शहरमा पनि सपना
जीर्ण दलिन जस्तै
मक्किदै धुलिदै जाँदोरैछ
मान्छेको भिडभित्र पनि – मान्छेमा
एकान्तको पीड़ा चुलिदै जाँदोरैछ
जुन पीड़ा चुलिन थालेपछि
सिंगै शहर निदाए पनि
आफ्नो बिस्तरा बिझाउँदै जाँदोरैछ

त्यसबेला त्यो अनिदो रातबाट
मलाई – मेरो विचलित हृदयले
विगतका यादहरूसँग डोर्याउँदै डोर्याउँदै
एउटा सुन्दर गाउँमा पुर्याउँछ
र मायाको पुरानो बिस्तरामा बिसाउँछ

बस ..त्यही पुरानो बिस्तरामा
बिहानीको घाम ओढेर
म तिनै यादहरूसँग निदाउँछु

धेरै दिनदेखि अनिदो छु
शहर – मलाई एकछिन निदाउन देऊ ।

चैनपुर, संखुवासभा
हाल : रातोपुल, काठमाडौँ