कुनै पनि जातिको सांस्कृतिक विकासको इतिहासलाई मूल्याङ्कन गर्ने एउटा उत्तम कसी नै सङ्गीत हो । मानव जातिको विश्वभाषा मानिने सङ्गीतमा नेपाली जातिमा आफ्नो सङ्गीतको इतिहास मार्फत सांस्कृतिक उत्सर्गलाई चिनाउने हामीसित कतिसम्म सामग्री छन्, कति पुस्तक, पत्र-पत्रिका, लेख-अभिलेखहरू छन् ? यही टड्कारो प्रश्न आज हाम्रो सामु उभिएको छ ।
साहित्यको क्षेत्रमा त स्थापित साहित्यकारहरूका कृतिदेखि लिएर भर्खरै मात्र लेख्न सुरु गर्ने नयाँ खेलाडीहरूका सृजनाको पनि विवेचना, विश्लेषण र मूल्याङ्कन भइरहेका हुन्छन्, चर्चा भइरहेका हुन्छन् । उनीहरूका योगदानबारे पत्र-पत्रिका र पुस्तकहरूमा लेखिन्छन् । दुःखको कुरा, सङ्गीत क्षेत्रमा चाहिँ यस्तो हुँदैन । हामीमाझ गीत-सङ्गीत क्षेत्रमा भइरहेका गतिविधिहरूका लेखाजोखा गरिदिने समीक्षकहरूको ठूलो अभाव छ । यस दिशामा सचेष्ट स्रष्टाहरू कमै छन् ।
नेपालबाट चाहिँ यस दिशामा निश्चय केही काम भएका छन् । सङ्गीत सिकन्दर अम्बर गुरुङ स्वयंले गीत-सङ्गीत सम्बन्धी आफ्नो लेखहरूका सङ्ग्रह प्रकाशित गर्नु भयो । पत्र-पत्रिकाहरूमा पनि उहाँका लेखहरू प्रकाशित भइरहन्थे । काजीमान कन्दङ्वा र रामशरण दर्नालहरूका शोधपूर्ण लेखहरू प्रकाशित भइरहन्थे । प्रकाश सायमी, पिटर जे. कार्थक, नरेन्द्र प्रसाइँ, बुलु मुकारुङ, नगेन्द्र रेग्मी, गणेश रसिक, शरद प्रधान, कुमारी लामा लगायत अन्य केही स्रष्टाहरूले समय समयमा लेखेका खोजपूर्ण लेखहरूले नेपाली गीत-सङ्गीतको विविध पाटोहरूलाई उज्यालोमा ल्याउने काम भइरहेको देखिन्छ ।
यता भारततर्फबाट भने यस दिशामा थोरै काम भएका छन् । यस दिशामा लेख्नेहरूको अभाव देखिन्छ । डा. जस योन्जन ‘प्यासी’, कालुसिहँ रनपहेली, नवीन पौड्याल, अजित बस्नेत, पङ्क्तिकार स्वयं, पारसचन्द्र आले, अनिता निरौला, डी.एस.मोक्तान लगायत अन्य थोरै कलमकारहरूले गायक-गायिका, गीतकार र सङ्गीतकारहरूका योगदानलाई उज्यालोमा ल्याउने काम गरेका छन् । सङ्गीत क्षेत्रकै स्रष्टाहरूमा मूर्धन्य सङ्गीतकार शान्ती ठटाल र वरिष्ठ गायक तथा सङ्गीतकार दुर्गा खरेलद्वारा लेखिएका गीत-सङ्गीत सम्बन्धी रचनाहरू विभिन्न पत्रपत्रिकामा यदकता देखा पर्छन् । यसरी मुट्ठीभर स्रष्टाहरूले मात्र यस दिशामा कलम चलाइरहेका छन् ।
यसै भएर हुनपर्छ, हाम्रो नेपाली सङ्गीतमा कतिपय त्यस्ता गायक र सङ्गीतकारहरू छन्, जसलाई चिनाउने प्रयत्न नभएकाले, उनीहरूका योगदानको मूल्याङ्कन नभएकाले उनीहरू विस्मृतिको गर्भमा पुरिँदै गएका छन् । नेपाली गीत-सङ्गीतलाई माथि उठाउनमा उनीहरूबाट पुग्न गएको ठूलो योगदानलाई सम्झेर हामी नतमस्तक हुनुपर्ने हो, उनीहरूका समुचित योगदानबारे लेखिनुपर्ने हो, तर यो काम समयमा नभइदिएकाले गर्दा उनीहरू ओझेलमा परेका छन् ।
उनीहरूका सृजनाबारे मूल्याङ्कन नभएकाले वा नलेखिएकाले गर्दा आजका नयाँ प्रतिभाहरूले उनीहरूलाई चिनेका समेत छैनन् । भनौँ उनीहरूबारे जान्ने ध्याउन्न कतिमा छैन पनि, यदि कसैमा छ भने पनि उचित श्रोतको अभावले गर्दा सही जानकारी उनीहरूलाई प्राप्त हुँदैन ।
