गीत र कविता समान देखिए पनि भिन्न विधा हुन् । कविता लयात्मक भए पनि गीत बन्न गीतात्मकता, गेयता, लयबद्धता, संक्षिप्तता, सरलता र हार्दिकता अनिवार्य हुन्छ । गीत लेख्न साहित्यिक हुनु जरूरी छैन, गीतकार कवि नहुन सक्छ । गीतमा थोरै शब्दमा भावनात्मक गहिराइ हुनुपर्छ । गीतकारमा संवेदनशीलता, सौन्दर्य चेतना पक्ष बढी प्रबल हुनाले मात्र प्रभावशाली गीत लेख्न सक्छन् ।

नेपाली साङ्गीतिक क्षेत्रमा शरण प्रधानको नाम स्वर्णाक्षरमा अङ्कित छ । उनी एक कुशल सङ्गीतकार र गीतकार हुन् । उनी थोरै बाँचेर धेरै सुवास छर्ने चमेली फूल हुन् । उनी थोरै बाँचे तर सङ्गीतमा केही उल्लेखनीय नबिर्सिने काम गरेका छन् । दार्जीलिङमा जन्मेका उनी नेपाली साङ्गीतिक जगतमा एक होनहार व्यक्तित्व थिए, सबैका मुखमुखमा झुन्डिने गीतका सर्जक थिए । उनको अकाल मृत्युले नेपाली सङ्गीतलाई ठूलो क्षति पुर्‍याएको थियो । उनीबाट अझ राम्रा राम्रा गीतहरू सिर्जना गर्न सक्थे । बाबुआमाका एउटै सन्तान उनी सानैदेखि सङ्गीतमा रुचि थियो ।

बेन्जो मेन्डोलिनमा प्रशिक्षण लिएर दक्षता हासिल गरेका छन् उनले । उनी तन, मन, वचन सबैले सङ्गीतकार थिए । उनले विज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेपछि सन्त रोबर्टसमा विज्ञान र गणित शिक्षक रही सेवा दिएका थिए । शरण प्रधान सन्त रोबर्ट्स विद्यालय दार्जीलिङका गणित शिक्षक थिए । उनले त्यही विद्यालयको स्कूल गीतको सिर्जना गरेका थिए । विद्यालयमा उनले विद्यार्थीहरूलाई सङ्गीत पनि सिकाउँथे ।

प्रधानबारे उनका चेला तथा काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधानका शब्दमा- “इसाब्द १९७४-मा हामी सन्त रोबर्टर्स् स्कूलको सातौँ श्रेणीमा पढ्दथ्यौँ । शरण गुरु हाम्रा श्रेणी शिक्षक हुनुहुन्थ्यो । उहाँको विषय थियो गणित । हाम्रा गणित गुरु प्रसिद्ध संगीतकार हुनुहुन्छ भन्ने हामी धेरैलाई थाहा थिएन तर स्कूल एन्थम शरण गुरुले बनाउनुभएको भन्ने चाहिं जान्दथ्यौँ :

सेन्ट रोबर्टसका विद्यार्थी हामी

देशको सेवा गर्नेछौँ,

स्वदेशको निम्ति प्राण गए हामी सौभाग्य सम्झनेछौं  ।”

साट्ठीको दशकमा दार्जीलिङ सङ्गीतको केन्द्र थियो । त्यस युगलाई दार्जिलिङे नेपाली सङ्गीतको स्वर्णकाल मानिन्छ । अम्बर गुरुङ, गोपाल योञ्जन, जितेन्द्र बरदेवा, नवीन वरदेवा, शरण प्रधान, गगन गुरुङ, एस रबिदास, अशोक राई, कमल दर्नाल आदिको सक्रियतामा दार्जीलिङमा साङ्गीतिक परिवेश थियो । गीतकारहरू गोपाल योञ्जन, अम्बर गुरुङ, पासाङ बाङ्बल, आदि सक्रिय थिए । कसले राम्रो गीत सिर्जना गर्ने भन्ने कुरामा एक प्रकारको प्रतिस्पर्धा थियो । रेडियो खरसाङ भर्खरै शुरूआत् भएको थियो । उता नेपालतिर पनि यताका कलाकारहरू गइरहन्थे र कार्यक्रम सम्पन्न गरिरहन्थे । शरण प्रधानले तिनैका परिवेशमा रहेर गीतको सिर्जना गर्दथे ।

