केही महिना अगाडि, लकडाउनले घरैमा कैद गरेको बेला उदयमान कवि-कथाकार बहिनी बिना थिङ तामाङलाई कौतुहल लागेर कवि जीवन थिङको बारेमा केही थाहा छ कि भनेर मेसेन्जरमा सोधेको थिएँ । तर बहिनीले अनभिज्ञता प्रकट गरिन् । अनभिज्ञ हुनु पनि स्वाभाविक थियो, ४२ वर्षअघि कलकत्ताको एउटा अस्पतालमा अप्रेशन गर्दागर्दै देह त्याग गरेका जीवन थिङको बारेमा बहिनी मात्रै होइन धेरैलाई कमै जानकारी छ । हुन पनि संसारभरि छरिएको नेपाली साहित्यको बृहत् इतिहास छैन हामीसँग, जसले सम्पूर्ण नेपाली लेखनलाई एकै ठाँउ समेटिएको होस् । त्यसैले गर्दा होला, नँया पुस्ताले नेपाली साहित्यको सम्पूर्णता बुझ्न सकेको छैन । कुनै समय नेपालले जितेको भूभाग सिक्किममा जन्मेको जीवन थिङ एक उम्दा र आशा लाग्दो कवि थिए, जसले २३ वसन्त पनि पार गर्न पाएनन् ।
कमै उमरेमा दिवंगत हुनेमा मोतिराम भट्ट अग्रपङक्तिमा पर्छन्, उनी ३० वर्ष मात्रै बाँचै । जीवन जस्तै अहिले कम चर्चामा आएका उपन्यासकार अच्छा राई ‘रसिक’ र कवि नरेन्द्र कुमाईले पनि २४ र २२ वर्ष क्रमशः पार गर्न पाएनन् । तर साहित्यमा ठूलै योगदान दिए उनीहरुले । अरु पनि होला कम उमेरमा दिवंगत भएका स्रष्टाहरु, तर कसैले खोजीनिधि गरे जस्तो लाग्दैन।
सन् सत्तरीको दशकमा जीवन थिङ उच्च शिक्षाको निम्ति सिक्किमबाट सन्त जोसेफ कलेज दार्जीलिङ पढ्न आँउदा दार्जीलिङको साहित्यक वातावरण निकै लोभ लाग्दो थियो । आयामेली आन्दोलनको प्रभावले छाडिसकेको थिएन साहित्यलाई, अगमसिंह गिरीको कविताले जातीय जागरणमा उथलपुथल ल्याइरहेको थियो अनि प्रगतिशील कविता पनि विस्तारै बामे सर्दै थियो । सिक्किममा भने कवि केदार गुरुङ, गिर्मी शेर्पाको कविताहरुले प्रभाव पार्न थालिसकेका थियो । दार्जीलिङमा कवि नरदेन रुम्बा, हरेन आले, दल सिंह ‘अकेला’, मोहन ठकुरी, मनप्रसाद सुब्बा, मनबहादुर मुखिया, पी अर्जुन आदिले काव्यात्मक खुडकिलो चड्दै थिए । त्यहीबेला एउटा कलिलो सिक्किमेली ठिटो, उमेरमा उनीहरुभन्दा कम अचानक झु्ल्किए दार्जीलिङमा नँया सोच र उर्जा लिएर । पढाइमा अब्बल त थिए नै, कविता कोर्नमा पनि त्यतिकै माहिर ।
जीवनले सानै उमेरमा युगबोध र युग चेतनालाई आत्मसात गरेको हामी पाँउछौ । आफ्नो भनेको देश आफ्नै आँखाको अगाडि भारतमा विलय भएको देखेका जीवनले सहन नसकेर उसले लेखेको कविता यसको दृष्टान्त होः
कहिलेकाहीँ मेरो देश सम्झदा
त्यो देउराली र छर्योतेनको देश सम्झदा
टाढा-टाढामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झदा
त्यो पाउरोटीको याद आउँछ
जसलाई दुई चोर बिरालाहरू खान चाहन्छन्
तर आपसमा नमिलेर बाँदरलाई न्याय माग्न जाँदा
बाँदरले जम्मै निल्छ …
हामीले नेपाली साहित्यको सम्पूर्णता कहिले हेरेनौँ । साझा कविता, कथा संग्रह वा अकादमीले निकालेको कविता संग्रहहरु नै त्यसको उदाहरण हो । कित्ताकाट गर्यौँ नेपाली साहित्यलाई, भूगोलको नाममा, राजनीतिको नाममा, जातजातिको नाममा, गुटको नाममा । नेपालबाट निस्किने त्यस्ता संग्रहहरुमा नेपालबाहिरको लेखक र कविहरु कहिले परेनन् । यसको शिकार धेरै राम्रा कवि लेखकहरु भए भने जीवन थिङ नहुनै कुरै थिएन। यसैले उनको कविताहरु सिक्किम र दार्जीलिङ काटेर मेची पारी आउन सकेन अपितु रत्नश्री पुरस्कार पाएर पनि । सायद सिक्किमबाट पनि उसलाई सिमाना कटाएर बाहिर लाने प्रयास कमै भयो होला ।
