सधैँझैं आज पनि प्रमिला र अर्जुन जोरपाटीबाट चाबहिल र पुतलीसडक हुँदै सहिदगेटतिर जाने टेम्पोमा चढे । त्यस टेम्पोकी चालक महिला थिइन् । उनीहरू दुवै राजधानीको प्रदर्शनीमार्गस्थित एउटा क्याम्पसमा काम गर्थे । प्रमिला राजनीति शास्त्र पढाउँथिन् भने अर्जुन कर्मचारी थिए । टेम्पोमा बसेर उनीहरू विभिन्न विषय र सन्दर्भका गफ गरिरहेका थिए । टेम्पोमा अरू पनि यात्रीहरू खाँदाखाँद गरेर बसेका थिए । उनीहरू कोही सरकार फेरबदलका, कोही भ्रष्टाचारले सीमा नाघेका, कोही घरव्यवहार र व्यापारका, कोही विकास र समृद्धिका अनि कोही चाहिँ महङ्गीका कुरा गरिरहेका थिए । सबैका कुरामा असन्तुष्टि मात्र सुनिन्थ्यो ।

‘यसपटक त म कुनै पनि पार्टीलाई भोट हाल्दिनँ ।’ गफकै क्रममा अर्जुनले भने–

‘किन ?’ प्रमिलाले प्रश्न गरिन् ।

‘कुनै पनि पार्टीले जनताका लागि केही त गरेनन्, आफ्ना मान्छेबाहेक उनीहरू अरूको काम नै गर्दैनन् अनि किन दिनु भोट ? समयको मात्र बर्बाद ।’ अर्जुनले भने ।

‘तिमी आफ्नो मत दिने अधिकारलाई प्रयोग नगर्ने कस्तो कुरा गर्छौ ? भोट नहाल्नु भनेको त आफ्नो अधिकारबाट आफै वञ्चित हुनु हो नि, तिमीले भोट नहाले पनि जीतहार त भइहाल्छ । नराम्रो काम गर्नेलाई पाखा लगाउने जनताको अस्त्र भनेकै निर्वाचन र मतदान हो नि, कतिपय मुलुकमा त भोट नहाल्ने नागरिकले जरिवाना नै तिर्नुपर्छ ।’ प्रमिलाले भनिन् ।

‘अब पुराना पार्टी र पुराना नेता डेट एक्स्पायर भए, भोट चाहिँ नयाँ पार्टीका नयाँ नेतालाई दिनुपर्छ । नयाँ भनेको नयाँ नै हो । केही गर्छ त नयाँले नै गर्छ ।’ एक जना छेउमा बसेका जोसिलो युवाले भने ।

‘नयाँ पनि उही ड्याङ्का मुला हुन् । हुने बिरुवाको चिल्लो पात- भन्छन् नि ! त्यस्तो त केही देखिएन । कोही नो नट एगेन भनेर पनि आएका छन् । तिनीहरू पनि उनै पुरानासँग मिलेर उही बाटोमा लागिसके । पुराना मान्छे मात्र होइन, पुराना गलत प्रवृत्तिलाई पनि त दोहोर्याउनुभएन नि !’ अर्का एक जना अधबैसेँ सज्जनले भने ।

टेम्पो चालक महिलाले यतिखेरसम्म उनीहरूको कुरा सुनिरहेकी थिइन् । उनले टेम्पोको गति कम गर्दै भनिन्, ‘पुराना पार्टी हुन् या नयाँ, सबै उस्तै छन्, सबैको चरित्र एउटै छ, जुन जोगी आए पनि कानै चिरेका, सबै यही समाजका उत्पादन त हुन् । सबैले सिकेको कुरा एउटै छ तर पनि धेरै खराब र कम खराब त हुन्छ नि, त्यसैले भोट भने कम खराब र विचार हेरेर दिनुपर्छ ।’ उनको बुझाइ अरूको भन्दा फरक थियो ।

‘सुन्यौ अर्जुन ! श्रमिकहरूको बुझाइ अरूको भन्दा बढी यथार्थमा आधारित हुन्छ,’ प्रमिलाले अर्जुनतिर फर्केर भनिन् ।

