीन प्राज्ञपरिषद् विघटन गर्न तथा ती पदाधिकारीहरूलाई राजीनामा गर्न बाध्य तुल्याउने हेतुले सभा गरियो । त्यसपछि नयराज पन्तबाहेक सबैले राजीनामा गरे र ईश्वर बरालको नेतृत्वमा प्रज्ञाप्रतिष्ठानको पुनर्गठन भयो र मोहन कोइराला काव्य विभागका प्राज्ञ बने । यसरी दोश्रोपल्ट उनी प्रज्ञाको कुर्सीमा पुगे । तर योपल्टको उनको प्राज्ञको कार्यकाल सर्वाधिक विवादास्पद बन्न पुग्यो, उनकै कामले । उनले यौटा कविता सङ्कलन र सम्पादन गरे, “आजका नेपाली कविता” । त्यो सङ्ग्रह प्रकाशनले मोहन कोइरालालाई सर्वाधिक अपजस मात्र दिलाएन नेपाली साहित्यको सबैभन्दा विवादास्पद र विरोध भएको पुस्तकको रूप लियो । डा. केशवप्रसाद उपाध्याय जस्ता सरल विद्वान, कालिप्रसाद रिजाल जस्ता कवि, मैँजस्तो युवासमेतले धुवाँधार विरोधमा लेखहरू लेख्यौँ, प्रकाशित गर्यौँ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईश्वर बरालले “सम्पादकलाई व्यक्तिगत रूपमा मन परेका कविताहरूको सङ्कलन” भनेर भूमिकामै लेखिदिए । यस्तो भूमिका आफ्नै प्रकाशनका लागि यसअघि कहिल्यै कुनै प्रज्ञाको प्रकाशनमा लेखिएको थिएन ।

विरोधका क्रम प्रकाशनको सुरूमा प्रज्ञामै सुरू भएर विरोधमा लेखहरू प्रकाशनमा मात्र पुगेर थामिएन । यो पुस्तक जलाउने हल्ला चल्यो । जुन दिन एकेडेमीको मूलगेटमा पुस्तक जलाउने हल्ला चल्यो, त्यो दिन प्रज्ञाका सारा प्राज्ञहरू दिउँसै भागाभाग गरेर आधा दिनसम्ममा प्रज्ञा प्रतिष्ठान आतङ्कित भएर रित्तिएको थियो । पुस्तक त जलेन, तर यसले ल्याएको आतङ्क भने जलेको भन्दा कम थिएन । यो विवाद र विरोधको केन्द्रबिन्दुमा मोहन कोइराला थिए, उनका खोकिलामा भने केही उग्रकाँग्रेसी कविहरू थिए । यो प्रकरणले उनको प्रतिष्ठाको ठूलो अंश सती गएको थियो ।

२०३६ सालपछिको समयमा उनको प्रतिष्ठाको ग्राफ जसरी माथि उक्लिएको थियो, यो प्रकरणले उनलाई निकै नराम्रो धक्का पर्यो । उनी बिरामी हुँदा राजावादी कवि तथा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य क्षेत्रप्रताप अधिकारीले संसदमा उनको उपचारको लागि रोष्टमबाट आवाज निकालेका थिए । नयाँ सडकमा ट्वाक थाप्दा पनि राम्रै सहयोग जुटेको थियो र हरि अधिकारीले उपचारका लागि दिल्लीसम्म साथ दिन पुगेका थिए ।

पछिल्लो चरणमा मोहन कोइरालाको आर्थिक हैसितमा पनि राम्रो सुधार भएको थियो । उनको भक्तपुर जिल्लामा पर्ने स्थानमा हराइरहेको पुर्ख्यौली जग्गा कवि हरि अधिकारीले भक्तपुरको स्थानीय विकास अधिकारी छँदा खोजेर सघाएका थिए र उनको साधारण घरको ठाउँमा आलिशान भवन बनेको थियो डिल्ली बजारमा ।

पछि काँग्रेस पूर्ण सत्तामा छँदा उनी एकेडेमीको नेतृत्वमा पनि पुगे । उनलाई काँग्रेसीहरूले निर्विकल्प रूपमा प्रस्तुत गरेका थिए । काँग्रेस हुनु र कोइराला हुनुले राम्रै काम गरेको थियो उनलाई त्यो स्थानमा पुर्याउन । तर यो बिडम्बना नै मान्नु पर्छ, पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रले कविको रूपमा एकेडेमीमा प्रवेश गराएका थिए भने उपकुलपति हुन काँग्रेसीको बुइ चड्नु पर्यो । उनको कार्यकाल कुनै नयाँ र उपलब्धिमूलक कामबिना नै सकियो ।

उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् ।

तर मोहन कोइरालाको पुँजी भनेको काव्य सिर्जना नै थियो । उनले त्यो धर्मको पालना भने आजीवन नै गरिरहे । विशेषत: लामा गद्य कविता उनको काव्य सिर्जनशीलताको विशेष पक्ष थियो । उनका लामा कविताहरू नै उनको परिचय हो, पहिचान हो, विशेषता हो । चाहे मदन पुरस्कारप्राप्त “नदी किनारका माझी” होस् या उनको देहावसानपछि प्रकाशित “सिमसारको राजदूत” नै किन नहोस्, त्यो नै मोहन कोइरालाको विशेषता हो, काव्यिक परम्परा हो । उनले त्यो बाटो कहिल्यै त्यागेनन् । नबुझिने कविता भन्दा पनि उनी त्यही बाटोमा हिँडिरहे । नेपाली टिएस ईलियट भन्दा पनि निरन्तर लागिरहे सिर्जनामा । सडक कविता क्रान्तिताका अलिक बुझिने जस्ता कविता लेखे पनि आफ्नो पुरानो परम्पराबाट उनी टाढिएनन् ।

हुन त उनको फर्सीको जराबारे उनले लेखेको रचना गर्भ पढ्दा विद्वानहरूले गरेको व्याख्या र उनको विचारले कहीँ कतै मेल खाएको देखिदैन । काँग्रसी भएर एकेडेमी पस्दा पनि “श्री ५ महाराजाधिराजकी जय जय ! श्री ५ बडामहारानी की जय जय !” कविता प्रकाशित गर्नुले पनि उनको काँग्रेसी चिन्तनसँग मेल खाँदैन । तर उनका सारा अन्य पक्षहरू एकातिर राख्दा पनि उनको काव्य लेखनमा भएको लगाव, निरन्तरता, आफैँले बनाएको निर्दिष्ट बाटोमा हिँडिरहने एकलव्य यात्रालाई कुनै हानी गरेको भने देखिदैन ।

उनी आफैँले निर्माण गरेको आधुनिक काव्य लेखनको टाकुरामा एक्लै थिए । त्यो टाकुरा मोहन कोइराला हुन् । त्यो टाकुरामा ठडिएका पनि मोहन कोइराला नै हुन् ।

बृन्दावन, भारत ।