हामीमा सबैभन्दा ठूलो अभाव नै यही छ । सङ्गीत सम्बन्धी पुस्तक पत्र-पत्रिकाहरू हुनुपर्ने हो । नेपाली सङ्गीतको इतिहासदेखि वर्तमानसम्मलाई समेट्ने गरी संस्थागत अभिलेखन हुनुपर्ने हो । यसो नभएकाले गर्दा हामी कता-कता अपूर्ण जस्तो छौँ । यही अभावले गर्दा हाम्रो गीत-सङ्गीतको इतिहास नै पूर्ण रूपमा लेखिएको छैन । यस दिशामा सचेष्ट रहँदै आएका केही स्रष्टाहरूले हाम्रो गीत-सङ्गीतको इतिहासलाई कालखण्डमा विभाजन गरी लेख्ने भरसक प्रयत्न गरेका छन् तर त्यही नै पर्याप्त भने होइन । यसैकारण हाम्रो नेपाली गीत-सङ्गीतको क्षेत्रमा अति नै विशिष्ट योगदान पुऱ्याउने गीतकार तथा सङ्गीतकारहरू पनि योगदानको उचित मूल्याङ्कन, चर्चा र परिचर्चाको अभावले गर्दा विस्मृतिमा पुरिँदै गएका छन् ।
नेपाली गीत-सङ्गीतको क्षेत्रलाई आजको मोडसम्म ल्याइपुऱ्याउनुमा के कस्ता कामहरू भए, त्यसलाई बुझ्नु हो भने हामी यो क्षेत्रको शैशव अवस्थामा पुग्नुपर्छ । त्यसबेला जे जति गायक, सङ्गीतकार र रचनाकारहरूले योगदान पुऱ्याएर आए, उनीहरूका त्यही योगदान र परिश्रमले सिञ्चित भएर नै यो क्षेत्रमा हरियाली थपिँदै आएको हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । जब नेपाली गीत-सङ्गीतले भर्खर शिर उठाउन सुरु गरेको थियो, त्यो समय तुलनात्मक रूपमा आजको विभिन्न नयाँ तकनिकीको जमाना जस्तो सुविधा सम्पन्न थिएन ।
त्यस समयका स्रष्टाहरूले थोरै प्राप्य साधनहरूको बलमा असल-असल गीत-सङ्गीत सृजना गरी नेपाली सङ्गीतको मन्दिरमा अर्घ्यको रूपमा चढाएका छन् । ती पुराना गीतहरू सुन्दा अझ पनि यति मिठो, नवीन र कर्णप्रिय लाग्छ, जसको वर्णन, विश्लेषण र मूल्याङ्कन हुनुपर्ने हो, तर हाम्रो समाजको बैगुनीपनले होला, उनीहरूलाई धेरैले भुलिसकेका छन् । आज युटूब र अन्य सामाजिक सञ्जाल र इलेकट्रोनिक माध्यमहरूतिर बज्ने नयाँ-नयाँ कालकारहरूका गीत-सङ्गीत भन्दा पनि कैयौँ गुणा उच्च कोटीका थिए उनीहरूका गीत-सङ्गीत ।
ग्रामोफोन रेकर्डको जमानामा उनीहरूका गीतहरू प्रत्येक बिहेबटुल, पूजाआजा, पिकनिक र अन्य कैयौँ कार्यक्रमहरूमा डाँडा-काँडा, चियाबारी, बाँसघारी, कुलैनबारी चारैतिर घन्किरहेको हुन्थ्यो । कुनै एक चियाबारी वा बस्तीमा एकपटक माइक्रोफोनमा कुनै गीत बजेपछि त्यो गीत एकै समयमा छेउछाउका क्षेत्रका हजारौँ मानिसहरूले आँगन र सिकुवामा बसेर कान थापेर सुनिरहेका हुन्थे, त्यो पनि अति चाख मानेर । ध्वनि प्रदूषण पनि नभएको गाउँठाउँमा एक ठाउँ एक गीत बजेपछि टाढा-टाढाका इलाकासम्म सुन्न सकिन्थ्यो । किशोर-किशोरी, तरुणी-तन्नेरी, बुढ़ापाका सबैका कान-कानमा पर्थे ती गीतहरू । सबै उमेर समूहका मानिसहरू मख्ख परेर सुन्थे । सबैका ओठ-ओठमा झुण्डेका हुन्थे यस्ता गीतहरू । आज युट्युबमा फलाना गीतको यति भिवर्स नाघ्यो रे भन्दै ढोल पिट्ने जमानाका भाइ-बहिनीहरूले कतिले पो आफ्नो आँखीझ्यालबाट हाम्रो सङ्गीतको यो गौरवमय इतिहासलाई जान्ने र बुझ्ने प्रयत्न गरेका छन् र ?
