भो चाहिँदैन मलाई तिम्रो
म मरेपछि सामाजिक सञ्जालमा पोष्टाएको
भावपूर्ण श्रद्धाञ्जली
मेरो लासको पछि–पछि
मलामीको लस्करमा, तिम्रो उपस्थिति
न त म तिम्रो त्यो
हार्दिक श्रद्धाञ्जली नै पढ्न सक्छु
न त म तिमीलाई
मेरो लासको पछि–पछि
चिन्तित मुद्रामा लुरुलुरु
हिँडेको नै देख्न सक्छु
तिमीले मेरो मृत्युमा दिएको
छोटो समवेदना सन्देश, र रिप लेखेको
शोकाकुल परिवारले पढ्छन् नै होला
तिमीलाई धन्यवाद पनि देलान्
तर, तिमीले दिएको हार्दिक श्रद्धाञ्जली
समवेदना अनि मलामीको ताँतीमा हिँडेको
न त म पढ्न सक्छु
न त तिमीलाई नै देख्न सक्छु
कठै, कस्तो बेलामा तिमीले
म सँगको सामीप्य देखायौ
त्यसैले भो चाहिँदैन मलाई म मरेपछि
तिमीले दिएको हार्दिक श्रद्धाञ्जली ।
… … …

म ज्यूदै हुँदा तिमी
यसो भेट्न आएको भए नि त हुन्थ्यो ?
मिठा–मिठा गफ गर्दै
सुरुप–सुरुप चिया पिएको भए पनि त हुन्थ्यो
त्यही नै मलाई अहिले तिमीले दिएको
श्रद्धाञ्जली भन्दा कति अविस्मरणीय हुने थियो
जिउँदो हुँदा न कहिले भेट्न आयौ
न कहिले हाई, हेलो नै गरेर मिठो बोल्यौ
आज जब म यो संसार छाडेर
अनन्तलोकमा प्रस्थान गर्दैछु
तिमीलाई पनि फुर्सद भएछ नि
मेरो मलामीको एउटा पात्र बन्न
यो दुर्भाग्य तिम्रो हो कि मेरो?
… … …

मेरो लाशमा सयपत्रीको माला ओडाउँदै
साथीभाइ र मेरा नाताहरूसँग
राम्रो मान्छे हुनुहुन्थ्यो
के गर्नु दैवको लीला
छाडेर जानुभयो
यस्तै हो समयको खेल
कोही अगि अनि कोही पछि
भन्न पनि भ्यायौं होला ?
मेरो चीता जलिरहेको हेर्दै
जलाउनेलाई सोध्यौ पनि होला ?
अझै कति समय लाग्छ
अलिक ठोस्नुस् न ?
… … …

बिडम्वना नै भन्नु पर्छ
यहाँ मान्छे राम्रो हुन
मरेर नै जानु पर्दोरहेछ
तिमीले देखाएको यो आत्मियता
जिउँदैमा देख्न पाएको भए
दुई चार वर्ष अझ बढी पो बाँचिन्थ्यो कि ?
त्यसैले तिमी रिसाए पनि भन्न मन लाग्यो
भो चाहिंदैन मलाई
तिमीले म मरेपछि दिएको हार्दिक श्रद्धाञ्जली ।

राजेन्द्र खनाल “क्षितिज”
विजयपुर, धरान
हाल: बेलायत