
उनी लगभग सैँतिस वर्ष क्याम्पसमा पढाएर रिटायर्ड भए । उमेरको हदका कारण उनी अनिवार्य अवकाशमा परेका थिए । पाँच वर्षकै उमेरमा बाबु बितेपछि उनलाई उनकी एकल आमाले निकै दुःखजिलाका साथ दश कक्षासम्म पढाएकी थिइन् । दस कक्षामा पढ्दै गर्दाको अन्तिम समयमा आमा पनि बितिन् । दाजुभाइ, दिदीबहिनी कोही थिएनन् । एक्ला सन्तान थिए ।
बाबुआमा दुवै नभएपछि उनलाई गाउँको त्यस घरमा एक्लै बस्ने अवस्था रहेन । फुपूले लगेर राखेकी थिइन् । फुपू काठमाडौंमा बस्थिन् । फुपाजु कर्मकाण्ड अर्थात् पुरेत्याइँ गर्थे । फुपाजुको संसर्गमा पुगेपछि उनले पनि पुरेत्याइँ अर्थात् कर्मकाण्ड सिके । बेलाबेलामा जजमानका घरमा श्राद्ध तथा सत्यनारायणका पूजाका लागि जान्थे । पाठ गर्ने अवसर पाउँदा पाठ गर्न हिँड्थे । यही पेशाबाट उनले आफ्नो खर्चका लागि बिस्तारै दुईचार पैसा आर्जन गर्न थाले र सोही आम्दानीका माध्यमबाट फुपूकोमा अर्थात् काठमाडौंमै बसेर मध्यमा र शास्त्रीका कक्षाहरू पास गरे । त्यसपछि भने उनले संस्कृततर्फको आचार्य नपढी प्राइभेटतर्फ लागेर त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एमए गरे ।
छब्बिस–सत्ताइस वर्षको उमेरमा एमए सक्नासाथ उनले क्याम्पसमा प्राध्यापनका लागि नियुक्ति पाए र त्यसपछि लगातार सैँतिस वर्षसम्म प्राध्यापन गरेर उनी रिटायर्ड भएका थिए । लामो समयसम्मको प्राध्यापकीय जीवनमा उनी प्रोफेसर हुन सकेनन्, रिडरमै सीमित रहे । उनले चाहेर पनि विद्यावारिधि गर्न सकेनन् । आफूभन्दा धेरै पछाडि विश्वविद्यालयको सेवामा प्रवेश गरेकाहरू मात्रै नभएर आफ्ना चेलाहरूसमेत प्रोफेसर भइसक्दा पनि उनको रिडरभन्दा माथि पदोन्नति भएन । लामो समयको प्राध्यापकीय जीवनमा उनको यो एउटा चाहना चाहिँ अधुरो नै रह्यो ।
मसँग गफ्फिने सन्दर्भमा उनले एकपटक गुनासो पनि गरेका थिए, ‘हेर्नुस् जनार्दनजी ! विद्यावारिधिको प्रमाणपत्र खरिद गर्नेहरू प्रोफेसर हुने मुलुक हो यो ।’ उनले अझ अगाडि बढेर थपेका थिए, ‘जुन व्यक्तिमा विद्यार्थीलाई सन्तुष्ट पारेर पढाउने क्षमता छैन, यहाँ त्यही व्यक्ति प्रोफेसर हुन्छ । नेताहरूको चाकडीका भरमा पदमा पुग्नेहरूबाट नै बिग्रेका हुन् हाम्रा विश्वविद्यालयहरू ।’ उनले यसो भनिरहँदा मलाई यिनै बुढा प्रोफेसरका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख–रचनाहरूको सम्झना हुन्थ्यो । यिनको आफ्नै लेखनमा पनि वर्णविन्यासगत शुद्धता हुँदैनथ्यो । वाक्य शुद्ध हुँदैनथे । यतिसम्म कि समालोचना वा समीक्षा भनेर लेखिएका यिनका कतिपय लेखहरू सामान्य खालका निबन्धजस्ता हुन्थे । पढाउने क्रममा पनि यिनी विषयवस्तुभन्दा बढी त बाहिरै बहकिन्थे ।
एकपटक यिनै बुढा प्रोफेसरको एउटा समीक्षा संग्रहको विमोचनका क्रममा टिप्पणीका रूपमा अर्का एक प्रोफेसरले भनेका थिए, ‘गुरुको यस संग्रहभित्रको भाषा जेरीजस्तै मीठो र घुमाउरो छ ।’ उक्त समीक्षा संग्रह पढेपछि टिप्पणीकार महोदयको यस भनाइबाट मैले के बुझेँ भने– समीक्षा वा समालोचनाको भाषामा पदक्रमको विचलन राम्रो हुँदैन । र अर्को कुरा– बुढाको शैली चाहिँ जेलिएको हुन्थ्यो अर्थात् जेरीको फेद र टुप्पो कता, पत्ता लगाउन नसकेजस्तै । मेरा विचारमा यस भनाइमार्फत् बुढाको भाषाशैलीलाई लिएर टिप्पणीकारले मजैले कटाक्ष गरेका रहेछन् !
