नयाँ दिल्लीमा बसोबासो गर्दै आएका धर्मराज थापा साहित्यका एक अध्येता र अनुवादक हुन् । उनी दिल्लीस्थित गार्गी कलेजमा पुस्तकालयाध्यक्षका रूपमा आफ्नो जागिरे जीवनमा रहेका धर्मराज थापा अहिले सेवानिवृत्त रही स्वतन्त्र जीवन बिताइरहेका छन् । उनीभित्र जातिप्रेम छ । उनी नेपाली भाषालाई विस्तार, सहुलियत आदिका लागि निकै खटेका व्यक्ति हुन् । सन् १९४७ सालको भारत-पाकिस्तान विभाजन समयको त्रासद इतिहासबारे हामीले धेरथोर पढेका र सुनेकै छौं । त्यस समयमा पाकिस्तान भूमिबाट लाखौं हिन्दू परिवार भारत आई बसोबासो गरेका हुन् । यद्यपि त्यस ऐतिहासिक घटनामा हाम्रा गोर्खा सन्तान पनि परेको उल्लेख पाइन्न ।
यता भारतपट्टि शरणार्थी शिविर बसाइएको थियो । त्यस शिविरमा हाम्रा गोर्खा सन्तान पनि लगभग १०-१२ परिवार थिए । उनीहरू क्वेटा छाउनीमा निकै वर्ष बसेपछि मुलुकको राजनैतिक व्यवस्थाले बज्रपात गर्यो । हजारौं हिन्दू भारतीयहरूको हुलमा हाम्रा गोर्खा पनि आएका थिए । त्यहाँबाट आउँदाका शारीरिक, मानसिक पीडा वर्णन गरेर साध्य थिएन । इतिहासको यो अप्रकाशित तथ्यलाई श्री डी. आर. थापाले कथाको एउटा सामाग्री बनाएका छन् । उनको स्मृतिमा कथाको मूल विषयवस्तु यही छ ।
इतिहासको यस पक्षको उद्घाटन गर्ने हेतुले तयार पारिएको स्मृतिमा कथाले विशेष महत्त्व पाएको छ । क्वेटा छाउनी कार्यरत कोही कोही गोर्खा सिपाही सेवानिवृत्त भएपछि त्यही छाउनीको छेउछाउमा व्यापार-व्यवसाय गरी त्यही बसेका थिए भन्ने तथ्य पनि प्रस्तुत छ । विधिको विडम्बना र हिन्दू- मुसलमान वैमनस्यबाट उब्जेको पिरो राजनैतिक धुवाँको फलस्वरूप देश विभाजन हुँदा अरूसँगै १०-१२ गोर्खा परिवार पनि भारत आएको तथ्य उक्त कथामा उल्लेख पाइन्छ ।
भारत-पाकिस्तानमा जनताले एकातिर देश स्वतन्त्र भएको खुशीयाली मनाइरहेका थिए भने अर्कातिर देश विभाजनको चपेटामा परी हजारौं जनता अनेक प्रकारका यातनाले पीडित भई दुःख मनाइरहेका थिए । गोर्खालीहरूमा पाइने वीरताका साथै मानवता, मानवीय संवेदनशीलता, दयालुपन आदि जस्ता गुणलाई कथाकारले समेट्ने प्रयास गरेका छन् ।
कथाको कथावस्तुलाई र उत्तरार्द्ध गरी दुई भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । पूर्वार्द्ध कथामा धनवीरको सेनाको एक टुकडी शरणार्थी शिविरमा खटिएको, शरणार्थी शिविरको दर्दनाक अवस्था, त्यहाँको त्रासद स्थिति, धनवीर र मानवीरको क्वेटामा भएको पहिलो भेट, मानवीरको परिवार बेपत्ता भएको, मानवीर बुढाले दुःख र विरक्ति व्यक्त गरेको, पछिबाट उसको परिवारको पुनर्मिलन भएको घटनाक्रम रहेको छ । कथाको उत्तरार्द्ध भागमा उसले धनवीरलाई फेरि दिल्लीको करोलवागमा भेट्छ र उसको घरमा आउने निम्तो गर्छ ।
