मलाई था’छ –
उसले मेरै पोल्टाबाट
खोसेर लगेको मकै हो त्यो
त्यै मकै मलाई “पोल्टा थाप्” भन्दै
उस्को झोला र झण्डा “बोक्” भन्छ

मेरो भोक र मजबुरीलाई
मै’माथि प्रयोग गर्न जानेको छ उसले

तर पनि यस पटक
यो भोक- न पोल्टा थाप्न नै तयार छ
न झोला बोक्न नै तयार छ
किनकि – म त्यही मकै
खोसिदा नै भोकाएको मान्छे हुँ
र धेरै पटक जिन्दगीको मोड्मा
तड्पिदै आधा पेटमा बाँचेको मान्छे हुँ

त्यसैले अब – न भोकसँग डर लाग्छ
न भोकै मर्नुसँग डर लाग्छ
तर पनि किन हो – अझै
चौरासीको मासु भातसँग भने डर लाग्छ

किनकि ऊसँग भात छ
मसँग भोक छ ।

चैनपुर, संखुवासभा
हाल : रातोपुल