कस्तो होला त्यो ?

दृश्य वा अदृश्य

कुन रङको होला ?

कालो वा रातो

कुन स्वादको होला ?

गुलियो वा नुनिलो

जसलाई पाउनकै लागि

मेरा बाले जिन्दगीभर मरिहत्ते गरिरहे

अन्तिम श्वाससम्म पनि मरिहत्ते गरिरहे !

 

आस न हो, मान्छेको

कहिले दरबारको खम्बा बनेर

कहिले रातो झण्डा शिरमा बाँधेर

कहिले

रातो झण्डामुनि धर्ना बसेर

कहिले सडकमा टायर बालेर

जिन्दगीभर मरिहत्ते गरिरहे मेरा बाले !

 

“के पाउँछौं यो दौडधुपबाट ?”

कसैले प्रश्न तेर्स्याउँथ्यो

“पाउन हैन ल्याउन,”

मेरा बाको पनि उत्तर के कम हुन्थ्यो ?

आस न हो मान्छेको

तर मेरा बा को आस पनि दौडमै सीमित रह्यो

बाले फेरि झण्डा फेर्ने निधो गरे

कालो झण्डा

शायद रातो झण्डाले

मेरा बाको आशालाई सम्बोधन नगरेर होला

फेरि

सडकमा उत्रिए मेरा बा

कालो झण्डाको साथ

बर्षाउन थाले सत्ताका शासकहरूलाई

आक्रोश र निराशाका बम बारुदहरू !

 

आस न मान्छेको

त्यै आशाको त्यान्द्रो पन्छाउने आशमा

मेरा बाले आफ्नो जीवनका स्वर्णिम वर्षहरू

देशलाई समर्पित गरे ।

स्वर्णिम वर्षहरू मात्रै कहाँ हुन् र

त्यै दौडधुपमा

मेरा बाले आफ्नो स्वर्णिम प्रेम गुमाए

मैले मेरो मातृत्व काख गुमाए

जससँगै मेरा बाको स्वर्णिम संसार गुम्यो

कहिल्यै नथाक्ने मेरा बाका खुट्टा

त्यस पछि भने रोकिन थाले

जसरी रोकिन्छ बीच सडकमै पाङ्ग्रा चुँडिएको मोटर गाडी

कहिल्यै नरसाउने मेरा बाका आँखा भने

त्यसपछि रसाउन थाले

तपतप !!

जसरी चुहिन्छ वर्षायाममा घरको छानो

 

कहिल्यै नपग्लिने मेरा बाको मुटु

त्यसपछि भने पग्लिन थाल्यो

जसरी पग्लिन्छ मैनबत्तीको मैन

जसरी पग्लिन्छ सैपाल हिमालको हिउँ‌ ।

 

अहिले बार्दलीको एक कुनामा

एक ह्वीलचिएरमा

एउटा मात्रै खुट्टाको आडमा

आफ्नो प्रेमले दिएको एक स्वर्णिम नासो

मेरो मुख हेरेर मुस्कुराउन सिक्दैछन् मेरा बा

जसरी सिक्छन् बच्चाहरू आफ्नो आमा बुवाबाट तोतेबोली ।

 

आखिर के पाउनको लागि होला मेरा बाले

त्यसरी आफ्नो जीवन नै समर्पित गरेका ?

आखिर के ल्याउन होला मेरा बा कहिल्यै नथाकेर दौडिएका ?

सोध्न मन लाग्छ एकपटक बालाई !

बा !

ओहो अनायासै एकदिन मेरो मुखबाट निस्केछ

“बा तपाईंले यो खुट्टा कहाँ बेचेर आउनु भएको ?”

 

मलाई के थाहा मेरो यो प्रश्नले

मेरा बाको छाती छियाछिया हुन्छ

मेरा बाको अतीत पुनर्ताजगी हुन्छ

मेरो बाको घाउको खाटो फेरि कोटिन्छ भनेर ।

 

पर

क्षितिज पारिको डाँडामा हेरेर मनमनै रुँदैछन् मेरा बा

आँखाबाट अश्रुधारा बग्दैछ मेरा बाको

मौन बसेर दिँदैछन्

मेरो प्रश्नको मौन उत्तर !

‘समृद्धि’

(सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित दोस्रो प्रादेशिक कविता महोत्सवमा दोस्रो हुन सफल कविता)