नून खाने कुखुराहरू
बास्न सक्दैनन् – केवल जसोतसो
झक्राउँदै भए पनि बाँच्न सक्छन्
तर सुन खाने कुखुराहरू
जत्ति कडकिएर बासे पनि
लामो समय बाँच्न सक्दैनन्
बरु था’ पाएको दिन
घरकै मान्छेबाट खेदी खेदी मारिने गर्छन्
किनकि त्यहाँ – कुखुराको गुणको हैन
कुखुराले खाएको सुनको कुरो छ

सुनको गुण भने पनि यही हो
दोष भने पनि यही हो

आफ्नै आवाजमा बिउँझिएको समय पनि
आफैँबाट नियन्त्रण नहुँदा – आजभोलि
कुखुराका भालेहरू
समयसँग डराउन थालेका छन्
किनकि कुखुराको बथानमा
नून खाने कुखुरा र सुन खाने कुखुरा
बिस्तार बिस्तार आफैँ छुट्टिन थालेका छन् ।

चैनपुर, संखुवा सभा
हाल : रातोपुल, काठमाडौँ