साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुरुषोत्तम सुवेदीसँगका आरोह-अवरोह

'अवकाश प्राप्त जीवनलाई किन सिर्जनशील नबनाएको ? के लेख्दै हुनुहुन्छ ?' म सोधिरहन्छु । 'लेख्दैछु । आउँदैछ ।' उनको जवाफ हुन्छ । उसै पनि सङ्ख्यामा उनको विश्वास छैन । थोरै भएमात्र गुणात्मकता हुन्छ भन्नेमा उनको विश्वास छ ।

Chovar Blues Mobile Size

पुरुषोत्तम सुवेदीसँगको साहित्यिक सहचार्य न्यूरोड पीपलबोटबाट सुरु भएको हो । अहिले पनि उनीसँगको सहचार्य नयाँ सडककै छेउछाउमै हुन्छ, ठ्याक्कै पीपलबोटमुनि नभए पनि । लामो समय अमेरिकी पुस्तकालय रहेको नयाँ सडकको मोडकै घरबाट दक्षिणतिर लागेपछिको बायाँतिर जहाँ कुनै बेला नम्बर वान टेलर्सको नाम कमाएको नमूना टेलर्स थियो, त्यसको पारिपट्टि, सदाको लागि विश्राम लिएको सन्देशगृहको अन्तिम टुङ्गो छेउको घरको चिया पसलको पिँढीको बेन्चीमा त्यो सरेको छ । जसलाई उनी लगायत त्यो स्थानलाई स्थायी भेटघाट थलो बनाउनेहरु विमल निभा, सीताराम उप्रेती लगायतले फूटपाथ एकेडेमी भनेर स्वघोषणा गरेका छन् । नयाँ सडकको त्यो कथित ‘फूटपाथ एकेडेमी’ को जीवन्तताका लागि पुरुषोत्तम सुवेदीको पनि योगदान छ, नियमित आगमनका हिसाबले ।

वि.सं. २०३६ सालको जनमत सङ्ग्रहपछिको समयमा नयाँ सडक पीपलबोटमुनि हुने नियमित साहित्यिक जमघटले नै उनलाई चिनाएको हो । नजिक बनाएको हो । उनी राष्ट्रिय बिमा संस्थानमा काम गर्थे । कामबाट फर्कदा न्यूरोड पीपलबोट बाटो पार्थे । श्यामल पनि त्यहीँ झुल्कन्थे । कलङ्की छेउ पुग्ने पुरुषोत्तम सुवेदी, सोल्टी होटल छेउछाउको गल्लीमा पुग्ने श्यामल र कुलेश्वर चोक पुग्ने म बीच कालिमाटी चोकसम्म बाटो मिल्थ्यो र हामी साहित्यका विविध विषयमा बात मार्दै निवासतिर लाग्थ्यौँ ।

तर हुन्थ्यो के भने नयाँ सडकको पीपलबोट कटेर जुद्ध शमशेरको सालिक पुग्दा नपुग्दै श्यामलको प्रस्ताव हुन्थ्यो, कतै गल्लीमा एकछिन छिरौँ । त्यो उनको मदिराप्रेमका कारण हुन्थ्यो । कहिलेकाहीँ भने कालिमाटी आइपुगिसकेपछि छुट्टिने बेलामा श्यामल च्याप्प हात समातेर भन्थे, एकैछिन तुच्चा कोठामा उक्लौँ न । खासमा नेवारी खाजाका परिकारका लागि नामी तुच्चा कोठा एकतल्ला भर्याङ उक्लेर जानु पर्थो । त्यतिबेला त्यो नामी थियो ।
पुरुषोत्तमजीलाई मदिरा जति पिए पनि नशाले पटक्कै छुन्नथ्यो । गजब लाग्थ्यो । मदिराको पेगको सङ्ख्याको बढोत्तरीसँगै श्यामलको भाषा र व्याकरणले अनुशासन भङ्ग गर्न थाल्थ्यो । मेरा खुट्टा लुला हुन थाल्थे । तर पुरुषोत्तमजी भने जस्ताको तस्तै । पछि उनका अभिभावकको देहान्तपछि एकवर्ष उनले निष्ठापूर्वक बरखी बारे । त्यो अवधिमा मदिराबाट कोसौँ टाढा रहे । त्यसपछि सम्भवत कहिल्यै छोएनन् । भन्न थाले, मेरो कोटा पुगिसक्यो । अब सदाको लागि विश्राम । तर मदिरापानपछि खाने पान भने छोडेनन्, त्यसलाई निरन्तरता दिए ।

