‘नमस्कार सर ।’

‘म विनोद, आकाशवाणी खरसाङबाट ।’

‘हजुर नमस्कार ।’

‘सर, आउँदो बाह्र जनवरीमा नेपाली उद्घोषक-उद्घोषिकाहरूको स्वर परीक्षा छ । त्यसका लागि निर्णायकका रूपमा आइदिने निवेदन गरौँ भनेर नि । म चिठ्ठी पनि चाँडै ई-मेल गरिदिन्छु ।’

कार्यक्रम निष्पादक विनोद दाजुले गरेको निवेदन टार्न सकिनँ ।

समय समयमा यस्तै अडिसन अथवा कुनै कार्यक्रममा विशेषज्ञका रूपमा आमन्त्रण गरिएपछि चार पाउ टेकेर भए पनि स्टेसन पुग्ने गर्छु । विद्यार्थी जीवनमा ‘नानीको मेला’ कार्यक्रमदेखि नै जोडिएको हुँ म रेडियोसित ।

बिहान नौ बजेर पाँच मिनटमा कोलकाताबाट सम्प्रसारित बङ्गला समाचार सकिएर नानीको मेला प्रत्यक्ष प्रसारणका लागि स्टुडियोको रातो बत्ती बल्दा एकछिन त मुटु नै बाहिर पो निस्किहाल्छ कि जस्तो हुन्थ्यो । तर केही बेरमा सबैजना सहज भइहाल्थ्यौँ ।

छ वर्षपछि युवावाणी कार्यक्रममा चर्चा परिचर्चामा सहभागी हुने अवसर जुऱ्यो । अहिले भने व्यवसायका क्रममा दार्जिलिङ बस्नु परे पनि केन्द्रबाट निम्त्याइएपछि सकेसम्म पुग्ने नै प्रयास गर्छु । सानैदेखिको रेडियो सुन्ने बानी बदलिएको छैन । विशेष गरी समाचार र अन्य जानकारीमूलक कार्यक्रमहरू सधैँ सुन्ने गर्छु ।

‘आ ! त्यो रेडियो बन्द गरिदिनु नि हौ । टिभीमा कति राम्रो धारावाहिक आउँदैछ । डिस्टर्ब भयो रेडियोको हल्लाले ।’

“बाबा ! छ्या ताजा समाचार फेसबुकमा नहेरेर किन रेडियो खोल्नुभएको ? घ्यार…घ्यारर…, कानै खाने गरी । मोबाइलमै रेडियोको एप डाउनलोड गर्दा पनि भइहाल्छ त ।’

प्रायः दिनहुँ पत्नी र छोरीको यस्तो कचकच सुन्नुपर्ने हुनाले मेरो पुरानो मर्फीको रेडियोलाई कुनाको एउटा साना कोठामा राखेको छु र त्यहीँ गएर सुन्ने गर्छु । त्यस कोठामा भएका टेबलमा मेरा पुस्तकहरू पनि छरपस्टिएका हुन्छन् । धन्य ! हत्तपत्त कोही पनि पस्दैनन् त्यहाँ ।

* * *

जनवरी महिनाको ठिही । सडकमा सेतै तुसारो… । पानी जमेर ऐनाजस्तै भएको । मीन पचासको खप्नै नसकिने जाडोमा पनि बिहानै उठेर तयार भएँ ।

‘साह्रै ठन्डा छ । टोपी, मफलर र पन्जा लगाउन नबिर्सनुहोस् है । फेरि…खोक्ने मान्छे । अब त कति ठाउँमा नगए पनि हुने हो नि । ऊ नपुग्दा काम नै रोकिन्छ जस्तो ।’

‘त्यसो नभन । भारतमा नेपाली भाषामा मुख्य रूपले कार्यक्रम प्रसारण गरिने पहिलो रेडियो स्टेसन पो त आकाशवाणी खरसाङ । भारत र चिनीको लडाइँ हुँदा जन्मिएको यो केन्द्र खोलिने गाइँगुइँ सुन्दा हाम्रा बाबा, काकाहरू कत्ति खुसी हुनुभएको थियो अरे ।’

‘भयो भयो…भाषण नछाँट्नुहोस् । बरु छिट्टै निस्किएर समयमा नै घर आइपुग्नू । हिउँदको दिन फुस्सै जान्छ ।’

गालीसँगै आत्मीयता मिश्रित स्वास्नीको प्रवचन पूरा हुनअघि नै म तयार भइसकेको थिएँ ।

सुख्खा रोटी, रायो साग र तातो फिक्का चिया खाएर म खरसाङ जानका लागि मोटर स्ट्यान्डतिर लागेँ । पुग्ने बित्तिकै गाडी पनि पाएँ । एउटै ठाउँ रहेछ । स्वाट्टै चढी पनि हालेँ ।

मुटु कमाउने जाडोले नै होला केही बेरसम्म त सबै यात्रीहरू चुपचाप थियौँ । बतासे लुप पार गरेर घुम पुगेपछि मात्रै अगाडिको सिटमा बसेका दुईजना अधबैँसे लोग्ने मान्छेहरूको बातचितले परिवेश तताउन सुरु गऱ्यो । दुवैजना, वाक्यहरूको एक्सप्रेस छुटाउन खप्पिस रहेछन् ।

‘खोइ त हौ, हाम्रा ठाउँमा त कहिल्यै खुसीको घाम नझुल्किने रहेछ । धुम्म परेको दिनजस्तै हाम्रो अवस्था पनि ।’

‘हो नि, सबै आआफ्नै दुनु सोझ्याउने मात्र । पहाड र पहाडवासीको समस्या कहिले सुल्झिने ? कसले सुल्झाउने ?’

