गएका दशकमा फाङ फाङले गज्जबका हलिउड फिल्म हेरेर बिताए । उनले जेम्स बोन्ड मन पराए । टम क्रुजलाई रूचाए । फास्ट एन्ड फ्युरियसका समूहलाई हौस्याए । जागिरबाट अवकाश पाएर यतिबेला साङ्घाईमा आरामको जीवन बिताएका उनका लागि हलिउडले भने गएका केही वर्षयता लोभ्याउन छाडेको छ । उनलाई बरू घरेलु चिनियाँ फिल्मले औधि छुन थालेको छ ।
६० वर्षे फाङ भन्छन्, ‘साला हलिउड हिजोआज हावादारी बन्न पुगेको छ । स्पाइडर म्यान र क्याप्टेन अमेरिकाजस्ता फिल्महरू यति सतही छन् कि आइम्याक्स थ्रिडीमा समेत हेर्न मन लाग्न छाडिसक्यो ।’
फाङ मात्र होइन, लाखौँ चिनियाँहरूको यही आवाज हो । र, यता हलिउडका निर्माताहरू चकित छन्- किन हाम्रा फिल्म चिनियाँले रूचाउन छाडे ?
सन् २०२३ को पहिलो ६ महिनामा हलिउडका फिल्महरूले ५९२ मिलियन डलरको व्यापार गरे । सन् २०१९ मा भने १.९ बिलियनको व्यापार थियो । कोभिडपछि ओरालो लागेको हलिउड लागेको लाग्यै छ ।
सन् २०२१ मा चीनको बक्स अफिसमा उत्कृ्ष्ट १० मध्ये जम्मा २ वटा फिल्मले नाउँ राखेको थियो । २०२२ मा एउटा फिल्मले मात्रै नाउँ राखेको छ । सन् २०१४ मा तीन वटा फिल्मले टप टेनमा ठाउँ बनाएका थिए भने २०१८ सम्म आइपुग्दा पाँच वटा फिल्म टप टेनमा थिए ।
चीनमा डिज्ने निर्मित इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी त सुपरफ्लप नै भयो । यो फिल्मले जम्मा ३३ लाख डलर कमायो । यो कमाई त जनसंख्याको हिसाबले सानो मुलुक डेनमार्कमा गरेको कमाइ भन्दा कम हो । यसैगरी एलिमेन्टल नामक एनिमेटेड फिल्मले १ करोड ५६ लाख डलरको व्यापार गर्यो । यो कमाई मेक्सिकोमा गरेको व्यापार बराबर हो ।
गत साता मिसन इम्पोसिबलः डेड रेकनिङ पार्ट वनले चिनियाँ बजारमा इन्ट्री मार्दा चीनभर जम्मा ६६ प्रतिशत अकुपेन्सी थियो । पहिलो दिनको व्यापार २ करोड ५४ लाख डलर मात्र थियो । अघिल्लो मिसनको भन्दा निकै कम व्यापार हो । यस्तो दामी एक्सन फिल्मलाई चिनियाँले रूचाउलान् भनेको, मिसनभन्दा अगाडि स्थानीय दुई वटा फिल्मको व्यापारले उछिनिदिए ।
व्यापारको दर यही रूपमा झर्दै जाने हो भने हलिउड स्टुडियोले चीनलाई बजार मान्ने छैनन् भने फिल्म रिलिजमा रूचि लिन छाड्ने एक कार्यकारीले द वाल स्ट्रिट जर्नललाई बताए ।
गत महिना द लिटल मरमेड रिलिज हुँदा चीनमा यसले उति राम्रो व्यापार गरेन । यसको व्यापार ३७ लाख डलर मात्र थियो । केहीले फिल्म नरूचाउनुमा मरमेडका रूपमा कालो अनुहार चयन गर्नु प्रमुख कारण रहेको सामाजिक सञ्जालमा छलफल गरेका थिए ।