त्यस बेला सङ्गीतको गुणात्मकता र शाब्दिक मार्मिकताले युक्त गीत सिर्जित हुने गर्थे । थोरै बाजा-गाजा, रेकर्ड गर्न कलकत्ता जानुपर्ने बाध्यता, प्राविधिक कठिनाइ भए पनि साङ्गीतिक सुमधुरता र शब्दको मनोहारिताका बलमा गीत सिरिजुत हुन्थे ।

प्रधानको अम्बर गुरुङसित घनिष्ठता थियो । गुरुङलाई उनी गुरु मान्थे र अम्बरका कतिपय साङ्गीतिक कार्यक्रम र रेकर्डिङतिर उनी मेन्डोलिन र बेन्जो बाजाका वादकका रूपमा सङ्गित दिन्थे । अम्बर नेपाल गएपछि भने शरणले आफूलाई उभ्याउने प्रयास गरे । गुरुङको रिक्तलाई पूरा गर्ने उनी आफ्नै दार्जीलिङमा सङ्गीत सङ्गम भन्ने साङ्गीतिक टोली गठन गरेका थिए ।

दार्जीलिङमा सङ्गीतकर्मीहरूको मूलतः दुई वटा जमात थियो । एउटा थियो हिमालय कला केन्द्र अर्को शरण प्रधानकेन्द्री सङ्गीत सङ्गम । शरण प्रधान, रञ्जित गजमेर, अरुणा लामा, जितेन्द्र बरदेवा आदि सक्रिय रहेको सङ्गीत सङ्गमले दार्जीलिङमा साङ्गीतिक कार्यक्रम गर्दथ्यो । त्यसमा शरण प्रधानको शब्द सङ्गीत र अरुणा लामाको स्वरमा कार्यक्रम हुन्थे ।

प्रधान कुशल सङ्गीतकार थिए । अरुणा लामाले अघिल्लो चरणमा गाएका अधिकांश गीतका सङ्गीतकार शरण प्रधान थिए । उनको जीवन नै सङ्गीतमय थियो । उनले सानु लामाले लेखेका बालापनको आँगन त्यागेर खोला-नाला काटेर, विश्वास नगर जिन्दगीको आदि गीतमा पनि सङ्गीत दिएका छन् । उनका गीतको साङ्गीतिक पक्षबारे साठीका दशकका स्रोताका निम्ति धेरै लोकप्रिय सङ्गीतकार रूपमा चिनिन्थे । उनले तत्कालीन सङ्गीतकारहरू गोपाल योञ्जन, अम्बर गुरुङका समकक्षका मानिन्थे । रन्जित गजमेर र उनको साङ्गीतिक जोडी थियो । यी दुई मिलेर शरण रञ्जित नामयुग्म बनाएर केही वर्ष संयुक्त रूपमा सङ्गीत दिएका थिए । उनी लामो बाँचेका भए नेपाली सङ्गीत क्षेत्रमा अझ ठुलो योगदान दिन सक्ने थिए, अझ धेरै काम गर्ने थिए । उनले अम्बर गुरुङबाट निकै प्रभावित थिए । यसकारण उनको सङ्गीतमा रहेका गीतमा गुरुङको सङ्गीतको आंशिक प्रभाव परे तापनि उनको आफ्नै मौलिक साङ्गीतिक विकास गरेका थिए । उनी अझै बाँच्न सकेका भए कर्णप्रिय सुमधुर गीतहरू श्रोताले पाउने थिए ।

