‘यस्तै चाला हो भने तैंले गरिखाँदैनस् छोरा !’ बिहान नौ बजेसम्म ओच्छ्यानमै निदाइरहेको छोरालाई उठाउने उद्देश्यले करायो ऊ । ऊ अर्थात् भुवनेश्वर तिमिल्सिना । भुवनेश्वरको एक मात्र छोरो थियो अरूण; १२ कक्षाको परीक्षा दिएर बसेको ।
‘रातभरि मोबाइल चलाएर बस्छस् अनि बिहानभरि सुत्छस् । यसरी पनि जिन्दगी चल्ला त ? जिन्दगी पब्जी र फ्री फायर खेलेर मात्र त चल्दैन कि छोरा !’ फेरि पनि छोरो उठेन । भुवनेश्वरले रिसाउँदै छोराले ओढेको ब्ल्याङ्केट निकालिदियो ।
‘राम्रोसँग सुत्न पनि नदिनी, कति कचकच गर्न सकेको होला ?’ छोराको रिसको पारो तात्यो । झर्केर नाकका पोरा फुलाउँदै पुनः थप्यो उसले, ‘उठेर के काम गर्ने त नि ? काम भए पो उठ्नी ।’
‘उठ् न उठ्, बिहानभरि सुत्ने हो भने पनि कम्तीमा भातसात खाएर त सुत् ।’ झ्वाट्ट उसको समझमा यस उमेरका केटाकेटीलाई बढी हप्कीदप्की गर्दा परिणाम गलत पनि निस्कन सक्छ भन्ने आएकाले अहिले चाहिँ छोरालाई सम्झाउने हेतुले नरम रूपमा प्रस्तुत भयो ।
‘तपैं खानुस् न । म अहिले उठेर खाउँला ।’ ब्ल्याङ्केट तानी छोरो पुनः मुख छोपेर सुत्यो ।
छोरो पुनः सुतेपछि भुवनेश्वरले आफ्नो बाल्यकाललाई स्मृतिमा ल्यायो– त्यस समयमा ऊ गाउँमा दुःखजिलो गरेर पढ्थ्यो । निकै नै हण्डर खेपेर पढ्यो उसले । घरमा गर्नुपर्ने कामहहरू नसकेसम्म स्कूल जान पाउँदैनथ्यो । अझ कामको चटारोमा त झन् स्कूल जाने मौका नै मिल्दैनथ्यो । हप्ताभरि हाजिर हुन सक्दैनथ्यो । घरमा पनि दिनको उज्यालो रहुन्जेल पढ्ने अवसर मिल्दैनथ्यो । साँझको खाना खाएपछि रातमा ढिब्री बालेर पढ्नु पर्थ्यो । मट्टीतेल नजिकै पाइँदैनथ्यो; लिन जानु पर्थ्यो निकै टाढाको बजार । आउजाउ गर्दा दुई दिनको समय लाग्थ्यो । धेरै समय ढिब्री बाल्दा पनि तेल सकिने चिन्ता । उमेर छिप्पिसकेको थिएन तर धान–कोदो रोप्ने; गोडमेल गर्ने र थन्क्याउने बेलामा सकीनसकी काममा जोतिनु पर्थ्यो । अन्य आयस्रोत केही थिएन । खेती नगरे मुखमा माड लाग्दैनथ्यो । कमजोर आर्थिक हैसियतको किसानको छोरो भएका कारण पनि यो उसको बाध्यता थियो ।
ढुङ्गामाटाले बनेको घर । खरको छानो । घरको दक्षिण पश्चिमपट्टिको भागमा तीन तले धनसार थियो । धनसारको भुइँतलामा एकातिर दाउराको खलियो थियो भने अर्कातिर घामपानीबाट जोगाउन घाँसपराल राख्ने गरिएको थियो । सिरानको तलामा हजुरआमाले गाँसेका दुनाटपरी, डोकाडाला एवम् पुराना खालका कपडाका पोकापोकीहरू थिए । बीचको तलालाई दुईवटा कोठामा विभाजन गरिएको थियो । एउटा कोठा मानिसहरू जम्मा हुँदा बस्न मिल्ने बैठकजस्तो थियो र त्यसको एकातिर कुनामा भैँसीको खजनसजन राख्ने गरिएको थियो भने अर्को कोठा सुत्नका लागि प्रयोगमा