छेउमा बसिरहेका ती सज्जनले फेरि भने, ‘नेपाली जनताले पटक पटक आन्दोलन गरेर ठूलो बलिदानका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र ल्याए । अब जनताको शासन आयो, भेदभावरहित समाजको सृजना हुन्छ र साँच्चिकै सुखका दिन आउँछन् भनेको भएन । हिजो पार्टीका नेता र कार्यकर्तामा जुन किसिमको विचार, त्याग, समर्पण र आदर्श थियो अनि उनीहरूमा जुन किसिमको राष्ट्रिय स्वाभिमान र देशप्रेमको भावना थियो, त्यो पनि आज छैन । सरकार, पार्टीका नेता र कर्मचारी अधिकांश भ्रष्ट र आचरणहीन बन्दै गइरहेका छन् । राम्रो नेता र शासक नै भएनन् हाम्रो मुलुकमा ।’ उनले लामै विश्लेषण प्रस्तुत गरे ।

‘तर यसमा व्यवस्थाको दोष छैन, नेतृत्वका कारणले नै मुलुकको यो दशा भएको हो ! नेता ठीक नभएपछि उसले गरेका सबै गलत कामको अपजस पार्टी र सरकारमा आउँछ, यो स्वाभाविक पनि हो तर पार्टीमा राम्रा नेता र कार्यकर्ता पनि हुन्छन् र लोकतन्त्रमा समय आएपछि नेतृत्व फेर्न पनि सकिन्छ ।’ प्रमिलाले भनिन् ।

यसपछि अर्जुनले भने, ‘ठीकै छ, भोट त दिउँला तर कम खराब कसरी पहिचान गर्नु ? सबै उस्तै छन् ।’

प्रमिलाले उनलाई सम्झाउँदै भनिन्, ‘सबै उस्तै हुँदैनन्, कमबेसी त भइहाल्छ नि । कुन पार्टीले कस्तो सिद्धान्त र विचार लिएको छ अनि उसले देश र जनताको हितमा यसअघि कस्तो काम गरेको छ भनेर हेर्नुपर्छ ।’

‘कुन चोखो छ र ? सबै कुनै न कुनै काण्डमा मुछिएकै छन् । सत्ताबाहिर हुँदा चर्काचर्का कुरा गर्छन्, सत्तामा गएपछि कसरी हुन्छ चुनाब खर्च बटुल्न मात्र लाग्छन् ।’ अर्जुनले भने ।

यत्तिकैमा टेम्पो प्रदर्शनीमार्गमा घ्याच्च रोकियो । प्रमिला र अर्जुन ओर्लिए । प्रमिलाले हिजो तिमीले भाडा दियौ आज म दिन्छु है भन्दै दुई जनाको चालिस रुपियाँ दिइन् । उनीहरू सरासर क्याम्पसतिर लागे ।

दिउँसो प्रमिला र उनका शिक्षक साथीहरू खाजा खान भनी खाजाघरतिर जाँदै थिए । अर्जुन पनि कर्मचारीसँग निक्लेका थिए । सडकमा केही मानिस हातमा झण्डा बोकेर नारा लगाउँदै पद्मोदय मोडबाट रत्नपार्क हुँदै माइतीघर मण्डलातिर जान आइरहेका थिए । कसैले सूर्यचन्द्र अङ्कित राष्ट्रिय झण्डा बोकेका थिए भने कसैले पार्टीको झण्डा बोकेका थिए अनि उफ्रीउफ्री नारा लगाइरहेका थिए । ‘…चोर देश झोड्, हाम्रा नेतालाई तुरुन्त रिहाइ गर् !’ वरिपरिका मानिसहरू सडकको पेटीमा उभिएर जुलुसको रमिता हेर्न थाले ।

दिउँसोको टन्टलापुर घाममा चर्काचर्का नारा लगाउँदै जुलुस माइतीघरतिर लाग्यो । अरू शिक्षक, कर्मचारीसँगै प्रमिला र अर्जुन पनि पछि पछि भाषण सुन्न गए । मण्डला पुगेपछि एक जना महिला नेता एक हातमा माइक र अर्को हातमा राष्ट्रिय झण्डा बोकेर एउटा गाडीको छतमा उभिएर नारा लगाउन थालिन्

प्रधानमन्त्री मुर्दावाद !