‘अचेल हलिउडले फिल्ममा पोलिटिकल करेक्टनेसमा यति ध्यान दिन थालेको छ कि फिल्म हेर्नै दिक्क लाग्न थालेको छ,’ सांघाई निवासी ४० वर्षे झोउले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मनोरञ्जनका लागि फिल्म हेर्न जाने हौँ, तिनको वाहियात सामाजिक मूल्य हेर्न हैन ।’
चीनमा आफ्नो फिल्मको बजार कम हुन थालेपछि स्टुडियोहरूले प्रचारप्रसार पनि कम गर्न थालेका छन् भने कम प्रचारप्रसारका कारण दर्शकहरू पनि कम हुँदै जान थालेका छन् ।
सन् ९० को दशकमा हलिउडले शुरूशुरूमा फिल्म रिलिज गर्दा चिनियाँहरूसँग थोरबहुत पैसा पनि हुन्थ्यो । उनीहरूलाई पश्चिमा जीवनशैलीप्रति रूचि पनि थियो । त्यही कारण टाइटानिक तथा अवतारजस्ता फिल्म चिनियाँहरूले मज्जाले हेरे ।
व्यापार बढ्नेबित्तिकै हलिउडले चिनियाँ सरकारलाई रिझाउन थाल्यो । दर्शकभन्दा बढी सरकार रिझाउन थालेपछि यसले आफ्नो गति गुमाएको केहीको दाबी छ ।
सन् २०१४ मा ट्रान्सफर्मर रिलिज हुँदा ३०० मिलियन डलर व्यापार गरेको थियो, पछिल्लो ट्रान्सफर्मरले सय मिलियन पनि कमाएन । सन् २०१७ मा द फेट अफ द फ्युरियसले ३४८ मिलियनको व्यापार गरेको थियो भने पछिल्लो एफ नाइनले जम्मा १२० मिलियन व्यापार गर्यो । यस्तै एभेन्जर्सः इन्ड गेम चीनमा ऐतिहासिक व्यापार गर्ने फिल्म बन्यो । यसले ६२९.१ मिलियन डलरको व्यापार गरेको थियो । पछिल्लो फिल्मले भने गार्डियन्स अफ द ग्यालेक्सी भाग ३ ले सय मिलियन पनि कमाएन ।
चीनले नै पछिल्लो समय ब्लकबस्टर फिल्महरू बनाउन थालेको छ । पछिल्लो समय द वान्डरिङ अर्थ २ ले ५०० मिलियन डलरभन्दा बढीको व्यापार गरेको थियो । त्यस्तै लस्ट इन् द स्टार्स फिल्मले ४०० मिलियन डलरको व्यापार गरेको थियो । यस्तै चिनियाँ जनमुक्ति सेनाद्वारा प्रवर्द्धित फिल्म द ब्याटल एट द लेक चाङजिन २ फिल्मले पनि औधि राम्रो व्यापार गरेको थियो । जसमा कोरियाली युद्धताका अमेरिकी सेनालाई चिनियाँ जनसेनाले कसरी धुलो चटायो भन्ने कथा थियो ।
सांघाईका २८ वर्षे जोझ झिपेङ भन्छन्, ‘चिनियाँ फिल्मले अचेल हाम्रा कथा भन्न थालेका छन् । हाम्रा कथा, हाम्राले हाम्रै भाषामा जति राम्रो कसले बनाउला ?’
चिनियाँ प्रशासनले पछिल्लो समय विदेशी फिल्मको कोटा बढाएको छ । वर्षमा जम्मा २५ वटा विदेशी फिल्महरू रिलिज गर्न दिएको चीनले यस पटक आधा वर्षमै त्यो संख्या पूरा भइसकेको छ । दर्शकले अस्वीकार गर्नेबित्तिकै सूचीमा पर्खिरहेका अन्य फिल्महरूको पालो आउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।