थियो । उक्त सुत्ने कोठामा दुईवटा खाट थिए । ठुलो चाहिँ खाटमा उसका बाबु सुत्थे भने सानो चाहिँमा ऊ सुत्थ्यो । बिहान भुकभुके उज्यालो हुनासाथ उठाउनका लागि बाबुले उसको टाउको झकझक्याउँथे । सुतीसुती उसको टाउकामा हात पुर्याउँथे बाबु । बिहानपखको मीठो निद्रा खलबल्याइदिएकामा ऊ भित्रभित्र निकै मुर्मुरिन्थ्यो तर बोल्न चाहिँ सक्दैनथ्यो । बाबुसँग असाध्यै डराउँथ्यो । भरसक बाबुका सम्मुख पर्न चाहँदैनथ्यो । जीवनमा बाबुसँग उसले कहिल्यै पनि आँखा जुधाएर कुरा गरेन ।
बाबुले झकझक्याउनासाथ आँखा मिच्दै उठ्थ्यो ऊ । गोठभरि गाईभैंसी र खोरभरि बाख्रा थिए । उठेर शुरूमा अँगेनामा आगो सल्काई भैंसीलाई कुँडो बसाल्थ्यो । प्रत्येक बिहानमा यो काम उसका लागि अनिवार्य पनि थियो किनभने उसकी आमा केही रोगी थिइन् । शरीरको बलले गर्नुपर्ने कामहरू गर्न त्यति सक्दिनथिन् । सुस्त–सुस्त जाँतो दल्ने र खाना बनाउनेसम्म गर्थिन् । आगो सल्काएर कुँडो बसालेपछि ऊ भकारो सोहोर्न गोठमा पुग्थ्यो । थरी सफा गरेपछि डोकामा गाग्री राखेर घरभन्दा केही परको पँधेरामा पानी लिन पुग्थ्यो । घरमा तीनवटा तामाका गाग्री थिए । एउटा रोचा पनि थियो तर रोचामा पानी राख्ने गरिएको थिएन, चामल भरेर त्यसलाई आँटीमा राख्ने गरिएको थियो । घरमा तामाका गाग्रीबाहेक दुईवटा माटामा घैंटा थिए । कहिलेकाहीँ गाग्रीको सट्टा ऊ घैंटो बोकेर पनि पँधेर जान्थ्यो । भकारो सोहोरेको हात उसले पँधेरामै धुन्थ्यो । पानी ल्याएपछि भैंसीलाई कुँडो खुवाउँथ्यो । त्यसपछि भैंसी दुहुन थाल्थ्यो । दुइटा घुँडाले बाल्टिनलाई च्यापेर बस्थ्यो र दुहुन्थ्यो । एक किसिमले भन्ने हो भने त्यस समयका ग्रामीण बुहारीहरूले गर्नुपर्ने बुहार्तनको जिम्मेबारी उसको काँधमा थियो ।
गोठको धन्दा सकेपछि ऊ खाङ्ग्रे बोकेर घाँस काट्न केही परको खर्यानतिर लाग्थ्यो । एक खाङ्ग्रे घाँस ल्याएपछि मात्रै उसको बिहानको धन्दा सकिन्थ्यो ।
त्यसपछि बल्ल घरमा आँटो, ढिँडो जे पाकेको छ खान पाउँथ्यो । खाना खाएर सक्दा लगभग नौ बजेको हुन्थ्यो । हतार–हतार तलपट्टि जाँगे र माथिपट्टि कमेज भिरेर स्कूल दौडन्थ्यो । हात्तीछाप चप्पल लगाउँथ्यो । दौडने क्रममा कहिलेकाहीँ बाटैमा चप्पलको तुनो चुँड्थ्यो । यस्तो अवस्थामा चप्पल हातैमा लिएर पनि कुद्थ्यो ऊ । स्कूलको आडैमा रहेको भट्टीमा आगो मागी चुँडिएर छुटेको भेट्नो जमाएर लगाउन मिल्ने बनाउँथ्यो ।
ब्रोइलर जस्तो छोराप्रति दृष्टि दिँदै मनमनै भन्यो, ‘सत्र–अठार वर्षको भइसक्यो न भैँसी दुहुन जानेको छ, न कोदालो खन्न जानेको छ ! न पौडी खेल्न जानेको छ ! घरव्यवहारका कुरै गर्दैन ! यस्तो डुकुलट्ठकले पनि के गरेर जीवन चलाउला खै !’