एकदिन धनवीर मानवीरको घर पुग्छ । धनवीर त्यहाँ पुगेको बेला मानवीरले उसलाई आफ्नी छोरी मनमायासित घरजम गर्ने आग्रह गर्छ । धनवीरले उक्त आग्रह स्विकारी मनमायालाई बिहे गर्छ । धनवीर पल्टनबाट दुई महिनाको छुट्टीमा घर आउँदा आफ्नी पत्नी दोजिया भएको थाहा पाउँछ । उ पल्टन फर्किएको एक महिनामा नै स्वास्नी मनमायालाई बेथा लागेको र नानीलाई जन्म दिएर आफ्नो ज्यान गएको खबर सुन्छ । यसो हुँदा धनवीर विरक्त हुन्छ । मानवीरकी जेठी छोरीको कोही सन्तान नहुँदा उसैले धनवीरकी छोरी स्मृतिको भरण-पोषण र शिक्षा-दीक्षा जिम्मा लिएकी हुन्छे । पछिबाट स्मृतिले पढेर डाक्टरी पास गर्छे भने धनवीर सन्न्यासी भई काशीबास गरी देह त्याग गर्छ ।
यस कथामा कथावस्तुको बुनोट र बनोट पक्ष सामान्य छ । घटना शृङ्खला बुनाइमा केही दुर्बलता पाइन्छ । यद्यपि यस कथाको महत्त्व यसको कथावस्तुको संरचनागत संयोजनभन्दा कथावस्तुको ऐतिहासिक पृष्ठभूमिको संयोजनमा छ । शरणार्थी शिविरको परिदृश्य, त्यहाँको हाहाकारी अवस्था, रोग, भोक र शोकले भरिएको शिविरको अवस्थाको वर्णन तथ्यात्मक रूपमा पाइन्छ । यस्तैमा अरू समुदायका बीचमा केही गोर्खा सन्तान पनि पाकिस्तानबाट पलायन गरी अनेक दुःख झेली भारत आएको ऐतिहासिक तथ्य पाइन्छ ।
कथामा एक ठाउँमा संवादको प्रयोग छ भने कथाको अन्तमा एउटा चिठी छ । यसमा गोर्खाको वीरताको वर्णन छ । वीर मानवीरले प्रथम र द्वितीय विश्वयुद्धमा एकेकवटा मेडल पाएको, त्यतिबेला अरब सागरको मार्ग हुँदै मिश्र देशपट्टिबाट युरोप पुगेको प्रसङ्ग छ । मानवीरले आफ्नो पराक्रमको कथा सुनाउँदा धनवीर छक्क पर्छ । धनवीरहरू जस्ता अनेक वीरताको कथा अलिखित र ओझेल परेका छन् । भारत-पाकिस्तानको विभाजन हुँदा भारतका अन्य जातिसरह गोर्खाहरू पनि पिसिएका थिए । पाकिस्तान बस्ने कि भारत जाने भन्ने विकल्प छान्दा भारत जाने भन्ने अडान लिने गोर्खालीहरू पनि धेरै थिए ।
यस कथामा सांस्कृतिक पक्षको पनि झलक पाइन्छ । मानवीरको घर जाँदा धनवीरले मिठाइ र रमको बोतल कोसेली लान्छ, मानवीर आफू बसेको घरलाई चिटिक्क पारी राख्छ, घरको भित्तामा खुकुरी झुण्ड्याएको देखिन्छ । उसले नातिनी स्मृतिमालाई मास्टर मित्रसेन थापाका नेपाली भजन सिकाई राम्रो संस्कार दिन्छ । मानवीरले दिल्ली जस्तो परायको मुलुकमा आफ्नी छोरीको बिहेका बारेमा चिन्तित हुन् र यसका निम्ति धनवीरलाई निवेदन गरेको छ ।
प्रस्तुत कथाका दुई जना मुख्य पात्र छन् धनवीर र मानवीर छेत्री । दुवै गोर्खा राइफल्सका जवान । एकजना सेनामा कार्यरत जवान र अर्का चाहिँ सेनाबाट सेवानिवृत्त भई पाकिस्तानबाट बसाइँ सरी आएका वृद्ध पुरुष । मानवीरले गुमाएको परिवार पाउँछ । उसले दुई वटा विश्वयुद्धमा पराक्रम देखाई तक्मा पाउँछ । युद्धकै सिलसिलामा उ युरोप पुगेको छ । यसपछि सेनाबाट सेवानिवृत्त भई क्वेटा छाउनीमा नै घर-गृहस्थी गरी व्यापार चलाउने एक पौरखी पुरुष बनेको छ । भाग्यले साथ नदिँदा उ त्यहाँबाट भारत आई दिल्लीमा बसोबासो गरेको छ ।