पुरुषोत्तम सुवेदीका साथमा गोविन्द गिरी प्रेरणा

पुरुषोत्तमजी मूलतः कवितामा केन्द्रित थिए । उनका कविताहरु प्रकाशित थिए । उनले त्यसैबिच पुस्तक समीक्षामा पनि हात हाले । त्यो पुस्तक समीक्षाबाट फड्को मारेर पछि समालोचकको हैसियत पनि विकसित गरे । उनले मेरो पहिलो प्रकाशित कविता सङ्ग्रह “स्वप्नकथा जारी छ” को बारेमा मिर्मिरे पत्रिकामा निकै सुन्दर समीक्षा लेखेर प्रकाशित गराएका थिए । पछि नकुल सिलवालले भन्थे, उनी मेरो पहिलो उपन्यास “उत्खनन”बाट निकै प्रभावित भएर त्यसको बारेमा पनि लेख्न जमर्को गर्दै थिए, तर नकुलले नै भनेछन्, हैन, यति धेरै अहिले गोविन्दलाई उचाल्न हुन्न ! फेरि त्यतिन्जेल वा त्यसअघि नै प्रगतिशील विचारले उनलाई गिरफ्तार गरिसकेको थियो, म चाहिँ सदा राजनीतिबाट निरपेक्ष । त्यसपछि भयो के भने, उनबाट कहिल्यै “उत्खनन” को बारेमा केही लेखिएन ।

sagarmani mobile size

पुरुषोत्तम सुवेदीको पहिलो कवितासङ्ग्रह “आतङ्क गन्ध” प्रकाशित भयो । यो सङ्ग्रहका कविता शीर्षकअनुसार नै अर्ध अमूर्त थिए जसको चर्चा र तारिफ सानै सर्कलमै मात्र सीमित भयो । त्यो सानो सर्कलको छेउछाउमा म पनि थिएँ, त्यो बेग्लै कुरा हो ।

त्यसैबिच मैले “समकालिन नेपाली साहित्य” नामको साहित्यिक पत्रिका प्रकाशन गर्ने निधो गरेँ । नाम मैले नामकरण गरेको थिएँ । पत्रिकामा खासै विज्ञापन आउन्नथ्यो । मैले छानिएका आधुनिक कविताको यौटा सङ्कलन पनि होस् भनेर पहिला पत्रिकामा प्रकाशित गर्ने र पछि अफ प्रिण्ट किताब बनाउने योजना गरेको थिएँ । यसैबिच यो कुरा दुवसु क्षेत्रीसँग पनि सेयर गरेँ । उनी पनि सम्पादक रहने गरी हाम्रो संयुक्त सम्पादनमा “समकालीन नेपाली साहित्य” प्रकाशन हुने भयो ।

यो पत्रिकाको कविता विशेषाङ्क “नेपाली कविताको रुपयात्रा” विशेषाङ्कका रुपमा हुने भयो । यो उपमा वा उपशीर्षक वा जे भनौं, त्यो दिने, सुझाउने पुरुषोत्तम सुवेदी थिए । पत्रिका प्रकाशन भयो । पुस्तक पनि प्रकाशन भयो । पुस्तकको नाम नै “समकालीन नेपाली कविताको रुपयात्रा” राखियो, पुरुषोत्तम सुवेदीले सुझाएको नाम । त्यसताक हामी पीपलबोटे कविहरुका रुपमा निकै झ्याम्मिएका थियौँ ।

