वीरबल र अकबरका सुनकेस्री मैयाँको कथा सुनेर बितेको हाम्रो बाल्यकाल ! भुत र किचकन्याको डरलाग्दा कथा सुनेर हुर्किएको हाम्रो अल्लारेपन ! महाभारत र रामायणको लयमा विकसित भएको हाम्रो सोच आजपर्यन्त हाम्रो पिछा गरिरहेछ । र पनि लेखक वर्ग किन पाठक र स्रोताको दिमागमा कथा र उपन्यासका पात्रहरू जीवन्त भएर बस्न सक्छन् भनेर बिर्सदै छौँ ? किन पाठकको मन राम्रो र नराम्रो छुट्याउन सक्षम छ भन्ने कुरा मान्न तयार छैनौँ ? के हामीले सुनेका र पढेका कुराहरू सबै हाम्रा मानसपटलमा सधैँ सधैँ रहिरहन्छन् त ? के हाम्रो लेखनी लेखकहरूका लागि मात्रै हो र ?

जब जब साहित्यिक लेखनीहरू विवादमा आउछन् तब तब मेरा मनमा यस्ता प्रश्नहरूको ओइरो लाग्छ । लेखक वा आयोजक र प्रायोजकहरू विज्ञता नभएका मानिसहरूले विरोध गरे भनेर स्पष्टीकरण दिनबाट पन्छिन्छन् तर मेरो पाठक मन असाध्यै खलबलिन्छ । देशभर तीन हजारको हाराहारीमा लेखक होलान् । लेखक तथा कलम चलाउनेहरूले मात्रै अध्ययन गर्ने हो भने “बेष्ट सेलर बुक” को रवाफ दिनु हाँस्यास्पद होइन र ? अझै पनि हाम्रो देशमा एउटै पुस्तक बाँढेर या माँगेर धेरै जनाले पढ्ने चलन छ । पढ्ने जति सबैले पुस्तक किन्दैनन् भन्ने कुरा किन स्वीकारिँदैन ?

सर्पले सर्पको खुट्टा देख्छ भनिरहने अनि लेखक स्वयं चैँ झुट बोलिरहने ! केही लेखक र प्रकाशन गृहलाई छोडिदिने हो भने “बेष्ट सेलर” र रोयाल्टीका कुरा फिका लाग्छन् । पाँच सयभन्दा बढी प्रति नछाप्ने प्रकाशन गृहबाट निस्केको किताब “बेष्ट सेलर” कसरी बन्छ ? ऋणको सावाँ होइन ब्याज पनि तिर्न नसक्ने प्रकाशकले रोयल्टी कसरी दिन्छ ? तर पनि हामीले गर्वका साथ भनिरहेका छौँ, रोयल्टी बुझिरहेको कुरो र आफ्नो पुस्तक “बेष्ट सेलर” मा परेको कुरा । पत्याउने र सुनिरहने हामी पनि उस्तै हौँ । कसैको आत्मारतिलाई भत्कन नदिन हामीले लिएको मौनता मजाक त बन्दै छैन ? यसैले आज बोल्न र लेख्न खोजेँ । यहाँभन्दा बढी सहनु म जस्ता पाठक भद्दा मजाक बन्नु हो ।

गीता रेग्मी

मेरो मनमा जरो गाडेर बसेका पात्रहरू पारिजातको उपन्यास शिरीषको फूलकी “साकम्बरी “ , डायमण्ड समसेर राणाको प्रतिबद्ध उपन्यासको “महात्मा” जस्ता कालजयी पात्रहरू हुन । यी पुस्तक सुन्दा र पढ्दा म नौ कक्षामा मात्रै पढ्थेँ । त्यतिबेला मैले पाठ्यपुस्तकभित्र राखेर धेरै साहित्यिक किताब पढेँ । सबै पात्र (विपिको बाबु, आमा र छोराकी महिला, दोषी चश्माको पात्र केशवराज, सुधिर थापाको उपन्यासको बनेपा धुलिखेलको नागबेली बाटो) मेरो दिमागबाट घुर्मैलो हुँदै गए पनि ती दुई पात्र किन मसँगै जोडिरहे ? किनभने मेरो बाल मास्तिष्कमा भय भर्न ती सफल भए । त्यस्ता पात्र र सन्दर्भहरू आज पजि समाजमा देख्न र सुन्न पाइन्छ ।

