वेदमा भनिएको छ “अतिथि देवो भव:” अर्थात् अतिथि देवता स्वरूप वा समान हुन् । यो भनाई “तैत्तिरीयोपनिषद” मा उल्लेख छ । जसको शृङ्खला कृष्ण आयुर्वेदीय शाखाको उपनिषद्बाट आएको संस्कृत शब्द हो । अतिथिको लक्षणको वर्णन गर्दै “महर्षि सतातपले” भनेका छन्, “जो व्यक्ति कुनै प्रयोजन बिना, नबोलाई, कुनै पनि स्थान वा समयमा कसैको घरमा, सभामा वा बैठकमा उपस्थिति हुन्छन् भने त्यस्ता व्यक्तिहरूलाई “अतिथिरूपी” देवता समान सम्झनु पर्छ । साथै भनिएको छ, त्यसरी टुप्लुक्क आइपुगेका अतिथिलाई गर्ने सेवा, सत्कार र आतिथ्य भन्दा ठुलो कुनै अर्को महान् कार्य छैन”।

अब सन्दर्भ जोडौँ, जब म कुनै पनि सभा, सम्मेलन वा बैठकहरूमा जान्छु, अनि मलाई असजिलो महसुस हुन्छ । किनकि मेरा कर्ण कुहरमा त्यो वाक्य गुन्जिन थाल्छ, जुन सुरुमै त्यहाँ कार्यक्रम सञ्चालक वा उद्घोषक महोदयले केही व्यक्तिहरूलाई मञ्चमा बोलाएर कुर्सीमा आसन ग्रहण गराउनु थाल्नुहुन्छ । कसैलाई आजको यस गरिमामय कार्यक्रमको “प्रमुख अतिथि” भनेर सम्बोधन गर्नुहुन्छ, कसैलाई “विशेष अतिथि”, अनि कसैलाई “अतिथि” ? तपाईंलाई पनि त्यस्तै भएको हुनुपर्छ । मलाई चैँ त्यो शब्द किन हो किन पच्दै पच्दैन । म यो दावाका साथ भन्छु, जति पनि महानुभावहरूले त्यहाँ उपस्थिति जनाउनु भएको छ, ती सबै जना निमन्त्रणा(पत्र पाएर वा सञ्चारका कुनै न कुनै माध्यमबाट जानकारी भएर नै उपस्थिति हुनुभएको थियो । जब कार्यक्रमबारे सबै जानकारी गराएर निमन्त्रणा गरिएको छ भने कसरी “अतिथिको” रूपमा मञ्चमा बोलाएर आसन ग्रहण गराइयो ?

तिथि भनेको पञ्चाङ्ग हो, जसमा तिथि, बार, नक्षत्र, योग र करण हुन्छ । अतिथि भनेको बिना  पञ्चाङ्ग हो । तसर्थ, “अतिथि” त्यस्तो व्यक्तिलाई भनिन्छ, जसलाई निमन्त्रणा (पत्र पठाइएको हुँदैन, तर कार्यक्रम भइरहेको ठाउँमा टुप्लुक्क आइपुग्छन् । प्राचीन समयमा सञ्चारको कुनै माध्यम थिएन ताकी पूर्व सूचना दिएर आफू जाने वा पुग्ने गन्तव्यको जानकारी गराउन । सत्य युग, द्वापर युग, त्रेता युगमा पनि देवता वा राजाहरूले आयोजना गरिएको सभा, सम्मेलनमा कति ऋषिमुनि टुप्लुक्क आइपुग्थे, जसलाई कार्यक्रमको जानकारी हुँदैनथ्यो । यसरी टुप्लुक्क आइपुग्ने व्यक्तिलाई अतिथिको दर्जा दिएर विशेष सम्मानका साथ आतिथ्य गरिन्थ्यो । त्यसैले जसलाई तिथि, मिति, स्थान, वार र कार्यक्रम सबै अग्रिम रूपमा जानकारी गराइएको छ भने त्यस्तो आउने व्यक्ति कदापि अतिथि हुन सक्दैनन् ।

अतिथिका केही पर्यायवाची शब्दहरू मध्ये कुनै भन्न सकिएला, जुन नेपाली भाषामा प्रचलित छन्, जस्तै अभ्यागत, निमन्त्रित, आमन्त्रित, आगन्तुक, पाहुना, गृहगत, आग्रत आदि । हिन्दीमा अतिथि नभनेर “मेहमान” भन्दछन् र अङ्ग्रेजीमा गेस्ट, भिजिटर, स्ट्रेन्जर, लजर आदि । यी शब्दहरूमा मेरो रत्तीभर विमति छैन ।

