त्यो बेला
हाम्रा लक्ष्य र उद्देश्य साझा थिए …
जस्तो कि-
परीक्षामा अनुत्तीर्ण हुन नपरोस्
कक्षाको अन्तिम बेन्च हाम्रा लागि खाली होस्
प्रोफेसरहरूको नजर हामीमा नपरुन्
युवतीहरूका नजर हामीमा मात्र परुन्
शनिवार छिट्टै आओस्,
हामी घुम्ने ठाउँ एउटै हुन्थे र सँगै हुन्थे
जोक सुनाउने, उडाउने, हाँस्ने
कागजमा भरेर गरिने सेयर
होस् या नोटबुकको सेयर
या होस् ग्लास भरेर गरिने चेयर्स – हु केयर्स ?
सबाल्टर्न, डिकन्स्ट्रक्सन, मार्क्सिजम, सब्लाइम
किट्स, फुको, नित्से, डेरिडा
इनलाइटनमेन्ट, फेमिनजम, हिस्टोरिसिजम
जिन्स्बर्ग, फ्रायड, जँग, इलियट- वि इडियट !
नाटक, गीत, कविता
उपन्यास, सिद्धान्त, दर्शन
भाषा, व्याकरण, वर्णविन्यास
सनेट, महाकाव्य, गजल- वि पजल !
त्यो दिन, अन्तिम दिन, भाइवाको दिनसम्म पनि
हाम्रा इच्छा एउटै थिए,
जस्तो कि-
बडे बडे प्राडाहरूले थेसिसको कुनै कुनाको
शब्दको अर्थ सोधेर र्याख र्याख नपारुन्,
चाहिने जति अंक सोधेर थपिदिउन्,
र, चाहिएको डिभिजन आओस् ।
त्यही दिनबाट हो-
फरक फरक भएका हाम्रा लक्ष्य र उद्देश्य…..
जस्तो,
विदेश कि स्वदेश- कहाँ बस्ने ?
स्कूल कि कलेज- कहाँ पढाउने ?
कन्सलटेन्सी कि मन्टेस्वरी- के खोल्ने ?
निजामती कि जागिरे- के हुने ?
कविता, रिपोर्ट, हाजिरी- के लेख्ने ?
बेरोजगार कि रोजगार- के बन्ने ?
आज,
विदेश गएको भन्दैछ- कहिले देश फर्कुँ ?
यहाँ भएको भन्दैछ- कहिले देश छोडुँ ?
निजामतीलाई डर छ- अख्तियारसँग,
कन्सल्टेन्सी, मन्टेस्वरीवाला- डुब्ने चिन्तामा छन् ।
आन्दोलनका लागि
कहिले उमेर कम हुन्छ- कहिले ज्यादा
दाइ ! हजुर ! हजुर ! गरेरै जुनी जाने भो- एउटा भन्छ,
हाकिमले आज फेरि हेप्यो यार ! – अर्को भन्छ ।
कहिलेकाहीँ ग्रुपकल हुँदा थाहा हुन्छ
ऊ उतै मोगेजले च्यापिएको छ
म यता ऋणले थिचिएको छु
जो जहाँ छन् कसैले भन्दैनन्- यहाँ ठीक छ
सबैले सबैलाई भन्छन्- तेरो पो ठीक छ त !
ओ विश्वभरि छरिएका मेरा साथीहरू हो !
छुट्टी मिलाएर आओ देश
यतिबेला मलाई
गज्जबको नन भेज जोक फुरेको छ …..



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










