रातको बाह्र बजिसकेको छ । छत्तीस घण्टादेखि विश्राम गर्न पाएको छैन । थोरै आराम गर्नुपऱ्यो भनेर इमरजेन्सी बाहिरको खाली रहेको बेन्चमा पल्टिएको एकैछिन मात्र बितेको हुन्छ, एउटा एम्बुलेन्स कम्पाउन्डभित्र छिरेर रोकिन्छ । हेल्पर भाइहरूले स्ट्रेचरमा बिरामी लिएर आउँछन् । बिरामीसँगै एक जना युवा एम्बुलेन्सबाट ओर्लिन्छन् । बिरामीलाई सास फेर्न गाह्रो भैरहेको छ । म युवकले दिएको उनको पिसिआर रिपोर्ट हेर्न थाल्छु । सिटी भ्यालु १२ सहितको पोजिटिभ रहेछ । तीन दिनअघि धुलिखेल अस्पतालमा पिसिआर गराएका रहेछन् । हतारमा रुबिना नर्सलाई ट्रली लिएर आउन भन्छु । उनी लगभग दौडिँदै ट्रली गुडाएर ल्याउँछिन् । रुबिनालाई प्रेसर नाप्न भन्छु र आफूचाहिँ अक्सिजन लेभल र हार्टबिट नाप्न अक्सिमिटर बिरामीको दाहिने हातको चोर औँलामा लगाइदिन्छु अनि टेम्परेचर गनले ज्वरो नाप्छु । १०२.२ डिग्री ज्वरो आएको हुन्छ । करिब एक मिनटपछि अक्सिमिटरले अक्सिजन लेभल ७० र हार्टबिट १०५ देखाउँछ ।
प्रेसर चेक गरेर रुबिना भन्छिन्, “सर प्रेसर १००/६० छ ।”

फोटो स्रोत: लोकान्तर डट कम

म भन्छु, “केस क्रिटिकल हुन सक्छ । छातीको समस्या हेर्दा निमोनिया भैसकेको जस्तो छ, तुरुन्त एक्स रे गर्न पठाउनुपर्छ । डिटेल्स टिपिहाल्नुहोस् ।”रुबिनाले गरेका प्रश्नहरूको जबाफ बिरामीसँग आएका एक जना युवकले दिन्छन् ।
“नाम ?”
“नर बहादुर श्रेष्ठ ।”
“उमेर ?”
“अड्चालीस वर्ष ।”
“ठेगाना ?”
“श्रीखण्डपुर, पनौती ।”

कुमुद अधिकारी


रुबिनाले पेसेन्ट फाराम बनाइसकेपछि नरबहादुरलाई एक्सरे रुममा पठाउँछु । हेल्पर भाइ सुरेन्द्र र नर्स शान्ति नरबहादुरलाई लिएर एक्सरे कक्षतिर जान्छन् । यता रुबिना भने अक्सिजन सिलिन्डरको रेगुलेटर एडजस्ट गर्न थाल्छिन् । छेउको अर्को बेन्चमा राखिएका सर्लाहीका रामप्रीत पासवानलाई दिइँदै गरेको एउटै अक्सिजन सिलिन्डरबाट अक्सिजन दिनुपर्ने स्थिति छ । अक्सिजन सिलिन्डर कम भएका कारण एउटा सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन दिन परिरहेको छ ।
रामप्रीत पासवानको अक्सिजन मनिटर गर्ने बेला भएछ । म अक्सिमिटर बोकेर अलिकति सर्छु । उनको दाहिने हातको चोर औँलामा अक्सिमिटर घुसार्छ र सोध्छु, “अहिले कस्तो छ रामप्रीतजी तपाईँलाई?”
उनी भन्छन्, “अब त बाँची हाले नि डाक्टर साब । हजुरले नै बचाउनुभयो मलाई । अस्ति यहाँ आउँदा त बाँच्दिनँ भन्ने लागेको थियो ।&”