प्रायः मैले देखेका सबै राजनैतिक भेला, बैठकमा होस, वा साहित्यिक जमघट, वा अन्य सभा, सम्मेलनमा, सबै उद्घोषक महोदयले बडो सानका साथ प्रफुल्लित मुद्रामा अतिथि भन्नुहुन्छ । त्यो भन्न चैँ पटक्कै मिल्दैन । राजनैतिक कार्यक्रममा त ल गल्ती भयो रे, तर साहित्यिक कार्यक्रममा पनि यसरी भन्दा अति भद्दा नै सुनिँदो रहेछ, किनकि त्यहाँ एक से एक धुरन्धर विद्वानहरूकाे उपस्थिति भएको हुन्छ । हेक्का रहे, अतिथिको आउने समयको कहिले पनि निश्चितता हुँदैन । अनि अतिथिको बहुवचन “अतिथिगण” हुन्छ । तसर्थ हामीले यस्ता सभा, सम्मेलनमा बोलाइएका व्यक्तित्वहरूलाई सम्बोधन गर्दा, आज आमन्त्रित वा निमन्त्रित मध्ये विशिष्ट व्यक्तित्व भनेर भन्न सक्छौ वा आजका “प्रमुख अभ्यागत” भन्न सकिएला, तर “अतिथि” भन्न कदापि सुहाउँदैन ।

मैले स्वयं ई आँखाले प्रत्यक्ष देखेको छु, कति साहित्य सम्मेलन वा कार्यक्रममा नेपाली र संस्कृतका धुरन्धर  विद्वानहरूलाई पनि “प्रमुख अतिथि” भनेर मञ्चमा बोलाएर विराजमान गराइन्छ, अनि उहाँहरूले पनि आफूले दिने मन्तव्यमा भन्नुहुन्न की, म “अतिथि” होइन आमन्त्रण वा निमन्त्रणा पाएर नै आएको हु भनेर । उदाहरणार्थ,  २०७९ मङ्सिरको दोस्रो शनिवार एउटा साहित्य कार्यक्रम “लीलाध्वज थापा साहित्य प्रतिष्ठान” ले बालुवाटारमा आयोजना गरेको थियो । जुन कार्यक्रममा एक जना धुरन्धर नेपाली र संस्कृतका विद्वान गुरु तिलक लुइँटेलज्यूलाई “प्रमुख अतिथि” भनेर मञ्चमा विराजमान गराइयो, अनि सम्मानित पनि गरियो । उहाँका धेरै पुस्तकहरू प्रकाशन भएका छन्, साथै चारै वेदका ऋचाहरू पनि नेपालीमा अनुवाद गर्नुभएको छ, र ती पनि प्रकाशित भएका छन् । नेपाली साहित्यमा उहाँको उल्लेखनीय भूमिका छ ।

कार्यक्रमपश्चात् यही जिज्ञासा मन भित्र गुम्सिएकोले थाम्न सकिन र गुरुलाई तेर्साए,  “गुरु, हजुर आज साँच्चै “प्रमुख अतिथि” हो ? हजुर त आयोजक संस्थाले बोलाएर आउनु भयो, अनि कसरी “अतिथि” हुनुभयो ?”

उहाँले मेरो भनाइ छिट्टै बुझ्नुभयो, अनि मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “तपाईँले एकदमै सही भन्दै हुनुहुन्छ । वास्तवमा हामी यहाँ मञ्चमा बस्ने सबै जना कार्यक्रमको सबै जानकारी पाएर आएका हौ, हामी “अतिथि” होइनौँ । त्यसैले हामीलाई “अभ्यागत” वा आमन्त्रित मध्येहरु बाट “विशेष आमन्त्रण” वा “निमन्त्रण” व्यक्ति वा अरू केही भन्दा सही हुन्छ ।”

गुरुको भनाइमा म पनि सहमत भएँ, किनकि मैले यो कुरा धेरै पल्ट धेरै ठाउँमा भने, उद्घोषक गरिरहने साथीहरूलाई पनि भनेँ, तर विडम्बना, अभ्यासरत हुन सकेन । तर त्यस दिनदेखि लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रत्येक महिना गर्ने गरेको स्रष्टा सम्मान र साहित्यिक रचना वाचन कार्यक्रममा, मञ्चमा आसन्न गराउने व्यक्तिहरूलाई अतिथि भन्न भने छोडेको छ । उक्त प्रतिष्ठानलाई धेरै धेरै धन्यवाद सही बाटो ढिलै भए पनि पहिचान गर्नुभएकोमा ।

अब अलिकति “आमन्त्रण” र “निमन्त्रणा” बारे कुरा गरौँ । म नेपालीमा त्यति परिपक्वता हासिल गरेको व्यक्ति त होइन । तर फेरि ई दुई शब्दहरू “आमन्त्रण” र “निमन्त्रणा” मा फरक छुट्टाउनु मन लाग्यो ।

