आजको शृङ्खलामा हामीले कवि मोहित जोशीको कवितामाथि कवि प्रज्वल अधिकारीको दृष्टि लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ शृङ्खला –
कविताको क्षेत्रमा एकदमै लगनशील भएर कवितासँग नै उठबस गर्न मन पराउने र कविताका विभिन्न प्रतियोगितामा भाग लिँदै, आफँैले प्रतियोगिता गराउँदै, नेपाली कवितालाई विश्व स्तरमा कसरी चिनाउन सकिन्छ भनेर हरदम लागिपर्ने पछिल्लो पुस्ताको अध्ययनशील र जुझारु कवि हुन्, मोहित जोशी ।
कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन्
मलाई उनको पारिवारिक र व्यक्तिगत जीवनको बारेमा खासै ज्ञान छैन । मेरो उनीसँग जे जति भेट भएको छ त्यो सबै कविताकै बिषयलाई लिएर भएको छ । हरेक भेटमा उनि कविताको क्षेत्रलाई कसरी व्यापक बनाउने, नेपाली कविताको स्तर उठाउन के गर्नुपर्छ, नयाँ नयाँ विषयबस्तुहरू के के हुन सक्छन्, जस्ता विषयमा गम्भीर भएको पाउँछु म ।
कविता लेखनको साथसाथै अनुवाद पनि गर्ने कवि जोशी पछिल्लो पुस्ताका एक होनाहार कवि हुन् भन्न मलाई हिच्किचाउनु पर्दैन । कोरोनाले आक्रान्त पारेको यो समयमा पनि उनि हरबखत कविता नै सोचिबस्छन् । मैले यो लेख लेख्दै गर्दा उनि सायद कविता नै लेखिरहेका होलान् । यसरी हेर्दा उनको कवितासँग गहिरो प्रेम परेको छ । हारोल्ड बुमको “थेउरी अफ बिलेटेडनेस“ भन्ने सिद्धान्तले भनेझैँ, हरेक विषयबस्तुहरू हामीभन्दा अगाडिको पुस्ताले लेखिसकेको र हामीले जे लेखे पनि उनीहरूकै कपि हुन जाने यो परिप्रेक्षमा शिल्प, विषय उठान र अभिव्यक्तिले कसरी फरक लेख्न सकिन्छ भनेर उनि गम्भीर हुन्छन् ।
यो लेखमा म यिनै कवि मोहित जोशीका तीन कवितामा आफ्नो पाठकीय धारना राख्न गइरहेछु । मलाई के लाग्छ भने मान्छे कवि भएर लेखेको कवितालाई मान्छे भएको बेला चिरफार गर्न खुब गार्हो हुन्छ । किनकि म समालोचक होइन । फेरि आफू कवि भएर आफ्नै समयको कविको कविता समालोचना गर्न असाध्यै गार्हो काम हो । यसै हुनाले पनि म यी कविताहरूमा पाठकीय दृष्टिकोण राख्न गइरहेछु । तर एउटा कुरा कविताको अर्थ विभिन्न तरिकाले लगाउन सकिन्छ र कविताले हरेक पाठकलाई फरक फरक प्रभाव पार्न सक्छ ।
ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ !
कवितालाई नयाँ ढंगले कसरी लेख्न सकिन्छ भनेर सोच्ने कवि जोशी ’ स्वतन्त्रता’ शिर्षकको कवितामा भन्छन्, “ओहो ! स्वतन्त्रता रोग हो भन्ने थाह रहेनछ !” उनले एक्वेरियममा भएको माछाले आफू स्वतन्त्र हुन चाहेको र एक्वेरियमबाट उफ्रेर भाग्न खोज्दा भुइँमा पछारिएर मरेको घटनालाई लिएर यसो भनेका हुन् । उनी भन्छन् कहिलेकाहीँ परिणाम के हुन्छ थाह न पाइकन स्वतन्त्र हुन खोज्नु घातक हुन्छ । यस कवितामा मजदुरले आफूलाई त्यही एक्वेरियमको माछासँग तुलना गरेको छ र आफू मालिककोमा बसेर सम्पुर्ण सुविधा पाए पनि मालिकलाई छोडेर जान नसक्ने हिनताबोध गरेको छ । तर मजदूरले के बुझ्नु पर्छ भने स्वतन्त्र हुने चाहनालाई मर्न दिनु हुन्न र उपयुक्त समय आउनासाथ समयलाई आफू अनुकूल बनाउनु पर्छ । भुइँमा परेर मरेको माछा देखेर हतोत्साहित भएको मजदुर यस कवितामा निकै कमजोर देखिन्छ । अहिलेको सामाजिक परिवेशलाई हेर्ने हो भने पनि यस्तै देख्न सकिन्छ । मजदुरले स्वतन्त्रतालाई रोग रहेछ भनेर आत्मज्ञान भएको महसुस गर्छ तर उसले के बुझ्दैन भने एक्वेरियममा बसेको माछाले खोजेको स्वतन्त्रता कस्तो हो ? हरेक दिन मरेर बाँच्नु भन्दा एकै पटक मर्नु पनि अर्को स्वतन्त्रता हो कि ! माछाको मृत्यु हेरेर मजदूर यथास्थानमा रहन खोज्छ तर उसले यो बुझ्दैन अब यो माछा स्वतन्त्र भयो । मलाई यहाँनेर खड्केको चैं मजदूरमा आएको स्वतन्त्रताको अर्थ गलत भयो कि ! कविले मजदुरलाई किन त्यति डरपोक देखाए ?