फेरि आफ्नै बाल्यकालको स्मृतिमा हराउन थाल्यो– स्कूल पढ्ने समयमा खोलाको रहमा पौडी खेल्दा झन्डै डुबेको सम्झ्यो उसले । एकपटक झोलुङ्गे पुलको लट्ठाबाट हामफाल्दा पानीमा पेट बजारिएको पनि सम्झ्यो । त्यति बेलै हो उसले पानी ढुङ्गाभन्दा पनि साह्रो हुँदो रहेछ भनेर बुझेको । यसरी नै पटक–पटक गोता खाएर हो उसले पौडी खेल्न सिकेको । पटक–पटक गोता नखाई त कुनै पनि काम सिकिँदो रहेनछ भनेर उसले त्यति बेलै बुझेको थियो ।
एकपटक बिहानमा भनेकै समयमा उठ्न नसक्दा आफूलाई बाबुले गाली गरेको सम्झ्यो उसले, ‘यस्तै चाल हो भने तैँले गरिखाने भइनस् केटा !’ आज बाबु यस संसारबाट बिदा भइसकेका छन् तैपनि गरिखाएकै छ । आफू चौबिसै घण्टा काममा जोतिएर भए पनि जेनतेन जहानपरिवार पालेकै छ ।
अस्ति साँझमा पनि उसले छोरालाई सम्झाएको थियो, ‘हेर् छोरा ! तेरो उमेरमा त मैले दिनभरि कोदालो चलाएर मेलो सकेको हुन्थेँ । चर्को घाम भन्न पाइँदैनथ्यो, आज त झरी परेको छ भनेर बस्न पाइँदैनथ्यो । असारमा त दिनभरि निथ्रुक्क भिजेर खेत पनि जोतेको हुन्थेँ । तँ भने… ।’
उसको भनाइलाई बीचैमा काटेर छोराले भनेको थियो, ‘खेतबारी देखाइदिनुस् न, म पनि खनजोत गर्छु । वस्तुभाउ पाल्नुस्, घाँसकुँडाको काम पनि गर्छु ।’
छोराको जबाफमा निरुत्तर हुँदै उसले मनमनै कुरा खेलाएको थियो, ‘छोराका सामु मैले गर्न नहुने कुरा गरेछु कि क्या हो ! छोराले गाउँको अनुहारै देखेको छैन । गोठको धन्दाका बारेमा पनि उसले बुझेकै छैन । बुझोस् पनि कसरी ! यही शहरमा जन्म्यो । घरभेटीका दुइटा कोठा भाडामा लिएर बसिएको छ । कहाँ गएर वस्तुभाउ पाल्नु अनि चार आनाको एउटा घडेरी पनि किन्न नसक्ने हुतीहाराले कहाँको खेतबारी किन्नु !’