गृहमन्त्री मुर्दावाद !

भ्रष्ट सरकार मुर्दावाद !

हाम्रो निर्दोष नेतालाई रिहाइ गर् !

अनि उनी भाषण गर्न थालिन्, ‘‘यी पुराना पार्टीका पुराना नेताले प्रतिशोध राखेर झुटा मुद्दा लगाई हाम्रो नेतालाई जेलमा सडाउने खेल खेलिरहेका छन् । हाम्रा नेताको यसमा केही दोष छैन । पुरानाहरूले वर्षौं वर्षसम्म यो मुलुकमा राज गरे, अनेक भ्रष्टाचार गरे, हामीले अलिकति पनि गर्न नहुने ? उनीहरूले गर्दा हुन्छ भने हामीले किन  हुँदैन ? हो कि होइन साथी हो ?’ उनले चर्को स्वरमा भनिन् । तलका सबैले हो.. हो.. भनेर समर्थन जनाए ।

प्रमिलालाई भने यी नेता पक्राउ पर्नुको कारण र उनले गरेको भ्रष्टाचारका बारेमा राम्ररी थाहा थियो । ‘बिचरा नयाँ पार्टीका नयाँ नेता र कार्यकर्ताहरू देखावटी व्यवहार गर्न मात्र जान्दछन् । यी स्टन्डबाजलाई के थाहा यिनका नेता कसरी भ्रष्टाचारका अपराधमा जेल परेका हुन् भनेर । यिनको दिमाग भुटिएको छ– आफ्ना नेतालाई अन्याय गरिएको छ भनेर । यिनीहरू सत्य कुरा बुझ्न नै चाहँदैनन् । विचारविहीन झुन्ड सतही कुरामा विश्वास गरिहाल्छ’ उनले मनमनै भनिन् ।

यसपछि उनले भाषण सुनिरहेकाहरूतिर फर्केर भनिन्, ‘यी नयाँ हौँ भन्नेहरूले कस्तो राजनीति र संस्कृतिको विकास गर्दै छन् । देशको राष्ट्रिय झण्डा बोकेर प्रधानमन्त्री मुर्दावाद, गृहमन्त्री मुर्दावाद रे, व्यक्ति पो खराब हुन सक्छ त पद त जो आए पनि त्यही हो नि ! त्यसो भए देशमा भ्रष्टाचार, बेरोजगारी र असमानता बढेर मुलुकमा दुःख छ भन्दैमा देशलाई नै मुर्दावाद भन्न मिल्छ त ? त्यसमा पनि राष्ट्रिय झण्डा बोकेर । यो त राष्ट्रिय झण्डाको घोर अपमान हो नि । आफ्नो पार्टीको झण्डा बोकेर के के भन्नु छ, भने भइगयो नि । राष्ट्रिय झण्डा त कुनै पार्टीको निजी होइन नि । यो त नेपालको गौरव, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको प्रतीक पो हो त ।’

राष्ट्रिय झण्डाको त्यसरी दुरुपयोग गरी अपमान गरेकोमा प्रमिलालाई दुःख लाग्यो । उनी पनि युवा नै थिइन् तर विद्यार्थी अवस्थादेखि नै वैचारिक राजनीतिका पक्षमा लागेर सङ्गठन गर्दै आएकी एक बौद्धिक व्यक्तित्व थिइन्  उनी । पार्टीभित्रका गलत प्रवृत्तिको आलोचना गर्दा कहिलेकाहीँ उनले स्पष्टीकरण र कार्बाही भोग्नुपरेको भए पनि उनी साँचो कुरा बोल्न भने डराउँदिन थिइन् । क्याम्पस पढाउन थालेको धेरै भएको थिएन उनले तर त्यहाँ पनि उनी छिटै लोकप्रिय भइसकेकी थिइन् ।

भाषण सुनिरहेका अर्का एकजना शिक्षकले भने, ‘पुराना पार्टी र नेताभन्दा भिन्न हौँ भन्नेहरूले पुरानाले भ्रष्टाचार गर्दा हुने, हामीले किन नहुने भनेको के नि ? यिनीहरू कुन अर्थमा भिन्न भए त ? अरूको पनि छानबिन गर ! हाम्रो पनि गर पो भन्ने त ।’

