अजित वियोगी

विप्लव गोस्वामीको कथामा आधारित र किरण रावको निर्देशनमा निर्देशित साथै अमिर खान प्रोडक्सनद्वारा निर्मित फिल्म ‘लापता लेडिज’ हेरियो । गाउँको पृष्ठभूमिमा सुरु भएको यो फिल्म दुई बेहुलीहरूबीच नै सङ्केन्द्रित छ। मूलभूत रुपमा महिलाहरूको मुद्दालाई नै मियो बनाएर आएका चलचित्रहरू बेलाबखत हेरिँदै आइरहेको हो, जसमा ‘लापत्ता लेडिज’ले महिला मुक्तिको विषयमा मुखर रुपमा समाजमा विद्यमान पितृसत्ताले अँठ्याएर राखेको जडताको उदाङ्गो चरित्राङ्कन गरेको छ।

डिजिटल यात्रामा निस्किएको भारतका अझै पनि अधिकांश ठाउँमा दाइजोको लागि हाइसन्चो गर्ने प्रथा यथावत् नै छ। एउटी स्त्रीको आफ्नो इच्छा चाहना एउटा घुम्टोले नै छोपेर राखेको समय अझै पनि देशमा बाँचिरहेको छ।

पितृ सत्ताको नङपन्जाले आजपर्यन्त समाजमा नारीहरूको स्वतन्त्रताको कठालो समाएर राखेको छ। एआईको युगमा पनि महिलालाई लुकाएर हिँडिरहेको समाजको सङ्कीर्णता ‘लापत्ता लेडिज’मा देखिएको छ।

घुम्टोमा घोप्टो परिरहेको,पारिएको फूल र जया दुई बेहुलीको आफ्नो श्रीमानहरू बद्ली भएको अवस्था देखाउँदै समाजमा नबद्लिएको स्थावर प्रवृत्तिको व्यवस्था ह्वाङ्ग भएको छ। त्यही ह्वाङ्ग भएको निर्लज्जिततामा नै सज्जित स्वाङले समाजमा अझै आइनोसाइनो गाँसी नै रहेको छ। आदिम अहङ्कार र कुसंस्कारलाई सजाइरहेको समाज मनोविज्ञानलाई काल्पनिक पात्रप्रयोगको योग गराएर रोचकता र घोचकतासित लैङ्गिक विभेदलाई देखाइएको छ।

चलचित्र हेरेपछि पक्कै पनि मानवीय चेत र विवेक हुने जोकोहीलाई यस्ता रूढीको चुरीफुरीलाई धुरी कटाउने नजाँनिदो आन्तरिक ऊर्जा दिन्छ।

नवीन चैतन्यमा मन्मय हुने र आत्मनिर्भरताका लागि निडरता देखाएकी चलचित्रकी नारी पात्र जयाले महिला अधिकार र आवाजको निम्ति उठाएको जोखिमले नारीहरूको दृढता र इच्छित मनोभावले लोकमा भएका साथै भइरहेको निकृष्ट स्वभावलाई बदल्न सक्ने सामर्थ्यको सुन्दर उदाहरण पेश गरेको छ।

विगतदेखि वर्तमानसम्म हुँदै आइरहेको नारीहरूको विवाहमाथिको एकाधिकार र दलनको यस्तो चलनलाई व्यङ्ग्य र प्रतीकका माध्यमबाट चलचित्रको कथाले विप्लवी अन्तर्यको लय गुँथेको छ, जसको गुह्यमा विद्रोहका फूलहरु सिर्जित छन्।

समाजको पिँधे पिलो निचोर्नको लागि यो गताक्ष समाजमा गवाक्ष भूमिका निभाएकी छिन्, जसले ग्रामीण भारतको भुँइतल चिहाउने रानीज्योति दिएको छ। यस्तै जडीमा नै गरिमा गर्ने चेतनाको चरीचराउमा भरिभराउ मानसिक स्थितिमा जयाको रीति सामाजिक रूपान्तरणका निम्ति बडो टड्कारो छ। जसको भूमिकाले समाजको व्यवहारमा उदात्त र उदार भावको उभार ल्याएको छ।

फूलकुमारीको घुम्टो उघारिएर उज्यालिएको मुहारले नारी केवल अरुबाट हेरिनुको साधन मात्र होइन, आफैँले हेर्नुको स्वेच्छित सुन्दरता पनि हो भन्ने विशाल विचारको प्रकटीकरण गरेको छ। चलचित्रमा महिला मुद्दाबाहेक सुरुदेखि अन्त्यसम्म नै समाज परिवेशका विविध विसङ्गतिलाई व्यङ्ग्य-व्यङ्ग्य केवल व्यङ्ग्य गर्दै रम्य गम्य बनेको छ।

परिवर्तनसित भन्दा परम्पराको रुढतासितै हेलिएको समाजले नारीको सपनासमेत आफ्नो अधीनतामा राखेको वर्तमान समाजको हीनतालाई व्यञ्जनात्मक रुपमा देखाउँदै मनोरञ्जनको माध्यमबाट प्रवर्तित विचारले मञ्जन गर्न खोजिएको छ। गाउँ, रेल स्टेसन र पुलिस चौकीको फेरोमै घेरो हालेको चलचित्रको कथानकले अस्तिवको तत्त्वमा महिलाका आफ्नै स्वत्वका विषयमा चासो राख्दै चलचित्रभरि नै पहिलेको होइन, अहिलेको समाजलाई सवाल गरिरहेको छ।

किरण रावको निर्देशनीय गम्भीरता र सूक्ष्मता स्तुतीय छ। सबैभन्दा आनन्दिलो कुरो यति जटिल विषयवस्तुलाई पनि व्यङ्गरसको पुटले चलचित्रमा खुब हास्यरसमा लुटपुट गराउँछ। अझ अर्को महत्त्वपूर्ण कुरा नारी समानताका लागि पुरुषलाई कतै पनि निम्न तुल्याएर स्त्रीको हकदाबी गरिएको छैन।

मसला मूभिको क्षणिक मगमगमा नै मस्किरहेको ठूलो जत्थालाई घोत्लिने र आफ्नै मनस्थितिलाई खोतल्ने व्यापक फाँट फिल्मले दिएको छ। यद्यपि पुस्तादर पुस्ताको कुप्रथाको बिँडोमा आफ्नो जडीय विचारको किलो गाडी आएको जमातको समाज यी र यस्ता विषयमा लरिल्वाँठ नै छ।

असहज परिस्थितिको थिति बोकेर विरुप संस्कृतिको कृति प्रकाशनमा नै मन दिएर घिन नमानी उही हीन भावनामा आजपर्यन्त लीन बनेको जनलोकको मनलोकलाई लेडिजहरूको लापताले झक्झकाउन भने खोजेको छ।

यद्यपि समाज अझै पनि लापता छ। थाहा छैन कता छ तर जता छ समाज लापता छ। यस्तो समाजमा ‘लापता लेडिज’ पनि त छन्, जसले विकृत यी दिनहरूलाई उल्ट्याएर नवीकृत समय एक-न-एकदिन ल्याउने छन्। चलचित्रले सबैको मनभित्र आशाको ज्योति बालेकै छ । घुम्टो उघ्रिएपछिको मुखमुद्राले झल्काएको नयाँ बिहानको बिन्दुली घामटीका जसरी पनि छरलिङ्गिने नै छ।

यसै फिल्ममा एउटै वाक्य दोहोर्‍याइरहने दीपकको हजुरबाको संवाद दोहोर्‍याउँदै अन्तिममा भन्न सकिन्छ- ‘जागते रहो..!’

 

(मिरिक,दार्जीलिङ )