रामप्रीत पासवान कालीमाटी फलफूल तथा तरकारी थोक बजारका बिक्रेता हुन् । फलफूलको थोक व्यापार गर्ने मान्छे;
मानिसहरूको भीड त हुने नै भयो । फेरि फलफूल मान्छेका लागि अत्यावश्यक वस्तु भएकाले लकडाउनमा पनि खुलै राख्नुपर्ने बाध्यता छ । पिसिआर पोजिटिभ रिपोर्ट आएको तीन दिनपछि यिनलाई सास फेर्न निकै कठिन भएछ । तीन दिनसम्म त लक्षण नदेखिएकाले घरमै आइसोलेसनमा बसेका रहेछन् । सास फेर्न गाह्रो भएपछि उनकै छोराले यहाँ ल्याए । यिनलाई अन्य कुनै लक्षण देखिएको थिएन तर सास फेर्न गाह्रो भैरहेको थियो । धेरै डराएर यहाँ आउँदा थरथर कामिरहेका थिए । मैले अक्सिजन लेभल नाप्दा ६५ थियो र पल्स १०० थियो । यिनको स्थिति अन्य बिरामीहरूको भन्दा गम्भीर थिएन । सुरुमा त यी धेरै डरैले ढल्न आँटेका थिए ।

मैले यिनलाई अँगालो मारेर हात मुसार्दै सम्झाएको थिएँ, "किन यति डराउनुभएको ? तपाईँलाई यहाँ अरू बिरामीको तुलनामा केही भएकै छैन । तपाईँको अक्सिजन लेभल त डरले पो यति तल घटेको रहेछ, नडराउनुहोस् केही हुन्न । हामी छौँ नि यहाँ । यी हेर्नुहोस् त पाँचै मिनटमा तपाईँको अक्सिजन लेभल ७५ पुगिसकेको छ ।” मैले यति भनेपछि रामप्रीत मुसुक्क मुस्कुराएका थिए । उनको अनुहारको आभाले नै उनमा जीवन सञ्चार भैरहेको देखाएको थियो ।
अहिले यिनको अक्सिजन लेभल बढेर ९२/९३ भएको छ । यो देखेपछि म उनलाई भन्छु, “ल रामप्रीतजी, बिहानसम्ममा तपाईँलाई डिस्चार्ज दिउँला । घरमै गएर आराम गर्नुहोला है ।” उनको अनुहार अझ उज्यालो देखिन्छ भन्छन्, “हस् । डाक्टर साब !”

*
म पल्स अक्सिमिटर बोकेर त्यहाँबाट बाहिरिन्छु । बाहिर अस्पताल परिसरमै हामीले अस्थायी टेन्ट लगाएर कोभिड
बिरामीहरूको उपचार गरिरहेका छौँ । अहिले टेन्टभित्र बीस जना कोभिड बिरामी छन् । बिरामीको गम्भीरता र प्रकृति सबैको फरक छ । भित्रका सबै बेड भरिएर हामीले टेन्टको व्यवस्था गरेका हौँ । टेन्टका अस्थायी बेडमा पनि बिरामी नअटाएपछि अस्पताल
निर्देशकले करिडरमा वा प्रतिक्षालयको बेन्च वा कुरुवा बस्ने बेन्चमै भए पनि कोभिड बिरामीको उपचार गर्ने निर्देशन दिनुभएको छ ।

भरसक कोभिडका बिरामीलाई फर्काउनु नपरोस् भन्ने लक्ष्य लिएका छौँ र आजका मितिसम्म त्यसो गर्नुपरेको पनि छैन । बढीभन्दा बढी बिरामीलाई सेवा गर्न सकियोस् भनेर हामीले बिरामीलाई अवस्था हेरी छिटो डिस्चार्ज गर्ने गरेका छौँ । रामप्रीतलाई पनि
डिस्चार्ज गर्ने बेला भैसकेको छ ।