उनी आफू प्रोफेसर हुन नसकेर भित्रभित्रै पिरोलिए पनि बाहिर चाहिँ पदोन्नति खाएका प्रोफेसर साथीहरूलाई सम्मान नै गर्थे । पेशाप्रति इमानदार र लगनशील थिए । सँगैका सहकर्मीहरू नयाँ खुलेका अन्य कलेज तथा प्लस टुहरूमा कमाउन धाउँथे तर उनी त्यस मामलामा अगाडि बढ्नुको सट्टा बरु घरमै बसेर लेखपढ गर्थे । उनको लगाव साहित्यिक तथा सांस्कृतिक संघसंस्थातिर थियो । साहित्यिक गोष्ठीहरूको आयोजना एवम् पत्रपत्रिकाहरूको प्रकाशनमा पनि उनको रुचि थियो । विशेष गरी उनी सिर्जनात्मक लेखनमा बढी रुचि राख्थे । उनका केही सिर्जनात्मक र केही समीक्षात्मक कृतिहरू पनि प्रकाशित थिए ।
पारिवारिक कुरा गर्दा उनका चार छोरी र दुई छोरा थिए । उनलाई तिनीहरूको पालनपोषण र लेखपढका लागि पनि अर्थोपार्जन हुने अन्य गतिविधिमा समेत संलग्न हुनु आवश्यक थियो । क्याम्पसमा नियुक्ति लिएका दिनदेखि उनले जजमानी गर्न छोडेका थिए । अर्थात् क्याम्पस पढाउने प्राध्यापक भएर पनि टपरी टकटक्याई हिँड्नका लागि उनको स्वाभिमानले दिएन । आर्थिक उपार्जन गरेर घरव्यवहार चलाउन उनले वरिपरिका छरछिमेकी बटुलेर ढिकुटी खेलाउने गरेका थिए । ढिकुटी खेलाएबापत आउने केही रकम उनका लागि आयआर्जनको अतिरिक्त स्रोत थियो ।
शहरको काँठतिर दश आना जति जग्गा जोडेका थिए । त्यसैको एउटा छेउमा घर बनाएर बाँकी रहेको जग्गामा उनी सिजनअनुसार काउली, बन्दा, मुला, सिमीलगायतका सागसब्जी लगाउँथे । कहिलेकाहीँ तिनै तरकारी बेच्थे । यसबाट पनि उनलाई घरको आर्थिक अवस्थामा केही सहयोग पुगेको थियो । पछाडिपट्टि गोठ बनाएर एउटा दुहुनो गाई पालेका थिए । म्याडमले गाईको स्याहारसुसार गर्थिन् । दूध भने बेच्न पुग्दैनथ्यो । घरका केटाकेटीलाई नै ठिक्क हुन्थ्यो । घर पनि शुरूमा चार कोठाको मात्रै बनाएका थिए भने पछि आठ–दश वर्षकै अन्तरालमा माथिपट्टि पनि चारवटा कोठा थपेका थिए ।
खानपान सादा थियो । उनी रक्सी पिउँदैनथे । बरु चुरोट चाहिँ पिउँथे । त्यति बेला प्रायः गैंडा चुरोट पिउँथे । विशेष अवसरमा अर्थात् कहिलेकाहीँ भने याक चुरोट पनि पिउँथे । कुनै कुनै दिनमा त गैँडा चुरोटको एक पाकेटै पनि सकिदिन्थे । चिया पिउँदाको समयमा उनलाई चुरोट नभई हुँदैनथ्यो अर्थात् उनी चुरोटका अम्मली नै थिए ।
क्याम्पसमा नियुक्ति पाएको शुरूवाती केही वर्षसम्म त टाईसुटमा पनि देखिएका थिए तर पछि चाहिँ टाई पहिरिन छोडेका थिए । क्याम्पसको मूल गेटभन्दा बाहिर केही चिया पसलहरू थिए । त्यहाँ उनी चियाको चुस्कीसँगै चुरोटको सर्को तानेर अन्य प्रोफेसर साथीहरूसँग गफ्फिने गर्थे ।
