दिनेश घिमिरे

ठुला ठुला लजालु आँखाभित्र
गाजले नजरमा मायाँ प्रेम भरेर
तिमीले थाहा नै नपाउने गरेर
तिमीभित्रै आउँछु भनेर भन्थिन्
आज आफ्नै गाजले भाषा बिर्सेर
विच्छिप्त बनाई एक्लै छोडेर गई ।

सलक्क हिमालझैँ मिलेको नाकमा
ताल तलैयाझैँ झुम्के फुली लगाएर
फुरुक्क फुरुक्क बुलाकी हल्लाउँदै
मेलामा सुटुक्क भेटछु है भन्थिन्
आज त्यही मेलामा फुली छोडेर
विच्छिप्त बनाई एक्लै छोडेर गई ।

धपक्क बैँसले भरिएको अनुहारमा
जीवनको ज्योति हातमा बोकेर
आशा अनि खुसी छातीमा लिएर
पारि बारीको गोरेटो बाटो हुँदै
लुसुक्क भेट्न आउँछु है भन्थिन्
आज आशा अनि खुसी बिर्सेर
विच्छिप्त बनाई एक्लै छोडेर गई ।

कालो लामो केशलाई मिलाएर
कोरीबाटी चिट्टिक्क सिउँदो बनाई
तिम्रो नामको सिन्दुर हातमा लिएर
झिसमिसेमा कुखुराको डाँकसँगै
घरबाट भागेको आउँछु है भन्थिन्
आज मेरो नामको सिन्दुर बिर्सेर
विच्छिप्त बनाई एक्लै छोडेर गई ।।