कथा शुरु गर्नुअघि एउटा कथा सुनाउँछु है त ।
एउटी सानी बालिका छे । ऊ बच्चैदेखि हवाई जहाज उडाउने सपना देख्छे । जब उसको आधारभूत अध्ययन सकिन्छ, ऊ पाइलट पढ्न चाहन्छे । तर उसकी आमा, छोरी पनि आफूजस्तै वकील बनोस् भन्ने चाहन्छे । ऊ आफ्नी छोरीलाई वकील यस कारणले बनाउन चाहन्छे ताकि भविष्यमा उसलाई कुनै किसिमको आर्थिक समस्या झेल्नु नपरोस् । अन्य पेशामा उसकी आमा भविष्य देख्दिनँ तर छोरी बरु भोकै बस्न तयार छे तर आकाशमा नउडी छाड्दिनँ भन्छे ।
छोरीको हठ देखेर बाबुले उसलाई पाइलट पढाउन राजी हुन्छ तर आमा भने छोरीसँग क्रुद्ध हुन्छे । ऊ यति क्रुद्ध हुन्छे कि छोरीसँग लामो समय कुरा गर्दिन ।
तर छोरी पढाइमा तीक्ष्ण छे । ऊ हरेक किसिमका अवरोध पार गर्छे र अन्ततः हवाई जहाज चालक बनिछाड्छे ।
तर एक दिन कम्पनी घाटामा जान थालेपछि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ । व्यवस्थापन गर्दा ऊ कुरियर जहाज छाडेर अब प्यासेन्जर जहाज उडाउनु पर्ने हुन्छ ।
कम्पनीमा कोही पनि यो महिला पाइलटको पक्षमा छैनन् । महिलाहरु पुरुषसरह खट्न र काम गर्न सक्तैनन् भन्ने धारणाले ग्रस्त छन् । यस्तोमा उसले सानो सानो संघर्ष पनि कठिनाइपूर्वक झेल्नुपर्ने हुन्छ ।
त्यसो त सबै पुरुष पाइलट महिलाविरोधी हुँदैनन् । त्यहाँ पनि यो महिला पाइलटलाई सिकाउन राजी हुन्छ । उसले आफ्नी विद्यार्थीको पक्ष लिँदा अनेक झमेला र अप्ठेराहरु भोग्नुपर्छ तर अन्ततः महिला पाइलटको लगन, मिहिनेत र निरन्तर संघर्षपछि उसले सोचेजस्तो मान सम्मान पाएरै छाड्छे ।
यो कथा हो, ‘फ्लाइट टू यू’ नामक टेलिशृंखलाको । यस शृंखलामार्फत एक साथ दुई तीन वटा सन्देश दिन खोजिएको छ ।
पहिलो, महिलाहरुमा जोश, जाँगर र संघर्ष गर्ने जूनून छ भने उनीहरु कुनै पनि काममा असफल हुँदैनन् भन्ने सन्देश यस शृंखलामा देखाइएको छ । पुरुषहरुले जहिले पनि महिलाहरुको क्षमतामाथि शंका गरिरहन्छन् तर महिलाले त्यसलाई शीरोधार्य गरेर आफू पछि पर्नु वा ती आक्षेप र आरोपलाई स्वीकार गर्नुको साटो आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने सन्देश यसमा दिइएको छ ।
दोस्रो, हरेक कम्पनीमा असल र खराब दुवै किसिमका कर्मचारी हुन्छन् । खराब कर्मचारीले सधैँ अरुलाई अप्ठेरोमा पार्ने गर्छन् तर त्यस्तो अप्ठेरो पार्दा सहयोग गर्ने कर्मचारीहरु पनि उत्तिकै हुन्छन् ।