यस्तै क्रमले इतिहासको गर्भमा एक महान् गीतकार र सङ्गीतकार विस्मृतिमा पुरिँदै ओझेलमा परेका छन् । उनी हुन् अति विलक्षण कोटीका गीतकार तथा सङ्गीतकार स्वर्गीय शरण प्रधान, जसको गीत-सङ्गीतले एक समयमा दार्जिलिङ्देखि नेपालसम्मै ठूलो खलबली मच्याएको थियो, सबैलाई मख्ख पारेको थियो ।
तीन दशक मात्र बाँचे तापनि यति छोटो अवधिभित्र नेपाली गीत-सङ्गीत जगतलाई उनले जे जति दिए त्यसको सही मूल्याङ्कन कतैबाट भएको अझसम्म देखिँदैन । जुन समय अचानक उनको देहान्त भयो त्यसै समय दार्जिलिङका केही पत्र-पत्रिकाहरूमा उनीबारे छुटफुट रचनाहरू प्रकाशित भए । त्यति नै मात्र हो । त्यसले गर्दा पनि हुनपर्छ, नयाँ पिँढीले उनीबारे जान्ने माध्यम पनि भेट्दैनन् । नेपाली सङ्गीतको क्षेत्रमा स्वर्णिमकाको रूपमा रहेको साठीदेखि सत्रको दशकमा नै सङ्गीत क्षेत्रलाई माथि उठाउनमा महत्त्वपूर्ण योगदान पुऱ्याउने स्वर्गीय शरण प्रधानको यथोचित मूल्याङ्कन किन भएन? किन उनीबारे कसैले लेखेनन्? किन उनको यति ठूलो योगदानलाई लिपिबद्ध राख्ने प्रयत्न भएन? प्रश्नै-प्रश्नहरू मनमा उठ्छन् । सङ्गीत सम्बन्धी शोध र अन्वेषण गर्ने नेपालका एकाध विज्ञहरूले यदाकदा लेखेको देखिन्छ ।
शरणकै जन्मथलो दार्जिलिङ भने उनीप्रति बैगुनी जस्तै बनिदिएको छ । नेपालबाट आफ्नो लेख ‘सम्झनाको गर्भमा सङ्गीतकार शरण प्रधान’ शीर्षकमा कवि, गीतकार, चलचित्र कर्मी तथा अन्वेषक प्रकास सायमी लेख्छन्- “गोरखापत्र’-को भाषामा त्यतिबेला शरण प्रधानको सम्झनामा एउटा स्मृतिसभा गरिएको थियो— अम्बर गुरुङ, मास्टर रत्नदास, नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, भूपि शेरचन र ईश्वर भल्लव सक्रियतामा । यसपछि र यसअघि इतिहासको कुनै पनि कालखण्डमा शरण प्रधानलाई सम्झने र सम्झना दोहोऱ्याउने काम कतैबाट भएन, न परिवारबाट, न साङ्गीतिक समूहबाट, न सहृदयीबाट, न त लाखौँलाख पुरस्कार बाँड्दै हिँड्ने सङ्घ–संस्थानबाट” ।
अरुणा लामाले गाएकी ती कालजयी गीतहरू जस्तै, ‘यहाँ फूल नखिलेछ’, ‘बर्खेझरी मोतीको’, ‘नेपाली गौरव गर्छौं आफ्नैपनमा’, ‘मलाई आँखैमा बसाउनु पर्दैन’, ‘यो जोवनलाई घरको माया छ कि छैन’, ‘जोबन गयो बैँस त गएन लै लै’, ‘यो अभागीको दुश्मनै हाँसोस्’, ‘यो बहिनीको माया’, ‘म आँखैमा राखिन योग्य कहाँ छु’, ‘मैले जीवनलाई कसरी सजाएँ’, ‘मान्छे सबै एउटै रगतको’, ‘आँखाहरूले कसलाई कसलाई खोजे झैँ लाग्छ’, ‘के बिराएँ मैले’, ‘आकाशको प्रीत धरतीको गीत’ आदि कर्णप्रिय र सुमधुर गीतहरू आज पनि पटक-पटक सुनिरहूँ जस्तो लाग्छ । यी गीतहरूमा प्रयुक्त मौलिक लय, सुर-ताल र शब्द-सङ्गीतले हाम्रो हृदयलाई नै प्रभावित नपारी छोड्दैन ।
यी सबै गीतहरूका धुन र सङ्गीतको सृजना शरण प्रधानकै हो । उपरोक्त गीतहरूमध्ये ‘यहाँ फूल नखिलेछ’ बोलको गीतको शब्द जितेन्द्र बरदेवाको हो । शरणको सङ्गीतमा अरुणाले सबैभन्दा पहिले गाएकी गीत पनि यही नै हो । पिटर जे कार्थकको भनाइमा, शरण प्रधान स्वयंले यसलाई डेढ म्युजिक भनेका थिए । डेढ म्युजिक भन्नाले मृतसङ्गीत होइन तर संरचनाको आधारमा डी मेजर, इ मेजर, ए मेजर र डी मेजर (DEAD) मा धुनबद्ध गरिएको साङ्गीतिक रचना भनिएको रहेछ । यही गीतले नेपाली जनमानसमाजमा शरण र अरुणालाई ह्वात्तै चर्चामा ल्यायो । यही गीत नै उनीहरूका साङ्गीतिक संरचनाको आधार स्तम्भ बन्यो ।