टेन्टको बेड नम्बर टि-१ मा बिहेको दोस्रो दिन ल्याइएकी बेहुली छिन् । माइतीघरबाट बिदावारी भएको दोस्रो दिननै यिनलाई
सास फेर्न गाह्रो भएपछि यहाँ ल्याएका थिए । यिनलाई पखाला चल्ने, खोकी लाग्ने, जरो आउने, शरीर दुख्ने र गन्ध-स्वाद थाहा नपाउने लक्षण विकसित भएका थिए । बिहेको दुई दिनअघि नै यिनलाई जरो आउन सुरु भैसकेको थियो तर बिहे सकिहाल्ने हतारो गरेका थिए परिवारले । सिटामोल खाएर यिनले जसोतसो बिहेको दिनसम्म त थेगिन् तर भोलिपल्ट गम्भीर लक्षणहरू देखिन थाले ।

बेहुलाले हतार हतार यहाँ ल्याएका थिए । यिनलाई यहाँ ल्याएको पनि पाँच दिन त भैसकेको थियो । यिनका कुरुवा यिनकै नवश्रीमान् थिए । निमोनिया सुरु भैसकेकाले एन्टिबायोटिक चलाउन थालिएको थियो । एन्टिबायोटिक सुरु भएदेखि यिनको स्वास्थ्यमा ढिलो क्रमिक सुधार भैरहेको थियो । रेमडेसिभिर आवश्यक पर्दैन जस्तो लागेको थियो । अहिलेको अवस्था हेर्दा यिनी चाँडै निको भएर घर जान सक्छिन् भन्नेमा म निश्चित जस्तै थिएँ । म यिनको नजिक गएँ । अक्सिजनको फ्लो निकै कम थियो । बेडको सिरानीनिर राखेको पेसेन्ट चार्ट निकालेर हेरेँ । आधा घण्टाअघि नापेको अक्सिजन लेभल ९१ रहेछ । आज दिउँसो अक्सिजन सपोर्ट झिक्दा केही कम्पिकेसन भएन भने भोलिसम्ममा यिनलाई पनि डिस्चार्ज गर्न सकिएला भन्ने लाग्यो । त्यहाँबाट अर्को बेडतिर लाग्नै आँटेको थिएँ ।

बेहुलीले म आएको थाहा पाएर आँखा खोलिन् र भनिन्, “डाक्टर अनुप !” म त्यहीँ अडिएँ र उनीतिर हेरेँ । उनका आँखाहरूमा आँसु भरिएको थियो र अनुहारमा जीवनको ओज धपक्क बलेको थियो । भनिन्, “डाक्टर अनुप ! पुनर्जन्म दिनुभयो, म कसरी आभार व्यक्त गरौँ ?” मैले भने,  “हेर्नुहोस्, जीवन र मृत्यु त ईश्वरका हातमा हुन्छ । हामी डाक्टरहरू त सेवकमात्र हौँ ।”  अनि फेरि सोधेँ, “प्रेम विवाह हो ?” जबाफमा उनी हाँसिन् मात्र । यिनलाई अस्पताल ल्याउन अलिक ढिलो भएको भए बचाउन सकिने थिएन तर यिनी र यिनीजस्तै अन्य बिरामीहरूको अनुहारमा देखिने कृतज्ञता र आदर नै हामी डाक्टरहरूका अमूल्य निधि थिए ।

यिनलाई यहाँ ल्याएको दिन यिनको नूर गिरेको थियो, आत्मविश्वास शून्यमा झरेको थियो र यिनलाई डरले खर्लप्पै निलेको थियो । यिनलाई लिएर आउने यिनका नवश्रीमान्‌समेत अत्तालिएर यता न उता भएका जस्ता लाग्थे । आउनासाथ केही मिनट हाई फ्लो अक्सिजनमा राखेपछि यिनी राम्ररी सास फेर्न सक्ने भइन् र मैले सम्झाएँ, “हेर्नुहोस्, बैनी ! तपाईँ किन अत्तालिनुभएको । केही पनि हुँदैन तपाईँलाई । कुनै गम्भीर रोग छैनन् । रोगप्रतिरोधी शक्ति पनि तपाईँमा राम्रो छ । तपाईँ धेरै डराएकैले यस्तो कम्प्लिकेसन देखिएको हो । तपाईँको उपचार गर्ने हामी डाक्टरहरू छँदै छौँ । तपाईँलाई केही हुन दिँदैनौँ । ढुक्क हुनुहोस् । अहिले नै संसार छोड्ने बेला भएको छैन । भर्खर त नयाँ जीवनको सुरुवात गर्नुभएको छ । फिटिक्कै नडराउनुहोस् है ।” दिनमा तीन चारपटक राउन्डमा आउँदा म यिनलाई सम्झाउँदै जान्थेँ । आज यिनी निको भैसकेकी छिन् । बेडको अर्को छेउमा बसेका यिनका नवश्रीमान् पनि मुसुक्क हाँसिरहेका छन् । उनको अनुहारबाट पनि आभार तथा आदरको भाव प्रकट भएको छ ।

