कोलकाता महानगरी भासिएको दुई वर्ष बितेछ । कहिल्यै ननिदाउने शहर मुम्बईको तुलनामा कोलकाता दुई घण्टा निदाएको जस्तो लाग्छ । रातको १ बजे देखि ३ बजे बिहानसम्म । त्यसपछि कोलाहल शुरु हुन्छ । कागहरू कराउँछन् । भाले बासेको चाहिँ सुन्न पाएको छुइनँ । दिनभरि गाडी, मान्छेहरूको भिडभाड । पटक्क निद्रा लागेन एक रात मलाई । चकमन्न भयो यो शहर रातको एक बजेदेखि  । कोठाको झ्याल खुल्लै राखेको थिएँ, शित्तल वायुको अपेक्षामा । निद्राको खोजीमा म ओछ्यानमा कोल्टो फेर्दै थिएँ । पटक्कै आउन मानिरहेको थिएन निद्रादेवी मेरा आँखाहरूमा । चकमन्न निस्पट्ट अन्धकार मेरो कोठाभित्र झ्यालबाट बत्ती बाल्दै एउटा जुनकिरी पस्यो, अचम्म र उदेक । यस्तो कङ्क्रिट जङ्गलमा यो जुनकिरी कसरी आइपुग्यो ?

मेरो कोठाको चार कुना केही खोजे जस्तै उडिरह्यो । म चुपचाप नियालिरहेँ । उड्दाउड्दै थाकेर होला ऊ मेरो

बेडको सिरानीपट्टि आएर थपक्क बसेर बत्ती बाल्न थाल्यो । मधुरो प्रकाशमा मेरो अनुहार देख्यो उसले । आफ्ना सानासाना पङ्खा हल्लाएर खुशीले ताली लगाए जस्तो गर्‍यो ।

मैले सोचेँ – कोलकातातिरको जुनकिरी होला भनेर । टुटेफुटेको बङ्गला भाषामा नम्रतापूर्वक सोधें ।

“कोथाई चल्ले जुनाकी पोका एका एतो रात्री ?”

मपट्टि फर्केर उसले भन्यो, “म बङ्गाली जुनकिरी होइन हौ ! तपाईंको कोठेबारीबाट तपाईं बिमार छ भनेको सुनेर हेर्नु आएको !”

सुनेर म अवाक्, निशब्द भएँ ।

उडेर ऊ मेरो खुट्टामा बस्यो !  मैले उसको ढोगलाई स्वीकार गरेँ । ऊ आएर मेरो सिरानीको काठको बिटमा थपक्क बस्यो । ‘जुनाकी पोका’ मात्र भनेको थिएँ । उसले उसको पिठ्युँको मसिना पखेटा हल्लाउँदै भन्यो ।

“भन्दै छु म जुनाकी पोका हैन हौ ! म तपाईंको मकैबारीको जुनकिरी हुँ । तपाईंले कस्तो माया गर्नु हुन्थ्यो हामीलाई ।” जुनकिरीको कुरो सुनेर आखाँभरि आँसु आयो मलाई !

“कस्तो हुनु हुन्छ ?” सोध्यो ।

सन्चै छु भनेर ढाँटें ।

“यति टाढो बाट किन यस्तो दुःख गरेको ?”

“कोलकाता पनि देखेको थिइन ! हेर्ने मन थियो । कस्तो ठूलो रहेछ शहर ।” भन्‍यो उसले, “अर्को कुरो तपाईंको अनुपस्थितिले बिघ्नै सताइरहेको थियो । बारम्बार अस्पताल भित्रबाहिर कुरा सुनेर डर लाग्थ्यो । देखेर ढुक्क लाग्यो ।”

“कसरी आइपुग्यौ ? यत्रो टाढो उड्दा उड्दा थाकेनौ ?” मैले सोधें ।

“सजिलै आइपुगें । बसको भारीमाथि बसेर, नाइट बसमा । त्यसपछि पिकनिक गार्डन खोज्नु तीन रात लाग्यो । दिनभर रुखका पातहरूमा लुकेर सुतिबस्थे ।” मीठो स्वरमा भुनभुनायो ।

“कहाँ कहाँ घुम्यौ ?” सोधें ।

“पहिला त भिक्टोरिया मेमोरियल पुगेछु । कस्तो सुन्दर भवन रहेछ नि ? त्यसपछि विद्यासागर सेतु हेर्न गएँ । त्यो पनि अद्वितीय रहेछ,” उसले भन्यो, “शहरका गल्लीहरू त उस्तो मन परेन ज्यादै भिडभाड ।”