प्रधानले बाल्यावस्था र युवावस्था मात्र देख्न भोग्न पाएका हुन् । युवा अवस्थाका युवा सुलभ मनमा उठेका तरङ्ग, भावना प्रेमका ज्वारभाटाको भाव, कल्पनाका पखेटा उडान आदि जस्तालाई समेटेर गीत रचना गरेका थिए । उनले जीवनको सुख दुःख दुवै भोगे, दार्जीलिङको प्राकृतिक सुन्दरता निहारेर त्यसबाट भावबिम्बलाई गीत बनाउने गर्थे । अरुणा लामासित उनको प्रेमले उनलाई गीतको सिर्जना गर्ने बल प्रदान गर्यो, कल्पनाको पखेटाले गीत बुन्यो, जीवनका उच्छ्वासका रूपमा गीत रचेका थिए । लामासितको सुमधुर दाम्पत्य जीवनले पनि उनलाई गीत लेख्न प्रेरित गरेको हुन सक्छ । अरुणा गाउने उनी गीत लेख्ने र सङ्गीत दिने हुँदा उनलाई अझ बल प्रदान गर्यो, राम्रो सङ्गीतकार बने ।  यी तीनैवटाको त्रिवेणीमा शरण प्रधानको साङ्गीतिक प्रतिभा झल्किन्छ ।

प्रधानका गीतहरूको विषयवस्तुगत अध्ययन –

शरण प्रधानले जम्मा ३१ वर्षको छोटो जीवन पाएका हुन् । यदि उनी लामो बाँच्न पाएका भए अम्बर गुरुङहरू जस्तै धेरै काम गर्न सक्थे, स्रोताहरूलाई अझै धेरै मनमुग्धकारी गीतहरू दिन सक्थे, अझै धेरै नामप्रसिद्धि पाउने थिए । यद्यपि थोरै बाँचे पनि धेरै दिएका हुन् । उनका गीतका शब्द र भाव राम्रोसँग सुन्दा र बुझ्दा उनीभित्र साङ्गीतिक चेतना, जीवन बुझाइमा यथार्थता, दार्शनिकता, जीवनानुभूति बोध गरेका थिए । गीतमा भावगत यथार्थताले श्रोतालाई आनन्दमग्न बनाउँछ ।

सरलताभित्र मिठासता, थोरै शब्दमा धेरै भाव प्रकट, जीवनका आँसु र हाँसोको सङ्गमलाई भावमा पोखिएको छ । निराशाभित्र आशा, जीवन भोग्दाका पीडालाई आनन्दको अनुभूति, दुःखलाई सुखको भावले सजाएको पाइन्छ । उनले लेखेका गीतहरू सुन्दा उनीभित्र उनीभित्र सिर्जनात्मक कल्पना, जीवनका यथार्थलाई नजिकैबाट अवलोकन गरेका छन् । घर परिवारको उत्तरदायित्व सम्हाल्दै, एक आदर्श पति र एक पिता भएर बिताउँदाका अनुभूतिलाई पनि व्यवहारिक रूपमा गीतमा उतारेका छन् । जीवनमा भोगेका अनुभूतिलाई सङ्गीतका रूपमा उतारेका छन् । उनका गीतमा निराशामा आशा, व्यवहारिकताभित्र सिर्जनात्मकता आदि प्रवृत्ति पाइन्छ ।

प्रधानका गीतहरूको रेकर्डहरू कता कता छरिएका छन् । तिनलाई समेटेर एक ठाउँमा ल्याएर श्रोतालाई सुनाउनु आवश्यकता छ । उनका गीतहरूमा मूलतः- चार वटा विषयवस्तुले प्रमुखता पाएका छन्-

आत्मविलयन र तुच्छताबोध-

शरण प्रधानका गीतमा आत्म विलयन र तुच्छता बोधको भाव पाइन्छन् । आफूलाई  एक तुच्छ, प्रेमका निम्ति अयोग्य, एक धुलोझैं महत्ताहीनको भाव व्यक्त गरेको पाइन्छ ।