पुनः ब्ल्याङ्केट ओढेपछि छोरो बिस्तारै निदाएको थियो । ऊ छोराकै सामुन्ने कुर्सीमा आड लगाएर एउटा उपन्यासमा आँखा राखिरहेको थियो । उसले केही दिन पहिलेदेखि यो उपन्यास पढ्न शुरू गरेको थियो । ‘जेन जी’लाई विषय बनाएर लेखिएको थियो उपन्यास । रोचक थियो । आँखा उपन्यासका पानामा भए पनि मन आफ्नै बाल्यकालमा दौडिरहेको थियो । ‘ऊ त्यो भुवनेले गोठको धन्दा सकेर घाँस ल्याइसक्यो । हाम्रा भने अझै नि ओच्छ्यानमै लम्पसार छन् !’ घाँसको खाङ्ग्रे बोकेर उकालो चढ्दै गर्दा तलका साइँला बाले बोलेका शब्दहरू उसका कानमा पसे । त्यति बेला उसैको उदाहरण दिएर साइँला बा आफ्ना छोराहरूलाई गाली गर्दै थिए ।
मन न हो, फेरि पनि आफ्नै विगतमा डुल्न थाल्यो– २०४६ सालको जनआन्दोलनताका ऊ क्याम्पस पढ्न शहर आएको थियो । भर्खर आईएमा भर्ना भएर पढ्न शुरू मात्रै के गरेको थियो, दलहरूले निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्धमा आन्दोलनको घोषणा गरे । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा साथीहरूसँगै होमियो ऊ । क्याम्पस परिसरभन्दा बाहिरको सडकमा प्रहरीहरू हुन्थे । प्रहरीहरूले अश्रुग्यास प्रहार गर्थे भने ऊ लगायतका क्रान्तिकारी विद्यार्थीहरूले क्याम्पस भित्रबाट प्रहरीहरूलाई ढुङ्गा हान्थे । आफूले पनि प्रहरीतिर ढुङ्गा बर्साएको सम्झ्यो । सँगै ढुङ्गा हानेका कतिपय साथीहरू पछि आएर सांसद र मन्त्री बनेको पनि सम्झ्यो । पार्टीमा सक्रिय रूपमा नलागे पनि ऊ राजनीतिक क्षेत्रमा सचेत थियो । नेपालको राजनीतिक आन्दोलनको इतिहास मात्र नभएर उसले सिङ्गो विश्वकै राजनीतिक आन्दोलन र विकसित वाद तथा सिद्धान्तहरूका बारेमा रुचि राख्थ्यो ।
अहिले छोराका बारेमा सोच्छ ऊ– यो केटालाई न राजनीति थाहा छ ! न दर्शन थाहा छ ! भूगोल, इतिहास, समाज आदिका विषयमा त के नै थाहा होला र यसलाई ! च्याट जिपिटी र एआइका भरमा कति नै बुझ्ला र यसले ! त्यहाँबाट बुझ्ने भनेको उही नेटमा उपलब्ध डाटा मात्रै त हो । सम्झाउने उद्देश्यले केही भन्नै हुँदैन; केही भन्यो कि झडङ्ग रिसाउँछ । आफ्नो बाबुलाई त यसले आधुनिक ज्ञान नभएको पुरातन बेवकुफ ठान्छ । यद्यपि सुध्रनलाई समय त छ, तर हुने बिरूवाको चिल्लो पात भन्छन् ! यही चालले त यसले गरिखान मुश्किल छ ।
गफगाफका सिलसिलामा हिजै दिउँसो अफिसमा सहकर्मी दयारामसँग उसले हाँसीहाँसी गुनासो गरेको थियो, ‘मेरो छोरो मात्रै हो कि, अचेलका केटाहरू नै त्यस्तै भएका हुन् हँ दयारामजी ! सत्र–अठार वर्षको स्वाँठ पनि रात–रातभरि मोबाइल र ल्यापटपमा व्यस्त अनि बिहानभरि निद्रामा मस्त !’
