पहिला र अहिलेका “मुना–मदन”
ती मुनाका मदन
ल्हसा जान्छन्
बिरामी हुन्छन्, तङ्ग्रिन्छन्
ल्हसाबाट फर्किंदा
बाटोभरि मुनालाई भेट्ने सपना बुन्दै
प्रशस्त पैसा, गरगहना लिएर फर्कन्छन्
तर अफसोस, मदनको पुर्पुरोमा थिएन
प्यारी मुनाको हँसिलो अनुहार हेर्न
दैवको लीला, मुना मरिसकेकी हुन्छिन्
विचरा मदन भक्कानिएर रुन्छन्
–––
यी मुनाका मदन
खाडी जान्छन्
महिनैपिच्छे दुःख गरेर
प्रचण्ड गर्मीको रापमा पसिना पुछ्दै
मुनालाई पैसा पठाउँछन्
सपना बुन्छन्, स्वदेश फर्केपछि
परिवारसँग हाँसीखुसी जीवन बिताउने
तर दुर्भाग्य
आफू काठको बाकसमा फर्किंदा
मुना अर्कैसँग कुलेलम ठोकिसकेकी हुन्छिन्
–––
फरक यत्ति हो
ती मुना, बिरामी आमा स्याहार्दै
वेदना र पीडाको जीवन, गुजरा चलाउँदै
मदनले पैसा ल्याउँछ अनि
साहुको ऋण तिरौँला
बन्धकी राखेको घर–खेत उकासौँला
आमाको उपचार गरौँला
हरेक रात सोच्दैमा बिताउँछिन्
–––
यी मुना भने, महिनैपिच्छे
मदनले पठाएको पैसामा
प्रत्येक रात रासलीलामा मग्न हुन्छिन्
साहुको ऋण तिर्नु त पर
मदन आई पो हाल्लान् कि भनेर
सबै पैसा गुटमुट्याएर
अर्कैसँग सुइँकुच्चा ठोक्छिन्
विचरा न ती मदनले घर फर्किंदा
आफ्नी मुनाको सादृश्य नै देख्न पाए
न यी मदनले चाहेर पनि
आफ्नी मुनाको कर्तुत नै थाहा पाए
–––
अभागी मदन ती ल्हासा जाने पनि
अनि
अभागी मदन यी खाडी जाने पनि
मुना–मदनमा देवकोटाले त भनेकै थिए
“साग र सिस्नो खाएको वेस आनन्दित मनले ।”
–––
हे खाडी जाने तमाम मदन हो
जे छ आफ्नै गाउँ नै स्वाभिमान ठानौँ
त्यो श्रम आफ्नै देशमा लगाऔँ
दुःख–सुख परिवारमै बाँडीचुँडी
साग र सिस्नोमै रमाऔँ ।
राजेन्द्र खनाल “क्षितिज”
विजयपुर, धरान
हालः बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










