“सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै कत्तिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो” कृष्णबिक्रम थापाको चर्चित गीतले सिन्धुलीगढीको महत्त्वलाई ब्युताइरह्यो । बिपी राजमार्ग बनेपछि यही बाटो भएर विराटनगर र सिक्किमसम्म नपुगेको पनि होइन तर दरबार हेर्ने हुटहुटी पूरा हुन सकेको थिएन । २०७६ साल मंसिर ७ गते,महिनाको पहिलो शनिबार गरिने स्रष्टा पदयात्राले सिन्धुलिगढीको दरबार हेर्ने साइत जुरायो ।

शितल गिरीको संयोजकत्वमा बनेको स्रष्टा पदयात्रामा प्रभा बराल र म पनि थपिन थालेका थियौँ । यद्यपि आज प्रभा बहिनीलाई आउने मेसो मिलेन । बिहान सखारै , खाजा र पानीको भोला बोकेर कोटेश्वरमा भेट हुने सल्लाह बमोजिम लाङटाङ यात्राका सहयात्री सम्झना भट्टराई, सरस्वती अर्याल र म घरबाट निस्कियौँ । चिसो बिहानी , पातला सबारी साधन । हामी सबैभन्दा अगाडि भएछौँ । अरूलाई कुराउन नपर्दा मलाई ज्यादै खुसी लाग्छ । सम्झनाका श्रीमान टेकनाथ सर हामीलाई छोड्न आउनु भएको थियो । यसैले पनि हामी छिटो कोटेश्वर आइपुगेका थियौँ । उहाँलाई धन्यवाद दियौँ । साथीहरुका फोन आउने र जम्मा हुने गर्दा सवा सात बजे हामी गाडी चढ्यौँ । याने कि हामी हाम्रो गन्तब्यतर्फ लाग्यौँ ।

टाढाको बाटो भएकोले यो पदयात्रा हुन्छ कि गाढी यात्रा बहस चल्न थाले । शितल दाजु , प्रा.डा. ध्रुब घिमिरे , लिलाराज दाहाल रअन्य सरहरुका लेख र रचना माथिका छलफल सुन्दा कुनै कृतिको अन्तक्रियामा पो सामेल छु कि भन्ने भ्रम पनि छ । उहाँहरुको लेखन कलामाथिको तर्क र बहसले यो गाढी यहीँ रोकियोस् टक्क र म सुनिरहुँजस्तो लागेको छ । कोही साथीहरू मजाले घुमौ र आज यतै बसौँ भन्नु हुन्छ । अनेक मान्छेका अनेकथरी विचार छन् । जे होस् परिपक्क विद्वान्हरूको परिपक्क विचारले म पुलकित भएकी छु ।

रोशी खोलाको किनारै किनार सुनकोशीमा मिसिने, उता रामेछाप यता सिन्धुली । ऊ त्यो रामेछाप जाने बाटो कसैले पछाडिबाट भन्यो । अर्को कसैले थप्यो, यहाँको कोड भाषा “लैनो कि बकेर्नो ?” मलाई आश्चर्य लाग्यो र सोधेँ, के भन्नु भएको भनेर । ध्रुब घिमिरे सरले भन्नु भयो, “पहिला काठमाडौँ आउने एकमात्र बाटो यही हो । यहाँ लुटेराहरु बस्दथे र बटुवाहरुलाई माल भएको या नभएको भनेर अर्को साथीलाई संकेत गर्नु पर्दा लैनो कि बकेर्नो भन्थे रे ।”

म अवाक् बनेँ , हाम्रातिर त पहिला पहिला सत्ययुग भनिन्थ्यो, यतातिर त ऊबेलै सुरु भएको रहेछ लुटको खेल । मन अमिलो भयो ।

यत्तिकैमा गाडी घ्याच्च रोकियो । मेरो मन अन्तै डुल्न पुगेको थियो चोर र लुटेरा खोज्न ।

हामी सुनकोशी ५, मूलकोटको सानो बजारमा रोकिएका रहेछौँ । घडीले दश कटायो । सबैलाई भोक लागे छ कि ? खाजाका झोला खुल्न थाले । हात हातमा अण्डा, पकौडा र फुरनदाना आइपुगे । खाँदै गर्दा मान्छे पातलिँदै गए । पर हेरेको त सुनकोशीको झलुङ्गे पुलमा निशाजी, दीपकजी र रुद्रजीहरू ! हामी पनि लाग्यौँ अवसरलाई छोप्न ।

