बार बार उनी भन्छिन्
मैले उन्लाई कहिले बुझ्न सकिनँ
मानौँ उनी एउटा महाकाव्य नै हुन्
र म एउटा अनपढ बज्रस्वाँठ मात्र हुँ

फेरि पनि मैले सम्झाउँदै भनेँ –
“दुइटा नानी जन्मिदासम्म त – तिमी
सजिलो वर्णमाला जस्तै थियौ- सबै बुझ्थेँ
तर अहिले चिनियाँ अक्षरजस्तै छौ- प्रिय
तिमी नै भन म कसरी बुझ्न सक्छु”

उनले पनि मलाई भनिन्
“तिमी पनि त त्यसबेला सजिलै थियौ
न गुण देख्थ्यौ न भान्सामा नून देख्थ्यौ
म सँगै हुँदा न पूर्णेको जून देख्थ्यौ”

त्यसबेला हाम्रा आँखाहरू
र ओठका मन्द मुस्कानहरू
चूपचाप केही बोलिरहेका थिए-
“वास्तवमा जिन्दगी र प्रेम – सधैं
सजिलो वर्णमाला जस्तै भैदिए …आहा !”

चैनपुर, संखुवा सभा
हाल: रातोपुल, काठमाडाैं