शरणका सबै गीतहरू अति उत्कृष्ट कोटिका छन् । तिनै गीतहरूले अरुणा लामाको नाम नेपालीहरूका घर-आँगनसम्म पुग्न सक्यो । यसो भएपछि यति उत्कृष्ट गीतहरूका सर्जक को थिए त भनी खोजमेल गरी मूल्याङ्कन गर्ने र शोध गर्ने काम हुनुपर्ने हो तर यस दिशामा सानो भन्दा सानो पहलसम्म मात्र पनि भएको देखिँदैन । किन शरण प्रधानको नाम र काम दुवै इतिहासको गर्भमा यसरी उपेक्षित रहनुपऱ्यो, यो तीतो सत्यताले हामीलाई आत्मग्लानि हुनुपर्ने हो तर हामी भने निर्लज्ज र मूक छौँ ।
शरण प्रधानको जन्म सन् १९४३ को ३ मईको दिन कविमाया राई र हर्कबहादुर प्रधानको एकल सन्तानको रूपमा दार्जिलिङमा भएको थियो । सामान्य परिवारमा जन्मिएका शरण प्रधानमा बाल्यकालदेखि विलक्षण प्रतिभा थियो । बाल्यकालदेखि नै सङ्गीतप्रति उनको झुकाउ र एकाग्रता स्पष्ट देखिन्थ्यो । एक मात्र सन्तान भएको हुनाले माता पिताबाट उनको लालन पालन खुबै राम्रो प्रकारले भएको थियो । माता पिताले सबै कुरामा उनलाई प्रोत्साहित गर्दथे ।
भनिन्छ, सानै उमेरमा तिनी कतिपय बाजाहरू बजाउँथे र साथीहरूलाई चकित पार्थे । तिहारको बेलामा मज्जाले मादल बजाउँथे, बाँसुरी बजाउँथे । सङ्गीतप्रति उनको रुझान देखेर आमाले बेन्जो किनिदिएकी थिइन् अनि त्यो बेन्जो उनले अति एकाग्र चित्तले सिके । केही दिनभित्र नै सुदक्ष प्रकारले बजाएर अरूलाई सुनाउन सक्ने बने । बेन्जोमा निकै पारङ्गत भएपछि उनी मेन्डोलिन बादनको अभ्यासतिर लागे । तार बाजा नै भए तापनि बेन्जोभन्दा अलि भिन्न प्रकारले बजाइने मेन्डोलिन बादनमा हेर्दा हेर्दा उनी सुदक्ष बने । सुदक्ष ढङ्गले मेन्डोलिन बजाउँदै नै उनी सङ्गीत क्षेत्रमा प्रवेसिएका थिए । शरणलाई १९६० को दशकको एक प्रतिष्ठित नेपाली सङ्गीतकार तथा गीतकार हुन् भन्दा कुनै फरक नपर्ला । त्यतिबेला साङ्गीतिक क्षेत्रमा शरणको नाम गौरव र प्रतिष्ठाको पर्याय बनेको थियो ।
आफ्नो छोटो करियरभित्र शरण प्रधानले जे जति गर्न सके त्यसमा उनकै मातापिताको प्रेरणा औधी नै उत्तरदायी रहेको देखिन्छ । उनको मातापिता दुवै सङ्गीतमा अगाध चासो राख्थे र घरको परिवेश पनि शरणको निम्ति उपयुक्त थियो । उनले सङ्गीत औपचारिक रूपले चाहिँ अम्बर गुरुङबाटै सिकेका हुन् भन्ने कुरा शरण स्वयंको कथनबाट स्पष्ट छ । यसरी औपचारिक रूपले बजाउन सिकेपछि सङ्गीतमा उनी यति गहनतासित डुब्दै गए कि आफ्नो गुरुको पछि-पछि एक सुदक्ष सङ्गीतकारको रूपमा शरणको छवि जनमानसमाझ देखा पर्दै गयो । उनको यो मेहनत र लगनशीलताकै कारणले अम्बरको पछि-पछि नै एक सशक्त सङ्गीतकार र गीतकार नेपाली जनमानसले पायो ।
कुनै समय गीतकार विश्व वल्लभसितको कुराकानीमा शरणले यसो भनेका रहेछन्-“…आमाले नै मेन्डोलिन किनेर सङ्गीत सिक्ने प्रेरणा दिनुभयो र मेन्डोलिन लिएर मैले आफ्नै कोसिसले आफै सिक्न थालेँ र पछिबाट यसरी सिक्दासिक्दै मैले श्री अम्बर दाइ (अम्बर गुरुङ) लाई भेट्ने मौका पाएँ । अम्बर दाइसँग भेटेपछि स्टेजहरूमा धेरै कार्यक्रमहरूमा भाग लिन थालेँ । अम्बर दाइले नै मलाई धेरै प्रेरणा दिनुभएको हो । सिस्टमेटिक म्युजिक कसरी बजाइन्छ, सिकिन्छ इत्यादि उहाँबाटै सिकेँ । त्यतिबेला म आर्ट एकेडेमीमा थिएँ । त्यसपछि मैले रेकर्डिङमा अम्बर दाइसित ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ र अम्बर दाइको कालजयी गीत ‘म अम्बर हुँ तिमी धर्ती’ इत्यादि गीतहरूमा मेन्डोलिन बजाउने मौका पाएँ । त्यसरी कलकत्तामा गएर मेन्डोलिन बजाएपछि आफैलाई पनि एक प्रकारले गर्व लाग्यो, आत्मविश्वास पनि बढेर आयो ।”
