
साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्य पोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता आठ पुस्तक । सुवेदीको ‘द कलर अफ स्प्रिङ’देखि पाेखरेलकाे ‘एक एक पाइला’सम्म; पुस्तकको छोटो परिचयसहित;
१. सोनार बांग्ला – रामप्रसाद पन्त
दशकौँदेखि नेपाली भाषा-साहित्यमा निरन्तर साधना गरिरहेका वरिष्ठ स्रष्टा रामप्रसाद पन्तको एक्काइसौँ नियात्रा सङ्ग्रह हो । पुस्तकमा ‘हाथिर झिलको अवलोकन र क्वालिटी होटलको बास’, ‘ढाकेश्वरी दर्शन र बिदाईको उपक्रम’ लगायत ७ थान शीर्षकहरू, नियात्राकार पन्तको सङ्क्षिप्त परिचय, रामप्रसाद पन्तका अन्य नियात्राकृतिहरू समावेश छन् ।
“विश्वप्रसिद्ध कवि रवीन्द्रनाथ टैगोर, काजी नजरूल इस्लामको नाम सबैले श्रद्धापूर्वक लिने गर्छन् । बङ्गालको साहित्यिक, सांस्कृतिक, इतिहास धेरै पुरानो पनि छ । पाकिस्तानबाट स्वतन्त्र भएपछि जन्मिएको बङ्गलादेशलाई शुरुमै मान्यता दिने राष्ट्हरूमा नेपाल पनि थियो । त्यो ऐतिहासिक तथ्यलाई उनीहरूले पनि सम्मान गर्ने गरेको मैले पाएको छु । त्यसो त बङ्गाल र बङ्गाली जनतासँग हाम्रो पुरानै सम्बन्ध नभएको होइन । सार्क राष्ट्रको नाताले पनि हामी दुई देशको निकट सम्बन्ध छ नै । हाम्रा धेरै कुरामा समानता पनि छन् ।” भूमिकामा पवन आलोक लेख्छन्, “नियात्राकारले बङ्गलादेशको भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक र अन्य विविध पक्षलाई प्रस्तुत नियात्रामा विम्बात्मक र कलात्मक ढङ्गले पाठकसमक्ष राख्नुभएको छ । सुन्दर सरल भाषाशैली र केही नढाँटी सत्य वर्णन गर्नु सफल नियात्राकारका विशेषता हुन् । तेज स्मरणशक्ति समेत भएका लेखक पन्तमा यी सबै गुण र विशेषता पाइन्छन् ।”
पुस्तकलाई दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले बजारमा ल्याएको हो । ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय २५ रुपियाँ रहेको छ ।
२. एक एक पाइला – रेजु पोखरेल
कथाकार रेजु पोख्रेलको नवीनत कथासङ्ग्रह हो — “एक एक पाइला” । पुस्तकमा फेसबुक, नौगेडी, प्रविधि, लोभ, बुवाको मन, वैराग्य लगायत १७ वटा कथाहरू सङ्ग्रहित छन् ।
“जीवन हो जुनै बेला खुशी भैरहन सकिदैन । दिक्क लाग्दछ । रिस उठ्छ । माथि भनिएका झारहरू आफैभित्र पलाउँछन् । ती कुविचार र सुविचारको संयोजन नै मान्छे हो । विचारलाई अचार जस्तै बनाउन लेख्न जरुरी छ । लेखनमा लागेको हामीले यो भनिरहेका छौँ, भनिरहन्छौँ ।” प्रकाशकीयमा कमल ढकाल लेख्छन्, “रेजु मेमले पनि लेख्नु भयो । अरू मेमले कविता निकाल्नु भयो । उहाँले सुरुमै कथा लेख्नु भयो । यो पनि मेरो लागि अर्को खुशी हो । नाम जस्र्त फरक उहाँको यो कथा सङ्ग्रह उहाँले बुझेको बुझाइ हो । देखाइ हो । भोगाइ हो । सरल र सुललित लालित्य बोकेर आएको यो अक्षरको जुलुस भित्र तपाईं छिर्नु भएपछि तपाईं आफै हराउनु हुनेछ । निक्कै बेर म पनि हराए । पात्रहरूले मनका पत्रपत्र केलाए । ति पात्रको बारेमा सोचदा सोच्दै समय नै घर्किन्छ । कथाले त्यहीँ गर्नु पर्दछ जो यो कथा संग्रहले गरेको छ ।”
१ सय ३० पृष्ठमा फिँजिएको, सिमल बुक पब्लिकेशनद्वार प्रकाशित यस पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
