
कुखुरी काँको बाससँगै
साँहिली, तिमी मझेरीको
काठको भरेङ
टकटक बजाउँदै तल झर्थ्यौ
तिमीले संघारैको ढोकामा लिपेको
गोबर र रातोमाटोको सुगन्धले
म पनि निद्राबाट बिउँझन्थेँ
तिमी पानी लिन पधेंरीतिर लाग्दा
म पनि ओलनको जोहो गर्न कटेरोतिर लाग्थेँ
अगेनामा आगो बाल्दै
तिमी चिया बनाउन लाग्थ्यौ
अनि म त्यही भुङ्ग्रोमा आलु पोल्न
मिठा–मिठा गफ गर्दै
ठुलो आवाजमा चिया सुरुप–सुरुप पारेको
ताततातो आलुको बोक्रा तास्दै खाएको
झलझली याद आउँछ हौ साँहिली
भन त तिमी नढाँटी, भाग्यमानी तिमी कि
माथि आरामले सुतिरहेकी हाम्री बुहारी ?
ढुङ्ग्रोले फु–फु गरेर चुल्होमा
भात पकाउन आगो बाल्दा
तिम्रा पिरा भएका आँखाबाट
आँशु झरेको अनि पुछेको
अनि मैले घ्वार्–घ्वार् पारेर
मदानीले ठेकीमा मोही पार्दा
तिमीले गाएको गीत
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न…,
अनि म पनि मदानीको तालमा रौसिँदै भन्थेँ,
त्यो तारा मातर होइन जुन पनि झारी दिउँला…।
अनि तिमी मुख छोप्दै
खित्का छोडेर हासेकी
झलझली याद आउँछ हौ साँहिली
भन त तिमी नढाँटी, भाग्यमानी तिमी कि
माथि आरामले सुतिरहेकी हाम्री बुहारी ?
दिनभरि बारीमा कुटे कोदालो गरेको
तिमी टाँकी, अनि म बडहरको रुखमा चढेर
गाईबस्तुलाई डालेघाँसको हाँगा काटेको
अनि तिमी चिप्लिएर रुखबाट लडेकी
जाँतो र ओखलमा दाल, गहुँ पिसेको
अनि तिमी र म सँगसँगै
दलानमा जिस्किदै ढिकी कुटेको
आँगनमा बसेर मकैको झुत्ता बनाउँदै
बार्दलीमा झुण्डाएको
मकै, भटमास र पिरो साँधेको गुन्द्रुक खाँदै
मिठा–मिठा गफ गरेको
झलझली याद आउँछ हौ साँहिली
भन त तिमी नढाँटी, भाग्यमानी तिमी कि
माथि आरामले सुतिरहेकी हाम्री बुहारी ?
राजेन्द्र खनाल “क्षितिज”
धरान, विजयपुर
हालः लण्डन, बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