आजकल समय फेरिएको छ । लेखकहरू नजिकै छन् । ठूला ठूला पुरस्कार पाउनेहरू पुरस्कार नपाउनेलाई मान्छे नै गन्दैनन् । काठमाडौँबाहिर गएको बेला एउटा पाठक र साहित्यिक कार्यक्रमको आयोजकको हैसियतले मैले कुनै साहित्यकारलाई, म आउँदै छु भेटौँ है भनेको थिए । उहाँले हुन्छ भने पनि मैले पुगेपछि फोन गर्दा फोन उठेन । साहित्यकारहरूको भेटघाटमा उहाँलाई पनि बोलाउनु न भनेको … पुरस्कारको छनोटमा नाम परेदेखि खै किन हामीले बोलाएको ठाउँमा नआएको जानकारी पाँए । यसले पुरस्कारले लेखकभित्र निर्माण गर्ने अहंको प्रतिनिधित्व मात्रै गर्छ ।

मदन पुरस्कार प्राप्त कृति “खुशी“ पढेपछि मनमा एकखालको विरोधाभाष पैदा भयो । रक्सी र छादको छ्यालव्यालले मदन पुरस्कार कसरी पायो होला ? सकारात्मक शीर्षकभित्र खै किन मैले सकरात्मकता त्यति भेटिनँ । मैले केही लेखेँ । संयोगले त्यहीबेला लेखकसँग भेट भयो । कुरा गर्ने क्रममा मैले उहाँसँग, “फोन नम्बर दिनु न । मैले खुशीको विषयमा लेखेको छु”, भनेको थिएँ । उहाँले भन्नु भयो “म फोन नम्बर कसैलाई दिन्नँ र फोनमा कसैको प्रश्नको उत्तर पनि दिन्नँ ।”, म रनभुल्ल परेँ । आमपाठकको प्रतिक्रिया र स्नेह नै सुन्न नखोजेको वा चिनेको / विशेषव्यक्ति बाहेक अरूका कुरा सुन्न मन नलागेको हो ? लेखक मनभित्रको यति ठूलो अहंकार देखेर म छक्क परेँ ।

संयोगले म चितवन गएको बेला चितवनमा “सखीको परिचर्चा” हुँदै गर्दा लेखकले आफ्नो लेखनको सत्यता, जीवन्त पात्रहरूको विषय र प्रकाशकलाई नै ठाँउमा ग्राहकको रूपमा लग्नु परेको स्पष्टोक्ति सुनेपछि म छक्क परेँ ।

अर्को कृति “ऐना” बजारमा आयो । ऐनाको ख्याति चुलियो । लेखकसँग एउटै संस्थामा कार्यरत भएकोले भेट्ने कुरा भयो । जब मैले ऐना पढेँ, सर्वङ्ग नाङ्गो पाएँ । पछि कृतिले मदन पुरस्कार नै पायो । लेखकलाई भेट्न म हच्किएँ । यसपछि उनको अर्को कृति “सखी” पनि बजारमा आयो । विमोचनमा भेटिए पनि गफिने समय थिएन । शुभेच्छुकको उपस्थिति बाक्लै थियो । संयोगले म चितवन गएको बेला चितवनमा “सखीको परिचर्चा” हुँदै गर्दा लेखकले आफ्नो लेखनको सत्यता, जीवन्त पात्रहरूको विषय र प्रकाशकलाई नै ठाँउमा ग्राहकको रूपमा लग्नु परेको स्पष्टोक्ति सुनेपछि म छक्क परेँ । कृतिप्रति मेरो जे धारणा भए पनि लेखकको इमानदारीप्रति भने गर्व लाग्यो ।

पछिल्लो समय आएर १२ खरी कथा प्रतियोगिताको पहिलो कथा विवादमा तानियो । कथाकार र पाठकका दोहोरी चल्यो । अँह, न त निर्णायक मण्डलले केही बोल्न पर्छ भन्ने सोच्यो न त आयोजकले नै केही स्पष्टीकरण दिएँ । आम पाठकहरूका प्रतिक्रियालाई ठूलै बेवास्ता गरिएकोले विरोध गर्नेहरू वरिष्ठ नभएको कारण निर्यायक मण्डल र आयोजकले बोल्न जरुरी नठानेका हुन, सायद । म फेरि झस्किएँ । के हामी वरिष्ठहरूका लागि मात्रै लेखिरहेका छौँ त ? पाठकको अवमूल्यन त गर्दै छैनौँ ??

समालोचक र समीक्षकले सिद्धान्तका तराजुमा हाल्दै जोख्दै गरे पनि आम पाठक पनि त जोखिरहन्छ आफ्नै तराजुमा । रस , स्वाद र प्रभाव पार्नका लागि वरिष्ठको ताज पहिरनै पर्दैन भन्ने कुरा कसले सम्झाउने ?