यसरी कुरा भइरहेका वेला उता जुलूस भने ‘…चोर देश छोड्, …मुर्दावाद ! …मरिजा, …तिर छिरिजा’ भन्दै पुत्ला जलाइरहेको थियो ।

सँगै उभिएका एक जना अलिक पाका व्यक्तिले भने, ‘हामी अरूभन्दा भिन्न छौँ । हामीले राम्रो राजनीतिक संस्कार बोकेका छौँ भन्नेहरूले यसरी देश छोड्, …तिर छिरिजा भन्नु र जिउँदा मानिसको मृत्युको कामना गर्दै पुतला जलाउनु असल संस्कार कसरी भयो त ?’

अर्जुन पनि सँगै थिए । उनले तिनको कुरा सुनेर भने, ‘अनि पहिलेकाहरूले पनि त रत्नपार्कका बार भत्काउँदै तालु खुइले…., ….तिर छिरिजा भन्दै यसरी नै पुतला जलाएका होइनन् र ? त्यही कुरा सिकेका त हुन् नि यिनले  पनि ।’

‘त्यही त अर्जुन ! पहिलेकाले गरेको पनि त्यस्तो काम बेठीक थियो, अहिलेकाले गरेको पनि यो काम बेठीक छ । लोकतन्त्रमा विरोध गर्न पाइन्छ तर गलत तरीकाले, संस्कार र अनुशासनहीन भएर होइन । लोकतन्त्रमा ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्नुपर्छ अनि मात्र असल संस्कृतिको विकास हुन्छ । नयाँका नाममा जे पनि गर्न पाइन्छ भन्ने त होइन नि !’

छेउमा उभिएर जुलूसका गतिविधिलाई हेरिरहेकाहरू यसरी गफ गर्दै थिए, भोलि भेला हुने सूचना गर्दै जुलूस तितरबितर भयो । यसपछि रमितेहरू पनि आआफ्नो बाटो लागे ।

प्रमिलाको लगत्तै राजनीतिक विषयको कक्षा लिनुथियो, उनी क्याम्पस गइन् । अघिको जुलूसको दृश्य देखेका विद्यार्थीहरूले कक्षामा थुप्रै जिज्ञासा राखे । उनले ती जिज्ञासाको समाधान गर्दै राजनीतिक नैतिकता, नेपाली राष्ट्रिय झण्डाको इतिहास, यसको गौरव र महत्त्वका बारेमा पनि व्याख्यान गरिन् अनि पार्टीका किन छुट्टा छुट्टै झण्डा हुन्छन् तथा राष्ट्रिय झण्डा र पार्टीका झण्डाका बीचमा के भिन्नता छ भन्ने बारेमा पनि विद्यार्थीलाई बताइन् ।

****

घर फर्कने वेलामा उनका मनमा तनाब भइरहेको थियो अनि हल्का टाउको पनि दुखिरहेको थियो । प्रमिला र अर्जुनको घर एकैतिर भएकाले उनीहरू सधैँ सँगै घर फर्कन्थे । उनीहरू टेम्पो चढे र घर गए । बाटामा अर्जुनले प्रमिलालाई नयाँ पार्टीमा लागेका र जेल परेका उनका दाजुका बारेमा सोधे । प्रमिलाले आफ्ना दाजुका गतिविधि र आचरणका बारेमा उसलाई सबै कुरा बताइन् ।

घर पुगेपछि भाउजू विमलाले प्रमिलालाई चिया पकाएर दिइन् । उनलाई टाउको दुख्न केही आराम जस्तो त भयो तर दाजुको व्यवहार र गतिविधि देखेर मन भने खिन्न भइरहेको थियो ।

भोलिपल्ट बेलुका प्रमिला सधैँजसो टहल्नका लागि भनेर घरबाट निक्लिन् । बाटामा जाँदैगर्दा जुनासँग भेट भयो ।

जुना प्रमिलाकी सहपाठी साथी र छिमेकी पनि थिइन् । जुना एउटा सरकारी बैंकमा काम गर्थिन् । उनले अस्ट्रेलियाबाट दाजु राजनको परिवार र त्यहाँको क्विन्सल्यान्ड विश्वविद्यालयमा पढाउने दाजुका एक जना साथी पनि सँगै आएको बताइन् ।

