प्रभो! मान्छेमा कीर्तिलिप्सा भन्ने कुरा पनि पनि लागुऔषधिको जस्तै हुँदो रहेछ । नभई नहुने, नहुँदा तलतल लाग्ने यसका लागि मान्छेले अचम्म-अचम्मका करतुत र तमासा देखाउँछन् । कोही दशतले बिल्डिङबाट फाल हान्छन् त कोही आफ्नो टुप्पीले ट्रक तान्छन् । कोही दाह्रीमा मौरी पाल्छन् ता कोही ब्लेड र बोतल चबाउँछन् । हन! मान्छेलाई के के सम्म गर्नुपरेको? नामै कमाउनका लागि कीरा पनि खाँदा रहेछन् ता कोही एक घण्टामा हजारौँ चुम्बनको बर्सात गर्छन् ।

साहित्यलेखनको एउटा प्रमुख उद्देश्य कीर्तिलिप्सा पनि हो । चाहे ठुला साहित्यकार हुन् वा साना, सबैलाई नामको भोक हुन्छ नै । ठुला साहित्यकारहरू ता लेखेर नाम कमाइहाल्छन् तर साना साहित्यिकहरू पनि नाम कमाउन इच्छा गर्छन् नै । आफ्नो नाम ता सबैलाई प्यारो लाग्छ । आफ्नो प्रिय नामलाई लोकप्रसिद्ध पार्ने इच्छा मानवमात्रको गुण हो । यसका लागि सबैभन्दा उत्तम उपाय ता साहित्यलेखन नै हो । ठुला-ठुला कवि लेखकहरू ता प्रसिद्ध भइहाले, रहेका रहलपहल, खुद्राखुद्री साहित्यकारले कीर्तिलिप्सा उत्प्रेरणा साहित्य लेख्छन् । यसका लागि सर्वोत्तम उपाय आफ्नो नाममा चट्ट उपनाम थप्यो । बस् त्यहाँदेखि कनीकुथी कलम चलाइहाल्छ । हेर्नुहोस् न, नामका पछाडि कति राम्रा-राम्रा उपनाम राखेका !

उपनाम रखाइ पनि थरी-थरीका हुन्छन् । कसैले आफ्नो गाउँठाउँको नाममा राख्छन् । जस्तै भार्पाली, अम्बटे, इलामे, डुवर्सेली, गान्तोके, सदामे, मिरिके, मन्सोङ्गे, बिन्दु इत्यादि । त्यसै गरी कसैले आफ्नो स्वभाव र चरित्रको आधारमा उपनाम राख्छन् । जस्तै- बेहोसी, विद्रोही, विरही, सन्तोकी, रोदन, समदर्शी, प्रियदर्शी, किरण, शुभेच्छु, एकान्तप्रेमी, गनगने, उदासी, अब्जसे, निर्दोषी, प्रयासी, प्रवासी, व्यथित, शोषित, बेकारी, घायल, वियोगी, अयोग्य, पृथ्वी, सङ्कल्प, रोशनी, निराशा, आग्रह, क्रान्तिकारी, दग्ध इत्यादि । अर्को एउटा उपनामधारी वर्ग छ जसले भाववाचक संज्ञाका शब्दलाई लिएर पनि उपनाम राख्दा रहेछन् । हेर्नुहोस् है- अमूर्त, जलन, खुसी, क्षितिज, अनन्त, विकल्प, अविरल, प्रयास, पीयूष, रोदन, आकाश, निराशा, सङ्कल्प, आग्रह, जलन, अश्रु, सरित्, तृषित, अश्रुमाली, भिक्षु, कनकधारावाले, कलियुगे, निरूपम, शोषित, पीडित, निम्छरो इत्यादि । हाम्रा चेलीबेटी पनि उपनाम राखेर लेख्न जुरमुराएकै छन् । चाँदनी, रोशनी, प्रियतमा, काँचुली जस्ता उपनामहरू झुन्ड्याएका हुन्छन् ।

कसैले आफ्नो समूहका साथीहरूका नामको पहिलो अक्षर मिलाएर एउटा उपनाम राख्ने गरेका छन् । जस्तै- अपतन, दिनेरू, विदिरा, सुदेपा आदि । कसैले आफ्नो संस्था वा समूहको नामलाई उपनाम बनाउने गर्छन् । जस्तै- लेकाली, देउराली, सम आदि । कतिले आफ्नो गोत्र र कुललाई उपनाम राखेका छन् । जस्तै- आत्रेय, वशिष्ठ, भारद्वाज, कश्यप, किरात आदि । कसैले आफ्नो पदलाई पनि उपनाम राखेका छन् । जस्तै- इन्स्पेक्टर, कप्तान, बैदार, सरदार, निमुखा आदि । कतिले प्राकृतिक विम्बलाई आफ्नो उपनाम राखेका हुन्छन्- क्याक्टस, कमल, सरोज, बाबरी, हिमांशु, पत्थर, नदी, पवन । कोही दोषी छन् त कोही निर्दोष ।

एकपल्ट काठमाडौँमा उपनामधारी कवि-लेखकहरूको ठुलो सम्मेलन बस्यो । सम्मेलनको अध्यक्षता वरिष्ठ कवि शिवप्रसाद ‘व्यथित’ थिए भने मुख्य अतिथि सुनिल ‘लोहोरो’ थिए । अन्य अतिथिहरूमा सुरेन्द्र ‘धड्कन’, विकास ‘रहर’, विनय ‘सिकारु’, धनु ‘बेहोसी’ रहेका थिए । कार्यक्रम थालनी अच्छा राई ‘रसिक’ को तस्बिरमा माल्यार्पणबाट भयो । अच्छा राई ‘रसिक’ उपनामधारीका प्रेरणास्रोत थिए र उनकै प्रभावले भर्खर प्रवेश भएका साहित्यकारहरूले उपनाम राख्ने परम्परा चलाएका हुन् भन्ने मान्यता रहेको छ ।