लगभग पैँतालिस मिनेटको पैदल दूरीमा थियो उनको घरबाट उनले पढाउने क्याम्पस । हिँडेरै जान्थे र हिँडेरै फर्कन्थे । उनको घरभन्दा केही परको बाटो हुँदै उक्त क्याम्पससम्म नगरबस पनि चल्थ्यो । उनी कहिलेकाहीँ अर्थात् हतार भएको बेलामा मात्रै नगर बसमा चढी आउजाउ गर्थे अन्यथा हिँड्नुमै मजा मान्थे । हातमा खैरो रङको छालाको एउटा ब्याग झुन्डिन्थ्यो । त्यसभित्र केही किताबकापी, नोटबुक, ढिकुटीका बिल, साहित्यिक संघसंस्थाका रसिद–प्याड आदि हुन्थे ।
उनले क्याम्पसमा धेरै वर्ष आफ्नो विषयको विभागमा विभागीय प्रमुख भएर काम गरेका थिए । वार्षिक रूपमा जर्नल निकाल्ने गर्थे । प्राध्यापनमा संलग्न साथीहरूलाई लेखरचना तयार पार्नका लागि हौसला दिन्थे । लेख्न जाँगर नचलाउने अल्छी प्राध्यापकहरूलाई पनि लेखहरू लेख्नका लागि प्रोत्साहित गर्थे । आफ्नो विभागद्वारा समयसमयमा गोष्ठी, अन्तरक्रियामूलक कार्यक्रमहरू गर्थे । धेरै समयसम्म योगदान गरेका अर्थात् पुराना भएका कारण उनी त्यस विभागमा गुरुहरूका पनि गुरुका रूपमा सम्मानित थिए ।
उनको घरमा बिहान–बेलुका र विशेष गरी बिदाका दिनमा जागीर माग्न आउनेहरूको लर्को हुन्थ्यो । उनी तत्कालीन सत्ताधारी पार्टी तथा सरकारसँग पनि जोडिएका मान्छे थिए । यद्यपि अरु केही प्रोफेसरहरू जस्तै पार्टीका नेताजीको झोला नै बोकेर हिँड्ने कार्यकर्ता थिएनन्, शुभचिन्तक मात्रै थिए । कतिपय नेताहरूका पनि उनी गुरु थिए । उनका चेलाहरू सांसद् र मन्त्रीसम्म पनि बनिसकेका थिए । बरु म्याडम चाहिँ त्यस टोलमा पार्टीकै कार्यकर्ताका रूपमा चिनिएकी थिइन् ।
विशेष गरी क्याम्पसमा आंशिक शिक्षणका लागि उनको चाकडीमा एमए पास भएका ठिटाहरू बढी नै जुट्थे । उनको समीपमा पुग्थे । अगाडि–पछाडि लागिरहन्थे । तिनीहरूबाट पनि उनले आवश्यकताभन्दा बढी नै सम्मान पाएका थिए । सबैका हाईहाई थिए । शिष्यहरू टाढैदेखि धनुष्टङ्काररूपी नमस्कार गर्दै आउँथे ।
कतिपयलाई आफैले पढाउने क्याम्पसमा आंशिक प्राध्यापनका लागि उनले कक्षा मिलाइदिएका पनि थिए । अन्यत्रका क्याम्पसहरूमा पनि उनी बाह्य परीक्षक भएर धेरैलाई कक्षा मिलाइदिएका थिए अर्थात् आंशिक जागीर मिलाइदिएका थिए । शुरूमा आंशिक शिक्षक भएकाहरूले करार–दरबन्दीमा केही समय बिताउँदै वा स्थायी भएर पनि सेवा गर्न थालेका थिए । पछिल्लो समयमा उनको विभागमा उनले पढाएका विद्यार्थीहरू नै बढी कार्यरत थिए । आफ्ना चेलाहरू स्थायी भएकामा उनले गौरवबोध गर्थे । चेलाहरूसँग सहकार्यमा जुट्न पाउँदा उनलाई एक किसिमले आनन्दको अनुभूति पनि हुन्थ्यो ।