*
म दोस्रो बेड नम्बर टि-२ तिर लम्किनै लागेका बेला हेल्पर भाइ सुरेन्द्रले बोलाएको सुन्छु, “डाक्टर साब, अघिको पेसेन्टको एक्सरे रिपोर्ट आयो सिस्टरले बोलाउँदै हुनुहुन्छ ।” “ल हिँड” भनेर म उनी पछि पछि लम्किन्छु । नरबहादुरलाई सिस्टर रुबिना र शान्ति भएर बेडमा सुताइसकेका रहेछन् । उनलाई हाई फ्लो अक्सिजन सपोर्टमा राखिसकिएको थियो । सिस्टर शान्तिले मलाई एक्सरे रिपोर्ट दिँदै भन्छिन्, “सर यो केस क्रिटिकल होला कि जस्तो छ ।”शान्तिलाई पनि बिरामीहरूको हालत देख्नेबित्तिकै कस्तो केस हो भन्ने थाहा हुन थालिसक्यो ।

एक्सरेले छातीभरि निमोनिया फैलिएको देखाइरहेको थियो । अरू कुनै रोग छ कि भनेर म ती युवकलाई सोध्छु, “उहाँले अरू केही दवाई खानुभइरहेको छ कि छैन ?” युवक अत्तालिँदै गोजीबाट एउटा पट्याएको कागज निकाल्छन् र मलाई दिन्छन् । मैले गरेको आशङ्का ठीक निस्कियो । प्यासेन्ट डायाबेटिक रहेछन्, बिहान बेलुकै औषधि खाइरहेका । प्रेसर भने नर्मल नै थियो । सिस्टरलाई प्यारासिटामोल र डोक्सीसिलिन चालु गर्न भनेँ र बिरामीको अनुहारमा हेर्दै उनको हात समातेर भनेँ, “नरबहादुरजी, अब अस्पताल आउनुभएको छ । हामीले उपचार सुरु गरिसक्यौँ । नडराउनुहोस् है, अलिक समय लाग्छ तर बाँचिन्छ । अहिल्यै उँभो जाने बेला भएको छैन नि । यहाँ हामी सबै जना तपाईँहरूका लागि त काम गरिरहेका छौँ । केही अप्ठ्यारो पऱ्यो भने तुरुन्तै हामीलाई भन्नुहोला । हामी कोही न कोही यतैतिर हुन्छौँ ।”त्यसपछि मैले ती युवकलाई सोधेँ, “तपाईँ उहाँको को हो?”
“छोरा ।”
उमेरले पक्कै भाइ नै होलान् भनेर सोझै भनेँ- “हेर भाइ, तिमीजस्ता युवाले त बिरामीलाई सान्त्वना दिने, परामर्श दिने, ढाडस दिने पो गर्नुपर्छ । तिमी किन यसरी ओइलिएको ? कि बिरामी छौ ?”
“होइन, डाक्टर ।”
“ल मन दह्रो बनाएर बस । बुबालाई जाती हुन्छ । तिमी आफैँ बिरामीजस्तो भयौ भने बुबालाई कसरी निको पार्ने त?” भन्न त भनेँ
तर शान्ति सिस्टरले भनेझैँ, केस क्रिटिकल हुँदै गयो भने त गाह्रो पर्छ । फेरि जाति हुँदैनौ भनेर बिरामीलाई हतास बनाउनु पनि त भएन । औषधि सुरु गरिसकेको छ, तीनचार घण्टमा केही न केही त थाहा भैहाल्छ । औषधिले काम गऱ्यो भने यिनको खतरा पनि टर्छ । यस्तै सोच्दै म टेन्टमा भएका बेडतिर लागेँ ।