गीता रेग्मी

फर्किएर गाडीमा आयौँ । गन्तब्य परै छ नि । शीतल दाजुको मोबाइलमा कसैको फोन आइरहेको छ । कति जना हो को को हो ? के के गर्ने हो ? आदि इत्यादि भनेर । उहाँ पनि सरप्राइज छ भनेर मख्ख परिरहनु भएको छ । हामी त्यसै दङ्ग । उकाली ओराली गर्दै जब बस सिन्धुलीगढीको गेटभित्र पस्यो । एउटा रहस्यको पर्दा खुलेजस्तो भयो । वर्षैदेखि हेर्न लालायित भएको चिज देख्न पाउँदाको खुसीको सीमा रहेन । गाडी रोकियो ।

पहिला लाग्यौँ रानी महलतर्फ । जंगलै जंगलको बीचमा “भग्नावशेष मात्र”, मन खिन्न भयो । तारबार गरेर राखेको अवस्थामा दुई चारवटा इटाका खम्बाहरु बस ! दरबार त खण्डहर पो भएको रहेछ त । मन पनि बस भयो । हत्तेरीका । यत्रो ऐतिहासिक महत्त्व बोकेको ठाँउको खै मर्मत सम्हार । देशका सम्पदा मासिँदै जाने हो भने के रहला र इतिहास । मन अमिलो भयो ।

त्यही दरबारमा निशा केसीले हामी सबै पदयात्रीको हातबाट “मुक्तक सागर”को विमोचन गर्नु भयो । अमिलो मन केही हल्का भयो । बाहिर निस्कँदा साथीहरू त भकाभक आ–आफ्ना झोला खोल्दै खानेकुरा भाग लगाउँदै हुनुहुँदो रहेछ । मैले पनि झोला खोलेँ र अनदीको चामलको लट्टे निकालेँ । एकाएक मन पनि घाम पानी परे जस्तै झलमल्ल हुन्छ । कसैले खिचडी, कसैले भुटुवा, सुख्खा रोटी, ग्रेभी चिकेन अनेक छन् खानाका स्वाद र परिकार । पहिलो पटक जानेलाई खानेकुरा केही ल्याउन पर्दैन तर पनि सरस्वती अर्याल म्यामलाई अरूलाई खुवाउन असाध्यै मन पर्छ । उहाँले अचार र तरकारी लग्नु भएको थियो । मैले चिया ल्याउछु भनेको उहाँ पुग्दा त लट्टे मात्र छ चियाको थर्मस छैन । जा !
हामीलाई बाटो छिटो छिटो नाप्नु छ । दरबारलाई चिसै आँखाले हेर्दै वाइवाइ गरेर लाग्यौँ ओरालो । साथीहरु फोटो खिच्न मस्त भैरहँदा हामीले आएर सिन्धुलीगढी सम्बन्धी लेखिएका साइनबोर्डहरूको फोटो खिच्यौँ र लाग्यौँ टुडिखेलतिर जहाँ पिकनिकमा रमाइरहेका चार पाँच समूह थिए । अग्लो ठाँउबाट दाँयावाँया हेर्यौँ र झर्यौँ ।