रिटायर्ड भएपछि पनि केही समय त उनले साहित्यिक गतिविधिमा नै आफूलाई सक्रिय बनाए अर्थात् साहित्यिक गतिविधिमा नै उनी निरन्तर क्रियाशील हुन थाले । कार्यक्रमहरूमा उपस्थित भएर आफ्ना कुराहरू राख्थे । बुढेसकालले गाँज्दै लगेको शरीर । पछि उनी बिरामी परे । निमोनियाले दुःख दिन थाल्यो । दमका दीर्घरोगी बन्न पुगे । यद्यपि पछिल्लो समयमा उनले चुरोट पिउन छाडेका थिए । शारीरिक रूपमा कमजोर हुँदै गएपछि उनी घरबाट बाहिर पनि त्यति निस्कन सकेका थिएनन् । घरमै बसेर अखबारमूलक पत्रपत्रिका र पुस्तकहरू पढ्थे । यही उनको बुढेसकालको दिनचर्या बन्न पुगेको थियो ।
विगत केही वर्षदेखि यता पारिवारिक रूपमा त्यस घरमा उनका बुढाबुढी मात्रै रहेका थिए । छोरीहरू बिहेपछि सबै आआफ्ना घरमा थिए । दुइटा छोरामध्ये जेठाले राजधानीमै जागीर खान्थ्यो र उतै घर बनाएर बसेको थियो भने कान्छो पनि परिवारसहित क्यानडामा थियो । छोराछोरी सबैका हिसाब गर्दा बुढाका एक दर्जन जति त नातिनातिना पनि थिए ।
उनी रिटायर्ड हुनुभन्दा पहिले मात्र होइन, टिायर्ड भएपछि पनि म समय मिलाएर उनको घरमा बेलाबखत पुग्ने गरेको थिएँ । महिनामा एकपटक जस्तो त म उनको घरमा पुगेर फर्कन्थेँ पनि । केही फुर्सदिलो दिन अर्थात् बिदाको दिनमा चाहिँ तीन–चार घण्टा नै बसेर पनि उनका कुराहरू सुनिदिन्थेँ । मप्रति उनको सहानुभूति नै थियो, माया गर्थे । मलाई आफ्नो समीपमा पाउँदा उनी पनि निकै हौसिएर कुरा गर्थे ।
यसपटक भने दुई महिनाभन्दा बढी नै समयको अन्तरालमा म उनको घरमा पुगेँ । शनिवारको दिन थियो । बिदा भएकाले दिउँसो केही घण्टा नै बस्ने विचारले म उनकोमा पुगेको थिएँ । बुढा माथि बरण्डामा राखिएको एउटा पुरानो खाटमा भित्तापट्टि ठड्याइएको सिरानीमा आड लाएर किताब पढ्दै रहेछन् । जाडामा घाम ताप्न र गर्मीमा शीतल हावा खान पनि पाइने हुँदा उनी प्रायजसो त्यही बरण्डामै बस्थे । नमस्कारको आदानप्रदानपछि बुढा खुशी हुँदै बोले– ‘ओहो जनार्दनजी ! यसपटक त धेरै समयपछि पो आउनुभयो त । बस्नुस् न ।’ बुढा मलाई भेट्न नपाउँदा निकै आत्तिएका रहेछन् । यस बीचमा एकदुई पटक त फोनमा कुराकानी पनि भएकै हो तर सँगै बसेर आत्मीयता साटासाट गर्न भने समयले साथ दिएको थिएन । उनले बस्नका लागि नजिकैको बेतको कुर्सीतिर इशारा गरे ।