प्रमिलाले जुनालाई उनका दाजु र विदेशी साथीसँग भेट्न मन लागेकाले जाऊँ भनेपछि जुनाले उनलाई लिएर घर गइन् ।

प्रमिलाको राजन दाइ र उनका साथी जेम्ससँग गफ गर्दागर्दै निकै समय बितेछ । त्यस दिनको बेलुकाको खाना त्यहीँ खाने कार्यक्रम बन्यो । उनले आफ्नो घरमा खाना यतै खाएर आउने खबर गरिन् ।

गफका क्रममा प्रमिलाले जेम्ससँग ‘नेपाल कस्तो लाग्यो ?’ भनेर सोधिन् । उनीहरू नेपाल आएपछि काठमाडौँ उपत्यकाका साथै पोखरा, लुम्बिनी, गोर्खा आदि ठाउँ घुमेर आइसकेका थिए ।

‘द हिस्टोरिकल एन्ड नेचुरल प्लेसेस आर गुड बट अल रोडस् आर भेरी डर्टी’’ (यहाँका ठाउँहरू ऐतिहासिक र प्राकृतिक छन् तर सबै सडकबाटाहरू धेरै फोहोर छन् ।)– जेम्सले भने ।

उसको कुरा सुनेर प्रमिलालाई लज्जा बोध भयो अनि उनले भनिन्, ‘बिस्तारै विकास भइरहेको छ । केही वर्षमा हाम्रो मुलुक पनि तपाईंहरूको जस्तै विकसित र सफा पनि हुनेछ ।’

जुनाका दाजु राजनले भने, ‘जेम्सलाई त्यस्तो लाग्नु स्वाभाविकै हो । हामीलाई त दिक्क लाग्छ यहाँ आउँदा । बाटामा धुलैधुलो, कागजका टुक्रा, चुरोटका ठुटा जताततै देखिन्छन् । हाम्रा नेताहरूले आफ्नो मुलुक बनाउन किन ध्यान नदिएका होलान् ।’ उनले कुरालाई अगाडि बढाउँदै फेरि भने, ‘विदेशमा कुनै मानिसले सडकमा हिँड्दा हिँड्दै चुरोट तानेर फालिदियो भने पनि तुरुन्त पुलिस आएर उसलाई जरिबाना  गरिहाल्छ । यस्तो कानून यहाँ पनि हुनुपर्यो नि । यहाँ त जे गरे पनि हुन्छ । जहाँ हेर्यो, त्यहीँ फोहोरै फोहोर छ, सफासुग्घर कहीँ पनि देखिँदैन । कानून बनाएर यी सबै कुरालाई नियन्त्रण गर्न सकिन्छ त । त्यसो भयो भने मानिसहरू सतर्क हुन्छन् र कहीँ पनि फोहोर गर्दैनन् ।’

प्रमिलाले भनिन्, ‘प्रयास त भइरहेको छ । हुँदै नभएको होइन नि । निरन्तर काम भइरहेको छ तर जति हुनुपर्ने हो, त्यति चाहिँ हुन सकिरहेको छैन । अहिले काठमाडौँ उपत्यका पहिलेको भन्दा धेरै सफा छ । मानिस पनि सचेत भएका छन् ।’

सबैले आफ्नो कुरालाई गम्भीरतापूर्वक लिएको बुझेर जेम्सले अंग्रेजीमा यो कुरा भने, ‘नेपाल अति सुन्दर देश हो । यहाँका मानिस र उनीहरूको व्यवहार मात्र होइन, यहाँको प्रकृति र संस्कृति पनि अति नै राम्रो लाग्यो मलाई तर सफा भने गर्नुपर्ने देखिन्छ ।’

प्रमिलाले विदेशीहरूले हाम्रो देशका बारेमा कस्तो धारणा राख्दा रहेछन् भन्ने कुरा बुझ्न खोजेकी थिइन् । उसको कुरा सुनेर माल पाएर पनि चाल नपाई देशको विकास गर्न नसकेकोमा उनलाई धेरै दुःख लाग्यो । त्यसपछि सबैसँग बिदा लिएर उनी घर गइन् ।