तेस्रो, संसारका अन्य मुलुकमा जस्तै चीनमा पनि महिला पाइलटको संख्या न्यून छ । यसलाई बढाउन कम्पनीले राम्रो परिवेश तयार पार्नु त पर्छ नै तिनलाई आकर्षित गर्न मिहिनेत पनि उत्तिकै गर्नुपर्छ । कुनै पनि कम्पनीको सुन्दरता भनेको त्यसको विविध रुपरङ, लिंग र भाषाका मानिसहरुको सम्मिलन हुनु पनि हो । एकै खालका मानिसहरुको भिडले कम्पनीको नीतिगत समस्या देखाउँछ, उसको सबलता होइन भन्ने पनि यसमा देखिन्छ ।
चीनले पछिल्लो समय आफैं हवाई जहाज, युद्धपोत, युद्ध विमानजस्ता अनेक विमानहरु बनाउन थालेको छ । ती विमानहरु उडाउन पुरुष पाइलटहरुको त कमी नहोला तर त्यसले मात्र देशको छवि भने राम्रो देखाउँदैन । पुरुषको काँधमा काँध मिलाएर जब महिलाहरु कार्यस्थलमा देखिन्छन्, त्यो दृश्यले त्यो देशले आधा जनसंख्या ओगटेको महिलामाथि कस्तो धारणा राख्छ र त्यहाँको महिलामैत्री वातावरण कति सशक्त छ भन्ने सन्देश पनि दिन्छ । यो शृंखलाले पनि सोही कुरालाई इंगित गर्न खोजेको छ । एउटी महिला पाइलटलाई परिवारबाटै शुरुमा रोकिन्छ । त्यसपछि जब उनीहरु विमान उडाउन थाल्छन्, आफ्नै सहकर्मीहरुले उनीहरुलाई अनेक दुःख, यातना दिएर कार्यस्थलमा अघि बढ्नबाट रोक्छन् । उनीहरुले सहकर्मीहरुका ताडना झेलेर अघि बढे भने पनि कम्पनीका उच्च कर्मचारीहरुको टेढो व्यवहार, असहयोगी प्रवृत्ति र असमझदारीले माथिसम्म प्रगति गर्नबाट व्यवधान उत्पन्न गराउँछन् भन्ने सन्देश पनि विभिन्न तहगत समस्याहरु उजागर गरेको छ ।
जब चीन विश्वको शक्तिशाली मुलुकमा आफूलाई उभ्याइरहेको छ, जब उसले पुरुषबराबर महिलाहरु पनि हुन् भनी स्थापित गराइरहेको छ भने हरेक फाँटमा उसले महिलालाई अघि बढाउन जरुरी हुन जान्छ । यो शृंखलाले सोही उद्देश्य पूरा गर्ने प्रयास गरेको छ ।
यो शृंखलाले महिलालाई कसरी उत्प्रेरित गर्ने भन्ने सिकाउँछ । अप्ठेरालाई महिलाहरुले आफ्नो महत्वाकांक्षा र जस्तोसुकै अवस्थामा हार नमान्ने प्रवृत्ति र सकारात्मक सोचले जित्नुपर्छ भनी प्रेरित गर्छ ।
यो शृंखलालाई तपाईंले नेपालको ‘देवी’ शृंखलासँग दाँज्न सक्नुहुन्छ । देवी नामक एउटी बालिकाले कसरी दुःख गरेर संघर्ष गर्दै अघि बढ्दै जाँदा उसले आफ्नो पढ्ने इच्छा पूरा गर्छे र आफ्नो शिक्षिका हुने सपना पूरा गरेपछि आफूजस्तै पछि परेका महिलाहरुलाई पढ्न उत्प्रेरित गर्दै पूरै समाज नै परिवर्तन गर्छे भन्ने विषय सो शृंखलामा देखाइएको थियो । सो शृंखलाले देश र समाजमा परिवर्तनका लागि कसरी संघर्ष गर्नुपर्छ, अप्ठेरा झेल्नुपर्छ भन्ने उदाहरण पेश गर्दै नेपाली महिलालाई उत्प्रेरित गरेको थियो ।

