यो बगरमा बालुवा निकाल्दा निकाल्दै कुनै दिन
निस्कियो भने मान्छेको कंकाल
नतर्सिनु! नडराउनु ! नभाग्नु !
बुझ्नु –
निकै समय पहिले यो बगरको छातीमा नदी बग्थ्यो
नदीको हृदयमा पौडिन्थे माछाहरू
नदीले निधारमा घामको टीका लगाएर पुग्थ्यो सागर छुन
सुन्दरीका गोडाका नङजस्तै गरी चम्किरहेका हुन्थे ढुङ्गाहरू पीँधमा
कहिले वारि त कहिले पारि छल्किन्थ्यो नदी
लाग्थ्यो-
कुनै युवतीले भर्खर नुहाएर आफ्नो कपाल फट्कार्दै छे
थाह पाउन खोज्नु-
कति समय पुरानो होला यो कंकाल
तिम्रो बाबु जति या तिम्रो हजुरबुवा जति ?
हेर्नू नियालेर उसको निधारको हड्डी र बुझ्नु – उसको भाग्य
हेर्नू उसका हातका हड्डी र थाह पाउनु – उसको जिन्दगीको रेखा
पटक्कै नडराउनु उसलाई देखेर
उ त तिम्रा पुर्खाहरूको बिरुद्द उभिदा उहिल्लै मरेको हो
हेर त उसका नलिखुट्टाका हड्डी कति मजबुद छन्
उसलाई ननिकाल्नु बाहिर
उसका आफ्नाले तिम्रो विरुद्धमा पनि धावा बोल्न सक्छन्
उसको तिर्खाएको घाँटीले खोज्न सक्छ पानी
बालुवा खाएर अघाएको तिमीलाई रिस उठ्न सक्छ
त्यसैले-
कसैले थाह नपाउने गरी किचिदिनु छपनीले
धेरै पहिले नदीको प्रेममा परेको उसले
नदीलाई अँगालो हालिरहेको मौका छोपेर
तिम्रा पुर्खाहरूले-
छातीमा टिपर कुँदाएर प्रेमको हत्या गरेका थिए
आज जहाँ उभिएर तिमी निकालिरहेछौ बालुवा
हिजो त्यहीँ सुनिन्थ्यो पानीको कलकल संगीत
पानीको संगीतमा नाच्थ्यो पुरै गाउँ
हरियो हुन्थ्यो फाँट र झुल्थे धानका बाला
नराख्नु त्यो बगरको नाम ‘तर्साउने नदी!’
बरू जतिसक्दो छिटो निस्कनु बालुवाको ढिस्कोबाट
डरले गोडा काँप्दा यहि बालुवाको ढिस्कोमा पुरियौ र
भोलि बाढी आएर निकालिदियो भने तिमीलाई बाहिर
कसैले फेरि भनिदिन सक्छ त्यो नदीलाई ‘तर्साउने बगर!’
रिसै रिसले मात्तिएर मार्न पनि नखोज्नु उसलाई
मरेकोलाई मार्नु सबै भन्दा ठूलो डर हो ।
(विजय हितानद्वारा लिखित ‘पर्यावरण सहिद’ कथाबाट उद्धृत)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।