‘सबैको त्यस्तै हो भुवनेश्वरजी ! मेरो छोरो पनि बिहान दश बजेभन्दा पहिले कहिल्यै उठ्दैन । उठाउनै मुश्किल । निकै गाली गरेर उठाउनु पर्छ । यो अहिलेको जेनेरेशन नै यस्तै हो ! तपाईं र मेरो छोराको जुन जेनेरेशन छ नि, यसलाई जेन जी भन्छन् भुवनेश्वरजी ! जेनेरेशन जेड ।’ सहकर्मी दयारामले उसको गुनासोमथि प्रत्युत्तर फर्कायो ।
दयारामले जेन जीको उच्चारण गरेपछि केही सोचमग्न हुन पुग्यो भुवनेश्वर । दयाराम काममा व्यस्त हुन थाल्यो । भुवनेश्वरले सम्झ्यो केही दिन पहिलेदेखि पढ्दै गरेको उपन्यासमा वर्णित जेन जीको प्रसङ्ग, ‘जेनेरेशन जेड अर्थात् जेन जी पुस्ता । सन् १९९७ देखि २०१२ भित्र जन्मेकाहरू नै जेन जीमा पर्छन् । विश्वमै यो यस्तो पुस्ताका रूपमा विकसित छ अधिकांशलाई आफ्नै टोल–छिमेकमा के भइरहेको छ थाहा हुँदैन । आफ्नै आडको फ्ल्याट वा घरमा कोही बिरामी छ अथवा छिमेकमा कुनै व्यक्तिको मृत्यु नै पो भएको छ कि उनीहरूलाई कुनै पत्तो हुँदैन । आफूलाई जेनेरेशन जेड भन्न रुचाउने यो पुस्ता भर्चुअल संसारलाई नै सबै थोक ठान्छ । छरछिमेक, इष्टमित्र, बन्धुबान्धवसँग भौतिक उपस्थितिमा सुखदुःखका कुराहरू गर्न चाहँदैन ।
जेन जी चौबीसै घण्टा सामाजिक सञ्जाल अर्थात् इन्टरनेटमा झुम्मिएको हुन्छ । इन्स्ट्राग्राम, फेसबुक, टिकटक, च्याट आदिमा दिनको अधिकांश समय बिताउँछ । मोबाइल अर्थात् ल्यापटपमा यिनीहरू दिनमा दिनभरि र रातमा रातभरि पनि गेम खेलेर बस्न सक्छन् । धर्म, परम्परा तथा पुरानो पुस्ताको कुरै सुन्न नचाहने मानसिकताको विकास भएको हुन्छ यिनीहरूमा । सामूहिक रूपमा बसेर सुखदुःखका कुरा गर्नै चाहँदैनन् । यिनीहरूको आफ्नो छुट्टै संसार छ, त्यही आफ्नै संसारमा रमाउन चाहन्छन् । जङ्क फुड यिनीहरूको प्रिय खानेकुरा । दालभात, तरकारीभन्दा बजारमा उपलब्ध फास्ट फुड यिनीहरूको रोजाइमा पर्छ । घरव्यवहारका कुराहरूबाट भाग्न चाहन्छन् ।’ मनमनै आफैलाई प्रश्न गर्यो, ‘यस्तो मानसिकताले पनि कसरी जीवन चलाउलान् हँ यिनीहरूले ?’
केही दिनपहिले छोरालाई सम्झाउँदै भनेको याद गर्यो उसले, ‘हेर् बाबु ! जीवनमा सबैभन्दा ठूलो कुरा भनेकै स्वाभिमान हो । इख नभएको मान्छे र बिख नभएको सर्पको कुनै मूल्य हुँदैन । मानिस भएर जन्मिसकेपछि दुईचार सय वर्ष त बाँच्नै पर्छ छोरा ! अजम्बरी हुन जीवन रहुञ्जेल समाजलाई केही न केही त दिनै पर्छ ।’
‘अहिलेको जमानामा पनि के अर्तीउपदेश दिइरहेको होला ! यो अर्तीउपदेशको जमाना होइन के बाबा ! तपाईं किन जहिले पनि यस्ता थोत्रा कुराहरू मात्रै गर्नुहुन्छ हँ ? जमाना कहाँ पुगिसक्यो तपाईं भने अझै पनि सत्रौं शताब्दीमै अल्झिरहनुभएको छ ।’– छोराले फर्काएको जबाफ थियो यो । अझ अगाडि थपेको थियो उसले– ‘खूब स्वाभिमानका कुरा गर्नुहुन्छ ! स्वाभिमान, स्वाभिमान ! केको स्वाभिमान ? कस्तो स्वाभिमान ? जसले जति बढी भ्रष्टाचार गर्न सक्यो, घुस खान सक्यो, दलाली गर्न सक्यो उसैका पछाडि हूलका हूल मान्छेहरू लागिरहेका छन् ! देख्नुभएको छैन ? नेताहरू, प्रधानमन्त्री, मन्त्री, सभासद्, सचिव, हाकिम … … ।’
