हामीले यस हप्तादेखि मुलुकबाहिर खण्डअन्तर्गत पुस्तक चर्चा (समीक्षा होइन) को नयाँ स्तम्भ शुरू गर्नेछौं । यस स्तम्भको संयोजन तथा लेखन साहित्यपोस्टका अंग्रेजी संस्करणका सम्पादन सल्लाहकार शरद प्रधानले गर्नुहुनेछ । यस स्तम्भमा भारतीय नेपाली साहित्यमा प्रकाशित नवीनतम कृतिहरू मात्र समावेश गरिनेछ । यसको निम्ति उहाँसँग यस वाट्सअप नम्बरमा (+९७७-९८५१२२१४९९) मा सोझै सम्पर्क गर्न सक्नुहुनेछ अथवा saradbimba@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ । यस स्तम्भले भारतीय नेपाली साहित्यलाई उचित सम्मान र प्रवर्धन गर्ने विश्वास लिएका छौं । यस कार्यलाई सफल बनाउन यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौं । यसका साथै साहित्यपोस्टको निम्ति भारतमा कोही आधिकारिक सम्वाददाता वा प्रतिनिधि नभएको जानकारी गराँउदछौं ।
= = = =
शरण-अरुणाको ‘अमर गाथा-अरुणिमा’
भारतीय नेपाली गीत सञ्चयन भाग १ र २ सफलतापूर्वक सम्पादन गरेपछि कुशल गीतकार, कवि एवं सम्पादक कमल रेग्मीले नेपाली साङ्गीतिक क्षेत्रमा एउटा अत्यन्त महत्त्वपूर्ण कार्य गर्नुभएका छन् ।
नेपाली साङ्गीतिक इतिहासमा पहिलो पल्ट प्रसिद्ध गीतकार-संगीतकार शरण प्रधानलाई न्याय दिने प्रयास गरिएको छ । कलिलो उमेरमा बित्नुभएको शरण प्रधान नेपाली साङ्गीतिक आकाशमा ओझेल परेका ध्रुव तारा हुन् तर उहाँको नाम केवल अरूणा लामाको पतिको रूपमा मात्रै जोडिंदै आएको यस कालखण्डमा विभिन्न लेखहरू मार्फत शरण प्रधान र अरूणा लामाको योगदानलाई यथोचित सम्मान प्रदान गरिएको छ ।
यस पुस्तकमा शान्ति ठटाल, रत्न शमशेर थापा, ध्रुवचन्द्र गौतम, दिनेश अधिकारी, नरेन्द्रराज प्रसाई, बुलु मुकारुङ, मोदनाथ प्रश्रित, जस योञ्जन प्यासी, जीवन लावर, मणिकमल छेत्री, शरद प्रधान देखि नयाँ पुस्ताका शैलीका छेत्री, कमल रेग्मी, आनन्द राई, हिरा छेत्री आदिका लेखहरूले स्थान पाएका छन् । शरण प्रधान र अरुणा लामाको विविध आयाम बुझ्न यस पुस्तकको अध्ययन अनिवार्य छ ।
पुस्तकको सम्पादकीयमा कमल रेग्मी लेख्छन्,
“अरुणा लामा र शरण प्रधान नेपाली सङ्गीत जगतले पाएका अमूल्य निधि हुन् । उनीहरूका योगदान अतुलनीय छ । तथापि विस्मृतिको धुलोले धमिलो बनाएको प्रतीत हुँदछ तुलनात्मक दृष्टिकोणमा शरण प्रधानभन्दा अरुणा लामामाथि धेरथोर काम भएको पाइन्छ । शरण प्रधानमाथि अहिलेसम्म कुनै ठोस काम गरिएको जानकारी मैले पाउन सकिन । अरुणा लामाको सन्दर्भमा कुरा गर्ने हो भने विभिन्न स्थानहरूमा उनको सालिक स्थापना गरिएको छ । बिजनबारीमा सन् २००२ मा, मड्पुमा २०१३. लाटपञ्चरमा २०१९ अनि सिलगढी शास्त्रीनगरमा २०२४ सालमा उनको सालिक स्थापना गरिएको पाइन्छ ।
दार्जीलिङ गोर्खा पार्वत्य परिषद्ले सन् १९९६ सालदेखि अरुणा लामाको नाममा पुरस्कार दिन थालेको थियो । पहिलो अरुणा लामा पुरस्कार प्राप्त गर्ने गायिका मिरिक निवासी राधिका प्रधान हुन्, त्यसपछि गायक कुमार सुब्बाले यो पुरस्कार पाए । तर यो पुरस्कार बीचैमा रोकियो। पछि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको तत्परता र पहलमा यस पुरस्कारलाई सञ्चालनमा ल्याइएको हो । आजपर्यन्त अरुणा लामा पुरस्कार विजेताहरू विनोद स्याङदेन, दावा ग्याल्मो, मणिकमल छेत्री, दीप वाइबा हुन् ।