मैले वि.सं. २०४५ सालमा कुलेश्वरमा किराना दोकान खोलेको थिएँ । अनि साँझ न्यूरोड पीपलबोटमा हाजिरी जनाएर फर्कने क्रममा श्यामल र पुरुषोत्तम पनि कहिलेकाहीँ मेरो साघुरो डेरामा आउँथे र दालमोठको सितनसँग मदिरान गर्थ्यौं । दोकानमा बेच्न ल्याएको मदिरा मेरो लागि नि:शुल्कजस्तो हुन्थ्यो । थोक मूल्यमा ल्याएको कुरा म भुल्थेँ र कहिलेकाहीँ श्रीमतीको आँखा तराई बिच मदिरापान चल्थ्यो । अनि यसै क्रममा पुरुषोत्तम भन्थे, ‘मेरो बुढीले कुखुराको भाले पालेकी छ । अलि छिप्पिएपछि एक साँझ मेरो निवासमा जम्नुपर्छ ।’ तर त्यो भाले कहिल्यै छिप्पिएको थाहा पाइएन ।

नकुल सिलवालले ‘बगर’ पत्रिकामा चालीसको दशककका कविता र चालीसको दशकका कथा दुई बेग्ला बेग्लै विशेषाङ्क प्रकाशित गरे । चालिसको दशकको कथाका बारेमा विश्लेषणयुक्त लामो समालोचनात्मक आलेख पुरुषोत्तम सुवेदीलाई लेखाएका थिए नकुलले । आधुनिक नेपाली कथाको पृष्ठभूमिसहित ४० कथाकारहरुको कथाकारिताको विषयमा उनले आलेख तयार पारेका थिए । त्यसरी उनले छनौट गरेका ४० कथाकारहरुमा म पनि थिएँ । त्यो अङ्क निकै चर्चामा रह्यो । निसन्देह ४० जना बाहेकका कथाकारहरु दुःखी भए, रुष्ट भए । उसै पनि कतिपय लेखकहरु ‘बगर’ र नकुल सिलवाल भन्ने बित्तिकै नाक खुम्च्याउने नभएका हैनन् । तर यो ४० जनाको लिष्टमा ८० प्रतिशतभन्दा बढी नै उपयुक्त पात्र थिए । केही अवश्य, छुटेका वा छुटाइएका थिए ।

त्यसै बिच एकेडेमीबाट नेपाली कविहरुको भव्य कविता सङ्कलन प्रकाशनको तयारी भयो । काव्य विभागमा वैरागी काईंला थिए । उनकै संयोजकत्वमा अभि सुवेदी, दुवसु क्षेत्री लगायतको सम्पादक मण्डल गठन भएको थियो । मेरा कविता सो सङ्कलनका लागि मागियो । पुरुषोत्तम सुवेदीको कविता परेको थिएन । दुवसुसँग मेरो आत्मीय सम्बन्ध भएकोले सो सङ्कलनमा पुरुषोत्तम सुवेदीको कविता पार्नु पर्छ भनेर निकै पहल गरेँ र दुवसुलाई मनाएँ । अवस्था के थियो भने पुरुषोत्तम सुवेदी दुवसुलाई कवि नै मान्दैनथे, दुवसु पनि पुरुषोत्तमलाई कविमा गन्ती गर्दैनथे । दुवसु काँङ्ग्रेसी र पुरुषोत्तम कम्युनिष्ट भएकोले यो अवस्था भएको मैले राम्रै बुझेको थिएँ । जे होस् मेरो जोड बलमा पुरुषोत्तम सुवेदीको एक कविता सो सङ्कलनमा सममावेश भयो दुवसुमार्फत् ।

यता राष्ट्रिय बिमा संस्थानको बिमा पत्रिकालाई वार्षिक साहित्यिक अङ्क प्रकाशन गर्न पुरुषोत्तमले पहल गरे र लगातार २ वर्ष राष्ट्रिय बिमा संस्थानको आधिकारिक मुखपत्र बिमाको साहित्य विशेषाङ्क प्रकाशित भयो । ती दुवै साहित्य अङ्क विशिष्ट थिए । वार्षिकोत्सवमा निम्तो र पारिश्रमिक दुवै उपलब्ध गराएका थिए लेखकहरुलाई । उनले दुवै अङ्कमा मेरा रचना हार्दिकतासाथ मागेर प्रकाशन गरे ।