*
टि-२ मा भएका बिरामीको अवस्था निकै क्रिटिकल थियो । साठी वर्षका उनलाई दश वर्षअघिदेखि डाइबेटिजको समस्या थियो ।

त्यसमाथि उनले प्रेसरको पनि दवाई खाइरहेका थिए । फोक्सो पनि एथ्स्माटिक देखिएको थियो । यिनलाई यहाँ ल्याएको छ दिन भैसकेको थियो । एन्टिभाइरल ड्रग रेमडेसिभिर र उच्च शक्तिको एन्टिबायोटिकले पनि यिनको निमोनिया नियन्त्रण गर्न सकिइरहेको थिएन । रेमडेसिभिर र एन्टिबायोटिक नसामा दिनका लागि डेक्ट्रोज सोल्युसन लगाई राखिएको थियो । ट्युबमा हेर्दा सोल्युसन राम्ररी पास नभएको जस्तो लागेर उनको हाततिर हेरेँ । दाहिने हातमा क्यानुला लगाएको ठाउँ सुन्निएको थियो र सोल्युसन पास भएको थिएन । क्यानुलाको निडल डिस्प्लेस भएर सोलुसन नसामा जान पाएको थिएन । यिनलाई अर्को क्यानुला लगाइदिनुपर्ला भनेर अलिक परतिर रहेकी नम्रता सिस्टरलाई भनेँ, “सिस्टर एउटा क्यानुला ल्याउनुहोस् त ।” नम्रता ट्रली गुडाउँदै म नजिक आइन् । मैले बिरामीको दाहिने हातबाट क्यानुला निकालेर ट्र्यासबिनमा फ्यालिदिएँ । ट्युब भने त्यही जोडिदिने विचार गरेँ । यी शिथिल भएका बिरामीले मैले हात चलाएको थाहा पाएछन् । सोधे, “डाक्टर साब, के भयो ?” मैले भनेँ, “सलाइन पास भएनछ दाहिने हातबाट, त्यसैले देब्रेतिर लगाउन लागेको ।” उनी आफ्नै हालतदेखि निराश भैसकेका रहेछन्, भने, “अब त बाँच्ने आशै हराइसक्यो डाक्टर साब!” बिरामीको आत्मविश्वास बढाउनुपऱ्यो भनेर भनेँ, “किन यति चाँडै हार मान्नुभएको । हेर्नुहोस् हामी सक्दो प्रयास गरिरहेका छौँ । तपाईँ निको हुनुहुन्छ । अँ, अलिक समय भने लाग्ला ।”  उनी “खै !” भनेर शान्त भए । क्यानुला छिराउनका लागि भेन खोज्दै थिएँ, अचानक यिनको श्वासप्रश्वास अनियमित भयो । यिनी हाइ फ्लो अक्सिजनमै थिए अहिलेसम्म । यो लक्षण भने खतराको लक्षण थियो । सिस्टर नम्रतालाई भने, “तुरुन्त सुरेन्द्र र शान्तिलाई बोलाउनुहोस् । यिनलाई भेन्टिलेटर सपोर्टमा लैजानुपर्छ ।”
हामी चार जना भएर बिरामीलाई स्ट्रेचरमा राखी आइसियुतर्फ कुदायौँ । टेन्टमा भएका अन्य बिरामीहरू पनि हतास देखिँदै थिए । आइसियुमा पुगेपछि, डाक्टर सन्दीपलाई बिरामी जिम्मा लगाएँ । धन्न एउटा भेन्टिलेटर खाली रहेछ । डा. सन्दीपले “म हेर्छु, तपाईँ फर्किनुभए हुन्छ ।” भनेपछि ढुक्क भएर हामी फेरि टेन्टतिरै फर्कियौँ ।