उनको निधनपछि अरुणा लामाका अधिकांश गीतहरूमा पाइने दुःख विषाद र आत्मविलयनका भाव जस्तै प्रधानले रचेका गीतमा पनि यस्तै खालका भाव अधिक पाइन्छ । मैले जीवनलाई कसरी सजाएँ, मेरो जीवन देख्नेहरू आदि भावद्वारा आफूलाई एक तुच्छ र अमूल्य ठानेको भाव प्रकट गरेका छन् । गीतमा यस्तो भाव आउनु स्वाभाविक हो । आफूले चाहेको, खोजेको प्रेम पाउँदाको सुखद् भाव र नपाउँदाको दुःखित भावभित्र नै यो तुच्छताको भाव आउनु स्वाभाविक हो । एउटा नमुना –

म आँखैमा राखिने योग्य कहाँ छु

मलाई सम्झी टिठ्याउने योग्य कहाँ छु

म भूल हुँ सुधारिने योग्य कहाँ छु

म आँखैमा राखिने योग्य कहाँ छु ।

यहाँ आफूलाई आँखामा राखिने, टिठ्याउने, सुधारिने, साथी बन्ने, प्रश्न उठाउने, माया पाउने योग्य नभएको तुच्छताको भाव पाइन्छ । यसमा आत्मविलयन र तुच्छताबोधको चरम भाव व्यक्त गरिएको छ ।

जीवन दर्शन-

शरण प्रधान थोरै बाँचे पनि जीवन बुझेका थिए । उनले लेखेका गीतहरू सुन्दा लाग्छ उनले जीवनका सुख र दुःख बुझेका थिए । जति बाँचे त्यति बचाइमा पनि जीवन र जगत् बुझेका थिए, प्रेमका विभिन्न प्रभाव चिनेका थिए, जीवनका सुखको आनन्द र दुःखका चरम अवस्था भोगेका थिए । जीवनका आदर्शता र यथार्थको बोध गरेका थिए । उनको एकतीस वर्षे जीवनमा जे जति भोगे बुझे, सुझे त्यहीलाई कोमल भावनाका गीतमा उतारेका छन् । जीवनमा जति नै निराशा छाए पनि जस्तै आँधी हुरी आए पनि आशा मर्दैन, पीर व्यथा समयको छालमा भुलिन्छन्, मानिसले हाँस्नुपर्छ, जीवन बाँच्नुपर्छ भन्ने सन्देश दिएको हुन्छ । लामाले गाएका गीतहरूमा यस्तै आशावाद प्रकट भएका छन् । उनका निम्ति अँधेरो रुन धेरै छैन बरु उज्यालो बिहान हाँसेर आउँछ । मानिसका बोझ, पीडा र पीरहरू सहेपछि एकदिन त्यो निको हुनेछ । एउटा गीतको नमूना हेरौं-

भुलिदेऊ पीर आँसु मै सुक्छ

आजको पीर भोलि फर्किन्छ

तिम्रो यो हेर जोबन बित्छ

आजलाई हाँसे भोलि सजिन्छ

माया प्रेमका उच्छ्वास-

शरण प्रधानका गीतमा माया प्रीतिका स्वाभाविक भावना, उच्छ्वास र अनुभूतिहरूलाई विभिन्न गीतमा उतारेका छन् । उनका निम्ति माया प्रेम शाश्वत, पवित्र र विशिष्ट रहेको छ । प्रेममा अनैतिकता, उत्ताउलोपन, छिचरोपन, सस्तो हुनुहुँदैन । यो त शाश्वत हुन्छ, अजर अमर हुन्छ । प्रेम एउटैसित हुन्छ भन्ने सन्देश दिइएको पाइन्छ ।जोबन (यौवन) लाई जोगाएर राख्नु पर्छ, यसलाई उत्ताउलो दिनुहुँदैन । शीतल पवनले बगाइ ल्यायो मायाको तातो स्वर्णिमतालाई भन्ने भावनाका हुन्छन् । उनका निम्ति प्रेम शाश्वत हुन्छ, पवित्र हुन्छ । प्रेमका अघि आफूलाई तुच्छ ठान्ने र आत्म विलयन गर्ने भाव पनि पाइन्छ ।

