शनिश्चरबार मैले सबै कालो गगल्सहरू निकालेर सफा गरे, अनि यसो गनेको त सत्र वटा पो रहेछ । विभिन्न ब्रान्डका रेवन, गुची, एभियटर, पोलिस आदि । कोही पोलोराइज्ड, कोही फोल्डिङ् चस्मा, नाइट भिजन, चेन्जेबल, पुरै कालो देखिने आदि आदि । यो कालो गगल्स लगाउने अनि गगल्सहरू जम्मा पार्ने मेरो सोख पनि हो । म प्रायः बाहिर हिँड्दा, कालो गगल्स कहिले छुटाउँदिन, र मेरो घाँटीमा सधैँ बाहिर नै झुण्डिरहने चाँदीको सिक्री र त्यसैमा उनिएको बाह्रमुखे रुद्राक्ष कै ठाउँमा प्रायः गगल्स झुण्डाउने गर्छु । अचेल अधिकांश सबैले कालो गगल्स लगाउने गरेको देखेको छु ।
अझ फोटो खिच्ने बेलामा त फोटो खिच्नेलाई अत्त्याएर नै भन्छन्, ए पख्नुस् त, पख्नुस् । अनि महिला छन् भने ब्यागबाट कालो गगल्स निकालेर चट्ट लाउँछन्, अनि पुरुष छन् भने कोट, वा ज्याकेटबाट कालो गगल्स निकालेर लाउँछन् अनि पोज दिन थाल्छन् । अगि सम्म धपधप बलिरहेका ती आँखालाई कालो गगल्सले ढपक्क ढाकेर पुरै पोत्दा खै के पो राम्रो भयो होला ?
यहाँनेर एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । अस्ति मात्र बत्तिस पुतलीको अनुपम पार्टी प्यालेसमा एउटा आफन्तकै कार्यक्रममा निम्तो पाएर गएको थिए, भित्र हलमा राती एक हुल महिलाहरू फोटो खिच्दै थिए, सबै मेरै नातागोता नै थिए । एकजना साली पर्नेले परैबाट मलाई देखिन् अनि बोलाइन्, र भनिन्, भिनाजु हाम्रो फोटो खिचिदिनू न । अनि मलाई उनले मोबाइल थमाइहालिन् । म फोटो खिच्न के आँटेको थिएँ, सबै कराउन थाले, कोही एकछिन भिनाजु, कोही एकछिन अङ्कल, अनि कोही एकछिन मामा भन्न थाले । अनि सबैले टेबलमा राखेको ब्यागबाट कालो गगल्स निकाले, अनि आँखामा लगाउँदै स्टाइल दिन थाले ।
एकजना नातेदार बुहारीले ल्याउन बिर्सिछन् क्यार, अनि मेरो कोटको माथिल्लो गोजीमा हेर्दै भनिन्, अङ्कल हजुरको गग एकपल्ट दिनू न, मैले कोटको माथिलो गोजीमा राखेको गग दिएँ, खुसी हुँदै लगाइन् र भनिन्, “कस्तो राम्रो रहेछ ।”
मैले पनि भनेँ, “यो राती नै लाउने चस्मा हो, पोलोराइज्ड नाइट भिजन ।”
म फोटाहरू खिच्न व्यस्त भएँ उनीहरू पोज दिइरहेका थिए । तर आँखा चैँ पुरै कालो चस्माले ढाकिएका थिए । मलाई भने त्यो राती त्यसरी कालो चस्मा लगाएर सुन्दर आँखा छोपेको पटक्कै मन परेको थिएन । समूहको फोटो सेसन सकियो, अनि दुई वटी सालीले पोज दिँदै भने, भिनाजु हाम्रो एउटा एउटा सिङ्गल खिचिदिनू न । दुवै सालीहरूको दुई दुई वटा सिङ्गल पनि खिचिदिएँ, अनि आएर टेबलमा बसेर यसो वाइन चुस्की लगाउन थालेँ ।
दुवै सालीहरू म बसेको टेबलमा आए, अनि कालो गगल्स ढल्काउँदै एकजना सालीले भनिन्, “कस्तो देखिएको छ त भिनाजु मलाई ?”