सन् १९७६ सालमा मानसिंह मोक्तान, पेमा लामा अनि वागेल लामाको संयोजकत्वमा अरुणा लामाको सम्मानमा गोर्खा दुःख निवारक सम्मेलन भवनमा उपहार कार्यक्रम सम्पन्न गरिएको थियो । सन् १९८१ मा दार्जीलिङ त्रिवेणी एवम् रेयुकाईको आयोजना र गगन गुरुङ, नयन प्रकाश सुब्बाहरूको तत्परतामा अरुणा लामाको गायन जीवनको पच्चीसौँ वर्षगाँठ अरुणा लामा राग रजत धूमधामसँग मनाइएको इतिहास छ । सोही वर्ष अरुणा लामाको गायन जीवनबारे एउटा स्मारिका स्मारिका कै नाममा प्रकाशित भएको पाइन्छ । गान्तोक सिक्किमबाट सम्पादक टी. बी. चन्द्र सुब्बाको सम्पादनमा सन् १९९२ मा अरुणा लामा स्मृति ग्रन्थ प्रकाशित छ ।
अरुणा लामा र शरण प्रधान नेपाली सङ्गीत जगतले पाएका अमूल्य निधि हुन् । उनीहरूका योगदान अतुलनीय छ । तथापि विस्मृतिको धुलोले धमिलो बनाएको प्रतीत हुँदछ । तुलनात्मक दृष्टिकोणमा शरण प्रधानभन्दा अरुणा लामामाथि धेरथोर काम भएको पाइन्छ । शरण प्रधानमाथि अहिलेसम्म कुनै ठोस काम गरिएको जानकारी मैले पाउन सकिनँ । अरुणा लामाको सन्दर्भमा कुरा गर्ने हो भने विभिन्न स्थानहरूमा उनको सालिक स्थापना गरिएको छ । बिजनबारीमा सन् २००२ मा, मड्पुमा २०१३ लाटपञ्चरमा २०१९ अनि सिलगढी शास्त्रीनगरमा २०२४ सालमा उनको सालिक स्थापना गरिएको पाइन्छ । दार्जीलिङ गोर्खा पार्वत्य परिषद्ले सन् १९९६ सालदेखि अरुणा लामाको नाममा पुरस्कार दिन थालेको थियो । पहिलो अरुणा लामा पुरस्कार प्राप्त गर्ने गायिका मिरिक निवासी राधिका प्रधान हुन्, त्यसपछि गायक कुमार सुब्बाले यो पुरस्कार पाए। तर यो पुरस्कार बीचैमा रोकियो । पछि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको तत्परता र पहलमा यस पुरस्कारलाई सञ्चालनमा ल्याइएको हो ।
आजपर्यन्त अरुणा लामा पुरस्कार विजेताहरू विनोद स्याङदेन, दावा ग्याल्मो, मणिकमल छेत्री, दीप वाइबा हुन्। सन् १९८१ मा दार्जीलिङ त्रिवेणी एवम् रेयुकाईको आयोजना र गगन गुरुङ, नयन प्रकाश सुब्बाहरूको तत्परतामा अरुणा लामाको गायन जीवनको पच्चीसौं वर्षगाँठ अरुणा लामा राग रजत धूमधामसँग मनाइएको इतिहास छ । सोही वर्ष अरुणा लामाको गायन जीवनबारे एउटा स्मारिका स्मारिका कै नाममा प्रकाशित भएको पाइन्छ । गान्तोक सिक्किमबाट सम्पादक टी. बी. चन्द्र सुब्बाको सम्पादनमा सन् १९९२ मा अरुणा लामा स्मृति ग्रन्थ प्रकाशित छ ।”
पुस्तकको नाम : अरूणिमा – शरण प्रधान अनि अरूणा लामा स्मृति ग्रन्थ
सम्पादक : कमल रेग्मी
प्रकाशक : सप्तरङ्गी समूह, दार्जीलिङ
संस्करण : पहिलो २०२५
मूल्य : भारु ७००
नेरु ११२०
अमेरिकी डलर $ १२
& & & &
गामबेँसीका कवि दाहालको ‘आमाको लुर्कन’
असमका कवि-कथाकार पुरुषोत्तम उपाध्याय दाहाल अर्थात ‘गोठालो अन्तरे’ले ‘लोहितकिनारका गोठ र गोठालाहरू’ (कथासंग्रह) र ‘पातको फिरफिरे’ (कवितासंग्रह) प्रकाशित गरेपछि अहिले नवीनतम कृति ‘आमाका लुर्कन’(कवितासंग्रह) लिएर पाठक समक्ष आउनुभएको छ ।
