(लघुकविता)

आगोले खाएका खण्डहरहरूले
खरानीको थुप्रो देखाउँदै भनिरहेका छन्:
“म त समाप्त भएँ… भएँ
अब यो खरानी नै
तिम्रो पहिचान भएको छ।
कमसेकम यो खरानीमा जोडिएको
मर्म र अन्तरआत्मालाई जोगाऊ।”

“देश मरिसकेको छैन,
तिमी जिउँदै हुनुको अर्थ छ भने
अरू थप प्रहारबाट देशलाई जोगाऊ।”

विवश भएपछि
खण्डहर पनि रुँदो रहेछ
खरानी पनि रुँदो रहेछ।

उनीहरू भन्दैछन्:
“त्यहाँ पनि आगो पुग्न सक्छ”
“बुद्धको कुण्डली जोगाऊ”
“हिमालको उचाइ जोगाऊ।”