म सन् १९९२ मा पहिलोपल्ट बेलायत गएँ, आर्थिक जोहो हुन सक्ला कि भन्ने आशा आकांक्षाकासाथ । करिब ६ महिना मेरो लण्डन बसाइको क्रममा केही साथीहरुसँग चिट्ठीपत्र भयो । इमेलको जमाना आइसकेको थिएन । मैले पछि लण्डन भ्रमणको नियात्रा लेखेँ “फेरो” । त्यसमा ललिजन रावल, सुसन मास्के, मेरा परिवारजनका चिट्ठीका साथै पुरुषोत्तमजीले लेखेका चिट्ठी पनि समावेश गरेको थिएँ ।

साझा प्रकाशन नेपाली साहित्यकारहरुको एक प्रकारको केन्द्रमा थियो । त्यस संस्थाबाट पुस्तक प्रकाशित हुनु गौरवको विषय हुन्थ्यो । साझा प्रकाशनमा लेखक कविहरु पनि निर्वाचनको माध्यमबाट सञ्चालक हुने व्यवस्थाअनुसार चुनाव हुन्थ्यो नियमित रुपमा । यद्यपि हरेक वर्ष एक सञ्चालकको म्याद सकिने, सो रिक्त सञ्चालकको पूर्तिका लागि निर्वाचन, वार्षिक साधारण सभा,साझा पुरस्कार वितरण लगायतका काम हरेक वर्ष गर्ने सुन्दर योजना कार्यान्वयन नहुँदा साधारण सभा २,३ वर्षमा हुने र त्यतिन्जेल पुराना सञ्चालक बस्न पाउने र नयाँ सञ्चालकहरु एकसाथ निर्वाचन गरिन थाल्यो । सञ्चालकको चुनावका लागि एक वर्ष पुरुषोत्तम सुवेदी पनि ईच्छुक देखिए । राजव पनि ईच्छुक देखिए । दुवै वामपन्थी खेमाबाट उठेका थिए । उता किशोर पहाडी पनि उठ्ने तयारीमा लागे । उम्मेदवारहरु अरु पनि थिए, सबै आआफ्नै किसिमले लागे । राजव र पुरुषोत्तम साथसाथै चुनाव प्रचारमा लागेका थिए । पुरुषोत्तमजी बेलाबेलामा भेट भएको बेलामा भन्थे, “ तपाईंले भनेको मान्नेहरुकहाँ मलाई लैजानुहोस्, चुनावमा सहयोग गर्नुहोस् !”

म भन्थेँ, “आउनोस् न, म लैजान्छु । म पनि तपाईंसँग गएर मद्दत गर्छु ।“

तर उनी आएनन् । बरु किशोर पहाडीले मोटरसाइकल लिएर आए र भने, “चुनाव प्रचारमा जाऊँ ।“

म गएँ किशोरसँग । केही ठाउँमा हामी सँगै गयौँ । तर पुरुषोत्तम आएनन् र उनीसँग कतै गइएन । किनभने उनी जाऊँ भन्न आएनन् । तर एक साँझ रत्नपार्कको रमझम रेष्टुँरामा राजव र पुरुषोत्तमसँग भेट भो । उनीहरु खाना खान तर्खर गर्दै थिए ।

पुरुषोत्तमले सोधे, “चुनावको बारेमा बजार हल्ला के छ गोविन्दजी ?”