घर पुगेर उनी आफ्नो ओछ्यानमा सुतिन् तर निद्रा लागेन । उनका मनमा के के कुरा खेलिरहेका थिए । सडकमा जुन कुरालाई लिएर यत्रो नाराजुलूस भइरहेको थियो, त्यसको कारण अरू कोही नभएर उनकै दाजु खडानन्द थिए । प्रमिलाका दाजु पहिले समाजसेवाका नाममा बिचौलियाको काम गर्थे । पार्टीका ठूलाठूला नेता र मन्त्रीसँग उनको सिधै पहुँच थियो । जस्तोसुकै नमिल्ने काम पनि उनी सहजै गराउन सक्थे । दाजुको व्यवहार प्रमिलालाई मन  पर्दैनथ्यो । उनी दाजुलाई समाजसेवाका आवरणमा गलत काम नगर्न र अनैतिक नबन्न सल्लाह दिन्थिन् तर उनी तिमीहरूलाई पढाउनुपरेन, पाल्नुपरेन भन्थे र प्रमिलाले भनेको कुरै सुन्दैनथे । पछि उनी एक्कासि नयाँ पार्टीको नेता भएर देखापरे र पार्टी सरकारमा गएका बेला एकै पटकमा मन्त्री पनि बने । सुतिरहेकै वेला प्रमिलाका दिमागमा दाजुको विगतको घटना ताजा भएर आयो ।

****

एक दिन प्रमिला क्याम्पसबाट सरासर घर आइन् र आफ्नो कोठामा गएर ब्याग राखिन् अनि भान्सामा पसिन् । भाउजू विमला र सहयोगी दिदी भान्सामा के के पकाउँदै थिए । दाजुले आएर भाउजूलाई भने, ‘पाहुना हतार गरिरहेका छन्, छिटो गर !’

बाहिर मन्त्रीलाई भेट्न आउनेहरू पालो पर्खेर बसिरहेका थिए । भित्र गोप्य कोठामा मन्त्री खडानन्द र अर्का एकजना सज्जन गफ गर्दै थिए ।

‘मन्त्रीज्यूले त्यो काम जसरी पनि गरिदिनुपर्यो । अहिलेलाई यति भयो, काम भएपछि अरू टक्र्याउँछु ।’ ती सज्जनले भने ।

‘त्यो त सारै रिक्सको काम छ, तलमाथि सबैलाई मिलाउनुपर्छ, यतिले त गाह्रै हुन्छ, त्यति त हुनैपर्छ ।’ मन्त्री खडानन्दले मधुरो स्वरमा भने ।

प्रमिला भान्साको नजीकबाट सबै कुरा सुनिरहेकी थिइन् । उनलाई केही अनिष्ट हुन लागिरहेको छ भन्ने लाग्यो । भाउजूले चियाखाजा लगेर टेबुलमा राखिदिइन् र भान्सामा आइन् ।

खडानन्द र ती सज्जन गोप्य कोठामा बसेर चिया पिउँदै पत्रिका हेरिरहेका थिए । सज्जनले पत्रिकाको पाना पल्टाउँदै भने, ‘जताततै भ्रष्टाचार छ । के गर्नु दिनैपिच्छे एउटा न एउटा मन्त्री, नेता र कर्मचारी कुनै न कुनै भ्रष्टाचारमा परेको खबर नआएको दिनै हुँदैन । यसले गर्दा हामीजस्ता मानिसलाई पनि अप्ठ्यारो परिरहेको छ ।’

चियाखाजा खाइसकेपछि ती सज्जनले सुड्केसलाई मिलाए र मन्त्रीका हातमा राखिदिए अनि बिदा भई गाडी चढेर आफ्नो बाटो लागे ।

खडानन्दले ती सज्जनलाई बिदा गरे अनि पत्नीसँग दराजको चाबी मागेर त्यो सुड्केस लगेर दराजमा राखे अनि चाबी ल्याएर फेरि पत्नीलाई नै राख्न दिए अनि बाहिर भेट्न पर्खेकालाई सम्पर्क कोठामा बोलाउँदै क्रमशः भेट्न थाले ।

यी सबै घटना प्रमिलाले देखिरहेकी थिइन् । यसबाट उनका मनमा आँधिबेरीको तुफान चल्न थाल्यो ।

प्रमिलाले त्यो सुड्केसका बारेमा बुझ्न खोजिन् र भाउजूसँग चाबी मागेर दराजमा गई खोलेर हेरिन् । सुड्केसभरि लाख लाखका मुठा र एउटा ठूलै रकमको चेक पनि रहेछ । दाजुले कुनै नमिल्ने काम गरिदिने शर्तमा यो रकम लिएको प्रष्टै भयो उनलाई ।

अनि उनले भाउजूलाई भनिन्, ‘भाउजू ! यति ठूलो रकम ती मान्छेले किन दिएका दाजुलाई ?’