उनीहरूबिच कहिले विश्व, राष्ट्रिय र क्षेत्रीय राजनीति कहिले आम जनताका भोगाइहरूबारे चर्चा हुन्थ्यो भने बिचबिचमा खस्कँदो वयको प्रभावले पारेको स्वास्थ्य समस्या पनि साझा गर्थे । कुरा बुझ्दा एकजना आफ्नै चिकित्सा उपचारका लागि र अर्का व्यक्ति सिलगढीको एउटा प्राइभेट हस्पिटलमा भर्ना भएका बिमारी आफन्तलाई हेर्न गएका रहेछन् ।

“यो जाडो महिनामा त नि अनुहार र हातखुट्टा फुटेर हेर्नु नहुने हुन्छ हौ ।”

“राती मन तातो पानीले हात मुख धोएर क्रिम लगाउन अल्छी गर्नु हुँदैन ।”

“गिलसिरिन र गुलाबजल मिसाएर त सधैँ लगाउँछु । तर खोइ कति स्याहार गर्दा पनि फुट्नु छोड्दैन ।”

“होइन पोन्डस् क्रिम लाउनुपर्छ हौ । तर निकै मज्जाले… ।”

छेउमा बसेका दुईटी बहिनीहरू सौन्दर्यमा निखार ल्याउने धुनमा थिए ।

ड्राइभरको झ्यालबाट छिर्ने चिसो हावाको स्पर्शले बेलाबेलामा जाडोको अनुभव त गराइरहेकै थियो । थरी थरीका कुराहरू सुन्दा र मौका परेपछि फोन खेलाउँदा खरसाङ पुगेको पनि पत्तै भएन ।

ठिक दस बजे म रेडियो स्टेसन पुगेँ ।

विनोदज्यू पनि त्यहीँ भेटिए ।

नमस्कारको साटासाट भएपछि भित्र गयौँ । एकछिन पर्खने अनुरोध गरेर उनी भित्र अफिसमा पसे । म त्यहीँ टेबलमा भएको स्थानीय दैनिक समाचार पत्र ‘हिमालय दर्पण’ पढ्न थालेँ ।

ढाका टोपी लगाएको परिचित नेताको चोर औँली ठाडो थियो । गलाका नसाहरू देखिन्थे । मुख आँ गरेर के भनिरहेको थियो नक्सा । हेडलाइन थियो “युवाहरू आमरण अनशनमा बस्ने” । खबर पढ्न लागेको थिएँ आवाज आयो-

‘दिनेश होइन?’ ‘नमस्ते ।’

परिचित स्वरले झस्काएपछि टाउको उठाएर आवाजतिर हेरेँ । आवाजलाई देखेपछि एकछिन अलमल परेँ ।

चस्मा उचालेर आवाज आएतिर आँखा डुलाउँदा एकछिन त म किंकर्तव्यविमूढ भएँ ।

‘सीमा’ रहिछन् ।

गोरी, चिटिक्क परेको शरीर, गुलाबी ओठ, अग्लो नाक, राता राता पोक्चे गाला भएकी सीमाका अनुहारमा जिन्दगीको उकाली ओरालीहरूका भोगाइ छ्यापछ्याप्ती रहेको पाएँ । आवाज भने उस्तै सुन्दर, मनै लोभ्याउने ।

अपर्झट भेट हुँदा दुवै जनामा खुसीको सीमा रहेन । उनलाई वार्ता रेकर्ड गराउनका लागि एक दिन अगाडि बोलाइएको रहेछ । तर विशेष कामले गर्दा अघिल्लो दिन नआएर म आएकै दिन आएकी रहिछन् ।

धेरै वर्षको भेटघाटमा धेरै वर्षका कुराहरू गर्दा गर्दै बिस पच्चिस वर्षअघिको घटना हिन्दी पिक्चरजस्तै एउटा एउटा गर्दै आँखामा नाच्न थाल्यो ।

* * *

क्लास टुयल्भको इक्जाम पास गरेपछि मामा घर बसेर खरसाङ कलेजमा पढ्न आएकी सीमा बराइलीसित मेरो घनिष्ठ सम्बन्ध थियो । प्रायः धेरै कुराहरूमा हाम्रो मन मिल्ने ।

एक दिन खरसाङ रेडियोबाट एउटा परिचर्चामा भाग लिन एकजना साथी पनि लगेर जानुपर्ने थियो । मैले सीमालाई लिएर गएँ ।