अर्की सालीले थपिन्, “तँलाई त झकास देखिएको छ, कस्तो सुहाएको, कति राम्री देखिएकी ।”
फेरि सालीले भनिन्, “तँलाई सोधेको होइन, किन परपरती बोल्छेस्, मैले त हाम्रो ह्याण्डसम भिनाजुलाई पो सोधेको ।”
परेन आपद्, नराम्रो भनौँ आफ्नै सालीहरू, त्यो पनि भिनाजुले नराम्रो त भन्ने कुरै भएन । फेरी ह्याण्डसम भिनाजु भनेकी छन् । राम्रो भनौँ त्यो झलमल्ल बत्ती बलेको रातीको बेला लगाएको कालो गगल्समा के चैँ राम्रो भन्नू ? मैले उनीहरूको ती सुन्दर आँखा नै देखिरहेको थिइन, आँखाभरि अलकत्रोले पोतेजस्तो लागिरहेको थियो । मलाई भित्रैदेखि अटसमटस भइरहेको थियो । साँच्चै भन्नुपर्दा दुवै सालीहरू पटक्कै राम्रो देखिरहेको थिएनन् । मैले न्याउरो सोरमा राम्रो देखिएको छ मात्र भनेँ ।
अनि छेउमै भएको कुर्सी तान्दै भनेँ, “लौ यहाँ बस ।” दुवै सालीहरू बसे ।
अनि भन्न थालेँ, “हेर सालीश्रीहरू, तिमीहरू दुवै जना प्राकृतिक रूपमै अति राम्रा छौ । दुवै गहुँगोरी छौ, जीउडाल पनि राम्रो छ, धना केशले अझ सौन्दर्य थपेको छ, मोतीझैँ चम्किएका अनारदाना दन्तपङ्क्ति छन्, मुस्कानले तिमीहरूले लगाएको गहनाहरू फिका परेका छन् । यति राम्रा ठुला ठुला मृग नयनहरू छन्, तिमीहरू नबोलीकन बसे पनि आँखाहरू बोलिरहेका छन् । त्यस्ता बोलिरहेका आँखालाई कालो चस्माले ढाकिदिँदा, आफै भन त, के तिमीहरू सुन्दर देखिन्छौ ? ती बोल्न आँटेका आँखाहरू फोटोमा देखिदा पो मान्छे सुन्दर देखिन्छन् । प्रकृतिले दिएका ती सुन्दर जोडी आँखा त वरदान नै हुन नि । म पनि कालो गगल्स लाउँछु, तर यो लाउने भनेको पनि एउटा समय हुन्छ, जस्तै बाहिर हिँड्दा घाममा वा धुलो धुवाँबाट आँखालाई बचाउन । यो राती, यो हल भित्र, बिजुली बत्ती झलमल्ल बलेको ठाउँ चैँ पक्कै पनि उपयुक्त ठाउँ होइन होला यो कालो गगल्स लगाउनलाई । तिमीहरू एकपल्ट यो गगल्स खोल त ।”
दुवैले खोले । अनि मैले भनेँ, “ल हेर, अगिका तिमीहरू र अहिलेका तिमीहरूमा आकाश पाताल फरक भयो। अगि तिमीहरूले कालो गगल्स लगाउँदा, मैले तिमीहरूलाई पढ्न सकेको थिइन, तर अहिले म तिमीहरूलाई बुझ्न सक्छु । ती आँखाहरू झलझल बलेका छन्, आंफै बोलिरहेका छन् । तिमी र म नबोले पनि आँखाको हाउभाउले संवाद आदान प्रदान गर्न सकिन्छ । जब तिमी हास्छौ, तिम्रो मुस्कान र आँखाको गहिरो सम्बन्ध हुन्छ, अनि त्यो हेराई र मुस्कानको मिश्रण नै सुन्दरताको प्रतिविम्व सामुन्ने देखिन्छ । त्यसैले ती वरदान स्वरूप पाएका सुन्दर नयनहरूलाई कालो गगल्सले यो रातको समयमा, अनि यो खचाखच भएको हलमा नढाकिदेऊ।”
