एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – रोशन परियार ।
प्रस्तुत छ, रोशन परियारसँग गरेको कुराकानी :
विगत लामो समयदेखि धनकुटामा बसेर कविता लेखिरहनु भएको छ । नेपाली कवितामा जातीय मुद्दा, लैङ्गिक मुद्दा, नारीवाद, सामाजिक सांस्कृतिक मुद्दाहरू टड्कारो रूपमा आइरहेको यो अवस्थालाई कसरी हेर्नुभएको छ ?
– कविता युगसूचक र युगसम्बोधक दुवै हो भन्ने मेरो नितान्त व्यक्तिगत बुझाइ रहेको छ । यस अर्थमा पनि हजारौँ वर्ष पहिलेदेखि जातीय विभेद भोगेर अर्धजीवन बाँचिरहेका मानिसहरूको हातमा कलम पर्नु र विभेद विरुद्धका कवितालाई हतियार बनाएर अधिकार स्थापनार्थ कविता लेखिनुलाई अत्यन्त सह्रानीय रूपमा लिएको छु मैले । लिङ्गकै आधारमा गरिने असमान व्यवहारको चर्को दबाब सहेर बाँचिरहेका मानिसहरूको समानताका लागि कविताहरू असमान व्यवहारका विरुद्धमा आँधीको आवाज बनेर गर्जिनु र एउटा आवाज मैले पनि मिसाउन पाउनु खुशीको कुरा हो ।
पुरुषवादी प्रवृत्तिले हाँकेको समयलाई शोषित, पीडित र दमित नारीहरूको सशक्तिकरणका लागि कविताका एक एक अक्षर, शब्द र पङ्क्तिहरूमा विद्रोहका बारुद भरिएर पड्कनुलाई मैले परिवर्तन र त्यस पछिको रूपान्तरणका हिसाबले नारीवादका कविताहरू युगसापेक्ष आइरहेको कुरालाई अति उच्च सम्मानका साथ हेरेको छु र आउन जरुरी हो भन्ने कुरामा मेरो जोड रहेको छ । बहुसांस्कृतिक हाम्रो समाजमा धर्म, चाडपर्व, भाषा, भेषभूषा, परम्परागत मूल्यमान्यता, रीतिरिवाज, चालचलन तथा भौगोलिक विविधतालाई समेत आत्मसात् गर्नका लागि अथवा एकले अर्काको पहिचानलाई स्वीकार्न साथै समाजलाई सही दिशानिर्देश गर्न पनि सामाजिक विकृति र विसंगति तथा सांस्कृतिक स्थायित्वका लागि कविता लेखिनु पर्छ भन्ने पक्षमा राख्छु आफूलाई म । हाम्रो मौलिकपन नै हाम्रो नेपालीपन हो र यो नेपालीपन हाम्रा कविताहरूमा बाँचिरहने छ भन्नेमा आशावादी छु म ।
अहिले जसरी नेपाली कविता लेखिइरहेको छ, तपाईं सन्तुष्ट हुनुहुन्छ ?
– मैले सास फेरिरहेको समयमा लेखिइरकेका कविता पढेर मैले भोक मेटेको छु । भोक लागेको बेलामा मैले रुचाएको भोजन नपाउन सकुँला तर अघाउनका लागि अपुग पनि छैनन् अहिलेका कविता । उसो त म एक काव्य साधकको हिसाबले यसरी कवितामाथि बोल्ने साहस गर्नु पनि कमजोरी हो मेरो, म स्वीकार गर्छु । कविताको विराटतालाई खुम्च्याउने अधिकार पनि छैन मलाई, माफी चाहन्छु ।
बाढी आएपछि नै हो नदी धमिलो बग्ने । कवितामा बाढी आएको निकै सुन्दर समय हो यो । बाढी रोकिएपछि धमिलो पानी आफैँ किनारा लाग्नेछ अथवा घडीका काँटाहरू जस्तै लाग्छन् अहिलेका कविताहरू मलाई । घण्टा, मिनेट र सेकेन्ड जस्ता । म आफैँ कुन काँटामा पर्छु ? मलाई अनुमान छैन या त समयले बताउला नै ।
के कविता प्रोफेशन बन्न सक्छ ?
– कविता प्रोफेशन बन्न सक्छ यदि राज्य यसको पालक र संरक्षक बन्यो भने । औँलामा गनिने साहित्यिक संस्थाहरूले कविताको ब्रह्माण्डलाई थेग्न अप्ठ्यारो छ तर असम्भव छैन यदि राज्य जग बनेर बस्यो भने ।
पूर्व त कविताको राजधानी नै भनिन्छ, त्यो ठाउँमा बसेर कविता लेखिरहँदा देशको राजधानी काठमाडौंबाट एपेक नेपालले समकालीन पुस्ताको प्रतिनिधिको रूपमा कोशी प्रदेशबाट यहाँलाई आमन्त्रण गर्दा कस्तो अनुभूति भइरहेको छ ?
– यो बडप्पनका लागि प्रश्नकर्तालाई हार्दिक धन्यवाद । पूर्वमा केही कविता बढी लेखिए होलान् तर बढी लेखिनुको मतलब ‘राजधानी’ भनिनु होइन कि ? कवितालाई चार किल्लाले नघेर्ने तथा भूगोलको धागोले नबाँध्ने हो भने प्रकाश रम्घाली, विपी अस्तु, खेम बतास, प्रज्वल अधिकारी, रामगोपाल आशुतोष, जनक कार्की, असिम सागर, चन्द्र जिएम, रोशन पुन, काशिराम बजगाईं (देवव्रत), कल्पना जोशी, अनिता न्यौपाने, शान्तिप्रिय बन्दना, मनोज लोहार, कृष्ण विश्वकर्मा, हेमप्रकाश मञ्जिल, रसिक राज, राजु झल्लुप्रसाद, एलिसा एकलास, अस्मिता वादी, विक्रम पवन परियार, रेणुका जिसी, मौन आवाज, सुमिना, राधिका कल्पित, जीवन खत्री, हेमन्त गिरी, लिली अधिकारी, कृष्ण कञ्चन, रोशन तिमिल्सिना, शेखर विकल्प, सुरज राना, अमृत क्षेत्री, अमृता स्मृतिलगायतका अन्य धेरै (यत्तिबेला मैले नाम सम्झिन नसकेका) कविहरू यही देशको बगैँचामा कविताको फूल फुलाइरहेछन् भन्नेमा गर्व गर्छु म ।
“त्यो (पूर्व) ठाउँमा बसेर कविता लेखिरहँदा देशको राजधानी काठमाडौँबाट” प्रश्नमा रहेको यही वाक्यले मलाई उत्तर दिन गाह्रो र गम्भीर सोचमा पारिदियो कि आज पनि ‘मोफसल’ जिउँदै रहेछ ।
एपेक नेपालले कविताका लागि यस कार्यक्रमभन्दा पहिले नै गरेका केही कार्यक्रमहरू उत्कृष्ट र उदाहरणीय रहेको जानकारी छ मलाई । नेपाली कविताको श्रीवृद्धिका लागि एपेक नेपालले पुर्याएको योगदान पक्कै पनि नेपाली साहित्यको इतिहासमा अभिलेखीकरण हुनेमा म विश्वस्त छु । समकालीन पुस्ताको प्रतिनिधित्व गर्दै एपेक नेपालको आयोजनामा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८१’ को आँगनमा उभिन पाउने खबरले हर्षित छु । एपेक नेपालप्रति कृतज्ञ छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।