“यो संसारमा कविता बाँचिरहनु पर्छ र कविता बाँच्नु भनेको मानवता बाँचिरहनु हो” यो भनाइ पछिल्लो समय शसक्त रुपमा कवितामा कलम चलाइरहनु भएका कवि प्रज्वल अधिकारीको हो ।

आफ्नो पहिलो अन्तराष्ट्रिय कविता प्रस्तुतिका लागि युएई आइपुग्नु भएका कवि अधिकारीले आइतबार दुबईमा आयोजित “कविता समारोह युएई २०२३” मा बोल्दै सो कुरा बताउनु भएको हो । प्रवासमा रहेर विविध अप्ठ्यारोहरुका बाबजुद पनि नेपाली भाषा साहित्यको सेवामा यसरी लाग्नु ठुलो कुरा भएको भन्दै कवि अधिकारीले युएईका नेपाली सर्जकहरुको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गर्नुभयो ।

प्रवासमा नेपाली साहित्यिक गतिविधिका हिसाबले युएई अग्र स्थानमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । कविता समारोहमा सहभागी हुन कवि अधिकारी गत शुक्रबार युएई आइपुग्नु भएको थियो । कार्यक्रमसँगै युएईका विभिन्न स्थानको घुमघाममा व्यस्त रहनु भएका कवि अधिकारी पौष २६ गते मङ्गलबार नेपाल फर्किने कार्यक्रम रहेको छ । लमजुङको दुराडाँडामा जन्मनु भएका कवि अधिकारी लामो समयदेखि काठमाडौँमा बस्दै आउनु भएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको कवितामा समारोहमा कवि अधिकारीलाई प्रमुख अतिथि कविको रुपमा निमन्त्रणा गरिएको थियो ।  समारोहमा दुई चरणमा गरी कवि अधिकारीले आफ्ना १० ओटा कविता सुनाउनु भएको थियो।

यसअघि सिर्जना वाचन डबलीले गजलकार डा. कृष्णहरि बराल, कवि नवराज पराजुली, गीतकार बादल घिमिरे, गीतकार विष्णु बाबु देवकोटा, गायक राज सिग्देल, सञ्चारकर्मी अच्युत घिमिरे, गजलकार प्रदीप रोदन लगायतलाई युएईमा निमन्त्रणा गरिसकेको छ ।

कार्यक्रममा युएईमा रहेर रोजगारीसँगै साहित्य लेखनमा सक्रिय रहँदै आउनु भएका करिब डेढ दर्जन सर्जकहरुको पनि विशेष प्रस्तुति रहेको थियो । नेपालबाट अतिथि कविका रुपमा अधिकारीलाई निमन्त्रणा गरेर कार्यक्रम गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँहरुले यस किसिमका कार्यक्रमहरुले प्रवासबाट नेपाली साहित्यको विकासमा थोरै भए पनि टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गजलकार विष्णु प्याकुरेल, कवि कृष्ण विश्वकर्मा, कवि डि एल घिमिरे, कवि मेघ प्रसाद धमला, कवि विवेक दुलाल क्षेत्री ‘दमक’, कवि हरिहर कँडेल, कवि प्रकाश निरौला, कवि आस्था निरौला, कवि संजिता खतिवडा, गीतकार जीरन थुलुङ राई, कवि सरु शीतल राई, मुक्तककार बिलासी मान्छे, गजलकार नकुल पौडेल, दिनेश भट्ट, गजलकार श्री भवानी नेपाल लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

आयोजक प्रतिष्ठानकी उपाध्यक्ष सरु शीतल राईको सभापतित्व र पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रदेश इन्चार्ज तथा गजलकार राज यात्री लम्साल र अन्तराष्ट्रिय नेपाली समाज युएईका महासचिव तथा गजलकार श्री भवानी नेपालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले नेपाली साहित्यिक गतिविधिका हिसाबले युएई पहिलेदेखि सक्रिय रहँदै आएको र आगामी दिनमा पनि यो क्रम जारी राख्न आग्रह गर्नुभयो ।

विविध कठिनाइका बिचमा रहेर छोटो समयको तयारीमै भए पनि कार्यक्रम गर्न सफल भएको र यस कार्यमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानका कला तथा संस्कृति विभाग प्रमुख तथा कार्यक्रम संयोजक डि के किराँतीले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम गर्न हौसला मिलेको बताउनु भयो ।