दुवै सालीहरू एकछिन मेरा कुरा सुनेर टोलाइरहे । दुवैले आफ्नो कालो गगल्स ब्यागमा थन्काए । अनि भन्न थाले, “होइन भिनाजुलाई वाइन लागेको हो की के हो ? पुरै कवि पो हुन थाल्नु भयो ।” दुवै हासे अनि फेरि भन्न थाले, “हो नि भिनाजु, हजुरको कुरा मन पर्यो, वास्तवमा हजुरको कुरामा दम छ । अबदेखि त हामी राती कहिले यो कालो गग लगाउँदैनौ । सयालमा वा दिउँसो, कोठाभित्र भएका कुनै पनि कार्यक्रममा हामी यो कालो चस्मा लगाउँदैनौ ।”
सालीश्रीहरु पनि मलाई साथ दिँदै वाइन पिउन थाले, अनि यस्तै गफहरू चुस्की लिँदै निरन्तर अगि बढिरह्यो । अब प्रसङ्ग बदलौँ ।
कोही कोही सेलिब्रेटी भनिनेहरू टिभीमा अन्तर्वार्ता दिँदा पनि कालो गगल्स लगाएको देखेको छु । कोही भने रातीको कार्यक्रममा पनि कालो गगल्स लगाएर गमक्क परेर बसेको देखेको छु । वास्तवमा भन्दा यो कालो चस्माले न उहाँको व्यक्तित्व बढाउँछ, न उहाँ राम्रो नै देखिनु हुन्छ । मात्र भ्रम हो, कालो चस्माले तपाईं कुनै पनि हालतमा राम्रो देखिनु चैँ हुन्न है, ल ठोकुवाका साथ मैले भन्दिए, जे पर्ला पर्ला ।
अझ अन्तर्वार्ता दिँदा त आँखाको जुधाइ नै एकर्कामा हुँदैन, अनि कसरी हाउभाउ बुझ्ने ? जब तपाईंको आँखा अर्को व्यक्तिको आँखा सँग जुध्छ तब तपाईंको मन पढ्न सकिन्छ । चस्मा लाउनु नै पर्ने बाध्यता कसैलाई हुनसक्छ, तर जो बाध्यताको समूह भित्र छैनन्, उहाँहरूले नलगाउँदा नै अन्तर्वार्ता लिने र दर्शकगणलाई पनि सजिलो महसुस हुन्छ । नाइट भिजन, पोलोराइज्ड, पारदर्शी चस्मा पनि भरसक नलगाईकन अन्तर्वार्ता दिनु वा कुनै पनि बहसमा भाग लिनु नै उत्तम हुनेछ ।
कसै कसैको आँखाले कविता बोलिरहेको पाउँछु र कति कविता कोरेको पनि छु । सायद अन्य कविहरूलाई पनि यस्तै हुन सक्छ ? आँखा जुधाएर हेर्दा प्रेममा रहेका प्रेमिल जोडीहरू रोमाञ्चित बन्न पुग्छन् । प्रकृतिले दिएको सुन्दरता हेरेर रमाउन सकिन्छ । जब तपाईं आँखा जुधाएर कुरा गर्नुहुन्छ, तपाईंको मनको भाव पढ्न सकिन्छ । तपाईंसँग भएका अन्तर्क्रियाहरू आकर्षक बन्न पुग्छ । एक अर्कालाई राम्रो सँग बुझ्न सकिन्छ ।
मानौँ, तपाईंलाई कुनै महिला वा श्रीमतीले सोध्यो, भन्नुस् त तपाईंलाई मेरो शरीरको अङ्गहरूमा सबैभन्दा राम्रो के लाग्छ ? निश्चय नै तपाईं एकछिन शरीर नियालेर अन्त्यमा अधिकांशले भन्ने आँखा नै हो, चाहे आँखा सानो, ठूलो वा जस्तोसुकै होस । त्यसैले यो मान्छेको मन लोभ्याउने आँखालाई सधैँ चम्किरहन दिनुस् । तपाईंको आँखाको भाव अरूले सजिलै बुझ्न सकुन् । तसर्थ आँखाको सुरक्षा हेतु बिन्ती लाउनु पर्ने ठाउँमा मात्र कालो चस्मा लगाऊ ।
