मोहित जोशी

केही दिन भयो कविता लेख्न नसकेको;
कविता लेख्न बस्ने ठाउँ माथिको छत चुहिने भएको छ
र हरेक पटक कविता लेख्न बस्दा कागज भिजाइरहेछ।
भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन
तर मलाई कुनै मिस्त्रीको नाम वा सम्पर्क पनि त थाहा छैन !

इतिहास र वर्तमानका सयौं
दार्शनिक, शासक वा कविलाई चिन्छु म
स्कुलले पनि मलाई तिनकै मात्र जीवनी पढायो,
तर एउटा सत्य यो पनि हो :
प्लेटो, जंगबहादुर वा देवकोटा
कोही पनि अहिले मेरो छत टाल्न सक्दैनन्
भोलि मलाई कविता लेख्न सघाउन सक्दैनन्।

बेबिलोनको अनुहार पटक-पटक भत्काइयो;
हरेक पटक त्यो अनुहार सुन्दर बनाउन घोटिएका हात कसका थिए?
मलाई थाहा छैन
मलाई केवल पिरामिड थाहा छ
तर इँट्टाहरूको थुप्रोलाई पिरामिड बनाउन
घनभन्दा बढी बजारिएका औँला कसका थिए?
मलाई थाहा छैन!

मलाई त आजसम्म ताजमहल
शाहजहाँले मुमताजका लागि बनाएका हुन् भन्ने थाहा थियो
मलाई त आजसम्म रोमको कोलोसियम
सम्राट भेस्पासियनले बनाएका हुन् भन्ने थाहा थियो
मैले भर्खर मात्र थाहा पाएको छु
म बसिरहेको मेरो आफ्नो घर मैले बनाएको होइन रहेछु
भोलि मलाई आफ्नो कविता लेखनीमा कुनै अड्चन चाहिएको छैन
तर मसँग कुनै पनि मिस्त्रीको न नाम छ; न सम्पर्क
बस छन्, दुई-चार थान मिस्त्री र मजदुरीबारे कविताहरू
जुन स्वयम् मैले नै लेखेको हुँ।

सायद मेरै कविताको मिस्त्रीको आँशु हो,
छतबाट तपतप चुइरहेको यो पानी,
मलाई कविता लेख्नबाट रोकिरहेको!
***

धनगढी, कैलाली
हाल: पुल्चोक क्याम्पस