बाटोमा साइकल यात्री भेटिएका थिए । ती त मेची महाकालीको यात्राका यात्री पो रहेछन् । हामी सानो गढीतर्फ उकालियौँ । चारैतिर ढुङ्गाको पर्खालले घेरिएको गढी जहाँबाट लडेर गोरखा सैनिकले अङ्ग्रेजका सैनिकलाई परास्त गरेका थिए । मैले गौंढामाथि उक्लिएर काठमाडौंलाई हेरेँ । अंह देखिएन । पूर्वबाट काठमाडौँ आउने एक मात्र नाका यो । यसको गरिमा र महत्त्व मध्यकालदेखि रहिआएको कुरा त्यही गढीमा बसेर साहित्यिक कार्यक्रम गर्दा शीतल गिरी दाजुले बताउनु भयो । वाल्मीकि रामायणअनुसार संकाश्य नगरीका राजा जनकपुरका राजा सीरध्वज जनकसँग युद्ध गर्दा यसै गढीमा मारिएका थिए । इतिहास शिरोमणि बाबुराम आचार्य अनुसार कुषाण नरेशको क्षेत्र वनस्पर मगध सेनालाई साथमा लिएर सिन्धुलीगढीको बाटो हुँदै पर्णावतीमा आएर बसोबास गरे । कालान्तरमा तिनीहरू काठमाडौं पसेर देवपत्तनको बस्ती बसाइ यहाँका किरात जातिसँग मिलेर एकाकार भए । बङ्गालका नवाफ समसुद्दीनको सेना यही बाटो भएर उपत्यका प्रवेश गरी वि.सं.१४०६ मार्ग २२ मा भक्तपुरमा आक्रमण गर्यो, लुट्यो, आगो लगायो । भोलि पल्ट काठमाडौं र पाटनमा विहार र देवमन्दिरको धन लुट्ने काम गर्यो । सात दिनसम्म लुटपाट गर्दै धेरै सम्पति लिएर फक्र्यो । सिन्धुलीगढीको पुरानो नाम पौवागढी हो । सानो गढीको पूर्वपट्टिको अझ अग्लो थुम्को ठूलो गढी छ । चेप्टो ढुङ्गाको चार हात अग्लो, चार हातजति चौडाइको पर्खालले वरिपरि घेरेर यो गढी बनाइएको रहेछ ।

सानो गढीमा पाँच सयजति र ठूलो गढीमा एक हजार जति सैनिक अटाउने समतल भूभाग छ । पर्खालको बीच–बीचमा बन्दुक र तोप छिराएर मार गर्ने प्वालहरू देख्न सकिन्छ । पानीको असुविधाले गर्दा पानी भरेर राख्न बज्रलेप गरेर बनाइएको इनारको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । वि.सं. १७३८ को तलेजु अगाडिको आफ्नो स्तम्भ अभिलेखमा पार्थिवेन्द्र मल्लले सिन्धुली विजयको उल्लेख गरेका छन् । यहाँ “असल योद्धाहरूद्वारा पहाडको टुप्पामा रहेको, जान गारो, पहिलेका राजाहरूले महत्त्व नबुझेको सिन्धुली दुर्ग खोसेर लिनु भयो” भन्ने उल्लेख छ । पृथ्वीनारायण शाहको समयमा गोरखाली विरुद्ध लड्न आएको कप्तान किनलोकको सेना यही सिन्धुलीगढीको उकालोमा वि.सं.१८२४मा हार खाई फर्केर जानु परेको थियो । भनेर शितल दाजुले भन्दा हाम्रो छाती गर्वले चौडा भएको थियो ।

चारै सुरबाट घुमेर हेर्दै वीर गोरखालीप्रति श्रद्धाले शिर झुकाउँदै हामी अर्को ठुलो गढी हेर्ने ओरालो लाग्यौँ । ठुलो गढीतर्फ लाग्दा बाटोको किनारामा निकै फूलका बिरुवाहरु गाडिएका छन् । भर्खरै मैले मनमनै सोचेँ न सरप्राईज छ भनेको हाम्रो आगमनको तयारी पो हो कि ? अँह होइन । जसले भब्य स्वागत गर्ने र कार्यक्रम गर्ने भनेर खोलााघरे साहिंलो मार्फत शितल दाजुलाई खबर पठाइरहेका थिए, तिनको त अत्तो पत्तो भएनछ ।

त्यो सब भएको त साइकल यात्रीको सम्मान पो रहेछ । उनीहरुको खाना खाने व्यवस्था यहीँ रहेछ । यता चाहिँ केही नयाँ संरचना बन्दै रहेछन् । स्मारक बनेको रहेछ । बगैँचा , अदालत भएको ठाँउ । जेल, म्युजियम निर्माण स्थल हेर्दै म अग्लो थुम्कोमा रहेको ठूलो गढी चढ्न उकालिन्छु । म सबैभन्दा पछाडि छु । तर पनि ठाढो १२३ बटा सिढी मैले चढेँ ।