…………
अर्को कवितामा कवि कवितालाई नै विषय बनाउँछन् र कविता लेख्न नसकेको उद्घोष गर्छन् । अग्रज कविहरूलाई चुहिने छतसँग तुलना गर्दै उनी भन्छन् –
“ केही दिन भयो कविता लेख्न नसकेको
कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ
र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ ।”
लगत्तै दोस्रो स्टान्जामा फेरि कवि आफैँ कविता लेख्न त्यति अब्बल नभएको र आफुले लेखेको कवितालाई मिलाइदिने कुनै मिस्त्री पनि नचिनेको आत्मालोचना गर्छन् । “भोलि……थाह छैन !” फेरि अर्को स्टान्जामा उनी आफूले धेरै कविलाई चिनेको तर उनीहरूले पनि मलाई सहयोग गर्न नसक्ने भन्दै माथिको आफ्नै कुरा काट्छन् । चौथो स्टान्जामा आएर माथिका तिनैवटा स्टान्जाभन्दा भिन्न कुरा गर्छन् र यहाँ आएर भने उनी मजदूरको पक्षमा उभिन्छन् र प्रश्न गर्छन् । आफूलाई ताजमहल, पिरामिड लगायत कलाकृतिहरू शासक आफैँले बनाएको लाग्थ्यो भनेर स्वीकारेका कविले प्रश्न गर्दै भन्छन् कि, “बेबिलोन बनाउन घोटिएका हात कस्का थिए ?” यहाँनेर अलि बिरोधाभाष भयो कि भन्ने पनि लाग्छ । यही कविता लेख्दै गर्दा कविलाई आफ्नै घर पनि आफुले नबनाएको ज्ञान हुन्छ र उनी मजदुरको पक्षमा उभिन्छन् । तर उनी बारम्बार कविता लेख्न कुनै बाधा नआओस् भन्छन् । बारम्बार यो कुरा भन्नुले के इङ्गित गर्नु हो जस्तो लाग्छ भने, कविमाथि कोही हावी भइरहेछ जुन कुरा कविलाई पटक्कै मन परेको छैन । फेरि उनी भन्छन्, “मैले कुनै मिस्त्री चिनेकै छैन ।” यसबाट के बुझिन्छ भने कविलाई असल गुरुको खाँचो छ ।
आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ ।
यो कविता हेर्दा थुप्रै बिरोधाभाष देखिन्छ । यसबाट के बुझ्न सकिन्छ भने युवाहरूको मन र दिमाग पनि यही कविता जस्तो छ । अर्को अर्थबाट बुझ्दा यो कविताले कुनै पनि कवि आफू जस्तो हुन मिस्त्री पनि आफू र चालक पनि आफू बन्नु पर्ने जरुरत देखिन्छ भन्न खोजेको पनि देखिन्छ । र आफूभन्दा अग्रज र उनीहरूको योगदानलाई पनि बिर्सनु हुन्न र आफूमा घमण्ड भन्दा विश्वास गर्नु पर्छ भन्ने सन्देश दिएको देखिन्छ ।
…………………….
“स्वतन्त्रता“ शीर्षकको अर्को कवितामा कविले आम मानवीय स्वभावलाई छर्लङ्ग पारिदिएका छन् । चरालाई बिम्ब बनाएर आफू स्वयं स्वतन्त्रता बिरोधी बनेका छन् । (“मैले…….छोप्नु“) मान्छे आफू स्वतन्त्र हुन चाहन्छ तर अन्य स्वतन्त्र प्राणीलाई आफ्नो बन्धनमा बाधेर रमाउन चाहन्छ भन्ने गतिलो व्यंग्य प्रस्तुत गरेको छ कविताले । मान्छे अरु जनावर छोप्छ र खुब माया गरेको र खान दिएको भ्रम पाल्छ तर उनीहरूको स्वतन्त्र हुने अधिकार हनन् गरेको पत्तो नै पाउदैन । आफ्नो रहरको भोक मेटाउन अरुको अधिकारलाई मारिदिन्छ मान्छे । आफूभन्दा निर्धामाथी राज गरेर हाँस्न चाहन्छ मान्छे र उनीहरूले आफ्नो अधिकार खोज्न चाहे भने उनीहरूमाथि हमला गर्छ ।
माथि टिप्पणी गरिएका कविता यसप्रकार छन् ।
१. स्वतन्त्रता
एउटा मजदुरको आँखा परेको छ
मालिकको अक्वेरियमको गोल्डफिसमा
गोल्डफिस उफ्रियो
अक्वेरियम बाहिर
र मर्यो
मजदुर सोचिरहेछ,
“उफ् !