साँच्चै उनको मेन्डोलिन वादनबाट गुरु अम्बर गुरुङ स्वयं अति प्रभावित बनेका थिए । धेरै प्रसङ्गहरूमा उनले धेरै ठाउँ शरण प्रधानको मुग्ध कण्ठले प्रशंसा पनि गरेका छन् । एक प्रसङ्गमा अम्बरले यसो भनेका छन्- “शरण एक दुर्लभ सङ्गीतकार हुन् । फ्र्यान्ज सुवार्ट ३१ वर्षको कलिलो उमेरमा गए र प्रायः झन्डै त्यही उमेरमा शरण प्रधानको दुःखमय निधन भयो । सुवार्ट पाश्चात्य सङ्गीतकलाका अतुलनीय प्रतिभा थिए । यता नेपाली सङ्गीतको पृष्ठभूमिमा शरण प्रधानको भूमिका पनि कम छैन । हुन त सुवार्टको दाँजोमा शरणले मेजर वर्कहरूतिर त्यति ध्यान दिएनन् तर सरल सङ्गीतको सन्दर्भमा भन्ने हो भने कुनै पनि नेपाली सङ्गीतकारको भन्दा शरणको स्थान सानो हुन सक्दैन ।”
उनकै समकालीन सङ्गीतकार गोपाल योञ्जनको भनाइमा “अम्बर गुरुङको सङ्गीत स्कुलमा हुर्के पनि पछि गएर शरणले गीत-सङ्गीत रचनामा आफ्नै व्यक्तित्व खडा गरे । शरणको सङ्गीतशैली सरल, सोझो, मौलिक तथा सर्वग्राह्य र चित्ताकर्षक सुनिँदासुनिँदै पनि उसको स्वरगठन जटिल र उच्चस्तरीय हुन्छ, जुन अरुणाजत्तिकै श्रेष्ठ गायिकाले मात्रै सफलतासित अभिव्यक्त्याउन सकेकी हुन् ।”
शरण सम्बन्धमा शान्ति ठटालले एक ठाउँ भनेकी छिन् “शरणका प्रायः गीतहरू वेदनाले आर्द्र छन् । भनौँ केही दुःखकारी छन् । मनोरञ्जनार्थ उच्छृङ्खलता प्रायः छैन । तथाकथित पश्चिमेली पप स्टाइल त झन् उसले रच्नेबारे सोचेन पनि होला । सरल, साधारण जनजीवनलाई छुने शब्द र लोकधुनबाट ज्यादै प्रभावित शरणको झुकाव रागभन्दा बढी रागिनी (माइनर नोट्स)–प्रति थियो” ।
आफ्नो लेख ‘नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति’ मा नवीन पौड्याल लेख्छन्- “शब्द-शब्दमा कोमलता, रागात्मक अनुभूति, साङ्गीतिक प्रवाहमा बगेको भावबिम्ब, ध्वन्यात्मक लयात्मकता उनका गीतलेखनका विशेषता हुन् । उनका प्रायः सबै गीतहरू गाइएका छन् ।”
शरणले अम्बर गुरुङकाे संसर्गमा रहेर आफ्नो साङ्गीतिक यात्रा अघि बढाइहेका थिए, त्यसैबेला कुनै दिन अम्बर गुरुङकै एक शिष्यसित सङ्गीतकै माध्यमले उनको परिचय हुन पुग्यो । उनी थिइन् अरुणा लामा । दुवै अम्बर गुरुङसित सङ्गीत सिक्न जान्थे । दुवैको त्यहीँ नै भेट भयो । एकमा सुमधुर स्वर थियो अर्कोमा सुमधुर सङ्गीतको सृजना गर्ने सृजनाशक्ति थियो । दुवै एकर्कामा आकर्षित भए । यही आकर्षण छोटो समयभित्रमा नै विवाह बन्धनमा परिणत भयो । अब दुवै लोग्ने स्वास्नी बने । यो साङ्गीतिक दम्पतीबाट नेपाली जगतले धेरै राम्रा-राम्रा गीतहरू पायो । शरणको उच्च कोटीका धुनहरूलाई अरुणाले आफ्नो कोकिल कण्ठले सजाइन् । शरणको सबै रचनाहरूले अरुणाको स्वरमा धेरै-धेरै न्याय पाएको छ ।
अब एक उत्कृष्ट सङ्गीतकारले पत्नीको रूपमा एक सुदक्ष गायिकालाई पाए भने एक होनहार गायिकाले एक सुदक्ष गीतकार र सङ्गीतकार पाइन् । सङ्गीतलाई आफ्नो सर्वस्व ठान्ने विलक्षण दम्पती त्यसपछि एकपछि अर्को गर्दै राम्रा-राम्रा गीतहरूका सृजना गर्नतर्फ लागे । शरणले अति राम्रा-राम्रा गीतहरू अरुणाकै लागि लेखे, कम्पोज गरे अनि अरुणाले समर्पित भएर ती गीतहरू गाइन्, जुन गीतहरू नेपाली जनमानसले खुबै तन्मयताका साथ सुन्न थाले । ती गीतहरूमा नेपाली जनमानसले आफ्नै पिर व्यथा, भोगाइ र जीवन शैलीको प्रतिबिम्ब पाए । यसैले सबैले रुचाएका ती गीतहरू शहर, गाउँ, बस्ती सबैतिर घन्किन थाले ।
गीत सङ्गीत नै सिक्दै गर्ने शिक्षार्थीहरू र स्कुल कलेज पढ्ने विद्यार्थीहरूदेखि लिएर चिया कमानतिर पत्ती टिप्न र घाँस दाउरा लिन जाने ठिटा-ठिटीहरूका ओठ-ओंठमा उनीहरूका रसिला गीतहरू झुण्डिएको हुन्थ्यो । त्यसबेला न मोबाइल थियो न युट्युब थियो, ग्रामोफोन रेकर्ड बजाएर एउटा घरको छेउमा रूखको हाँगामा बाँधिएको माइकको धोन्द्रोबाट घन्काइएको गीतको आवाज जहाँसम्म पुग्थ्यो त्यहाँसम्मका श्रोताहरूले खुबै चाख मानेर ती गीतहरू सुनिरहेका हुन्थे । यस्ता रसिला गीतहरू सुनेर मानिसहरू आफ्नो पिर-मर्का भुल्थे । समुचित रूपमा भन्नुपर्दा शरणको कम्पोजिशन र अरुणाको स्वरमा नेपाली जनमानसले सङ्गीतको तृष्णा मेट्न सके ।