कालो गगल्स वा चस्मा मान्छे किन लाउँछन् त ? वास्तवमा कोठाभित्र, अन्तर्वार्ता दिँदा, वा कुनै पनि अन्तरक्रिया गर्दा कसैले कालो चस्मा लगाउँछ भने ऊ चाहन्छ मन भित्रको भाव अरूले सिधै नबुझोस्, वा तपाईं आफ्नो पीडा लुकाउन चाहनुहन्छ, तपाईंको मनोभाव अरूले थाहा नपाओस् भन्ने चाहनुहुन्छ । तपाईं यो पनि चाहनुहुन्छ, तपाईंको रसाएका आँखा, वा झर्न लागेका आँसु अरूले नदेखुन् । वा यसो पनि हुन सक्छ, तपाईंभित्र केही गलत नियतहरू छन्, जुन तपाईं अरूले थाहा नपाओस् भन्ने चाहनुहुन्छ । तपाईंमा भएको त्यो कुदृष्टि अरूले पढ्न नसकुन् भन्ने चाहनुहुन्छ, अनि तपाईं एक्लै त्यसको भरपुर मजा लिन चाहनुहुन्छ । तपाईं आफ्नो आँखाको बनावट, वा रङ्ग लुकाउन चाहनुहुन्छ ।
वास्तवमा तपाईं आफ्नो पहिचान नै लुकाउँदै हुनुहुन्छ । आँखालाई लुकाएर तपाईं रक्षापङ्क्तिमा उभिन चाहनुहुन्छ । जसले आफ्नो सुन्दर आँखा गुमाएका छन्, उनीहरू बाध्यतामा रहेर आँखामा कालो चस्मा लगाउँदछन् । कतिजना त अझ त्यो कालो चस्मालाई त्यागेर नलगाई प्रस्तुत भएको देखेको छु । उदाहरणार्थ, ग्यालेक्सी टिभीमा यक्ष प्रश्न कार्यक्रमका प्रस्तोता रमेश प्रशाईज्यू । यहाँको बुलन्द आवाज, प्रश्न गराई र बोल्ने क्षमता र अथाह ज्ञानका कारण कसैको पनि दृष्टि वहाँको आँखातिर जाँदैन ।
प्रायः कालो गगल्स लाउनै पर्ने बाध्यता हुन्छ त ? जसले धेरै नै उज्यालो भएको मञ्चमा आफ्नो प्रदर्शन गरिरहेका हुन्छन्, रकस्टारहरू, जसले विभिन्न रङ्गका फ्लास लाइटले बाधा नपुराओस् भन्ने चाहन्छन् । जसको आँखा धेरै उज्यालोमा संवेदनशील हुन्छन्, उनीहरूले कालो गगल्स लगाउँछन् । धेरै महत्त्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएकाहरूले कालो गगल्स प्रायः लाउँछन्, जसले गर्दा उनीहरूको आँखाको हेराइ अरूलाई थाहा हुँदैन अनि राम्रो सुरक्षा दिन सकुन् भनेर ।
स्वाभाविक रूपमा तपाईं दिउँसो भन्दा राती कम देख्नुहुन्छ, यस्तोमा यदि गुणस्तर कम भएका कालो गगल्सले तपाईंको आँखा खराब हुनसक्छ, धमिलो देख्नुहुनेछ । अनि तपाईंलाई नियालिरहनेहरूले सिधै नभने पनि मनमनै चैँ पक्कै भन्नेछन्, के कालो चस्मा लगाएको होला यो राती पनि भनेर । त्यसैले राती गगल्स लाउनै पर्ने बाध्यता छ भने, गुणस्तरयुक्त पोलोराइज्ड र नाइट भिजन पहेँलो वा सुन्तला रङ्गको लाउन सक्नुहुन्छ, तर गुणस्तरहीन सस्ता चस्मा नलगाउनुस्, जसले न तपाईं राम्रो नै देखिनुहुन्छ न त तपाईंको व्यक्तित्व मै निखार आउनेछ ।
बजारमा पाउने कमसल किसिमका कालो गगल्सहरूले तपाईंको आँखा पक्कै पनि दिन प्रतिदिन खराब हुँदै जानेछ । तपाईंलाई लाग्न सक्छ यो मेरो निजी कुरा हो, मैले के गर्दा अरू खुसी हुन्छन् भन्ने सँग सरोकार छैन मलाई, त म के गर्दा खुसी हुन्छु त्यही नै गर्ने हो भन्नुहोला । यो तपाईंको आफ्नो स्वविचार हो, दुई मत छैन ।
मलाई लाग्छ, “कालो गगल्स वा चस्मा लगाएर प्रकृतिले दिएका ती सुन्दर बोलिरहेका झैँ देखिने जोडी आँखाहरूलाई ढपक्कै ढाक्दा कदापि राम्रो देखिँदैनन् काेही पनि ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।