कार्यक्रममा गजलकार तथा व्यवसायी जे. सागर, उहाँका माता पिता छाँयादेवी पराजुली र चेतनाथ पराजुली, अन्तराष्ट्रिय नेपाली समाज युएईका अध्यक्ष मेघ प्रसाद धमला, पत्रकार महासंघ युएईका निवर्तमान अध्यक्ष लक्ष्मण खनाल, आयोजक प्रतिष्ठानका संस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण विश्वकर्मा, झापाली समाज युएईका अध्यक्ष अमर राई, अन्तराष्ट्रिय नेपाली समाज युएईकी सचिव साबित्रा अधिकारी, सामाजिक अभियानता नवराज पाण्डे, सबिता रिजाल पाण्डे, रमन सुवेदी, व्यवसायी तथा सामाजिक अभियानता कूल लेप्चा, NRNA मध्यपूर्व संयोजक मनोज गोर्खाली,  जनसम्पर्क समिति युएईका अध्यक्ष भुवानी प्रसाद तिमल्सिना लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका भाषा तथा साहित्य विभाग प्रमुख जीरन थुलुङ राईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रमका बिच प्रमुख अतिथि कवि प्रज्वल अधिकारीसहित एकसाथ ८ जना स्रष्टाहरुलाई “सगरमाथा साधना सम्मान २०२२” द्वारा सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा युएईमा रहेर लामो समयदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आउनु भएका कवि/कथाकार विवेक दुलाल क्षेत्री ‘दमक’, गायक/सङ्गीतकार/कवि दीपराज नेयोङ्हाङ, गजलकार/व्यवसायी जे. सागर र गीतकार जीरन थुलुङ राई रहनु भएको छ ।

त्यसैगरी हाल जापान बस्दै आउनु भएकी गजलकार कुसुम नेपाली ‘समर्पण’, नुवाकोट निवासी गजलकार/कार्यक्रम सञ्चालिका सुमित्रा सुमी र पोखराकी कवि/कार्यक्रम सञ्चालिका लिली अधिकारीलाई सो सम्मान प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमध्ये कवि/कथाकार दुलाल सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष, कवि/गायक नेयोङ्हाङ प्रतिष्ठानका कला तथा साहित्य विभाग पूर्व प्रमुख, गीतकार  राई प्रतिष्ठानका भाषा तथा साहित्य विभाग प्रमुख, गजलकार सुमी र नेपाली प्रतिष्ठानका केन्द्रीय सदस्य र कवि अधिकारी प्रतिष्ठानको गण्डकी पदेश समितिकी सचिव हुनुहुन्छ ।

यसैबिच कार्यक्रममा दुई साहित्यिक कृति लोकार्पण समेत गरिएको थियो । काठमाडौँ निवासी कवि तथा प्राज्ञ वसन्तराजअज्ञातको हाईकु सङ्ग्रह “साँझको जून” र हाल इजरायल रहँदै आउनु भएकी  कथाकार सुनिता कन्दङ्वा राईको कथा सङ्ग्रह “तिउरी” विमोचन गरिएको थियो ।

यसैबिच सोही समारोहमा “विश्व राष्ट्र-गान अभियान” मा हिँड्नु भएका राम जि नेपालीलाई विशेष सम्मान गरिएको थियो । दोसल्ला ओढाएर उहाँलाई मायाको चिनो प्रदान गरिएको थियो ।  विश्वका १ सय ५० देशका राष्ट्रिय गान त्यही देशको भाषामा गाउँदै हिँडेका नेपाली यतिबेला युएईमा आइपुग्नु भएको छ। अहिलेसम्म ८ ओटा देशमा उहाँ पुगिसक्नु भएको छ । सोही अवसरमा उहाँको अभियानलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रममा स्वेच्छिक रुपमा विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा उपस्थितहरुमध्ये गोलाप्रथाका आधारमा तीन जनालाई ई-सेवा मनि ट्रन्सफरको तर्फबाट उपहार प्रदान गरिएको थियो । कविद्वय कृष्ण विश्वकर्मा, विवेक दुलाल क्षेत्री र गजलकार नकुल पौडेललाई  ई-सेवा मनि ट्रान्सफर युएईका रिलेशनसिप म्यानेजर ईश्वर अधिकारीले उपहार प्रदान गर्नुभएको थियो ।

युएईमै रहेको सिर्जना वाचन डबली र अन्तराष्ट्रिय नेपाली समाज (ईन्स) ले  प्रतिष्ठानले आयोजना गरेको सो कविता समारोहमा सह-आयोजकको रुपमा सहयोग गरेका थिए । कार्यक्रममा ई-सेवा मनि ट्रान्सफर युएई, हिमाल प्लानेट ट्राभल एण्ड टुरिजम युएई, घान्तुत नेपाली क्याफे र सयपत्री नेपाली रस्टुरेन्टको आर्थिक सहयोग रहेको थियो ।