तर जान अघि उनलाई त्यहाँ जाने आँटै थिएन ।

‘म जान्नँ दिनेश ! मैले कहिले पनि रेडियोमा बोलेकी छुइनँ । सक्दिनँ होला ।’

‘जाऔँ न, म पनि त हुन्छु नि ।’

‘समाज निर्माणमा युवाहरूको भूमिका’ विषयको परिचर्चामा भाग लिनुपर्छ हामीले । स्टुडियोमा पसेपछि केही बेर सङ्कोच लाग्छ, तर त्यो अप्ठ्यारोपन हटिहाल्छ नि’- मैले उसलाई सम्झाएको थिएँ ।

मेरो ढिपी र निवेदन उसले मानेपछि हामी रेडियो स्टेसन आएका थियौँ ।

सीमा ज्ञानी थिइन् । अभिव्यक्ति क्षमता त उनमा छँदै थियो । कलेजमा तर्क प्रतियोगितामा सधैँ उनी सर्वश्रेष्ठ वक्ता हुन्थिन् । समाज सेवामा उसको रुचि भएकाले त्यस दिनको परिचर्चाको विषय सीमालाई सुहाउँदो थियो ।

स्टेसनमा पुगेर युवावाणी कार्यक्रमकी प्रभारी मेनुका दिदीलाई भेट्यौँ । आरम्भमा त सीमा केही हिचकिचाइन् तर उनको प्रस्तुति मैले सोचेभन्दा धेरै राम्रो थियो ।

‘कार्यक्रम राम्रो भयो ।’ मेनुका दिदी पनि खुसी हुनुभयो ।

अनुबन्ध पत्रमा हस्ताक्षार गरी कार्यक्रममा पाइने पैसाको खुल्ला चेक थापेका थियौँ ।

‘साथी एकछिन् ब्याङ्क जाऊ न ल ।’

सीमालाई पैसाको खाँचो परेको रहेछ भन्ने ठानेर म राजी भइहालेँ ।

ब्याङ्कबाट सोझै रेडियो दोकानमा गएर उनले रेडियो किन्ने कुरा गरिन् । किनिन् पनि ।

यसअघि सीमाले रेडियो किन्ने कुरा गरेकी थिइनन् । उनले त्यो रेडियो आफ्ना गाउँलेहरूलाई भेला गरी निर्धारित मितिमा प्रसारित त्यस परिचर्चाको कार्यक्रम सुनाउनका लागि किनेकी रहिछन् भन्ने पछि थाहा पाएको थिएँ । त्यो कार्यक्रम प्रसारित हुँदा गाउँकाहरू सबै खुसी भएको कुरा मैले सीमाबाट नै सुनेको थिएँ ।

त्यसपछि एक दुईवटा कार्यक्रम हामीले गरेका थियौँ आकाशवाणी खरसाङमा ।

कलेजको तीन वर्षे स्नातकको पढाइ सकिएपछि  हाम्रो लक्ष्य बेग्ला बेग्लै भयो । नचाहँदा नचाहँदै पनि हामी छुट्टिएका थियौँ ।

म बनारस हिन्दु विश्वविद्यालय गएँ भने उनले एनबीयुबाटै एमए र पिएचडी गरिन् । अहिले उनी बिजनबारी कलेजको प्रिन्सिपल छिन् ।

* * *

‘अन्त सीमा ! तिम्रो त्यो फिलिप्सको रेडियोले काम गर्दैछ ?’

पुरानो कुराको सम्झना गर्दै मुखबाट निस्कियो । सोधिसकेपछि चाहिँ नसोधेको भए हुन्थ्यो लाग्यो ।

‘अर्को नयाँ रेडियो किनेकी छु नि । त्यो पुरानो रेडियो पनि मसँगै छ । मेरो पहिलो कमाइको पहिलो चिज । पहिलो आत्मीय प्रेमको चिनो ।’- कविता जस्तो थियो उत्तर ।

मैले नसुन्ने गरी भनिएको उसको अन्तिम वाक्य ट्वाक्कै मेरो कानमा पऱ्यो ।

तर मैले दोहोऱ्याएर सोधिनँ ।

तर मेरै कारणले उनी आजसम्म एक्लो जीवन बिताइरहेकी रहिछन् भन्ने लाग्दै आएको कुरा विश्वासमा बद्लियो । आफैलाई यो क्षण दोषी पाइरहेको थिएँ ।

‘आकाशवाणी खरसाङमा परिचर्चाको त्यो पहिलो कार्यक्रमबाट मेरो आत्मविश्वास बढेको हो । जीवनमा अघि बढ्ने प्रेरणा प्राप्त भएको शुभ दिन थियो त्यो । रेडियो किनेर आफूलाई बढोत्तरी गरिरहेँ मैले । तिमीलाई पुनः धन्यवाद ।’- सीमाले यतिभन्दा म झस्किएँ… । झस्किएरै मुसुक्क हाँसेँ ।

* * *

‘दिनेश सर ! जाऊ भित्र ।’

विनोदज्यूले बोलाएपछि सीमासित फेरि भेट्ने कुरा पूरा नहुने भयो भन्दै म स्टुडियोभित्र पसेँ ।