हो .. रसिक दाइ
तिमी त्यही गीतको नेपाली ठिटो हौ
जस्ले नमागी मीठो खान जान्यो
नचोरी राम्रो लाउन जान्यो

तिम्रो पौरखको उचाई
कि त हिमाललाई था’छ
कि त पवनको वेगलाई था ‘छ

तिमी आफैँ शालीग्राम हौ
कसैले कसी लाउनु पर्दैन
तिम्रो पसिनाको अभिमान
तिम्रो शिरको स्वाभिमान
न अन्यायमा झुक्न जान्यो
न परिआउँदा लुक्न जान्यो

हो रसिक दाइ…
तिमी सिंगै देशको गीत हौ
देशको माया गाउँदै हिँड्ने
सारङ्गीको मीत हौ

(श्रद्धाञ्जली स्वरुप स्व. गणेश रसिकज्यू प्रति समर्पित )
२०/०२/२०८२

चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