बेच्नेले तिम्रो तस्बिर
तिम्रो घाउ बेचिरहेछ
तिम्रो सपना, तिम्रो नाउँ बेचिरहेछ ।
तिमी ढलेको माटोदेखि
रगतको टाटो सम्म बेचिरहेछ
उधारो सपनाको बजारमा
तिम्रो सिरानीदेखि खरानीसम्म बेचिरहेछ।
तर म आमा हुँ
अझै पनि मलाई विश्वास छैन
कि सडकमा तिमी नै ढल्यौ भनेर
एकसाथ जलेका धेरै चिताहरूमध्ये
एउटा चितामा तिमी नै जल्यौ भनेर।
तिमी त ढुङ्गाले थिचिएको
त्यो दुबो हौ जो प्रहार सहेर पनि मौलाउन सक्छ
तिमी त हृदयको त्यो बिरुवा हौ
जो हुरी सहेर पनि पलाउन सक्छ।
तिमी नै भन
अझै आउँछौ जस्तो लाग्दालाग्दै
म कसरी विश्वास गरूँ ?
कि त्यो धुवाँ, त्यो खरानी तिम्रै हो भनेर !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ चैत्र २०८२, मंगलवार 