जब जब ठूला पुरस्कारहरू सार्वजनिक हुन्छन्, बजारमा हल्ला हुनथाल्छ, “फलानो किताबले पाउन पर्ने ! किन यसले पायो ?” अनि म सम्झन पुग्छु विगत । शिक्षकले अक्षर असाध्यै मन पराएर सय नम्बर पुर्णाङ्क भएको परीक्षाको नम्बर एक सय पाँच दिएको घटना झैँ पुस्तकको आवरण र लेखकको विशिष्ठतालाई मात्र हेरेर पुरस्कृत गर्नु जायज हो त ? पछिल्लो समय, निर्णयक मण्डल तीन, पाँच या सात जनाको हुने र अपवादबाहेक लोभमोह र चाकरीबाट निर्णयहरू प्रभावित हुने कुरा जगजाहेर नै छ । कृितमा भन्दा जब लेखक पुरस्कारका लागि लगनशील हुन्छ तब पुरस्कृत लेखकको अहं बढ्नु पनि स्वभाविक होला ! हैन भने त फलेको हाँगो किन जर्जर हुन्थ्यो र ?

संस्थामा सदस्य आफ्नै सहपाठीहरू हुनुपर्यो । एउटै मान्छे कतिको भर्याङ बन्दै हिँड्नु पर्ने हो ? यसको हिसाब किताब पनि समयकै जिम्मामा छोडौँ ।

अहिले संघ संस्था खोल्ने होड चलेको छ । सबैलाई पहिचान चाहिएको छ । मञ्चमा सबै बस्न सम्भव हुने कुरो पनि भएन । यसैले अध्यक्ष हुनका लगि पनि संस्था हुनुपर्यो । संस्थामा सदस्य आफ्नै सहपाठीहरू हुनुपर्यो । एउटै मान्छे कतिको भर्याङ बन्दै हिँड्नु पर्ने हो ? यसको हिसाब किताब पनि समयकै जिम्मामा छोडौँ । अनि पुरस्कारको सरसापटको जिम्मा पनि समयलाई नै लगाएर राम्रा र उत्कृष्ट लेखनको मूल्याङ्कन गर्ने जिम्मा चैँ पाठकको हातमा छोडौँ । सबै तह र तप्काका पुरस्कारहरू घोषणा भइरहँदा यी पुरस्कारहरूले पाठकका मनोभावना समेट्न सक्छन् त ?

यसैले पनि होला, पुरस्कारमा छनोट भएका र हल्ला धेरै गरिएका पुस्तक मेरो रोजाइमा पर्न छोडेका छन् । २०७६ सालको मदन पुरस्कारको लिष्ट सर्वजनिक भएसँगै साहित्यमा एउटा तरङ्ग आयो । बजारको तरङ्ग खै कसरी मेरो घरसम्म आयो ? पारिजात, विश्वेश्वरप्रसाद कोइराला, तसलिमा नसरिनकै हाराहरीमा कृष्ण धरावासी, शारदा शर्मालगायतलाई पनि पढेको रहेछु । तर पुस्तक हात पर्यो “परित्यक्त” । लेखेको कुराका लागि प्रकाशन हुनु ठूलो कुरा हो, तर नाम चलेको पुरस्कारमा छनौट हुनु नितान्त फरक कुरा हो जस्तो लाग्यो । यति हुँदाहुँदै पनि बच्चै बेलादेखि भन्दै आएको सरस्वती वन्दनाको केही अंशको याद आइरहन्छ, “ मूकं करोति वाचालं पङ्गं लङ्घयते गिरिम् ,यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् । ” अर्थात्, हे सरस्वती ! तिम्रो कृृपा भएमा मुख बोल्न नसक्नेलाई बोल्ने बनाइदेउ, हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाइदेउ ।” चित्त बुझाउ ! त्यही कृपा भएपछि कसको के लाग्छ ?

अन्त्यमा, पाठकको मस्तिष्कलाई कसैले प्रभावमा पार्न सक्तैन । उनीहरू यस्ता निर्णयक हुन जसले लेखकलाई अन्यायमा पार्दैनन् । सस्तो लोकप्रियताभन्दा जिम्मेवार पाठकका लागि लेख्ने गरौँ । पाठकका राय, सुझाव, प्रतिक्रिया र स्वयं पाठकलाई अवमूल्यन नगरौँ ।