“एक नम्बरमा राजवजी प्रगतिशिलबाट, किशोर पहाडी प्रजातान्त्रिकबा एक नम्बरमा । तपाईंलाई तेश्रो भन्छन् । “ बजारमा जे हल्ला थियो, मैले नढाँटिकन भन्दिएँ ।

पुरुषोत्तमजीको अनुहार निचोरेको कागतीजस्तो भयो ।

चुनाव परिणाम पनि त्यस्तै आयो । उनलाई मैले हराएजस्तो ठानेछन् कि क्या हो, उनी मसँग आगो भए र बोलचालै बन्द भयो । छक्क परेँ म । म पनि साझा प्रकाशनको त्यो सञ्चालक पदमा उठेर हारिसकेको थिएँ । मेरा प्रिय मित्रहरु सबैले इमान्दारीपूर्वक भोट दिएका भए मैले नजित्ने कुरै थिएन । तर त्यहाँ राजनीति घुसिसकेको थियो । केके घुसिसकेको थियो । त्यसैले त मैले हारेको थिएँ । कुमार बहादुर जोशीले हारेका थिए । धेरै राम्रा नाम र प्रतिष्ठा भएका साहित्यकारहरुले हारिसकेका थिए । चुनाव भनेकै त्यस्तै हुँदोरहेछ । पुरुषोत्तमजीसँग जनमतको पुँजी त त्यसै पनि त्यति धेरै थिएन । उनले “ओभर इष्टिमेट” गर्नु बेग्लै कुरा ।

त्यो चुनावको पराजयले पुरुषोत्तमजीलाई साहित्यमा “आत्मघाती खेल” तिर उन्मुख गरायो । आफ्नै कलमलाई पनि उनले इमान्दारीको मार्गबाट विमुख गराए । उनले आफूले नै तारिफ गरेका र महत्त्वपूर्ण भनेका लेखक कविहरुलाई समीक्षाका क्रममा “पत्तासाफ” गर्न थाले नाम उल्लेखसमेत नगरेर । त्योभन्दा पनि आफैंले कुनैबेला महत्त्वपूर्ण स्रष्टाको दर्जा दिएर चर्चा गरेका कथाकारका ती अंशहरुलाई हटाएर पुस्तक प्रकाशन गरे र त्यही पुस्तकलाई साझा पुरस्कार दिइयो । पुस्तक रातारात छापेर उनलाई पुरस्कार दिने प्रपञ्च गरिएको भन्ने आरोपलाई यो प्रकरणले पुष्टि नै गरेको देखियो ।

साहित्यमा कुनै सिर्जनशील स्रष्टाको उपस्थिति नै नकार्नूलाई उचित मान्न सकिन्न । यो एक प्रकारको बौद्धिक अपराध हो । झन् आफैंले कुनै बेला लेखेको रचनाबाटै कुनै लेखकको नाम र चर्चा उखेलेर फाल्नु बौद्धिक अपराध मात्र नभएर आत्मघाती कर्म हो भन्छु म । पुरुषोत्तमले वि.सं. २०५३ सालमा प्रकाशित बगर पत्रिकाको आलोचनात्मक लेख “आधुनिक नेपाली कथामा चालीसको दशक” लाई वि.सं. २०६६ सालमा साझा प्रकाशनबाट प्रकाशित “सङ्क्रमणको साहित्य र समकालीनता” पुस्तकमा सोही शीर्षकमा सोही लेख प्रकाशित गर्दा बगर पत्रिकामा विशेष रुपले “कथा शिल्पि” का रुपमा चर्चा गरेका कथाकारहरु शैलेन्द्र साकार, राजेन्द्र पराजुली, सरुभक्त र मेरो समेत चर्चालाई सर्लक्क हटाएको देख्दा उनैले सोही लेखमा प्रयोग गरेको “वैचारिक वेश्यापन” उनैमाथि लागू भएझैं लाग्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाको सदस्य हुँदा उनी लगायतको सम्पादक मण्डलले प्रज्ञाको ४,५ खण्डमा प्रकाशित कविता सङ्कलनमा मैले मेरो कविता नदेख्दा कुनै बेला मैले दुवसु क्षेत्रीलाई लाख कोसिस गरेर मनाएर पुरुषोत्तमको यौटा कविता एकेडेमीकै सङ्कलनमा राख्नका लागि गरेको कोसिसको झल्झली याद आयो ।

