हो साथी तिमीले ठीक भन्यौ
सहरको कोलाहालभन्दा धेरै टाढा
दूर–दराज, विकट गाउँमै बस्छु म
तिमी मलाई गाउँले भन, पाखे भन
झ्याउरे भन, कंगाल भन
निर्धन भन वा दरिद्र भन
जे भन्न मन छ, त्यही भन
तिम्रो भनाइमा मेरो कुनै प्रतिशोध छैन
किनकि, म गाउँले नै हुँ

तिमीले सहरमा खाएजस्तै
पिज्जा, बर्गर, मख्खन ब्रेड र ससेस म नखाउँला
तर म आफ्नै मकै, भटमास अनि गुन्द्रुकमा रमाएको छु
तिमीले खाएजस्तै चिकेन तन्दुरी र फ्राइड राइस नहोला
म मेरै ढिँडो, कोदो–फापरको रोटी
अनि लोकल कुखुरा र भुटेको भातमै दङ्ग छु
हो साथी म गाउँले नै हुँ

तिमी बासी र कुहिएका तरकारी, फलफूलमा बानी पर्दा
म हरिया, ताजा बारीमा लहलह पलाएका फर्सीका मुन्टा
लट्टेको साग र सिस्नोमा नै रमाएको छु
काफल, ऐँसेलु, बडहर र चुत्रोको रसस्वादनमै लठ्ठ छु
तिमी सहरमा दूषित र दुर्गन्धित हावामा टहल्दा
म प्रकृतिको स्वच्छ सररर
बहेको समीरमै प्रफुल्लित छु
ती हरिया फाँट, जंगल, झरना, कलकल खोला
चराचुरुङ्गीका मधुर संगीत
कोइली चरीको को हौ को हौ अनि
काफल पाक्यो काफल पाक्योको सुसेलीमा नै
हर्षित अनि विनोदित भएको छु
हो साथी, म गाउँले नै हुँ

तिम्रो सहरमा छतमा छिमेकीले तिमीलाई देख्दा
तत्क्षण टाउको बटार्छन् होला
यहाँ गाउँमा छतै नभए पनि
आँगन आँगनैबाट
काका नमस्कार, दाइ नमस्कार भन्छन्
मिठो मुस्कानसहित चियाको निम्तो दिन्छन्
यता त पुरै गाउँनै आँखामा होइन, मनमै बसेका छन्
तिमी त्यहाँ प्लास्टिकको पोकाको दुध खान्छौ रे
यहाँ म भर्खर व्याएकी कैली गाईको
तिमी भटभटे र चिल्लो गाडीमा कुदौला
म यहाँ पैदलै उकाली ओराली
भन्ज्याङ, पीपल चौतारीमै रमाउँछु
अनि त स्वस्थ्य, निरोगी छु
न अस्पताल देख्नुपर्छ, न डाक्टर
हो साथी, म गाउँले नै हुँ

तिमी सहरमा लुरुलुरु बाटोमा हिँड्दा
हेलो, हाई, नमस्ते भन्ने कोही नभेटौला
विचरा तिमी, भाग्यमा लिएर आएनछौ नि, कठै !
यहाँ त गोरेटो बाटो हिँड्दा पनि
सिमालीको झ्याङबाट च्याई–च्याई
प्रत्येक घर छिर्ने तगारे प्रवेशद्वारबाटै
नमस्ते काका, नमस्ते दाई भन्नेलाई
नमस्ते गर्न दुवै हात उठाउनै
भ्याई न भ्याई छ मलाई
प्रकृतिको सुन्दर उपहार
स्वर्गसरी मेरो गाउँ, आहा !
तिमीले सोह्रैआना ठीक भन्यौ
हो साथी, म गाउँले नै हुँ ।

राजेन्द्र खनाल ‘क्षितिज‘
विजयपुर, धरान (हालः बेलायत)