अहिले आफूले पढ्दै गरेको किताबको विषयवस्तुका बारेमा केही कुराहरू सुनाए । मैले उक्त पुस्तक पहिले नै पढिसकेको थिएँ तर पनि त्यस किताबका बारेमा उनले गरेका टीकाटिप्पणीहरू ध्यानपूर्वक सुनिदिएँ । त्यसपछि उनले वर्तमान समसामयिक राजनीतिक सन्दर्भलाई कोट्याउन थाले । बोल्ने क्रममा बीचबीचमा साथीहरूले जागीरबाट अवकाश पाएपछि पनि राज्यबाट विभिन्न अवसरहरू पाउँदा आफूले चाहिँ त्यस्तो अवसर नपाएको गुनासो पनि गरिरहे । मैले उनका कुरा सुनिरहेँ । म उनीसँग निकै कम बोलेँ । अवसरको कुरा आउँदा यति मात्रै भनेँ– ‘तपाईं इमानदार मान्छे, यहाँ इमानदार मान्छेलाई कसले पुज्छ र ! चाटुकारहरू जो नेताको झोला बोकेर हिँडेका छन् तिनीहरूले मात्रै त हो अवसर पाउने । तपाईंजस्ता स्वाभिमानी व्यक्तिहरू त्यस्ता पदहरूमा त बरु नमुछिएकै राम्रो नि गुरु !’
धेरै समय भएको रहेछ उनले यसरी गफ्फिन नपाएको । रिटायर्ड भएपछि उनकोमा पहिलेको जस्तै मान्छेहरू आउन छोडेका थिए । उनैले जागीर मिलाइदिएकाहरू पनि कतिपय त उनलाई देखेको नदख्यै गरी हिँड्न थालेका थिए । म उनको निगाहबाट जागीर खाएको मान्छे थिइनँ । म क्याम्पस पढाउने मान्छे पनि थिइनँ । यद्यपि उनीप्रति मेरो बढी नै श्रद्धा थियो । यसैले त फुर्सद मिल्यो कि म उनकोमा पुगिहाल्थेँ र उनका कुरा सुनिदिन्थेँ ।
‘हेर्नुस् न जनार्दनजी ! मान्छे भनेकै स्वार्थको पुञ्ज रहेछ । तपाईंले देख्नुहुन्थ्यो क्यारे, यही बरण्डामा त्यतिका विधि मान्छेहरू आउँथे । सबैसँग भेटघाट र दुईचारवटा कुरा गर्दैमा मेरो सम्पूर्ण बिहान र साँझ बित्थ्यो । जब म पावरबाट बाहिरिएँ, विभागीय प्रमुखबाट हटेँ, रिटायर भएँ; अहिले हेर्नुस् त आज तपाईंजस्ता आत्मीय शुभचिन्तकहरू एकादुईबाहेक अरु कोही फर्केर आएका छैनन् ।’ यसो भन्दै गर्दा बुढा मलिन अनुहारमा केही गम्भीर पनि देखिए ।
‘हो त नि गुरु ! जजसलाई तपाईंले डुङ्गा बनेर नदी तारिदिनुभयो, तिनीहरूले नै तपाईँलाई बिर्सन थाले । तिनीहरू नै कृतघ्न बन्दै गए । मलाई के लाग्छ भने नि गुरु, यो संसारमा सबैभन्दा बढी स्वार्थी त पढालेखा मान्छे नै हुँदा रहेछन् । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्नेहरूलाई पनि पढेलेखा बुद्धिजीवीको पगरी गुथाइदिने हामी नै त हौँ ।’ यति भन्दै गर्दा मेरो मुहारबाट हाँसो फुत्कियो । बुढा पनि थोते हाँसो मुस्कुराए । उनका अगाडिका दुईवटा दाँत झरिसकेका थिए र केही समयदेखि यता त्यहाँ उनले नक्कली दाँतको उपयोग गर्ने गरेका थिए । बाहिरफेर हिँड्दा उनले ती दाँत भिर्ने गर्थे तर घरमा बस्दा भने भिर्दैनथे ।
हामी दुवै मजैले हाँस्यौँ । हाँसो सकिएर केही समय मौन रहेकै अवस्थामा म्याडमले चिया लिएर आएको हुँदा चिया पिउनतिर लाग्यौँ ।