“अन्त, मेरो घरमा चाहिँ कसरी आइपुग्यौ ?” छक्का पर्दै मैले सोधेँ ।

“साँझ पख म एउटा रुखको पातमा सुतिरहेको थिएँ । बसको कन्डक्टर कराउँदै थियो पिकनिक गार्डन, पिकनिक गार्डन भन्दै… थाहा भयो । थुप्रै बसहरू त्यही बाटो भएर चल्दा रहेछन् । मेरो पालो एउटा बसको छतमा थपक्क बसेँ । तपाईंको घर खोज्नु निकै समय लाग्यो । सबै बिल्डिङका झ्यालबाट चिहाउँदै हेर्दै थिए भाग्यवश भेटेँ ।”

यति भनेर बत्ती बाल्दै उडेर मेरो वरिपरि घुम्यो ।

मैले भनेँ, “सुनूँ न गाउँको खबर, गाउँमा सबै जाति नै छन् ? माथि पाख्रिन फुपू अलिक बिसन्चो सुनेको थिएँ । धुराको एक्लो रामबहादुर पनि अस्पताल लग्यो हरे । म हुँदा त दबाइ पानी गरिदिन्थेँ उसको । गाँउलेहरूले राम्रै हेर्दै होलान् ? यता जुनु दिदी एक्लै छिन् । बुढेसकालमा उसको सहारा पनि कोही छैन । उतापट्टि कालु दाज्यू भौज्यू नब्बे वर्षको छेउछाउ डाँडाकै घाम छ । कस्तो होला ? अलिक पल्लो पट्टि सतिस भाइ छ । उहाँ पनि मिठो सेलरोटी लिएर छोरासित मलाई यहाँ भेट्नु भएको थियो, यहाँ कोलकातामा । मोक्तान बाबुको खुट्टा दुख्ने बिमार कस्तो भो कुन्नि ? नेपाली साहित्यको ज्ञान भएको मानिस उनी । उनको छोरा प्रवीण उत्तिकै धुरन्धर ज्ञानी । अगस्तिन स्कुलका गुरुबा । अंग्रेजीमा केपीजी कलिङ पुस्तक प्रकाशित गरेको थियो । घरमुन्तिर पेम्बा भाइ, बुहारीले छाडेर गएपछि एक्लो छ । हुन त छोरीहरू छन् तर यो उमेरमा अर्धाङ्गिनी नहुनुको खटको उसलाई थाहा होला !

मुन्तिरको अमर बहिनीको पनि जीवन साथी मिङमा अल्पायुमै बितेर गए । दुःख गरेर दुई छोरीहरू खुट्टामा उभ्याए । सलाम सुनाइ दिनु उसलाई । ए, अँ पल्लोपट्टि मेरो कान्छा भाइ बुहारी छोरी रिचा बस्छन् । राम्रो घर बनायो भन्छन् पुग्न सकेको छुइनँ । भाइसँग त फोनमा बात हुन्छ कहिलेकाहीँ । मन्दबुद्धि भए पनि बिमल भाइ छ मेरो दुई घर पल्लोपट्टि । एक लगानी गरेर परिवार पालिरहेछ! ठिकै होला ? माथिल्लो पट्टि रमेश भाइको बुहारी पनि बित्यो भन्छ । दुःख लाग्यो ।

कतै बमबस्ती गयौ भने राजेन्द्र भन्डारी सर, प्रदिप सर, देव भन्डारी सर, नविन पौड्याल सर, वकिल दिनेश पौड्याल सरहरुलाई नमस्कार सुनाइदिनु । हुन त कालेबुङ वरिपरि मलाई माया नगर्ने को पो होला र ? सबैलाई मेरो तर्फबाट माया एवं सम्झना भन्दिनु !”

मेरो यति थुप्रो गाउँघरका सोधाइले जुनकिरी बत्ती बाल्दै निकै बेर चुपचाप सुनिरह्यो सिरानीको काठमा बसेर । मेरो सिरानीबाट अचानक उडेर सिलिंड छेउ फिरफिर नाच्न  थाल्यो । मानो उसले भन्न मन चाहिँ गरेथ्यो – गाउँ घर सबै आनन्दमा छ ।

जुनकिरी उडेर मेरो पाउमा बस्यो निकैबेर । झ्यालबाट फुत्त निस्केर गयो । लाग्यो जानअघि उसले मेरो पाउमा ढोगेर गयो ।  उसको त्यो क्षणिक मिलन र बिछोडले भावुक बनायो ।

मेरो आँखा भिजाएर जुनकिरी कता अल्पियो अन्धकारमा पत्तो भएन । बिहानीपख भुसुक्क निदाएछु ।

धेरै दिन भो जुनकिरी गाउँ फर्केको । रामबहादुर सिंबीबारीमा देख्थे म जुनकिरीका झुन्ड पलाकपिलिक अबेर रातसम्म । सायद घुम्दै होला जुनकिरी मेरो खबर सुनाउँदै गाउँ-घरमा, कतै जुनकिरी देखिहाले सम्झनु होस् मेरो समाचार बोकेर तपाईंहरू सामु नाचिरहेछ भनेर …