“सुस्ता” यहाँ तिमी मात्र सुस्ताएकी छैनौ ?
तिम्रा छेउछाउ, वरिपरि
तिमीलाई घुम्टो हालेर बसेका
प्रत्येक टोलबासी, अनि
पुरै गाँउघर नै सुस्ताएको छ
म र मजस्ता पूरै देशका
आम नागरिक पनि तिम्रा वर्षौंदेखिको दुःख देखेर
तिमी सँगसँगै सुस्ताएका छन्
ती लिपुलेक, कालापानी र लिम्पियाधुराका
पूरै बासिन्दा पनि
आफ्नै जस्तो कथा व्यथा ठानेर
सुस्ताएका छन्
तिमी र कालापानी क्षेत्रका बासिन्दाझैँ
देशभरका चौवन्न स्थानका बासिन्दाहरू पनि
आफ्नो आँगन मिचिएकोमा
अनि गाडिएको पिलर हराएर
त्यसरी नै सुस्ताएका छन्
तिमी मात्र होइन,
हरेक नागरिक गलित छन्, थकित छन्
यहाँ केवल तिम्रो क्षेत्रका
बासिन्दा मात्र सुस्ताएका छैनन्,
ती रङ्गीविरङ्गी वनस्पति, चराचर, जनावर
अनि चट्टान, पहाड, समथल भूमि
ढुङ्गा, माटो, के जीवित, के निर्जीव
सबै पूर्णरुपमा सुस्ताएका छन्
तिम्रै छेउ कलकल बग्ने नदीको बेग हेर
उनी पनि त कति सुस्ताएकी छिन् !
आखिर तिम्रो नाम सुस्ता हुनुमा
तिम्रो के दोष ?
त्यसैले त होला
तिमी हाम्रै हौ भनेर
भन्न नसक्ने
तिम्रो हाम्रो देश त
“निरीह” भएर सुस्ताएको छ ।
धरान, विजयपुर
हालः मालीगाँउ, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