‘बस्, पुग्यो अब; यहाँभन्दा बढी नबोल् बाबु !’ बोल्दाबोल्दै छोरालाई बीचैमा रोकेको थियो उसले ।
छोराले अझ चर्को स्वरमा प्रतिवाद गरेको थियो– ‘पैसा हो बाबा पैसा, जीवनमा सबैभन्दा ठूलो कुरा पैसा हो । पैसा भएपछि त्यस्तो जाबो स्वाभिमान त आफै पछि लागेर आउँछ ।’
‘इज्जत–प्रतिष्ठा, इमान–जमानका कुरालाई पैसासँग तुलना नगर् न छोरा !’ नरम भाषामा छोरालाई सम्झाउने प्रयत्न गर्यो ।
‘इज्जत–प्रतिष्ठा पनि पैसामै आउँछन् बाबा ! पैसामै ! हेर्नुस् त तपाईंले आजका दिनसम्म पुज्दै आएका नेता महोदयलाई, कति करोडको गाडी चढेका छन् तिनले ! देख्नुभएकै छ क्यारे, आफ्ना लागि कत्रा–कत्रा बङ्गला बनाएका छन् तिनीहरूले ! भ्रष्टाचार नगरे कसरी जोडे त तिनीहरूले त्यतिका विधि सम्पत्ति ?’ छोरो केही आक्रोशित रूपमा प्रस्तुत भयो ।
‘तिनीहरू दलाल भए भन्दैमा हामी पनि दलाल हुन त भएन नि छोरा ! तिनीहरूले राष्ट्र र जनतामाथि गद्दारी गरे; कालो धन जम्मा गरे भन्दैमा हामीले पनि त्यसरी नै देश र जनतामाथि गद्दारी गर्न त हुँदैन छोरा ! सफा हृदयले इमानदारीका साथ पैसा कमाउनुपर्छ । यसका लागि धेरै पढ्नुपर्छ छोरा ! बरु, यस्तो अल्छी छस्; तँ जस्तो अल्छीले पनि कहाँ के काम पाउलास् र कमाउलास् खै !’ गुनासो गरेको थियो उसले ।
‘अब १२ कक्षा पास भएपछि म यस्ता फटाहाहरूको देशमा बस्दिनँ । कुनै हालतमा पनि बस्दिनँ । विदेश जान्छु । त्यहाँ गएर काममा लागेपछि त कमाइहाल्छु नि ।’ निकै हलुकासँग जवाफ फर्काएको थियो छोराले ।
छोरालाई विदेश पठाउने मुडमा थिएन भुवनेश्वर । ऊ चाहन्थ्यो– छोरो यही देशमा बसोस् र केही गरोस् ।
‘यो जेन जी नै त्यस्तो हो कि मेरो छोरो मात्रै त्यस्तो हो दयारामजी ?’ आडैको टेबुलमा काममा व्यस्त सहकर्मी दयारामलाई सोधेको थियो उसले ।
‘सबैको हालत उही हो भुवनेश्वरजी ! यो पुस्ता नै यस्तै हो । देशभित्र कुनै अवसर पाउँदैनन् । अवसर जति सबै नेताहरूकै आसेपासेहरूमा सीमित छ । अवसरै नपाएपछि के गरेर बस्नु ? कसरी बस्नु यहाँ ? बाध्यताले पनि विदेश धाउनुपरेको छ । मनमा राष्ट्रप्रेमको भावना भए पनि राष्ट्रघातीहरूद्वारा लखेटिएको पुस्ता हो यो । यहाँ बस्न नसकेपछि विदेशीको गुलाम बन्न बाध्य पुस्ता ।’ केही समयका लागि काम थाती राखेरै बोल्यो दयाराम ।
दयाराम बोल्न छोडेपछि भित्रभित्रै कुरा खेलाएको थियो उसले– ‘विदेशमा पनि रुखैमा पैसा त कहाँ फल्छ र ? अर्काको देश; यस्ता कलिला केटाहरू; आफै भात पकाएर खाने ढङ्ग पनि छैन । सास्तीमाथि सास्ती खेपेर के नै पो कमाउनु छ र ! कसका लागि कमाउन छ र !’
ब्ल्याङ्केट छिचोलेर छोराले घुरेको आवाज निस्केपछि छोरातिरै दृष्टि दिएर मुस्कुरायो ऊ र मनमनै भन्यो– हेर त, जेन जीको छोरो घुरिरा’को !!
२०८२-०४-२९
पोखरा, कास्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