कवि ईश्वर बल्लभ, गोपाल प्रसाद रिमाल, हरिभक्त कटुवाल, भुपि शेरचन, बैरागी काईँला, अगमसिंह गिरीबाट प्रभावित हुनु स्वभाविक थियो जीवनको निम्ति । त्यँहाको पाठ्यक्रममा यिनीहरुकै कविता पढेर हुर्किएका थिए जीवन। उनी इलियट र इज्रा पाउन्डबाट पनि प्रभावित भएर बिम्ब, प्रतीक र मिथकहरुको प्रयोग गरे आफ्नो कविताहरुमा । नेपाली साहित्यको मूलप्रवहामा बग्न नपाए पनि कवि जीवनको सृजना कुनै समकालीन नेपाली कविहरुभन्दा कम थिएनन्, बरु औसत कविहरुभन्दा धेरै माथि थिए । अहिले आएर डायस्पोराको नाममा विभिन्न देशहरुमा लेखिएको नेपाली साहित्यलाई मूलप्रवाहमा समाहित गर्ने प्रयास भइरहेको छ । सय-दुई सय वर्षदेखि भारत, भुटान, बर्मामा बस्दै आएको नेपाली मूलका स्रष्ट्राहरुले सृजना गरेका साहित्य डायस्पोरिक साहित्यभित्र अटाएनन् । बरु भर्खरै विदेशहरुमा मौलाएका सृजनाहरुलाई डायस्पोरिक साहित्यको संज्ञा दिएर पुस्तक र लेख लेख्ने होडबाजी चलिरहेको छ ।
जीवन थिङको दमदार कविता ‘बल्लभ ! तपाईँभन्दा म धेरै अभागी’ ले निकै चर्चा पायो । सायद ईश्वर बल्लभको ‘मेरो आमाले आत्माहत्या गरेको देश’ कविताको प्रति-उत्तरमा जीवनले आफ्नो देश गुमानु परेको पीडा निकै ठूलो मानेको हुन सक्छ । सायद बल्लभलाई सम्बोधन गरेको यो एक मात्र नेपाली कविता होला ।
घाइते सडकबाट हिँडेर
समग्र युगले आगो बालेर
मेरो छातीमा पहिरो धस्काइरहेछ
मेरा आँखाहरू उदाङ्गो पारिरहेछ
र मेरा चेतनालाई थुकिरहेछ…….
मेरो कथा बनेका दिन जस्तो पुरानो
अनुहार च्यातेर म कति दिन बाँच्नु
आफ्नै रगतलाई ढाटेर म
यस हुरी-बतासमा कसरी बाँच्नु
मेरो प्रत्येक उषाको घामले डराएको आङ र टाउकोका केशहरू
गरेन यो सन्निपात भएका दिनहरू कसरी काट्नु………
तर म उदाङ्गो भएर देखाउन सक्तिनँ
म मेरा ओठ खोलेर भन्न सक्तिनँ, मेरो छाती फब्लेटासितै
मेरो आत्मा र चित्तलाई पनि,
कसैले किनेर लाने प्रयास भएको छ
भट्टी पसलबाट रक्सीका प्यालाहरूसितै
साँचो हो, मेरो खोलाको शीतल पानीसितै मेरो रगत पनि
यहाँ बिक्री भएको छ-
यस्तै लाग्छ अब (विश्वास…अविश्वासमा)
त्यसैले भन्न सकूँ लाग्छ मलाई विवश बनेर रोएको देख्दा
हाँस्ने राक्षसहरू
बिन्ती ! फेरि मलाई किन रोएको भनेर नसोध !
जीवन थिङ लामा कविता लेख्नमा माहिर थिए, यो पनि लामो कविताको एउटा टुक्रा मात्रै हो । जीवन सानै उमरेमा पनि तुलनात्मक रुपमा धेरै लेखे । उनको प्रकाशित कृतिहरुमा नार्सिसस (खण्डकाव्य), म बेतलहम सहरको हिप्पोपोटामस (कवितासङ्ग्रह), साङलीभित्र बाँधिका घोडाका टापहरु (कवितासङ्ग्रह) मुख्य हुन् । उनले नवज्योति र सुधा साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका थिए। रत्नश्री स्वर्णपदकबाट पनि विभुषित भएका थिए जीवन थिङ कविताको निम्ति ।
सामाजिक विसङ्गतिलाई नजिकबाट अवलोकन गर्ने क्षमता थियो कवि जीवनमा । ‘डान्स हलजस्तो शहर’ कवितामा जीवन लेख्छन्;
यहाँ प्रत्येक घरमा
सधैँ वेश्या मात्र जन्मन्छन्
यहाँका पसल पसलमा
ओठ, मुस्कान, भाग्यसित आत्मा पनि बेचिन्छन्
अनि यहाँका पानीकलहरुबाट
मदिरा मात्र झर्छन्
र प्रत्येक बिहान चेलीहरुले
आफ्ना गाग्रीहरुमा अभिशापका कलंक मात्र भर्छन् ।