निमन्त्रणस् नियतरुपेण आह्हानं, नियोकरणम् ।

आमन्त्रणस् कामचारेण आह्हनम् आगच्छेत वा न वा ।

यी दुवैलाई अर्थाउँदा, यदि “निमन्त्रणा” शब्द प्रयोग गरेर कसैलाई निमन्त्रणा(पत्र पठाएको छ भने, बोलाइएको व्यक्ति अनिवार्य रूपमा आउनै पर्ने हुन्छ र उक्त कार्यक्रममा गएर उपस्थिति जनाउनु बोलाइएको व्यक्तिको कर्तव्य हो । त्यस्तै यदि “आमन्त्रण” शब्द प्रयोग गरिएको छ भने, यो एक किसिमको जानकारी दिए सरह मात्र हो । जानकारी पाउने व्यक्ति जानु वा नजानु सम्बन्धित व्यक्तिमा निर्भर हुन्छ, जसमा अनिवार्यता हुँदैन । आमन्त्रण अनौपचारिक हो भने, निमन्त्रणा औपचारिक र उपदेशात्मक पनि हो । वास्तवमा भन्ने हो भने यी दुवै शब्दलाई नियालेर कस्तो किसिमको कार्यक्रम हो, सोही अनुसार शब्द चयन गरिनु पर्छ । उदाहरणको लागि यदि निमन्त्रणा लेखिएको छ भने त्यहाँ भोजनको पनि व्यवस्था हुनुपर्छ । जसरी विवाह, जन्मदिन, पार्टी आदिमा माथि सिरानमा नै निमन्त्रणा(पत्र लेखिएको हुन्छ ।

हुन त अचेल “हाई टी” को व्यवस्था गरेर पनि निमन्त्रणा पठाउने गरिएको देखिएको छ । आमन्त्रण भनेको कसैलाई भाषण, मन्तव्य वा भनाइ राख्न मञ्चमा आसन्य व्यक्तिहरूलाई पालैपालो बोल्नको लागि आमन्त्रण गर्नु हो । साथै कुनै कार्यक्रममा भ्याएमा उपस्थिति हुनु भन्ने अभिसार हो । यदि आमन्त्रण नै भनेर पत्रमा लेखिएको छ भने त्यस्तो कार्यक्रम गरिएको ठाउँमा हल्का चिया, बिस्कुटको मात्र व्यवस्था हुन सक्छ, भोजनको हुँदैन । तथापि आयोजक वर्गले बोलाउने बेलामा यी शब्दहरूको ख्याल नगरी प्राय निमन्त्रणा नै लेख्ने गरेको देखेको छु । तसर्थ, ई शब्दहरूलाई (अतिथि, आमन्त्रण, निमन्त्रणा) हामीले बेलैमा सच्चाउनु पर्ने देखिन्छ, नत्र हामी पछिका भावी पुस्ताले पनि यसैलाई निरन्तरता दिनेछन्, जुन महाभूलको भार हामीले बोक्नु पर्ने हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा, तपाईँको घरको ढोकामा टुप्लुक्क कुनै साधु, सन्त, महात्मा, जोगी, मुनी, आफ्ना नाता, साथीभाइ कोही पनि जानकारी नगराई आइपुग्छन् भने ती “अतिथि” भए । वेदमा पनि भनिएको छ, जुन घरमा अतिथिको आफूले सक्ने र क्षमताले भ्याएसम्म सत्कार वा आतिथ्य गरिन्छ र त्यो आतिथ्यलाई सहस्र अतिथिले ग्रहण गर्दछन्, स्वीकार गर्दछन् भने, त्यो घरमा लक्ष्मीको बास र परिवारजनले संवृद्ध प्राप्त गर्दछन् । अनि यही कुरा हामीले गर्ने बैठक, सभा, सम्मेलनमा लागु हुन्छ ।

अन्त्यमा, अब हामीले कुनै पनि सभा, सम्मेलन वा बैठकहरूमा पञ्चाङ्गअनुसार तिथि, मिति, वार, स्थान र कार्यक्रमको विस्तृत जानकारी गराएर बोलाइएका पाहुनागढहरुलाई “अतिथि” नभनौँ । उहाँहरूलाई विशेष सम्मानसहित एकमुष्ट रूपमा सबैभन्दा पहिला उद्घोषक महोदयले हाम्रो निमन्त्रणा यहाँहरूले सहस्र स्वीकार गरेर आज यहाँ उपस्थिति भइदिनु भएकोमा हृदयदेखि नै कोटी कोटी नमन (धन्यवाद) दिँदै सु स्वागत गर्दछु भन्नुपर्‍यो । अनि मञ्चमा आसन गराउनु पर्ने व्यक्तित्वहरूलाई “अभ्यागत” वा आमन्त्रण गरिएका मध्ये “विशेष वा प्रमुख  आमन्त्रित वा निमन्त्रित व्यक्तित्व” भन्न सुरु गर्दा राम्रो हुनेछ ।

साथै डेस्कमा भनाइ, मन्तव्य, वा वाचन गर्न बोलाइने व्यक्तिलाई हार्दिक आमन्त्रण गर्दछु भनेर उद्घोषक महोदयले भन्दा आदर गरेको भाव झल्किने छ । साथै साहित्यिक कार्यक्रममा बोलाइने व्यक्तिको नामको अगाडि “कविवर” वा “कवयित्री” वा उपनाम छ भने त्यो पनि जोडेर सम्बोधन गर्दा वाचन गर्न जाने व्यक्तिमा ऊर्जा, हौसला थपिने छ र कार्यक्रमको गरिमा अझ बढ्दछ । इतिश्री, अस्तु ।