देवी शृंखलाले नेपालकाे गाउँगाउँका महिलाहरूको चाहनालाई प्वाँख हाल्न सहयोग गरेको थियो भन्नु अत्युक्ति हुने छैन ।

यो शृंखलाले पनि सोही उद्देश्य यहाँ पूरा गर्न खोजेको छ ।
शृंखला बढी सन्देशमूलक पनि हुनु हुँदैन । सन्देश मात्र ठुँस्न खोजियो भने त्यो भद्दा मात्र हुँदैन, कसैले पनि हेर्न रुचि राख्दैन । त्यसैले फ्लाइट टू यू शृंखलाले बीचमा रोमान्स, हाँसो र ठट्टालाई निकै राम्रो उपयोग गरी मूल सन्देश दिन खोजेको छ ।
यस्ता विदेशी शृंखला हेरेर एकातिर हामीले त्यो देशको कथा, समाज र त्यहाँका मूल्य मान्यताहरुबारे जान्न सक्छौं भने त्यसबाट हामी आफैंले पनि केही सिक्न सक्छौं ।
यो शृंखला हेरिसकेपछि जब तपाईं यस्तै रोचक हवाई शृंखलाको खोजी गर्नुहुन्छ, त्यो बेला हलिउडको शृंखला ‘पान एम’ पनि पाउनु हुनेछ । यो चाहिँ थोरबहुत सिनेम्याटिक दृश्यहरु पाउनु हुनेछ तर यहाँ दृश्यहरुलाई हलिउडको चरित्रअनुसार अलि बढी ग्ल्यामराइज गरिएको पाउनु हुनेछ । हेरुञ्जेल भने तपाईंले यसले पक्कै पनि मनोरञ्जन दिलाउने छ ।

सन् २०१२ मा रिलिज भएको यो टेलिशृंखलामा एउटा दृश्य छ ।
एक जना महिलाका दुई छोरी छन् । जेठीले एयरलाइन्समा फ्लाइट एटेन्डेन्टको जागीर खाइरहेकी छ । अर्की छोरी घर छाड्न ठिक्क परिरहेकी छ ।
ती महिलालाई लाग्छ, कान्छी छोरी सानै छे । उसलाई अझै रेखदेख जरूरी छ ।
तर दिदी प्याम एम एयरलाइन्सको जागीरबाट कहिले बैंकक, कहिले अफ्रिका त कहिले पेरिस घुमिरहेको देखेपछि ऊ पनि दिदीझैँ एटेन्डेन्ट हुन चाहन्छे । आमा उसको रूचिमा तगारो बनिरहेकी छ ।
कान्छी छोरी दिदीको उक्साहटमा लागी भनेर आमा दिक्क मानिरहेकी छ । जेठीलाई सम्झाउँदैछे, ‘बहिनीलाई आफूजस्तै आवारा नबना त !’
दिदी भन्छे, ‘सित्तैमा संसार घुम्नु आवारा हुनु होइन । उसको सपना पनि संसार घुम्नु हो, म उसलाई सघाउँछु ।’
आमा भन्छे, ‘ऊ सानै छे । उसलाई मेरो हेरचार चाहिएको छ ।’
जेठीले जवाफ दिन्छे, ‘हेरचाह बैनीलाई हैन, तपाईंलाई चाहिएको छ ।’
यो एउटा दृश्यले पूरा परिवारको कथा व्यक्त गर्छ । बाआमाले सन्तान हुर्किसकेपछि पनि सन्तानलाई सानै देख्छन् ।
तर के साँच्चिकै सानो देख्छन् या भविष्यमा आउँदै गरेको एक्लोपन सम्झेर हुर्किसकेकाहरू पनि नहुर्किऊन् वा हुर्किसकेकामा उनीहरूलाई अत्यास पो लागेको हो कि ?
शृंखलाले अभिभावकले बेहोर्ने ‘इम्प्टी नेस्ट सिन्ड्रोम’को लक्षण एक दृश्यमै बताइदिन्छ ।

आज भने तपाईंले हलिउडले बनाएको फ्ल्यासी शृंखलाभन्दा चिनियाँ शृंखला हेरेर दिन बिताउनोस् । हलिउडको ‘प्यान एम’ शृंखलाले यो चिनियाँ शृंखला जति मज्जा अवश्य पनि दिने छैन ।

https://www.youtube.com/watch?v=3uVX4h5hdT8