शरणको जीवनकालमा अरुणाले सबै गीतहरू शरणकै सङ्गीतमा गाएकी छिन् साथै धेरैजसो शब्दरचना पनि शरणकै छ । यी सबै गीतहरूमा नेपाली माटोको सुगन्ध छ, नेपाली जनजीवनको घाम छायाको प्रतिबिम्ब छ, गाउँठाउँका सरल मानिसहरूका बचाइको प्रतिच्छाया छ, नेपाली मनभित्रकै पिर र व्यथाहरू छन् । धेरै जसो गीतहरू आफ्नै मौलिक तालहरू र लोक लयमा बाँधिएका छन् ।
यस्तै आफ्नै मौलिक लोकलय र ताल सुरमा बाँधिएको हुनाले ‘नेपाली गौरव गर्छौं आफ्नैपनमा’, ‘जोबन गयो बैँस त गएन लै लै’ जस्ता गीतहरूले जति चर्चा र लोकप्रियता कमाउन सक्यो । त्यसको तुलना आज युट्युबमा धेरै भन्दा धेरे एक वर्ष हिट मानिने गीतहरूसित हुन सक्दैन । आज श्रव्य-दृश्य साधनहरूको तकनिकी विकास र परिवर्तनले गर्दा यी पुराना गीतहरू भने श्रोताहरूले सबै-सबै सहजै सुन्न पाउँदैनन् । युट्युबमा कतिपय यस्ता पुराना गीतहरू सुन्न सकिए तापनि सबै-सबै गीतहरू उपलब्ध हुँदैनन् । साथै स्मार्ट फोन नचलाउने वा युट्युब प्रयोग नगर्ने श्रोताहरूले आज चाहेर पनि यस्ता कर्णप्रिय र कालजयी गीतहरू सुन्न सक्दैनन् ।
जुन समय शरण सङ्गीत सृजनामा सक्रिय थिए त्यस समय अम्बरकै अर्का शिष्य रन्जित गजमेर उनको साह्रै मिल्ने साथी थिए । दुवै यति विघ्न मिलनसार थिए कि दुवैले मिलेर गीत-सङ्गीतको क्षेत्रमा धेरै रचनात्मक कामहरू गरे, भनौं हलचल नै मच्याएका थिए । रञ्जित गजमेरले सङ्गीत सिर्जनामा शरण-अरुणाको जोडीलाई भरपूर साथ दिए । टर्नबुल हाई स्कुलका ठिटो रञ्जीत गजमेर पनि त्यतिञ्जेल प्रतिष्ठित सङ्गीतकार बनिसकेका हुनाले शरणको लागि भरपर्दो सहयोगी बने । उनले पनि दार्जिलिङमा रहेर नेपाली सुगम सङ्गीतको फाँटलाई उर्वर र मलिलो बनाउने साथै धेरै फराकिलो बनाइदिने काममा अहम् भूमिका निर्वाह गरेका छन् । शरण-रञ्जीत नामले दुवैले केही वर्षसम्म जोडी नै भएर काम गरे । दुवैले सँगै बसेर सङ्गीत भरे अनि राम्रा-राम्रा गीतहरूमा नेपाली जनजीवनलाई चुर्लुम्म डुबाए ।
नेपाली सङ्गीतको क्षेत्रमा मेन्डोलिन वादनमा शरणलाई उछिन्ने आजसम्म देखिएको छैन । मेण्डोलिनका तारहरूलाई उनका जादुमय औलाहरूले खेलाएर निस्केको ध्वनि अति सुनिरहूँ जस्ता हुन्थे ।
आफ्नै पत्नी अरुणा लामाको स्वरमा रहेको उनको रचना ‘आकाशको प्रीत धरतीको गीत’ एक समय नेपालबाट राजा महेन्द्रको जन्मदिनमा दार्जीलिङ्गका कलाकारहरूलाई निम्त्याइएको बेला (सन् १९६५ मा), मौका छोपेर घुम्दै रेडियो नेपाल पुगेको बेला रेकर्ड गरिएको रहेछ । त्यस बेला रेडियो नेपालमा हार्मोनियम बजाउन अनुमति थिएन रहेछ । यसैले होला शरणले यो गीतमा मेन्डोलिन बजाएरै यसै साजको भरमा अरुणालाई सो गीत गाउन लगाएका रहेछन् ।
आज पनि कुनै पनि सङ्गीत प्रेमीले यो गीत सुने यस गीतलाई सङ्गीतले सजाउनमा केवल मेन्डोलिनले जुन प्रकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यसैबाट शरण प्रधानको दक्षतालाई हामी बुझ्न सक्छौं । शरण बाँचुञ्जेल मेन्डोलिनमा उनको दक्षतालाई अम्बर गुरूङ्गले आफ्ना गीतहरूमा भरपुर प्रयोग गरेको देखिन्छ । मेन्डोलिन वादकको रूपमा मात्र हेर्दा पनि आफ्नो जादुमय औलाहरू चलाएर मेन्डोलिनबाट निस्केको आवाजले कुनै पनि गीतमा उनी कतिसम्म सुनमा सुगन्ध थप्न सक्थे त्यसको स्पष्ट प्रमाण पाइन्थ्यो । यसको उदाहरण हेर्नलाई हामीले अम्बरकै रचना ‘म अम्बर हूँ तिमी धरती’ र उनको आफ्नै कम्पोजको गीत ‘यो जोवनलाई घरको माया छ कि छैन’ लाई ध्यानले सुने पर्याप्त हुन्छ ।
