अतितलाई चटक्कै बिर्सेर
आफ्नै माटो / आफ्नै पाइला
अनि मिहिनेतका धर्काहरू
थाँती राखेर

कल्पना र सपना
सबै सबैलाई भुल्दै
शून्य बन्नु सहज कहाँ थियो र ?

हुनु र भइरहनुमा
चलिरहेको जीवन
वर्षौं वर्षदेखि अविश्रान्त
पछ्याइरहेछु
फगत एक शून्य

अग्निको सामुन्नेबाट
सात फेरो बेरेर
ॐ स्वाहाको मन्त्रोच्चारणको ध्वनि
गुन्जिरहँदा म शून्य शून्य बन्दै थिएँ
एउटा नवीन प्रारम्भका लागि

पूर्ण शून्यबाट आफूलाई मेटाएर
समाहित हुनुथियो अर्को शून्यमा
शून्य शून्य गन्दै थिएँ
थपिए अङ्क गणितका समीकरणहरू
बीजगणितका शूत्र
अनि ज्यामितिका साध्यहरू

प्रत्येक पल विलयको
थोपा थोपा गनेर मुस्कुराइरहेँ
पग्लिनु र मेटिनुको कुनै अर्थ नबुझेर
शून्यमा हराइरहेँ मभित्रको निराकार शून्यलाई नियालेर ।

वनस्थली