yogendra

बचाई छापविहीन होस जस्तो लाग्छ,
डुङ्गाले पानीमा पारेको छाप जस्तो
पर पुगेपछि छाप हराओस् जस्तो लाग्छ।
आशक्ति त्यति मात्रै होस् जस्तो लाग्छ,
पैँतालाले बालुवामा पारेको छाप जति,
एकैछिनको बतासले मेटिदिओस् जस्तो लाग्छ।

प्रेम मधुर होस् जस्तो लाग्छ
पूर्वबाट चलेको शीतल बतासजस्तो।
माया हलुका होस् जस्तो लाग्छ,
हावामै तैरेर उड्ने सिमलको फूलजस्तो।
मायामा त्याग र बलिदानी,
मायामा तपस्या र समर्पण,
सब्बै गह्रुङ्गा गह्रुङ्गा कुराजस्तो लाग्छ
यी गह्रुङ्गा गह्रुङ्गा भावनाले थिचेर
मेरो प्रेम बेक्कारमा उकुस-मुकुस हुन्छ जस्तो लाग्छ

प्रेम सकिँदै जान्छ होला जस्तो लाग्छ,
बेला-बेला तौलिई राखियो भने,
मायाले बाँधेर छेउमै राख्न खोजियो भने
बलिदानीको आँसुले नुनिलो बनई राखियो भने
बेला-बेला परीक्षा लिई राखियो भने।
हावामै तैरिने हलुका वस्तुलाई तौलिएर के काम?
स्वच्छन्द फैलनु पर्नेलाई बाँधेर के काम?

गुलियो रसिलो कुरामा नुन हालेर के काम?
जिताउनलाई हार्नेहरूलाई परीक्षाको के काम?

हिँड्दा ठेस लागेजस्तो हुन्छ कहिलेकाहीँ,
दिलको भित्र, कहीँ कतै धेरै-धेरै भित्र
दुखेको पो हो कि जस्तो हुन्छ कहिलेकाहीँ,
कल्पना गरेको भन्दा देखेको दृष्य
फरक परिदिन्छ, नराम्रो परिदिन्छ कहिलेकाहीँ
नराम्रो सबै बिर्सियोस् दिमागले जस्तो लाग्छ
राम्रो मात्रै सम्झियोस् जस्तो लाग्छ
यदि सक्दैन राम्रो र नराम्रो स्मृति छुट्याउन भने
दिमाग बरु स्मृतिका छापविहीन नै बसोस् जस्तो लाग्छ।