टेन्टमा पुगेर बेड नम्बर टि-३ तिर नगई सोझै टि-१० मा पुगेँ । यस बेडमा टि-२ का बिरामीकी ५८ वर्षिया पत्नी थिइन् । यिनी
पनि डायाबेटिक थिइन् । यहाँ ल्याउँदा यिनलाई पनि निमोनियाले भेटिसकेको थियो । औषधि र अक्सिजन सपोर्टले आफ्नो पतिभन्दा एक दिनपछि आएकी यिनको स्वास्थ्य धेरै सुधार भैसकेको थियो । हिजो बेलुका दश बजेदेखि अक्सिजन सपोर्ट हटाइएको थियो र यिनलाई आज डिस्चार्ज गर्न आँटिएको थियो ।

टेन्टमा पनि कतिपय बेडहरूका बीच बीचमा कर्टेन स्ट्यान्डहरू थिए । यिनको ठाउँबाट सोझै बेड नम्बर टि-२ देखिँदैनथ्यो तर
अघि उनले आफ्ना पतिलाई टेन्टबाट निकालेको देखिसकेकी थिइन् । अब मैले यिनलाई सान्त्वना दिनुपर्ने थियो । मैले भनेँ, “उहाँलाई सास फेर्न केही गाह्रो भएर आइसियुमा सिफ्ट गरेका छौँ । सुर्ता नगर्नुहोस्, निको हुनुहुन्छ ।” उनले हाम्रा क्रियाकलापहरू ध्यान दिएर हेरिरहेकी रहिछिन् । भनिन्, “तपाईँहरू त भगवान् नै हुनुहुँदो रहेछ । तीन दिन भो तपाईँलाई यहीँ देखिरहेकी छु । चौबीसै घण्टा कामै काम । थाक्नु हुन्न यति धेरै काम गर्दा?”

शरीर थाके पनि प्रफुल्ल मनले भनेँ, “अलिअलि थकाइ लाग्छ । हामी आलोपालो गरेर केही घण्टा विश्राम पनि गर्छौँ ।” भन्न त भनेँ तर तीन चार घण्टाका बीचमा पाँच मिनेटदेखि बढी आराम गर्न पाएको भने छैन ।
उनले फेरि थपिन्, “;डाक्टर साब, मलाई मर्न रत्तिभर डर लाग्दैन । मेरो चाहना यत्ति हो कि मर्ने बेलामा बिरामीलाई कुनै कष्ट नहोस् । मृत्युबाट बचेर कोही अजम्बरी भएको छैन । हामीले आफ्नो भागको जीवन भोग्नु न पर्ने हो ।”

यिनका कुरा सुन्दा मलाई लाग्यो, अरू बिरामी पनि यिनीजस्तै भैदिए हामीलाई उपचार गर्न कति सहज हुँदो हो । यहाँ त
बिरामीहरू रोगले भन्दा पनि डरले आधा मरिसकेका हुन्छन् । मैले भनेँ, “तपाईँको जस्तो आत्मविश्वास भए, अरू बिरामी आधा समयमै निको हुन्थे । बिरामीलाई रोगले भन्दा पनि डरले धेर सताइरहेको छ ।” उनले सहमतिले टाउको हल्लाइन् र म त्यहाँबाट बिदा भएर बेड नम्बर टि-३ तिर लागेँ । टि-३ देखि टि-२० सम्मका बिरामीहरू हेर्दाहेर्दै बिहानको पाँच बजिसकेको थियो । टेन्टबाट बाहिर निस्केर इमर्जेन्सी वार्डमा छिर्न आँट्दा आइसियुका हेल्पर भाइ राम आउँदै गरेको देखेँ । उनी मछेउ आएर भने, “सर टि-२ को बिरामीले टि-१० को बिरामीलाई बोलाइदिनू भनेर जिद्दी गरिरहेका छन् ।”

“ए हो र ? ल सुरेन्द्रलाई पनि भन अनि उहाँलाई ह्विलचेयरमा राखेर ल्याऊ ।” यति भनेर म आइसियुतर्फ दौडिएँ । आइसियुमा डा. सन्दीप तिनै बिरामीको बेडछेउमा उभिइरहनुभएको थियो । मलाई देख्नासाथ टि-२ का बिरामीले भने, “डाक्टर मेरी श्रीमतीलाई बोलाइदिनुहोस् न, छिटो ।”