३. शब्द ब्रह्म – लक्ष्मी रायमाझी
कवि लक्ष्मी रायमाझीकृत मुक्तकसङ्ग्रह हो — “शब्द ब्रह्म” । नेपाल मुक्तक प्रतिष्ठानले बजारमा ल्याएको हो । यसमा २ सय ५२ भावमय मुक्तकहरू समावेश छन् ।
पुस्तकको पछिल्लो पृष्ठमा उषा शेरचन लेख्छिन्, “मुक्तक कविताको लघुतम रूप अन्तर्गत पर्ने अत्यन्तै प्रभावकारी, सम्प्रेषणीय श्रुति मधुर काव्यविधा हो । मुक्तक साहित्यको लघुतम काव्यात्कम संरचना भए तापनि एउटा सानो अर्थात् चार लाइनको मुक्तकभित्र सिङ्गो ब्रह्माण्ड अटाउन सक्ने आफैँमा एउटा पूर्ण काव्यविधा पनि हो ।
सत्य शब्दको प्रहारले ब्रह्म छुन्छ
उसैमा आधारित ब्रह्माण्ड जुन छ
ज्ञानमय ज्योति बन्छ दिव्यताको
चैतन्यमा अटल शक्तिमान हुन्छ ।
मुक्तककार लक्ष्मी रायमाझी बहिनी स्वयंको मुक्तकले “शब्द ब्रह्म” कृतिको परिचय स्वयं दिएरहेको भान भयो ।”
पुस्तकको पछिल्लो कभर पृष्ठमा प्रा. डा. भीमखतिवडा लेख्छन्, “हामी पेतका लागि बाँचिरहेछौँ । पेट टाउकाको लागि बाँचिरहेको ठान्छ । टाउको नामका लागि बाँच्न खोज्छ । नाम मृत्युपर्यन्तको कीर्तिको भोकले पेटसँग सम्झौता गरिरहन्छ । विसङ्गत परिवेश देख्ने त बाहिरी आँखाले हो, असङ्गत वर्तमानमा सङ्गति खोज्नलाई चेतनाका आँखाले हेर्न सक्नुपर्छ । असहजता पाइलापाइलामा छ नजान्दा र जान्दा हरपाइलामा सहजता छ । हो, यिनै जीवनका अमिल्दा वर्णविन्यासलाई स्रष्टा लक्ष्मीले शब्द ब्रम्हमा मिलाउने प्रयत्न गरेका पाएँ । साँच्चै जीवनलाई हेर्ने विवेकका नजरको निक्कै अनिकाल छ आज । शाब्दिक प्रहारको सतहबाट मुक्तकलाई अभिव्यञ्जनापथसम्म पुर्याएर सामाजिक जागृति र मानवीय चेतनाको उद्बोधन गर्नमा लक्ष्मी (कलम)लाई सफलता मिल्ने विश्वाससहित हार्दिकी शुभाशंसना ।”
८४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
४. युगारम्भ – विजय खरेल
विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा विजय खरेलद्वारा लिखित, वी रिडद्वार प्रकाशित पुस्तक हो — “युगारम्भ” । सोह्र भागमा विभाजित प्रस्तुत उपन्यसमा पहाडी र मधेसी मूलका युवायुवतीबीच वैवाहिक सम्बन्ध गाँसिएको प्रसङ्ग मुख्य रूपमा पाइन्छ ।
‘दुई संस्कृतिको सङ्गम’मा डा. ठाकुरप्रसाद पोखरेल लेख्छन्, “उपन्यासमा दुई संस्कृति, दुई भूगालबीच भएको वैवाहिक सम्बन्धले मधेसमा रहेको दाइजो प्रथालाई अन्त्य गर्नुपर्छ भन्ने कुरालाई महत्त्व दिएको छ । नारी-पुरुषबिच मन मिले जात, वर्ण र वर्णजस्ता कुराहरू समाप्त हुनेछन् भन्ने सन्देश उपन्यासमा छ । समाजका हुनेखानेहरूमा रहेको उच्च अहमकै कारण संस्कृतिले विकृतिलाई अँगालेको छ । छुवाछुतको पर्खालले कोहीलाई उच्चताभास गराएको छ भने अधिकांशलाई हीनताबोधको सिकार बन्न बाध्य गराएको छ । एउटै जात र वर्गका व्यक्तिहरूमा पनि छोरा हुनेहरूको व्याघ्र गर्जनले छोरी हुनेहरू हीनताभास गरिरहेका हुन्छन् । काशीरामले रकमसहित सामानको माग राख्दा किशोर गुप्ताको मानसपटल भुईंचालोले थङ्थिलो बनाएको पहाडजस्तो अस्तव्यस्त हुन पुग्छ । आफ्नै छोरी केटीका रूपमा देख्दा चिन्न सक्दैनन् । सुकन्याले केटा पक्षलाई जिस्क्याउँदा माधवी र किशोर