जातीय स्वाभिमानको गौरवगाथा-

शरण प्रधानको सबैभन्दा लोकरुचिमा आएको जातीय स्वाभिमानको एउटा गीत,जसले प्रत्येक नेपाली हुनुको गर्व अनुभूति गराउँछ, हाम्रो शिर उच्च बनाउँछ, हाम्रो रौं ठाडो ठाडो बनाउँछ । यस गीतले हाम्रो वास्तविक जातीय चरित्रलाई सम्बोधन गर्न सकेको छ । यहाँ नेपाली जातीय चरित्रलाई हाम्रो मौलिकता, स्वभाव, जीवनशैली, हाम्रो विश्वास आदिलाई विभिन्न उपमा र प्रतीक बनाएर प्रस्तुत गरेका छन् । गीत यस्तो छ-

नेपाली गौरव गर्छौं आफ्नै पनमा घमण्डी चैं होइनौं है

सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौ है ।

आज पनि छ धामी झाँक्री हाम्रै नेपाली

तर मरेको छैन ठुला ठुला वैद्य हाम्रा नेपाली

निधारमा नाम्लो अड्याइ जीवन काट्ने नेपाली

निधारमै विद्या अँटाइ विद्वान छ नेपाली

छातीमा माया जति पनि राख्न सक्ने हाम्रो नेपाली

छातीमै गोली पनि सहिदिन सक्ने हाम्रै नेपाली

 

रावणझैं राक्षस बन्न सक्छ हाम्रो नेपाली

तर आदर्श रामको भुलिजाने होइन हाम्रो नेपाली

माया गर्नेको हामी मायालु हौं नेपाली

बैरी भएमा विषालु पनि छ नेपाली

काँधमा मादल भिरी लैबरीमा नाच्छन् हाम्रो नेपाली

काँधैमा बन्दुक भिरी लड्न पनि सक्छ हाम्रो नेपाली

 

शरण प्रधानले रचेका केही उल्लेखनीय गीतहरू-

– हाँसी राखे बोली राखे खेर नहोला,

– मेरा पापहरूलाई माया छ

– भुलिदेऊ पीर

– यो जीवनको

– यो जीवनको सपनी लै लै

– आकाशको प्रीत,

– म आँखैमा राख्ने योग्य कहाँ छु,

– हेर न हेर कान्छा,

– जोबनमा जोगिएर बस,

– आकाशको प्रीत

– म आँखैमा राखिने योग्य कहाँ छु

– जाउ छोडी जानेलाई म रोक्न सक्दिनँ

– म अभागीको दुस्मनै हाँसोस्

– यहाँ फूल नखिली छ

– मैले जीवनलाई कसरी सजाएँ, मेरो जीवन लेख्नेहरू

– खोलाभन्दा नदी ठुलो भाग्यभन्दा करम ठुलो

– मान्छेलाई बोली बोल्नु दाम त यहाँ कसले लिन्छ

– आँखाहरूले कसलाई कसलाई खोजे झैं लाग्छ

– के बिराएँ मैले

– आकाशको प्रीत धरतीको गीत

– यो जोवनलाई घरको माया छ कि छैन

– शीतल पवनले ल्यायो (अरुणा लामा र पुष्प नेपाली)

– मैले जीवनलाई

– आँखाहरूले कसलाई कसलाई खोजेझैं लाग्छ

नेपाली गौरव गर्छौं आफ्नैपनमा, हेर न हेर कान्छा, जोवनमा जोगिएर आदि जस्ता गीतहरूमा शरण प्रधान अझै बाँचिरहेका छन्, जनमानसमा अझ पनि लोकप्रिय छन् ।