गाउँको परिवेश र जनजीवनमा समेटेर लेख्ने कलामा पारङ्गत दाहालको ‘आमाको लुर्कन’मा समावेश भएका १ सय १ कवितामा माटोको सुगन्ध अनुभव गर्न सकिन्छ । हरिभक्त कटुवालका अनन्य भक्त दाहाल, उनका कवितामा कटुवालको प्रभाव देख्न पाइन्छ ।
पुस्तकमा पद्मश्री मुर्धन्य साहित्यकार लीलबहादुर क्षेत्री लेख्छन्, “कवि पुरुषोत्तम उपाध्याय दाहालज्यूका कविताहरू मलाई साह्रै मन पर्छ । म प्रायः सुन्ने गर्छु । मेरो आग्रहमा उहाँले नै आएर प्रायः सुनाउने गर्नुहुन्छ । हरिभक्त कटुवालको कविता पनि राम्ररी वाचन गर्नुहुन्छ । साह्रै रमाउँछु म उहाँको कविता र वाचन शैलीमा । उहाँको उत्तरोत्तर प्रगतिको कामना साथै आशीर्वाद ।”
उमेरको उत्तरार्धमा मात्रै साहित्यमा लागेका दाहालका कविता सरल र सरस हुन्छ अनि कविताभित्र पीडा पनि लुकेको हुन्छः
“दोस्रो विश्वयुद्ध
बर्माबाट बुवा, आमालाई लिएर आउनुभो सानैमा
मावल उतै बर्मामा रहे
न मावलबाट कोही आए
न कुनै दिन आमा मावल नै जानुभयो
बिरानो देश भयो बर्मा
हाम्री आमालाई तीज कहिल्यै लागेन ।”
‘हाम्री आमालाई तीज कहिल्यै लागेन’ शीर्षकको यो कवितामा उहाँको आमाको बिहेपछि माइतीसँग नभेट्नुको पीडा, चाडपर्वमा माइती जान नपाउनको पीडा व्यक्त गरेका छन् ।
केही समय अगाडि असमका होनाहार कवि चन्दन छेत्रीको गाडीमा आगो लागेर मृत्यु भएको थियो र यो दुःखदायक समाचारले असमेली नेपाली समाज स्तब्ध भएको थिए । त्यही विषम परिस्थितिलाई ‘को ठूलो !! ईश्वर र चन्दन भाइ !’
कवितामा उतारेका छन् कवि दाहालले :
“धरातलबाट एकजना गोर्खा अब्बल कवि छानेर ल्याउ
यमराजले चित्रगुप्तलाई
अचानक बोलाएर आदेश दिनुभयो रे
त्यो पनि पहिली प्रहरमा ।
आए चित्रगुप्त
उभिदिए गाडीको अगाडि
निष्ठान पारे धरातल, लगे चन्दनलाई ।
काव्यमय बनाए स्वर्ग ।
उराठ पारे धरातल ।
सृष्टिकर्ता साह्रै ज्ञानी रहेछ कि क्या हो ?
धरातलमा कवित्वले साई हाइ हाइ भएका देखे
युवा कवि चन्दन क्षेत्रीलाई
नाम नै चन्दन । सुगन्ध पनि त्यस्तै त भेटे होलान् ।
लगे ट्याप्प टिपेर ।”
कवि दाहालको कविता बुझ्नु बौद्धिक कष्ट गर्नुपर्दैन, केवल मन र मुटु भए पुग्छ । उनी असमका गामबेँसीका कवि हुन् ।
आफ्नो लेखन बारे उनी लेख्छन्, “मैले विशेष गरी आफैलाई ‘गोठाले कवि’, ‘गोठालो अन्तरे’ भन्न नै रुचाएँ । लगभग १६ वर्षको उमेरसम्म गाउँघर र गोठमै बित्यो । ब्रह्मपुत्रको छेउमा जीवन-यापन गर्ने परिवार र गोठालाहरूको विकट समस्याबारे कथा लेख्ने इच्छा हुँदा सन् २०२३ मा श्रृङ्खला कथा संकलन ‘लोहितकिनारका गोठ र गोठालाहरू’ निकाल्न पनि सफल भएँ । पुस्तकले देशविदेशका निकै पाठकहरूको मन जित्न सक्यो । नर्थ ईस्ट हिल युनिभर्सिटी, शिलङ, मेघालयले उक्त पुस्तकको कथा स्नातक तहमा कलेजहरूमा पर्यावरण साहित्यमा चयन गरिदिएर मेरो यो तातेताते गरेको साहित्यलाई अझै केही प्रेरणा दियो । नर्थ ईस्ट हिल युनिभर्सिटी, नेपाली विभाग लगायत सबै गुरुवर्गलाई हार्दिक नमन टक्र्याउन चाहें ।”
पुस्तकको नाम : आमाको लुर्कन
कवि : पुरूषोत्तम उपाध्याय दाहाल
प्रकाशक : पूर्बायण प्रकशन, यशवन्त रोत, पानबजार, गुवाहाटी-०१, असम
पहिलो संस्करण : फरवरी २०२५
मूल्य : भारु २५०



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