दुवैले चुप लागे हुन्थ्यो जस्तो ठानेर हीनताबोधलाई देखाएका छन् । काशीरामको ‘हामी धेरै केही भन्दैनौँ आफ्नो विवेकले खानदानको इज्जत राखेर दिनुहोला’ भन्ने कुराले उच्चताभासको बोध गराएको छ । शेखरलाई बाबुले ‘माझीको ज्वाइँको मुख हेर्दिनँ, छोएको खान्नँ’ भन्नुमा जातीय अहम् रहेको छ । तराई मूलका मानिसहरूको पहाडप्रति रहेको नकारात्मक धारणा पनि उच्चाहम्कै परिणाम हो । यस्ता अहम्द्वारा सिर्जित द्वन्द्व सदाका लागि समाप्त भई मानवमा, समानता, भ्रातृत्व र स्वतन्त्रताको स्थापना हुनुपर्दछ भन्ने सन्देश उपन्यासले दिएको छ ।”
पुस्तक २ सय १५ पृष्ठमा फैलिएको छ ।
५. मेरी आमा – बुद्धिप्रसाद शर्मा रेग्मी
सल्यानको कुमाख गाउँपालिक, बडागाउँ-६ मा २००० साल असार १७ गते जन्मेका, सेवा निवृत शिक्षक बुद्धि प्रसाद शर्मा रेग्मीकृत महाकाव्य हो — “मेरी आमा” । यसमा मङ्गलाचरण, आमा र म, आमाका महिमा आदि शीर्षहरूबाट आफ्नी आमाको जन्मदेखि मृत्युसम्मका घटनाका वर्णन गरी मातृ भक्तिको सुन्दर उदाहरण प्रस्तुत गरिएको पाइन्छ ।
“संस्कृत काव्य शास्त्रमा दिएका महाकाव्यका लक्षणहरूमा आधारित भई यसको रचना गरिएको छ । यसकी प्रमुख पात्र अर्थात् नायिका उनकै आमा हुन् – तुलसी शर्मा । यो चरित्रप्रधान महाकाव्य उनको वरिपरि घुमेको छ । यो सर्ग बद्ध छ र विभिन्न छन्दहरूको प्रयोग गरेर लेखनले आफ्नो छन्द कविता लेखनको सामर्थ्य देखाएका छन् । यसमा सर्गान्तमा छन्द परिवर्तन गरिएको छ भने लेखककी आमाको जन्म थलोको प्राकृतिक वातावरण र सामाजिक जीवनको चित्रण छ ।” भूमिकामा चूडामणि बन्धु लेख्छन्, “महाकाव्यले कुनै गहन तथा गम्भीर विषयलाई लिएको हुनुपर्छ । यसमा आमालाई विषय बनाएको हुँदा यस महाकाव्यले आमाको महिमालाई सफलतापूर्वक प्रस्तुत गरेको छ । आमाका विषयमा नेपालीमा अनेक, महाकाव्य, काव्य र कविता लेखिएका छन् । यो पनि त्यसै श्रृंखलाको अर्को कृति हो । सबैका आ-आफ्नै सन्दर्भ र कथ्य फरक-फरक छन् ।”
१ सय ७४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
६. शुभारम्भका पाइलाहरू – गाेकर्ण मल्ल
आख्यानकार गोकर्ण मल्लको पहिलो उपन्यास हो — “शुभारम्भका पाइलाहरू” । ४ सय ८८ पृष्ठमा फैलिएको यस उपन्यसलाई ‘शुभारम्भ उन्मुख’, ‘खै ! लैनो हुन्छ कि मः म !’, ‘नयाँ डेरामा सर्दा’, ‘शुभारम्भको तर्फ’ लगायत ८२ वटा साना-ठूला खण्डहरूद्वारा तयार पारिएको छ ।
प्रकाशकीयमा लेखिएको छ, “यस पुस्तकमा शुभा र आरम्भका अलग अलग पाइलाहरूदेखि नयाँ जीवनको युगल पाइलाहरूको शुभारम्भ सँगसँगै सुनसानप्रायः मभ्यपहाडी गाउँ प्यारा भन्ज्याङको पुनःगुल्जारको शुभारम्भ हुँदासम्म भेटिएका, भोगिएका, सुनिएका र बुनिएका सुख, दुःख, सङ्घर्ष, तृप्त-अतृप्त चाहना, प्राप्ति-अप्राप्ति, प्रेम, ईर्ष्या, घृणा, लोभ, दया, माया जस्ता विभिन्न् अन्तर कथाहरू उल्लेखित छन् जसले यहाँहरूको मनलाई कुनै न कुनै किसिमको रस प्रदान गर्ने नै छ भन्ने विश्वास छ ।”
