(लघुकविता)

समुद्र छिचोलेर
हिमालको काखमा रमाउने
एक जोडी प्रेमीको सपना
वास्तवमा धर्तीको नभई
एउटा बेग्लै स्वर्गको गन्तव्य थियो।

नीला आकाश छोएर उभिएका
ती अग्ला–अग्ला चुचुराहरू
मिर्मिरेको त्यो अद्भुत रङ्गमा
साँच्चै देख्नमा सुन्दर देखिएको होला ।

जहाँ बतासको शीतल बेगसँगै
सिङ्गै ब्रह्माण्डमा फैलिएर उडेको होला
तिनीहरूको खुसीको उन्मत्त हाँसोहरू।

मानौँ, तिनै प्रेमीहरूको
प्रेमिल आलिङ्गन र अद्भुत खुसीको
कम्पनले हिउँचुलीबाट
हिउँ खस्दा सायद हिमपहिरो झरेको हुँदाे हाे ।