हरियो मुना फक्रिएको देख्दा
मन लोभिएर आउँछ उसको
उत्साह उमङ्ग र
रहरहरू जाग्दछ
मानौं ऊ यत्ति हेर्न बाँचेको छ
देशको भूगोल जान्दैन ऊ
देशको इतिहास बुझ्दैन ऊ
विज्ञानको परिभाषा सुनेको छैन उसले
न त गणितको सूत्रहरू बुझ्दछ
ऊ ठहरियो एउटा श्रमिक
फगत एउटा श्रमिक
चियाबारीमा जन्मी हुर्केको मान्छे
बिहान भालेको डाकमा उठेर
आफ्नो दिनको शुरूवात गर्दछ
घामले डढेको अनुहार
चाउरी परिसकेको उसको गालाहरू
आँखामा न त कुनै सपना छ
न त ओठमा कुनै मुस्कान
लक्ष्यरहित उसको जिन्दगी
दिनहुँ पसिनाले
आफ्नो प्यास बुझाउने गर्दछ
शायद आधा पेट खाएर होला
दुब्लो पातलो भइसकेको
उसको शरीर
यस्तै छ ऊ
चियाको बुटाहरूसँग
दिनभरि गफ गरिबस्छ
पीर मर्काहरू साट्ने गर्छ
आत्मियता साट्छ
मानौँ मान्छेले उसको भाषा बुझ्दैन
उसको पीर मर्का बुझ्दैन
ईश्वरको पूजा गर्न भुलिसकेको छ उसले
शायद आफ्नो दुःख ऊ
कुनै ईश्वरलाई सुनाउन चाहँदैन
आफ्नो नियतिलाई
सहर्ष स्वीकारेको छ उसले
झमझम परिरहेको झरीमा
ओत लाग्ने ठाउँ खोज्दै खोज्दै
चियाबारीभित्र डुलिरहेको हुन्छ ऊ
प्रचण्ड गर्मीको दिन
कुनै ठूलो वृक्षको छायाँमा
शीतल हावा खाँदै
बसिरहेको हुन्छ ऊ
मानौं उसको लागि त्यही स्वर्ग हो
उसको सोचाइमा यही हो जिन्दगी
एउटा चियाको विरूवा हुर्काउन
उसले आफ्नो सपनाहरू बेचिदिन्छ
आफ्नो पसिनाहरू बेचिदिन्छ
अनि हाँसी हाँसी अँगाली दिन्छ पीडाहरूलाई
कति विशाल हृदय उसको
कति फरक विचार
तर विचरा ऊ ठहरियो एउटा श्रमिक
फगत एउटा श्रमिक
जिन्दगीको हरेक समस्या
उसको झोलीमा परेको छ
कुनै चाडपर्व जान्दैन ऊ
कुनै परम्परा मान्दैन ऊ
उसले समर्पित गरिदिएको छ
आफ्नो जिन्दगी
चियाबारीको निम्ति
रोप्छ गोड्छ अनि हुर्काउँछ
एउटा चियाको बुट्टालाई
जब त्यसको हरियो मुना फक्रिन लाग्छ
उसको खुशीको सीमा रहँदैन
तर विवश लाचार ऊ
निर्दयी बनेर
आफ्नै हातले चुँडिदिन्छ त्यो मुना
कुनै पूँजीपतिको खल्ती भरिदिनलाई
आखिर ऊ ठहरियो एउटा श्रमिक
फगत एउटा श्रमिक ।
पत्थरझोडा, डुवर्श
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।