नेपाली सङ्गीतका एक महान् हस्ती अम्बर गुरुङ नेपाल पसेपछि शरण प्रधान पनि धेरै बिथोलिएका थिए । त्यस्तो विचलित अवस्थामा पनि यहाँको सङ्गीत परिवेशलाई अन्धकारमय बन्नदेखि बचाउनलाई शरणले दार्जिलिङमा ‘सङ्गम’ संस्था स्थापना गरी नयाँ-नयाँ सृजनाहरू नेपाली जनमानसलाई चढाउन थाले । उनको यस्तो महत पहलले गर्दा नेपाली जगतले उच्च कोटिको गीत-सङ्गीत पाउन सक्यो । दार्जिलिङमै रहेर शरण र अरुणाले नेपाली सङ्गीत क्षेत्रमा आफ्ना योगदानलाई निरन्तरता दिइरहे । दार्जिलिङमा यी दुईको जोडीले यहाँको सङ्गीत परिवेशलाई अँध्यारो हुन दिएन । धेरै मिहिनेत गरे अनि नेपाली सङ्गीत क्षेत्रलाई पुष्ट तुल्याए, उचाइमा पुऱ्याए । दुवै दम्पतीले दार्जिलिङमा नै स्थिर बसेर नेपाली गीत-सङ्गीतको जुन प्रकारले सेवा गरे, राम्रा-राम्रा सृजनाहरूले शृङ्गारे, त्यो महत र महान् कार्य हामीले भुल्न हुँदैन ।
नेपाली गीत-सङ्गीतका मर्मज्ञहरू शरण प्रधान र गोपाल योञ्जनमा कतिपय कुरामा समानता पनि खोज्छन् । शरण प्रधानलाई छुट्टै संस्था ‘सङ्गम’ स्थापना गरेपछि दिलोज्यानले राम्रा-राम्रा गीत सङ्गीत सृजना गर्नमा लागेको देखिन्छ । ठीक त्यसै बेला हिमालयन कला मन्दिरमा गोपाल योञ्जन नामको प्रतिभा उचाइतर्फ लम्किरहेका थिए । गीतहरूमा दुवैले कतै नारीको अस्मिता र मर्यादालाई वाणी दिन खोजेका छन् भने कतै जातित्वलाई शिरमा उचालेर हिँडेको देखिन्छ । एकातिर गोपाल योञ्जन लेख्छन्—
बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो‘
अर्कोतिर शरण प्रधान लेख्छन्-
‘नेपाली गौरव गर्छौं आफ्नै पनमा घमण्डी त होइन है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइन है ।
यहाँ दुवैको गीतको समतुल्य भावपक्ष नै नेपालीत्व देखिन्छ ।
शरण र गोपाल दुवै अम्बरका शिष्य थिए भने दुवै आ-आफ्ना बाजाका राजा थिए, गोपाल बाँसुरीमा दक्ष थिए भने शरण म्यान्डोलिनमा । दार्जिलिङमा दुवैको आ-आफ्नो सङ्गीत समूह थियो । शरणको ‘सङ्गम’ थियो भने गोपाल ‘हिमालय कला मन्दिर’ मा आबद्ध थिए । दुवैका आ-आफ्ना क्याम्पका सहसङ्गीतकार थिए, गोपालका लागि दाजु कर्म योञ्जन थिए भने शरणका लागि मित्र रञ्जित गजमेर । यस्तै प्रकारले दुवैका रचना र सङ्गीतलाई वाणी दिने सुमधुर स्वर पुत्रीहरू पनि थिए । एकको लागि अरुणा लामा अनि अर्कोको लागि दिलमाया खाती । यी दुवै स्वरपुत्रीहरूबीच कडा प्रतिस्पर्धा पनि हुन्थ्यो । निर्णायकगण नै दोधारमा पर्थे । दुवै पहिला हुन्थे । ‘यहाँ फूल नखिलेछ’ मा अरुणा लामा प्रथम भइन्, जसमा शरण-रञ्जितको सङ्गीत थियो । अर्को ‘सावन फेरि फर्की आयो’ मा दिलमाया खाती प्रथम भइन्, जसमा कर्म गोपालको सङ्गीत थियो ।
शरण प्रधान दार्जिलिङले जन्माएको एक विलक्षण सङ्गीतकार र गीतकार हुन् तर आफ्ना राम्रा-राम्रा सृजनाहरूले नेपाली गीत सङ्गीतको क्षेत्रलाई ढकमक्क पार्दा-पार्दै उनलाई अचानक क्रूर कालले सिकार बनायो । सन् १९७४-को मई ३ तारिख, शुक्रबारको दिन तदनुसार वैशाख २० गते, वि.सं २०३१ मा उनको इहलीला समाप्त भयो । यति विलक्षण सङ्गीत शिल्पीको अचानक भएको यो मृत्यु कसैले पनि विश्वास गर्न सकिने कुरा थिएन । साहित्यमा हामीले ‘असामयिक निधन’ भने भन्दा ‘असामयिक’ थियो, यो घटना । नेपाली सङ्गीत क्षेत्रलाई अझै धेरै राम्रा-राम्रा सृजनाहरूले सजाउने दक्षताको मार्गमा यसरी गन्तव्यभन्दा धेरै पहिले नै विराम लाग्यो ।