भाउजूले भनिन्, ‘नानी, मलाई केही थाहा छैन ।’

‘यो त ज्यादै नराम्रो काम भयो । यस्ता कुराको पर्दाफास नगरी हुन्न । आफ्नो मान्छे भनेर बस्यो भने भ्रष्टाचार कसरी रोकिन्छ र ! म त सहन्न ।’ उनले भाउजूलाई भनिन् ।

भाउजू डराइरहेकी थिइन् । दाजु भेटघाट सकेर भान्साकोठातिरै आए ।

प्रमिलाले भनिन्, ‘दाजु हजुरले घुस लिनुभएको हो ?’

‘अलि बिस्तारै बोल् न, अरूले सुन्छन् । सबैले त लिन्छन् घुस, मैले मात्र लिन नहुने हो र ! के म चाहिँ साधु हुँ र ! अब तेरो बिहे गर्न पैसा चाहिएन ?’ उनले बहिनीको मन जित्न खोजे ।

‘यस्ता घुसका पैसाबाट मैले बिहे गर्नुछैन दाइ । म त कुनै पैसा खर्च नगरीकन नै बिहे गर्छु ।’ प्रमिलाले उत्तर दिइन् अनि भाउजूतिर फर्केर भनिन्, ‘तपाईं पनि केही त बोल्नुहोस् न भाउजू । यसरी चूप लागेर बस्नुहुँदैन । यसको परिणाम राम्रो हुन्न ?’ प्रमिलाले भाउजूलाई सम्भावित अनिष्टका बारेमा सङ्केत गरिन् ।

‘के भनूँ नानी ! केही भन्यो कि घरमा फेरि महाभारत भइहाल्छ ।’ भाउजूले डराउँदै भनिन् ।

अनि प्रमिला दाजुसँग आगो भइन् र उनले दाजुलाई भनिन्, ‘पैसाका लागि इज्जत फाल्नुहुँदैन दाइ ! इज्जत पैसामा किन्न पाइँदैन । नैतिकता सबभन्दा ठूलो कुरो हो । त्यो समाप्त भयो भने केही पनि बाँकी रहँदैन । अहिले नै त्यो पैसा फिर्ता गरिहाल्नुहोस् ।’

‘तँ धेरै बाठी नहो, मलाई थाहा छ ।’ भन्दै दाजु आफ्ना कोठातिर लागे ।

केही दिनपछि सरकार परिवर्तन भयो । खडानन्द पनि मन्त्रीबाट खुस्के । त्यसपछि उनलाई अख्तियारले बोलायो अनि सिआइबीको अनुसन्धानमा परी पक्राउ पनि परे । यतिखेर उनकै रिहाइका लागि पार्टीका नेता र कार्यकर्ताहरू सडकमा नाराजुलूस गरिरहेका थिए ।

यसपछि प्रमिलाले मनमनै भनिन्, ‘यो सब कर्मको प्रतिफल त हो नि !’

प्रमिला ओछ्यानमा ढल्केर मुलुकलाई कसरी सुधार्न सकिन्छ भनेर चिन्तन गर्दै थिइन् । उनका मनमा एकपछि अर्को गर्दै प्रतिध्वनित भए – घुस, घोटाला, भ्रष्टाचार, राष्ट्रिय झण्डा, जुलूस,…चोर, देश छोड्, …जिन्दावाद, …मुर्दावाद, …निर्दोष नेता, ब्युटिफुल कन्ट्री बट रोडस् भेरी डर्टी आदि आदि अनि उनले अब यसरी हुन्न भन्दै अगाडि बढ्ने प्रण  गरिन् ।