साहित्य र राजनीतिमा वैमनष्यता स्थायी हुँदैन भन्ने सुनिन्छ । कतिसम्म त्यो सत्य हो होइन भन्न सकिन्न । तर कुन्नि कहिलेदेखि हो, पुरुषोत्तमजी र हामी सँगै नयाँ सडकमा चिया पिउन थाल्यौँ । पहिलाजस्तो अनौपचारिक नभए पनि भेटघाटमा हात मिलाउने र औपचारिक गफ गर्ने भयौँ । हरि अधिकारीको छोराको बिहे भोजमा साहित्यकारहरुको एक समूह हामी साथसाथै मदिरापान गर्दै थियौँ । विमल निभा मज्जाले चुरोटको धूवाँ उडाउँदै थिए । मैले दुई पेग उदरस्थ गरिसकेको थिएँ, पुरुषोत्तमको पाखुरामा समातेर सोधेँ, “एकेडेमीको तपाईं सम्पादक भएको कविता सङ्कलनमा मेरो कविता किन अटाएन ? साझाको पुस्तकमा मेरो बारेमा पहिला लेखेको अंश कसरी उड्यो ?” उनले मधूरो अनुहार लाएर भने, “त्यही त कसरी छुटेछ, म छक्क परेको छु !”

उनको कुरा सुनेर म मरिमरि हाँसेँ ।

सन् २०१४ मा अमेरिका भ्रमणको बेला लक्ष्मी जयन्तीको अवसर पारेर डा. वासुदेव त्रिपाठीलाई अभिनन्दन गरिने भयो । अभिनन्दन कार्यक्रमको संयोजक म थिएँ । कवि मित्र वसन्त श्रेष्ठले पुरुषोत्तम सुवेदी पनि नेपालबाट आएका छन्, उनलाई पनि कार्यक्रममा वक्ताको रुपमा सामेल गराउँ भनेर प्रस्ताव गरे । मैले सहर्ष स्वीकारेँ र सम्मानपूर्वक ड्यासमा आसन ग्रहण गराइयो । उनले वक्ता अतिथिका रुपमा बोले ।

पछिपछि पनि अमेरिका उनी आए । उनकी यौटी छोरी र ज्वाइँ अनि नातीनातिना अमेरिकाकै म बस्ने सहर नजिकै बस्ने हुनाले भेटघाटका लागि सपत्नी आउँथे । उनी आउँदा मलाई हँस पत्रिका, ज्ञानोदय पत्रिकाका विशेषाङ्कहरु र पुस्तक उपहार ल्याइदिन्थे । म पढाकु हुँ भन्ने उनलाई थाहा भएरै उनले त्यसो गरेका हुन् ।

हनी अमेरिका हुँदा स्टारबक्स कफी पिउन लैजान्छु म । कहिलेकाहीँ हरि अधिकारी पनि साथमा हुँदा साहित्यिक गफगाफ पनि राम्रै चल्छ । म पुस्तक प्रिय मान्छे, पुस्तक पसलहरुमा लैजान्छु । यौटा बेग्लै प्रकारको आनन्द र सन्तोष हुन्छ ।

म काठमाडौंमा हुँदा “फूटपाथ एकेडेमी” मा भेटघाट र कालो चियाको दौर चल्छ ।

अहिले त उनले जागिरबाट अवकाश लिइसकेका छन् । ‘अवकाश प्राप्त जीवनलाई किन सिर्जनशील नबनाएको ? के लेख्दै हुनुहुन्छ ?’ म सोधिरहन्छु । ‘लेख्दैछु । आउँदैछ ।’ उनको जवाफ हुन्छ । उसै पनि सङ्ख्यामा उनको विश्वास छैन । थोरै भएमात्र गुणात्मकता हुन्छ भन्नेमा उनको विश्वास छ । उनी त्यही विश्वासमा टिकेका छन् ।

लेखक परिचय

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
Loading...