मैले भनेँ, “आउँदै हुनुहुन्छ, नअत्तालिनुहोस् ।” डा. सन्दीप र मैले मनिटरहरूतर्फ आँखा लगायौँ । बि.पि. ७०/४० मा झरिसकेको थियो र उच्चतम फ्लो दिँदा पनि अक्सिजन लेभल ६० भन्दा उँभो लागेको थिएन । हार्टबिट १२५ थियो । बिरामीलाई अप्ठ्यारो भएको स्पष्ट देखिँदैथियो । पिपिई लगाएका डा. सन्दीप पसिनै पसिना भैसक्नुभएको थियो । भन्नुभयो, “हाँलाई अस्थायी एनेस्थेसिया दिएर दुई घण्टा त भेन्टिलेटरमा राख्यौँ । केही सुधार भएन । अब मल्टिपल अर्ग्यान फेलरको स्टेजमा पुगिसकेजस्तो छ । भर्खरै मात्रहोसमा आउनुभएको हो उहाँ ।”

मैले थपेँ, “स्रोत र साधनले दिएसम्म सक्दो प्रयास त गरेकै हौँ क्यारे । त्यसदेखि बाहेकको कुरा हाम्रो हातमा छैन नै ।”

डा. सन्दीप भन्दै हुनहुन्थ्यो, “एकछिनअघि चालीस वर्षका एक बिरामी गए । चेन स्मोकर रहेछन् । फोक्सो त्यति ड्यामेज नभए पनि, कोभिड थाम्न सकेन । तीन घण्टामा चार जना बिरामी गैसके । हैट, कसरी काम गर्नु हौ? ”
मैले अलिक कुरा घुमाएँ, “अचेल त मलाई धन्न मेडिसिन पढेछु भन्ने लागिराको छ । जाने गए नै, हाम्रा कारणले गएका हैनन् तर हाम्रा कारणले बाँचेकाको हिसाब गर्नु त! कति मान्छे बचायौँ हामीले । मलाई त यति धेरै आत्मसन्तुष्टि यसअघि कहिल्यै भएको थिएन ।”
डा. सन्दीपले भन्नुभयो, “द्याट्स द पोइन्ट ।” उहाँको अनुहार उज्यालियो । सेवा र समर्पणको भावनाले भरिएपछि मानिसले के गर्न सक्दो रहेनछ? हामी स्वयम् यसका उदाहरण बनेका थियौँ । हाम्रा सहकर्मी नर्सहरू उदाहरण बनेका थिए । टेकु अस्पतालका प्रत्येक कर्मचारी उदाहरण बनेका थिए ।

*
छेउमा श्रीमती उभिएको देख्नासाथ टि-२ का बिरामीले भने, “अब मेरो समय आयो है, शोभा । हाम्रो पैँतीस बर्से सहयात्रा यहीँसम्मका लागि रहेछ । तँसित भेटै पो हुँदैन कि जस्तो लागेको थियो । जीवन यति नै रहेछ । अहिले धन्न तँलाई देख्न पाएँ ।”
श्रीमतीले भनिन्, “किन त्यस्तो सोच्नुभएको । छोराछोरीले यत्रो गरिरहेका छन् । उहाँ डाक्टर साबहरू चौबीसै घण्टा खट्नुभएको छ । तपाईँलाई केही हुँदैन । निको हुन्छ ।”
सुनेर बिरामी मुसुक्क मुस्कुराए । मलाई लाग्यो यो बिदाइको हाँसो हो । उकालीओराली सँगै गरेकी, सुख-दुःख सँगै बाँडेकी, सधैँ उज्यालो लिएर बाँच्ने प्रियासँग बिदाइको अन्तिम हाँसो । श्रीमती ह्विल चेयरमा बसेर आफ्नो वार्डमा फर्किइन् । हेल्पर भाइहरूले उनलाई आइसियुको गेटबाट निकाल्दै गर्दा देखेँ, उनका आँखा सजल भएका छन् । प्रकट नभएको एउटा सत्यको असर । अव्यक्त वेदनाको असर ।
यता श्रीमान्‌को अनुहारमा भने तेज हराएको छैन तर शरीरको बेचैनी भने असाध्यै बढेको छ । डा. सन्दीपसँग बिदा मागेर म
इमरजेन्सी वार्डमा फर्किएँ । आधा घण्टापछि खबर आयो – टि-२ का बिरामीले यो धरती छाडे ।