जीवन थिङमाथि थोरैेले लेखेका छन्, तीमध्ये वरिष्ठ समालोचक डा. घनश्याम नेपाल एक हुन् । डा. नेपाल सिक्किमबाट प्रकाशित हुने प्रक्रियाको वर्ष-८ अंक- १३ मा लेख्छन्, “जीवन थिङका कवितामा पाठकलाई आन्दोलित पार्ने शक्ति छ । उनका कविताको सबैभन्दा बलियो पक्ष हो र प्रवाह । कथा-प्रसारणको अविरल प्रवाह र प्रवाहको त्वरित् गतिले गर्दा उनका कविताले पाठकलाई स्वात्तै बनाएर सजिलैसित लैजान्छन् । थिङ शब्द कुँदने शिल्पी होइनन्, शब्दको रमणीयतापूर्वक रोपाइँ गर्ने काव्य-किसान हुन् । उनी अभिव्यक्तिहरुको खेती गर्छन् र आफ्नो कृषि-कर्ममा मानु छरेर मुरी फलाउन सफल छन् । उत्साह-अनुत्साह, आशा-निराशा, विश्वास-अविश्वास, आस्था-अनास्था जीवन-मृत्युका बीच डुब्दै-उत्रिदै थिङको कविता आफ्नो काव्ययात्रा अघि बढेको छ र यिनै परस्पर विपरीत तत्त्वहरुको स्थितिले उनका कविता द्वन्द्वपूर्ण छन्। उनको शैली संघर्षशील र तेजस्वी छ, उनका अभिव्यक्ति धारिला र तीखा छन्।”
प्रबुद्ध समालोचक कुमार प्रधान नेपाली साहित्यको इतिहासमा लेख्छन्, “जीवन थिङ आफ्नो बिम्बहरुमा बृहत् विषय अटाएर कविता कोर्न निर्पूण छन् । उनको कवितामा एक्लोपन, आफू हुनुको अस्तित्वबोध र निराशा पाँउछौ। उस्ले केहि कथाहरु र ७० वटा जति कविता पनि लेखेको छन् ।”
बिम्ब र प्रतीकसँग खेल्न रमाउने जीवनको कविता जीवन्त छ, कृतिमताको लेस पनि छैन । उनी कवितामा बाँच्न चाहन्थे, कविता उसको निम्ति जीवन थियो । कविताबिना ऊ बाँच्न सक्दैन थिए। ‘साङलीभित्र बाँधिका घोङाका टापहरु’ कविता जीवनको उत्कृष्ट सृजना हो। त्यो कवितामा व्यक्त गरेको भाव मननीय छ।
जब घोडाका टापहरुसित
म यो शहरमा पहिलो दिन
आएको थिएँ, यस महलमा
होटल रेस्त्राँ र पसलमा
युग युगान्तरदेखि जन्मिरहेका
कोलाहलमा मेरा घोडाहरु टापहरु
मृत्युसित जीवन जस्तै आत्मसात् भइदिए।
जब मेरा हर्षौल्लासपूर्ण जीवन
यहाँ पहिले पहिले
मिल्न आएको थियो
यहाँका ह्रदयविदारक रुपलाई स्वीकारेर
यहाँका कैयन् कैयन्
बाटो बिर्सेका, विस्थापित
सपनाहरुका अपूर्णताहरुले
कुन्नि कसरी कसरी।।।
शिथिल सुस्केरा सुसेल्न सिकाएको थियो।
नार्सिसस खण्डकाव्यको यो सानो अंशले जीवन थिङको जीवन दर्शनलाई उजागर गरेको छ। सानै उमेरमा जीवनलाई नजिकबाट नियाल्न सक्ने क्षमता भएको कविको यो काव्यात्मक अभिव्यक्तिले नेपाली साहित्यलाई धनी तुलाएको छ।
कुसमयमा गर्भपात
गर्भपातमा झरेको
एक मुट्ठी आकाश बोकेर
सन्निपातका रापहरूमा आवेशको घोड़ा
युद्ध जित्न बढ़ेका खिनौरा हत्केलाभरि
हर साँझ, यो आँखाभरि
दौडन्छ – सुनाखरीको प्रत्येक कोपिला कुल्चँदै
म भन्दैछु तिमीहरूलाई
तीनवटा युद्धपोतहरू काफी छ
काफी राम, भरत, लक्ष्मण यो युद्ध जित्नलाई
तिमीले व्यर्थै अंगाल्यौ
शिवबाट उम्रेको कमल झैं तेस्रो नयनलाई
जोगिनु सक्नुपर्छ –
यो आगोबाट – यो लाभाको मुहान फुटिरहेको
धकधकाउने ज्वालामुखी हो
प्रत्येक रात अब तिमीलाई अनुभव हुँदैछ शायद –
यहाँ सपनाहरूमा तिमीलाई
गिज्याउन आउँछन् सयकडौं
बेकारी मुखहरू रित्तो पेट र रक्स्याहा आँखाहरू
तिमीलाई अब पिउनुपर्छ
आफैँले बगाएको रगतली प्यालाहरूमा –
उद्घोषणा पर्खनुसम्म
लेकबाट फेरि एउटा बुद्ध वर्लेर वंशेलीमा मृत्यु भोगिसकेको हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।