बेमौसमका केही जंगली फूलहरू
गाउँ पसेदेखि
गाउँका सोझो रामे
अचेल
म्यानेजर रामबहादुर भएको छ
खेतीपाती घाँस दाउरा
गरेर हुर्केको रामे
अचेल ह्विल चियरमा बस्ने भएको छ
गाउँका प्राइमरी पाठशाला पढेको रामे
अचेल पर्यटकहरूसँग
जानी नजानी अंग्रेजी बोलिरहेको हुन्छ
खेतालामा खाजा खाइसकेपछि
मग्न भाँती जाँड पिउने रामे
अचेल
ब्राण्डी र ह्विस्की पिउने भएको छ
कोसौँसम्म पैदल हिँड्दा नथाक्ने रामे
अचेल
मोटर साइकिलबिना हिँड्न सक्दैन
गाउँले भन्छन्
अचेल
धेरै प्रगति गरेको छ रामेले
तर
रामेको प्रगतिमा
उसको मन
खुशी हुनुको सट्टामा
किन आज धेरै दुःखी छ
यो कुरा गाउँलेहरू जान्दैन
विचरा रामे
आज उसको सानो झुप्रोको ठाउँमा
तीन तलाको लज देख्दा
आफ्नो घर र कोठेबारीहरूमा
जंगली फूलहरू उम्रिएको देख्दा
भित्रभित्रै मन जलेर आउँछ उसको
सोझो रामेबाट
म्यानेजर रामबहादुर बन्नमा
उसले आफ्नै स्वाभिमानलाई
बन्धक राखेको कुरा
गाउँलेहरूले बुझ्दैनन्
गाउँका खुल्ला हावामा
रमाई हिँड्ने रामे
कोठाको चार दिवारभित्र
बन्दी भएको कुरा
यो गाउँलेहरूले देख्दैनन्
रामेबाट म्यानेजर रामबहादुर हुँदा
ऊ घडेरीविहीन भएको कुरा
उसले कसैलाई बताउन सक्दैन ।
पत्थरझोडा, डुवर्श



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










