भीड़मा एउटा अपिरिचित मान्छे जस्तो
आफन्त छन् रे उसको
तर सधैँ उपेक्षित
आत्मीयजन छन् रे उसको
तर सधैँ अवहेलित
कसम खानेले चट्ट बिर्सेका
सधैँ तिरस्कृत, उत्पीडित
यस्तै छ एक कुनामा
दुनियाँ चियाबारीको
ग्रहण लागेर एकाम्मे छ दिनरात
शोषणले मुर्झाएका छन् सयपत्री र बाबरी
तर झिनो आशा लिएर
खै के पर्खेर टुलुटुलु अनुहारहरू फर्काउँछन् पूर्वतिर
प्रतीक्षाहरू अझै थाकेका छैनन् कि जस्तो
पर्खाइहरू अझै लोलाएका छैनन् कि जस्तो
आफ्नै हत्केलाभरि थापेका
आफ्नै पसिनाका थोपाहरू
कहाँ चुहुन्छन् थाहा हुँदैन यहाँ
कहिले एकतमासको
भीड़ सल्बलाउँछ यहाँ
हतार दगुर्छ
उत्सुकता उफ्रँदै नाँच्छ
साइनो केलाउनेहरू रगरग्ती गाउँभित्र पस्छन्
दुई दिन मेला लाग्छ
आश्वासनका पण्डालहरूमा
बन्धकी राखिन्छन् सपनाहरू
गल्ली गल्ली घुमेर छरिन्छन् बाटैभरि
कागजका फूलहरू
तर विश्वास कस्तो यही फूलमा
रातभरि वसन्त मगमगाउँछ
बैंश नचढेको बैशाखले पनि यहाँ
कस्तो रक्सीले जस्तो मताउँछ
छाम्दै नछामी यो अन्धो विश्वास
देख्दैमा मात्र यो कस्तो भरोसा ?
फेरि दिन ढल्केर भोलि के हुन्छ
सखारै उठेर हिँड़िसकेको हुन्छ
हिज मात्र पिँढ़ीमा बास दिएको पथिक
फेरि त्यही झिँजोलाग्दो पूर्ववत् स्थिति
फेरि उराठलाग्दो क्षणको निरन्तरता
फेरि त्यही दुखाई र भोगाईहरू
हो, धेरै भयो यहाँ सपना बलात्कृत भएको
आङमा घाम लाग्छ रे भनेर हल्ला पिटिएको
रूङ्गछन् चिसो चुल्हो रातभरि
बजार र खल्तीबीचको द्वन्द्वले थिचिएर
अनिदो रात बिताउँदै
एक मुठी स्वास पनि
कतै पैँचो माग्दै
भूगोलको यो एउटा सानो टुक्रा
मक्किएको वैसाखीमा
जिन्दगी घिसारिरहेछ
तातो हावा भरिएका बेलुनहरू
माथि माथि आकाशमा उड़्छन्
तैंछाड मैंछाड गर्दै हेर्नलाई
गाउँका लालाबालाहरू झुप्पिन्छन्
कुनै पर्वको रमिता ठानेर।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