स्वतन्त्रता रोग हो थाहा रहेनछ !”
२. चर्किएको छत
केही दिन भयो कविता लेख्न नसकेको
कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ
र कविता लेख्न बस्दा कागज भिजाइदिन्छ ।
भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन
तर मलाई कुनै मिस्त्रीको नाम वा सम्पर्क पनि त थाहा छैन ।
इतिहास र वर्तमानका सयौं
दार्शनिक, शासक वा कविलाई चिन्छु म
तर एउटा सत्य यो पनि हो
प्लेटो, जंगबहादुर वा देवकोटा
कोही पनि अहिले मेरो छत टाल्न सक्दैनन् ।
बेबिलोनको अनुहार पटक पटक भत्काइयोस्
हरेक पटक त्यो अनुहार सुन्दर बनाउन घोटिएका हात कसका थिए ?
मलाई थाहा छैन !
मलाई केवल पिरामिड थाहा छ
तर इटाहरूको थुप्रोलाई पिरामिड बनाउन
घनभन्दा बढी बजारिएका औँला कसका थिए ?
मलाई थाहा छैन !
मलाई त आजसम्म ताजमहल
शाहजहाले मुमताजका लागि बनाएका हुन् भन्ने थाहा थियो ।
मलाई त आजसम्म रोमको कोलोसियम
सम्राट भेस्पासियनले बनाएका हुन् भन्ने थाहा थियो ।
मैले भर्खर मात्र थाहा पाएको छु
म बसिरहेको मेरो आफ्नो घर मैले बनाएको होइन रहेछु ।
भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन
तर मसंग कुनैपनि मिस्त्रीको न नाम छ न सम्पर्क
बस छन् दुई चार थान मिस्त्री र मजदुरी बारे कविताहरू
जुन स्वयम् मैले नै लेखेको हँु ।
सायद मेरै कविताको मिस्त्रीको आँसु हो
यो छतबाट चुइरहेको पानी
मलाई कविता लेख्नबाट रोकिरहेको ।
३.स्वतन्त्रता
मैले एउटा चरा छोपेर पिजडामा राखेको थिएँ
मेरो बस सौख थियो चरा छोप्नु ।
उसलाई आफ्नै तरिकाले हुर्काउनेछु सोचिरहँदा
चराले पिँजडाका बारहरू बंग्याउन खोज्नु,
भाग्न खोज्नु, मलाई अस्हय भयो ।
उसले भाग्न खोज्दा,
उसलाई मनपर्ने मकै, गहुँ, धान खानलाई दिए
हतारमै खाएर पुनः भाग्न खोजिरह्यो ।
उसलाई त्यो पिँजडाबाट झिकेर,
अर्को झन् भव्य पिँजडामा पनि राखी हेरेस्
ऊ भाग्न चाहन्छ त्यहाँबाट पनि !
नभागोस् भनेर अब पिँजडामा अर्को चरा पनि राखिदिएँ
उनीहरू सम्भोग गर्न थाले,
यसपटक हतार थिएन त्यहाँ
त्यो चरा यसरी लिप्त भयो,
मानौ यो उसको अन्तिम सम्भोग थियो!
यता म आफ्नो जीत कल्पिरहेथेँ
तर जसै सम्भोग सकियो, उसलाई फेरी भाग्नुनै थियो ।
कुनैदिन उसले भाग्न खोज्दा पिँजडाका बारहरूमा हिर्काएँ
कुनैदिन कोठामा त्यही प्रजातीको अर्को चराको मासु पकाएर खाएँ
कुनैदिन कोठामा ठूलो चिल ल्याएर छोडिदिएँ
कुनैदिन भोकै राखेँ, कुनैदिन टन्न खानदिएँ
निकै दिन यही शृंखला चल्यो
साम दाम दण्ड भेद भय केही सीप नचलेपछि
मलाई वाक्क लाग्यो,
र, मैले पिँजडाको ढोका खोलिदिएँ
यसपटक ऊ त्यहाँबाट निस्किएन !
पिँजडा फोड्न लामो संघर्ष गरेको चरा
पिँजडाको ढोका खुल्लै हुँदा पनि, त्यहँ बसिरहेको छ !
तिम्रो स्वतन्त्रताको परिभाषा के हो ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।