‘चिया त जडीबुटीकै राम्रो नि जनार्दनजी ! मैले दूध हालेको चिया पिउन छोडेको त लगभग चारपाँच वर्ष नै भइसक्यो भने पनि हुन्छ ।’ हामीले जडीबुटी मसला हालेको कालो चिया पिउँदै गर्दा चियाको गिलासको बिटमा बसेको एउटा माखो उडेर बुढाको नाकको टुप्पामा गई बस्यो । उनले देब्रे हातको सहाराले उक्त माखो धपाए । माखो अगाडि बढ्दै गर्दा मेरा आँखाले पनि त्यही माखालाई पछ्याउँदै थिए, माखो कता हरायो कुन्नि ! मेरा आँखा बरण्डाभन्दा ठीक पारिपट्टिको स्वीटर बुन्ने सानो कारखानामा पुगेर अडिए । त्यहाँ उनको धागो घुमिरहेको थियो । उनका स्वीटर, टोपी आदि बुनिँदै थिए । घुमिरहेका धागाहरू हेर्दै गर्दा मेरो दिमाग पनि घुम्न थाल्यो । म त घुम्दैघुम्दै आफ्नै बाल्यावस्थामा पो पुगेछु–
त्यस समयमा म सात कक्षामा पढ्थेँ । स्कूलमा बिदा हुँदाका दिन र बर्खाको लामो छुट्टीमा म गाईबाख्रा चराउन घरभन्दा पूर्वतिर केही परको पखेरातिर जान्थेँ । सातआठ वटा गाईगोरु र बाह्र–पन्ध्र वटा बाख्रा चराउनुपर्थ्यो । हजुरआमा बितेको छ–सात दिन कति भएको थियो कुन्नि ! बुबा कोरामा हुनुहुन्थ्यो । त्यस दिन पनि अरु दिनमा जस्तै समयमै गाईबाख्रा लिएर पखेरातिर गएको थिएँ ।
पोहोर मात्रै किनेको काले बहर थियो । हेर्दाहेर्दै पखेराभन्दा केही माथिको भीरमा चर्दै गरेको त्यही बहर लड्यो । लड्दैलड्दै धेरै नै तल पुगेर खोल्सामा पर्यो त्यो । म निकै आत्तिएँ । रुँदै घरतिर दौडेँ । बुबाले गाईगोरु भीरमा चराउन लगेको भनेर बेसरी गाली गर्नुभयो । बहर राम्रै थियो र बलियो पनि । हाम्रो घरमा आएर एक वर्षको मात्रै बाली लगाएको थियो । लड्यो । घरका सबै चिन्तित भए । दाइ पानी लिएर बहर गोरु लडेको खोल्सातिर दौडनुभयो । म केही ढिला गरेर मात्रै बहर गोरु लडेको खोल्सामा पुगेँ । खोल्साको पनि निकै अक्करमा परेको रहेछ । सिङ भाँचिएका । खुट्टा पनि भाँचिएका । उत्तानो परेको । आँखा पल्टाइसकेको रहेछ । बीभत्स थियो दृश्य । साह्रै माया लागेर आयो । मेरा दुवै आँखा आँसुले भरिए । नजिकै गएर त्यसको जिउ मुसार्न थालेँ । बिस्तारै चिसिँदै गइरहेको जिउ ।
त्यसका जीउमा टाँसिएका किर्नाहरू सगबगाउन थाले । जीउबाट बाहिरिँदै थिए अघि भर्खरसम्म त्यसैको जिउमा बसेर रगत चुस्दै गरेका किर्नाहरू । उपियाँहरू पनि बाहिरतिर फड्कँदै थिए । अब यी किर्ना र उपियाँका लागि काले बहरको त्यो ज्यानबाट कुनै फाइदा थिएन सायद् ! यसै अर्थमा होला तिनीहरू त्यहाँबाट बाहिरिएका ।