शरणको मृत्यु हुँदाको बेला दार्जिलिङका प्रतिभाहरू यताउति लागिसकेका थिए, तर शरणले दार्जिलिङलाई थामेर राख्ने प्रण गरेका थिए, त्यसैले तिनी दार्जिलिङमै थिए, अरुणा लामा, कर्म योञ्जन, दिलमाया खाती, मणिकमल क्षेत्री आदि दार्जिलिङमा नै थिए । तथापि शरणको देहान्तले त्यो लथालिङ्गपनमा अझ ठूलो खाल्डो सृष्टि गरिदियो । दार्जिलिङका प्रतिभाहरू कोही मुम्बई त कोही नेपाल लागिसकेका थिए । शरणले सपना सजाएका थिए, अर्केस्ट्रा स्थापित गर्ने, ‘सङ्गम’-लाई पुनः सक्रिय बनाउने अनि वाद्यवादकहरू प्रशिक्षित तुल्याउने, तर यी सबै कामहरू शरणले अधुरै छाडेर जानु पऱ्यो । तिनका यी सपनाहरूलाई साकार गरिदिने प्रयासमा कुनै सङ्घ-संस्था र निकाय वा व्यक्तिहरू अगाडि बढेको पनि देखिएन ।
शरण प्रधानको निधनसित मेन्डोलिन टुहुरा भयो । अब कुनै पनि सङ्गीत प्रेमीले जादुमय र मनैलाई तृप्त पार्ने मेन्डोलिनको झन्कार सुन्न नपाउने भए । आफ्नै नेपाली मौलिक राग-रागिनी र धुनहरूमा आधारित अति नै कर्णप्रिय गीतहरू सुन्न नपाइने भयो । त्यो रिक्तता आजसम्मै यथावत् छ । शरणको मृत्युले सबै नेपालीहरूका आफ्नै बारीका सयपत्री र मखमली सुके जस्तो स्थिति ल्यायो । नेपाली सङ्गीतलाई आफ्नो सृजनाले सजाएर सुनकेशरी रानीभन्दा सुन्दर बनाउन सक्ने क्षमता भएका सुदक्ष सङ्गीतकार र गीतकार नेपाली जगतदेखि बिछोडिनु भनेको एउटा ठूलो खाल्डोको सृजना हो, जुन खाल्डो उनी आफै बाहेक अरूले भर्नु सक्ने होइन । हो, हामीले आज धेरै राम्रा-राम्रा कलाकारहरूका गीत-सङ्गीत पाएका छौँ तर शरणले रचेका अनि शरणले नै सङ्गीत भरेका गीतमा मान्छेलाई तृप्त पार्ने जुन जादु थियो, त्यो कहाँ पाइएला र !
महान् सङ्गीतकार तथा गीतकार शरण प्रधानको योगदानलाई अलग राखेर नेपाली गीत-सङ्गीतको इतिहास लेख्न सकिँदैन । नेपाली गीत-सङ्गीतमा शरण प्रधानको योगदानलाई सधैँ उज्यालोमा राख्ने प्रकारले व्यक्ति, सङ्घ-संस्थाहरूबाट केही ठोस् काम हुनु पर्ने थियो । आजका नयाँ तकनिकीको प्रयोग गरी उनको सृजनालाई संरक्षित राखिनुपर्ने हो । अभिलेखन (आर्काइभ्स) तयार पारी उनका सबै-सबै विलक्षण गीत-सङ्गीतलाई सधैँ जगेर्ना हुने गरी राखिनुपर्ने हो ।
मित्रसेन थापाको योगदानबारे डा. खगेन शर्माले शोध गरी विद्यावारिधि उपाधि नै हासिल गर्ने प्रशंसनीय कार्य गर्नुभए जस्तै शरण प्रधान सम्बन्धमा पनि कसैबाट शोध भइदिए अँध्यारोबाट धेरै कुरा उज्यालोमा आउने थियो । नेपाली सङ्गीतको इतिहासमा शरण प्रधानको यति ठूलो योगदानको सही कदर नहुनु भनेपछि हामीले आफ्नै आँगनको मखमली फूल नचिन्नु बराबर हो । हामी ठूला-ठूला कुरा गर्छौं, आफ्नो जातिको पहिचान र परिचयको मुद्दा उठाउँछौँ, भाषण दिन्छौँ तर आफ्नो जातिको लागि महान् योगदान पुऱ्याउनेहरूलाई उज्यालोमा ल्याउन भने भुसुक्क भुलेका हुन्छौँ । हामी पछि पर्नुको एउटा फ्यातुलो पक्ष यही नै हो ।
केवल ३० वर्षको छोटो उमेरमा शरणको इहलीला समाप्त भएको हो । यही ३० वर्षको उमेरमा मान्छेले भएभरको सपना र कल्पना सजाएको हुन्छ । नेपाली गीत-सङ्गीतको क्षेत्रमा अझ कस्ता-कस्ता सिर्जना गर्ने उनको सपना थियो होला अनि ती सपनाहरूमध्ये थोरै मात्र पनि उनले पुरा गर्न पाएका भए हामीले अझ कति कालजयी गीत-सङ्गीत पाउन सक्ने थियौं होला । यो सम्झँदा हामीलाई अहिले पनि मन अमिलो भएर आउँछ । यद्यपि, तुलनात्मक दृष्टिले हेऱ्यौं भने यति छोटो उमेरमा उनले जे जति सृजना दिन सके त्यसले नेपाली गीत-सङ्गीतलाई समृद्ध पार्नमा महान् योगदान पुगेको छ । शरण नेपाली सङ्गीतको स्वर्ण कालको उज्ज्वल नक्षत्र हुन् ।
(शरण प्रधानबारे पर्याप्त जानकारी उपलब्ध हुन नसके तापनि आफ्नो शोध, सीमित जानकारी र सङ्गीत सम्बन्धी अन्य विज्ञहरूद्वारा लेखिएका विभिन्न लेख-प्रलेखहरूको सहयोग लिइएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।