माथि पुग्दा ठुलो राष्ट्रिय झण्डामाथि फहराइरहेछ । हाउ, राष्ट्रिय झण्डालाई यति महत्त्वका साथ राखेको देख्दा आफ्नै देशभित्र त यति धेरै खुसी दिँदो रहेछ । अनि अरू देशमा गएको बेला किन नदेओस् त ? हामीले उभिएर बसेर अनेक प्रकारले त्यो फहराई रहेको झण्डालाई पृष्टभूमि बनाएर फोटो खिच्यौँ । दीपक लोहनीजीले त मेरो पुस्तक ‘पत्थरै पत्थर’ पढ्दै गरेको फोटो लिनुभयो । जीवन एउटा लीला त रहेछ हामीले पनि त्यस्तै लीला गर्यौँ । दिन ढल्दै छ । फर्कनु त छँदैछ बासस्थान । गोलाकार भएर चौरमा बस्यौँ र रचनावाचन गर्यौ ।

अगाडि ठुलो गोलाकार इनारजस्तो थियो ,अघि शितल दाजुले भन्नु भएको पानी ट्याङ्की यही रहेछ । आवश्यकताले नै त रहेछ आविष्कार गराउने । चारैतिर फनन घुम्यौँ र लाग्यौँ ओरालो । सिँढी गन्नभन्दा अगाडि पुगेका साथी हेर्दा हेर्दै तल पुगिएछ । एउटा मिठो सन्तुष्टि लिएर आउँदै गर्दा साइकल यात्री अझै आउँदै थिए ।

पुरातत्त्व महत्त्व एवं सम्पदा संरक्षणको ख्याल गरेर पर्यटन विकासका पहल गरिएमा ऐतिहासिक सिन्धुलीगढी अझ सुरक्षित हुनेछ । सिन्धुलीगढीमा भएको युद्ध एकीकृत नेपाल निर्माणको आधार भएकाले यसको गरिमा, ऐतिहासिक महत्त्व र पुरातात्विक जीवन्ततालाई जोगाउनु पर्छ भन्ने सोच्दै गाडी चढ्यौँ ।

आउँदा ढसमस्स भएर अगाडिको सिटमा बसेका गाडी साहु साहुनी पछाडिको सिटमा गएर बसेछन् । अगाडिको सिट खाली छ । अगाडिको सिट खाली ? मैले खलासीलाई सोधेँ ‘हो’ भन्यो ‘ल भाई म गएँ अगाडि’, बिहान बीचमा बसेर आएँ, गफ मिठा ज्ञान वर्धक थिए । अबको पालो दृष्यावलोकानको । जापानले बनाएको बाटो । भीर र पहरा खन्दै । पहरालाई पैरो जानबाट जोगाउन लगाएको पर्खाल । तल हेर्दा पनि माथि हेर्दा पनि बाटाहरू खेतका सुर्का जस्ता छन् । नागबेली परेको बाटो, हरियो जंगल, उकाली ओराली र भज्याङ चौतारीहरु । कसरी बन्यो होला । म अवाक् हुन्छु । नयाँ नयाँ दृष्य बससँगै कुदिरहेछन् ।

“बस अघिकै ठाँउमा रोक दिदीलाई कस्तो गााह्रो भएको छ ।” गाडी साहुको आवाजले मेरा आँखा र कान गाडीभित्र पस्छन् ।“अघिको ठाँउ त कट्यो हजुर” ड्राइभरको आवाज मसिनो छ । “गाडी फर्का” श्रीमतीलाई गाह्रो हुँदा झन् उल्टो बाटो किन लग्ने ? मैले थपेँ । किनकि उसका कुरा त कस्ता उल्टा थिए । मैले ड्राइवरलाई सोधेँ, मूलकोटमा उनका आफन्ती थिए र ? हैन भन्छ । गाडी अगाडि बढ्यो र एउटा चिया पसलमा रोकियो । साहुनीलाई बिहान अगाडि बस्दा बाटो देखेर डर लागेछ फर्कदा पछाडि बसे वमन भएछ । मायाँ गर्ने भएका श्रीमान् बाटो छिटो काटेन भन्दा फर्का भन्छ । उसका कुरा सम्झी सम्झी हाँसो उठ्यो ।