जब आकाश खुल्छ प्रकृति हाँस्छ
चराहरूको गीतमा नदीको सङ्गीत मिसिन्छ
इन्द्रेणीका सातै रङ्गले जोडिन्छ धर्ती आकाश
बादलका गुम्बजले लोभ्याएर मन
हिमालको चिसो पवनले स्पर्श गर्छ तन
सृजनाको वर्षा गर्न शब्दहरूसँग खेल्छु
म कलमले जोतेर अक्षरहरू लेख्छु

मलाई कुनै असार चाहिँदैन
मनभित्र गुम्सिएका चेपिएका भावनाहरू
सम्याउँदै चेतनाका फाँटहरु
अक्षरहरू मिलाएर रोपिरहन्छु
मेरा आत्मिय शुभचिन्तक अग्रजहरूले
मैले रोपेका अक्षरहरूमा
ज्यादै प्रेमपूर्ण मलजल छरिदिन्छन्
गोडमेल गरी सद्भाव सेचन गरिदिन्छन्
हुर्किन्छन् ती प्रत्येक अक्षरहरू

भवानीप्रसाद अधिकारी

शब्दहरूको फुलबारीमा
रङ्गीविरङ्गी पुष्पहरू फक्रिएपछि
पठाउन चाहन्छु विवेक हराएका बस्तीहरूमा
अक्षरहरूको रोपाईँ चलिरहन्छ
चेतनाको बत्ती बलिरहन्छ
हो, एउटा नौलो चेतना नजागेसम्म
कलमको क्रान्ति जारी रहनेछ
किनकि म बन्दुकको क्रान्तिभन्दा
कलमको क्रान्ति बढी सफल ठान्दछु
त्यसैले
सृजनाको वर्षा गर्न शब्दहरूसँग खेल्छु
कागजरूपी फाँटहरू सम्याउँदै
म कलमले जोतेर अक्षरहरू रोप्छु ।।

गौरीघाट, काठमाडौँ
पेशा–शिक्षण