धनवीर पनि एउटा पौरखी, उदार हृदयी, परोपकारी पुरुष हो । उसले शरणार्थी शिविरमा स्वजातिको मानवीरलाई भेटेर सक्दो सेवा गर्छ । पछिबाट दिल्लीमा उसलाई भेट्दा छोरीलाई बिहा गरिदिने निवेदन स्विकारी मनमायालाई बिहे गर्छ । मानिसलाई भाग्यले सधैँ साथ दिँदैन । जातिप्रेमी, कर्तव्यशील, इमानदार,असल मानिस धनवीरको जीवनमा पनि बज्रपात हुन्छ । एउटी छोरी जन्माएर मनमायाको देहावसान हुँदा उसमा विरक्ति आउँछ । अरू साथी भाइले उसलाई दोस्रो बिहेको सल्लाह दिँदा पनि उ मान्दैन । बरु उ सन्न्यासी भई काशीवास गर्नपुग्छ र त्यही देह त्याग गर्छ । मनमाया, स्मृति यस कथाका गौण पात्र हुन् भने मनमायाकी दिदीचाहिँ नेपथ्य पात्र हो । मनमायाकी एउटी दिदीको सन्तान नहुँदा स्मृतिमालाई लालन-पालन गर्छे ।
स्मृतिमा पनि योग्य बाबु र बाजेको योग्य सन्तान हुनाले उसले राम्रो संस्कार पाएकी छ । ऊ डाक्टर बनी आफ्नो कुल र जातिको मर्यादा राख्छे । कथा छोटो आयामको छ भने यही छोटो आयाममै कथावस्तुगत सघनता पाइन्छ । कथाको कथानक छिटो-छिटो अघि बढाइएको छ । कथाकारले धेरै सिप गरेर कथा बुनेका भने होइनन् । यस कथाको महत्त्व भन्नु नै ऐतिहासिक तथ्य, सांस्कृतिक चेतना, जातीय प्रेम र सांस्कृतिक चेतना रहेको पाइन्छ । यी नै पक्ष नै यसका विशेषता हुन् ।
अतः ‘स्मृतिमा’ कथाको वस्तुगत संरचनाभन्दा वस्तु चयनगत कौशल, ऐतिहासिक तथ्यको एउटा प्रक्षेपको उद्घाटन जस्ता पक्षलाई नै मूल उपलब्धि मान्नु सकिन्छ । कथाको भाषा सरल छ । प्रायः हाम्रा ठेट शब्द प्रयोग गरिएको पाइन्छ । हाम्रो जनजिभ्रोले पचाइसकेका केही अङ्ग्रेजी शब्दहरू जस्तै रिटायर, मेडिकल, फर्स्ट वल्ड वार, सेकेन्ड वल्ड वाग, मेडल, रिलिफ क्याम्प, पेन्सन इत्यादि प्रयोग भएका छन् ।
कथाको संरचना छोटो भए पनि यसको ऐतिहासिक पृष्ठभूमि र प्रसङ्गद्वारा बुनेर एउटा कथा बनाइएको छ । कथाको वस्तु बुनोट, संरचना र शिल्प पक्षमा भने लेकक उति सचेत छैनन् । उनीभित्र जातीय प्रेमको औडाहाले नै कथा रचेको हो भन्ने लाग्छ । दक्ष कथाकारको हात परे यस विषयको कथावस्तुलाई लिएर अझै सुन्दर कथा बनाउने सक्ने थियो भन्ने लाग्छ ।
जे होस्, कथाकार थापाले यस्ता ताथ्यिक कथावस्तुलाई चयन गरेर हाम्रो इतिहासको एउटा अलिखित पक्षको उत्खनन गरिदिएका छन् । यसका निमित्त उनलाई साधुवाद छ । उनीबाट अझै यस्ता कथा जन्मिउन भन्ने हाम्रो कामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।