‘चिया त सेलायो नि जनार्दनजी ! किन टोलाउनुभयो ?’ बुढाको यो आवाज कानमा पर्नासाथ झस्किएँ म । अतीतबाट वर्तमानमै आइपुगेँ । पारिपट्टिको कारखानाबाट आँखाहरू फर्काएर फेरि पनि बुढाकै अनुहारतिर दृष्टि पुर्याएँ । बुढाको कालो वर्णको अनुहारसँगै खोल्सामा परेर मरेको काले गोरुको स्मृतिले मन नराम्ररी दुःखायो । मानसपटमा भर्खरै बुढाको नाकबाट उडेको माखोसँगै बहर गोरुको जिउबाट निस्कँदै गरेका किर्ना र उपियाँहरू पनि सगबगाउन थाले ।
प्रत्युत्तरस्वरुप कुरा अन्तै मोडेर बोलेँ म, ‘टोलाएको होइन गुरु ! म त केही वर्ष पहिले यही घरमा तपाईंसँग जागीर माग्न आउनेहरूको अनुहार सम्झनतिर पो लागेछु ।’
चिसिइसकेको चिया सुरुप्प पारेर एकै घुट्कामा निल्दै जिज्ञासा तेर्स्याएँ मैले, ‘तपाईंले क्याम्पसमा आंशिक प्राध्यापनका लागि छिराएकाहरूमध्ये आजसम्म कति जना प्रोफेसरमा प्रमोशन भए होलान् गुरु ?’
अचानक मेरो मुखबाट फुत्केको यो प्रश्न शायद उनका लागि अनौठो लाग्यो । मेरो जिज्ञासामा केही बेरसम्म त घोरिए उनी । ‘सबैभन्दा पहिले प्राध्यापकमा पदोन्नति पाउनेवाला त हरिशरण आत्रेय, त्यसपछि क्रमशः पुण्डरी पौडेल, रामशरण, प्रभुनारायण, यदुनाथ, लक्ष्मीभक्त, यामबहादुर, गिरिबन्धु, निर्मला, … … ! दर्जनभन्दा बढी भए होलान् !’ यति भनेर रोकिए उनी ।
‘यिनीहरूमध्ये अचेल को–को छन् त गुरु तपाईंको सम्पर्कमा ? भेट्न आउँछन् कि आउँदैनन् ?’ उनले शायद मबाट यस प्रश्नको अपेक्षा गरेका थिएनन् । अचेल उनी आफूलाई आफ्नै चेलाहरूले पनि बेवास्ता गरेकाप्रति बढी नै मात्रामा चिन्तित थिए । निराशाको स्वर उराल्दै फुङ्ग उडेको अनुहारमा बोले उनी, ‘कहाँको सम्पर्कमा हुनु नि ! उनीहरूले जीवनमा पाउनुपर्ने पाइसके । राज्यले प्रदान गर्ने उच्चतम सुविधाहरू लिइसके । आफ्नो दुनो सोझ्याइसकेपछि अरूको मतलब नराख्नेहरूको पनि के कुरा गर्नुहुन्छ तपाईं ? अब मबाट के नै पाउनु छ र मलाई भेट्न आउने !’
‘हो त नि, आफ्नो दुनो सोझिएपछि टेढिनेहरूलाई के नै भन्नु छ र ! मनुष्यत्वमै डढेलो सल्किएपछि त कसको के लाग्छ र हगि गुरु !’ यसो भन्दै घडी हेरेँ मैले । मनमनै हिसाब गरेँ । यहाँ आएर गफ्फिएको पनि लगभग तिन घन्टा जति भएछ । अघि भर्खरसम्म बरण्डामा न्यानो घाम थियो । अहिले त्यो छैन । घाम पूरै हराएको छ अर्थात् ओझेल परिसकेको छ र केही जाडो पनि बढ्दै गएको छ ।
‘म जान्छु गुरु अब । पछि पनि समय मिलाएर आउँदै गरुँला नि ।’ मैले दुवै हात जोडेर बिदा मागेँ ।
अन्तिममा मेरै अनुहारमा दृष्टि पुर्याएर निकै टीठलाग्दो पाराले बोले उनी, ‘यसपटक त निकै समयको अन्तरालमा आउनुभयो; अलि छिटोछिटो आउँदै गर्नुस् न जनार्दनजी !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

