शनिबार हामीले कलाका विविध आयामहरू पस्किरहेका छौँ । आजबाट भने हामीले संसारका प्रसिद्ध पेन्टिङ, आर्ट वर्कहरूका बारेमा शृंखलाबद्ध रूपमा पस्कने जमर्को गरेका छौँ ।
विभिन्न पुस्तकहरूमा आधारित रहेर यो शृंखला हामीले शुरू गरेका छौँ ।
यस सन्दर्भमा ऐतिहासिक कालक्रम अनुसारका भव्यतम कलाकृतिहरूलाई पस्किइने छ ।
पहिलो कला हामीले चीनको बेइजिङस्थित दरबार संग्रहालयमा राखिएको पुरानो चित्रका बारेमा यहाँ अवलोकन मात्र होइन, यसबारे सानो चर्चा पनि गर्नेछौँ ।
सिल्कको कपडामा चित्रांकित ‘चिङमिङ स्क्रल’मा १२ औँ शताब्दीको चीनको दैनिक जीवनको भव्य चित्र प्रस्तुत गरिएको छ ।
यो चित्रको नाउँ चिङमिङ किन राखियो होला भन्ने बारेमा विद्वानहरूको विभिन्न मत छ । केहीले भने त्यो बेला चीनमा मनाइने चिङमिङ जात्राका बेलाको चहलपहल उजागर गर्न यो नाम राखियो भन्छन् । किनभने सय दिने जाडो यामको अन्त्यपछि आफ्ना पितृलाई सम्झने चाडका रूपमा यसलाई लिइन्छ । यस चाडमा सर्वत्र रमाइलो वातावरण, सरसफाई र चहलपहलपूर्ण दैनिकी हुन्छ । तर यो चाड झल्काउन कागजी झकिझकाउका दृश्य नभएकाले महोत्सव झल्काउन यो चित्र बनाइएको होइन कि भन्ने आशंका गर्नेहरू पनि छन् ।
वैकल्पिक धारणा राख्नेहरूले भने चिङमिङको शाब्दिक अर्थलाई जोड दिन्छन् । चिङमिङको अर्थ उज्यालो-स्पष्ट या शान्तिपूर्ण र क्रमबद्ध भन्ने हुन्छ । शहरको भिडभाडपूर्ण ठाउँ भए पनि सबै शान्तिपूर्ण ढंगले क्रमबद्ध तरिकाले आफ्नै दैनिक जीवन गुजारिरहेको अर्थमा लिनेहरू पनि छन् । चित्रलाई ध्यानपूर्वक हेर्यो भने यसमा गरिब वा गरिबी भन्ने चिज देखिँदैन । सम्पन्नताको प्रतीकका रूपमा यो चित्रलाई लिन सकिन्छ । सबै किसिमका जातजातिका मानिसहरूको सम्मिश्रण यसमा देखिन्छ ।
पाँच मिटरभन्दा अलि बढी लम्बाई र साढे पच्चीस सेमी चौडाईको यो चित्र हेर्नका लागि पूरै हातभरि स्क्रोल खोल्नु पर्ने हुन्छ । पहिलेका चित्रहरू स्क्रोलमा बटारेर राखिन्थ्यो ।
यस चित्रलाई झाङ जुदुआनले बनाएका हुन् । उनका बारेमा भने उति धेरै जानकारी प्राप्त छैन । झाङले उत्तरी चीनको सङ राजवंशको शान्तिपूर्ण समयलाई इंगित गर्दै यो चित्र बनाएका हुन् ।
झाङले जीवनकालभरि कयौँ चित्र बनाएका भए पनि अन्य चित्रहरू अस्तित्वमा देखिएका छैनन् । उनको यही एक मात्र चित्र सुरक्षित रहेको देखिन्छ ।
चीनको हालको साङदोङ प्रान्तस्थित झुचेङमा जन्मिएका उनी चित्रकला अध्ययनका लागि त्यो बेलाको राजधानी बियानलियाङ पुगेका थिए । उनको कलाबाट मख्ख परेर त्यो बेलाका सम्राट हुइजोङले उनलाई दरबारको हानलिन एकेडेमीमा अध्यापन गराउने अवसर दिएका थिए । सम्राट हुइजोङले सन् ११०० देखि ११२६ सम्म शासन चलाएको इतिहासकारहरू बताउँछन् ।
हेर्नुहोस्, अद्भूत पेन्टिङः

यी चित्रको भव्यतम स्वरूप अझ विस्तृत र भव्यतम दृश्यको स्वाद लिन तलको तस्बिरमा क्लिक गर्नुहोस्ः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