*
बिहानको ६ बज्नै लागेको छ । अघि राति आएका नरबहादुरलाई टि-२ नं बेडमा सिफ्ट गर्न नर्सहरूलाई अह्राएको छु ।
नरबहादुरका छोरा पनि अघिभन्दा केही ताजा देखिन थालेका छन् । नरबहादुरको ज्वरो घटेर ९९.५ डिग्री भएको छ । अस्पताल आएर औषधि चालु गरेको करिब ६ घण्टापछि यति ज्वरो घट्नु भनेको राम्रो सङ्केत हो । ज्वरो घटेकाले अब डोक्सिसिलिनले पनि निमोनिया घटाउँछ भन्ने कुराम म विश्वस्त छु । स्वास्थ्यमा अचानक गडबडी नभए नरबहादुर छिटै स्वस्थ हुन्छन् भन्ने ठूलो विश्वास पलायो ।
नरबहादुरलाई टेन्टतिर पठाएर म छेवैमा रहेका रामप्रीततिर लाग्छु । रामप्रीतको अक्सिजन लेभल ९३ छ । अन्य कुनै दीर्घ रोगछैनन् । उनको अनुहार पनि उज्यालो छ । यिनलाई यहाँ आएर पुनर्जीवन प्राप्त गरेँ भन्ने लागिरहेको छ । पेसेन्ट चार्टमा “डिस्चार्ज”
लेखिदिएर सही गरिदिन्छु र भन्छु, “ल रामप्रीतजी, तपाईँ निको हुनुभयो । अब पिसिआर गराइरहनु पर्दैन । घरमा गएर एक हप्ता आराम गर्नुहोला । पोसिलो खानेकुरा खानुहोला । चिन्ता पटक्कै नगर्नुहोला । केही अप्ठ्यारो भै हाल्यो भने यहाँ आउनुभए हुन्छ । हामी छौँ नि यहाँ । है, त ।”

ओजिलो अनुहार लिएर रामप्रीत भन्छन्, “हजुरलाई लाख धन्यवाद । मर्छु भन्दै आएकाहरूलाई हसाउँदै फर्काउनुहुन्छ । योभन्दा
ठूलो पुण्य के नै हुन सक्ला र ।”

*
इमरजेन्सी वार्डमा छिर्नुअघि यसो घडी हेर्छु बिहानको ६ बजिसकेछ । ए आधा घण्टाको ब्रेकको समय भैसकेछ । वासरुम छिरेर
फ्रेस भई चेन्ज रुममा आउँछु । लगाइराखेको पिपिई फुकाल्छु । भित्र लगाएका सर्ट पैन्ट, गन्जी सबै पसिनाले पूरै भिजेका छन् ।
कपडाहरू फेर्छु र ड्राइ नास्ता खान्छु । चिया पिउँछु र फेरि नयाँ पिपिई लगाउँछु । यही पिपिईले अर्को बाह्र घण्टासम्म धान्नुपर्छ ।
वासरुम जाँदैपिच्छे पिपिई फेर्नुपर्ने भएकाले, हामीले खाने र पिउने मात्रा घटाएका छौँ । आफ्नो स्वास्थ्यमा केही नकारात्मक असर त
पर्छ होला तर बिरामीहरूको कृतज्ञता र आशीर्वादले सबै निको हुन्छ ।
यसो घडी हेर्छु । ६ बजेर २० मिनट गएको हुन्छ । स्मार्ट फोन निकाल्छु र गुगल ड्युओमा कवितालाई डायल गर्छु । पत्नी कविता र
छोरो दिपेशसँग बिताउने समय भनेको यही दश मिनट र बेलुकाको दश मिनट मात्रै हो । उनीहरूसँग भेट हुने समय भने उनै ईश्वरले
निश्चित गर्लान् ।
****