कार्यक्रमको स्वागत भाषण लेखक उत्तम ‘सङ्कल्प’- ले गरे भने केही उपनामधारी कवि-कवयित्रीहरूले सिकारु, प्रयास, आग्रह, प्यासी, खोजी, जिज्ञासु, विद्रोही, काँडा, विप्लव, समदर्शी, अविरल, निर्धन, अमूर्त, अयोग्य, विरोधी, जलन, क्रान्तिकारी, निराकर, असफल, प्रयासी, सिकाउरे, चाँदनी, कोशिस, प्रतीक, दग्ध, भावुक, समदर्शी आदि कवि-कवयित्रीले आआफ्नो कविता पाठ गरेर सुनाए । त्यहाँ केही प्रतियोगितामूलक कार्यक्रम पनि सम्पन्न भए । गजललेखन, मुक्तकलेखन र लघुकथालेखन प्रतियोगिता सम्पन्न भए । यसका साथै यस्ता उपनाम राख्नेहरूले गजल लेखनमा पनि जोड दिएका छन् । त्यस सम्मेलनमा धेरै उपनामधारीहरूको जमघट भएको थियो ।

त्यसमा सम्पन्न भएको गजललेखन प्रतियोगितामा विरेन्द्र ‘रोचक’ प्रथम, सन्तोष ‘प्रतीक’ द्वितीय र सुनिता’ ज्वाला’ तृतीय भए । यसै गरी मुक्तकलेखन प्रतियोगितामा कमल ‘असफल’ प्रथम, धनमाया ‘मायालु’ दोस्रो र अर्जुन ‘निराशावादी’ तृतीय भए । लघुकथा प्रतियोगितामा शैलेन्द्र ‘क्षितिज’ प्रथम, सलिल ‘सुसेली’ दोस्रो र राजेन ‘विरही’ तृतीय भए ।

उक्त सम्मेलनमा उपनामधारी लेखकहरूका सङ्ख्या वृद्धि गर्ने, उपनाम राख्न हौसला प्रदान गर्ने निर्णय पनि लिइयो । नयाँ-नयाँ उपनाम खोजी गर्ने पनि विचार प्रस्तुत गरियो । नवीन ‘अपजसे’, ज्ञानचन्द्र ‘अविरल’ र हरि ‘आकाश’ जस्ता वरिष्ठ उपनामधारी लेखकले उपनामको महत्त्वबारे प्रकाश पारे । धीरेन्द्र ‘गनगने’ ले सम्मेलनमा कविता लेख्न सजिलो काइदा सिकाए । उनका विचारानुसार भावनात्मक किसिमको निबन्ध लेख्नुपर्छ र त्यस निबन्धका वाक्यहरू भाँच्दै-टुक्र्याउँदै गएमा कविता भइहाल्छ । उनको उक्त महान् विचारलाई कार्यक्रममा उपस्थित सम्पूर्ण उपनामधारी लेखकहरूले ताली बजाई स्वागत र समर्थन जनाए । मनबहादुर ‘सन्तोकी’ले उपनामधारीले गजल, मुक्तक र लघुकथा मात्र लेख्नुपर्छ भन्ने सुझाव पेस गरे । यसका साथै धनप्रसाद ‘अज्ञानी’ले यस्तो किसिमको उपनाम राख्दा यसले जात, जाति धर्म र सम्प्रदायभन्दा माथि उठेर सबै समान र एकाकार हुने मानसिकता तयार हुने, भेदभाव हट्ने, उपनामले नै आफ्नो रुचिका बारेमा प्रकाश पार्ने र साहित्यको इतिहासमा हामी उपनामधारीको योगदानको पनि कदर हुनुपर्ने भन्ने राय सुझाव अभिव्यक्त गरेका थिए । यसका साथै उपनामधारीले मात्र एउटा उपनामधारी लेखक पुरस्कार पनि बर्सेनि वितरण हुने भन्ने राय सर्वसम्मतले पारित भएको थियो । यस वर्षको पहिलो उपनामधारी लेखक पुरस्कार धनमाया अश्रुलाई दिइने निर्णय गरियो ।

उक्त सम्मेलन उपनामधारी लेखकहरूका एउटा समिति पनि गठन गरियो । समिति दिलीप ‘आततायी’ सभापति, भोलामान ‘कञ्जुस’ उपसभापति, हिरण ‘सिङाने’ सचिव, नारद ‘निर्दोष’ उपसचिव तथा प्रवेश ‘संसारी’, राजु ‘झिल्के’, ईश्वर ‘कलियुगे’, भरत ‘अज्ञानी’, कुमार ‘पितुर्के’, अशोक ‘क्याक्टस’, रोशन ‘दिलरुबा’, हरि ‘प्रवासी’ र सतीश ‘प्रियदर्शी’ कार्यकारी सदस्यका रूपमा छनौट भए । सम्मेलनको सञ्चालन चेतन ‘स्पन्दन’ ले गरेका थिए भने धन्यवाद ज्ञापनचाहिँ विवेक ‘आस्था’-ले गरेका थिए ।

“उपनामधारी सम्मेलन जिन्दावाद । उपनामधारी लेखकको संरक्षण गरौँ ।”

उपनामधारी लेखकहरू अमर रहून् । उपनामधारी लेखकको जय होस् ।