मेरा आद्यन्तका कुरामा लेखक लेख्छन्, “सपनामा मधेसदेखि मध्यपहाडीका गाउँबस्तीहरूका बाटाहरूमा पाइलाहरू चाल्ने शुभारम्भ गर है ! कताकताबाट भनेको सुनेर बिउँझेपछि नोटबुकमा २२ महिनासम्म भुलेर लेखेको उपन्यास ‘शुभारम्भका पाइलाहरू’ यहाँहरूसामु पेश गरेको छु । लेखिनेक्रममा गाउँबस्तीहरू, मेलापातहरू, खेतबारीका आली कान्ला गह्राहरू, बाटाका किनार र घुम्तीहरू, चियापसलहरू, नदीका किनार र कलकलहरू, वनपाखाहरू, पहाडका उकाली ओराली, भन्ज्याङ आदिमा देखिएका, भेटिएका, बोलिएका, पढिएका, सुनिएका, कल्पिएका, सम्झिएका र लेखिएका मनहरूप्रति श्रद्धा सुमन चढाउँछु ।”
डा. राजकुमार मल्लद्वारा प्रकाशित पुस्तकको मूल्य ७ सय ५० रुपियाँ रहेको छ ।
७. The Colours of Spring – Kuma Raj Subedi
अस्ट्रेलिया सरकारबाट सञ्चालित विश्वस्तरीय प्राविधिक विद्यालय टेफएसएका अङ्ग्रेजी भाषाका अध्यामक कवि कुमाराज सुवेदीको नवीनतम अङ्ग्रजी कविता सङ्ग्रह हो — “द कलर अफ स्प्रिङ’ । यसमा “The loneliness of a long-distance runner, shooting Stars, The assassination of Dreams, Nature, American River, To a Shadow, Eyes=Heart, Hallelujah !” लगायत ७७ कविता सङ्ग्रहित छन् ।
भूमिकामा याेग चन्द्र लेख्छन्, “Kuma is here to take the literary world by storm with his debut anthology of poems. His unique style of writing gives readers an intimate look into a variety of topics, from heartfelt love musings to thought–provoking reflections on life. This collection of his works brings together the finest of Kuma’s writing, offering an inspiring and captivating journey through the depths of his creative mind. With his unique style, he can capture eternity in the stories of everyday life. His songs are a reflection of this power, as they accurately express the shapes and images of life with an extraordinary level of detail. His writing is not only captivating but also timeless, making it relatable to readers of all ages. Through the power of language, these masterfully crafted words take us on a journey that is both unique & amp; familiar, and evoke curious feelings & emotions.
stars do not melt
nor do they freeze
they can barely fall
and they embrace self–demolition
in utter dismay
before hitting the ground
(shooting stars)”
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
८ . १०८ poems _ डा. यामबहादुर रोका
न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन, समाजसेवी तथा कवि डा. याम बहादुर रोकाकाे कवतिा सङ्ग्रह हो – “१०८ poems (volume ५)”. यसमा ‘Souvenir, Then You See Me, Precarious’, ‘The Happiness Series’भन्ने शीर्षकमा ५५ थान कविता, ‘The Broken Series’ भन्ने शीर्षकमा २५ थान कविता लगायत १०८ कविता समावेश छन् ।
पछिल्लो कभर पृष्ठमा सुमन पाेखरेल लेख्छन्, “Poet Yam Bahadur Roka is a fine blend of emotions with experiences of a Neurosurgeon and a common man. He creates poetry by melding the feelings together with his distinct tool of word crafting. His poetry is mostly motivated by a desire to reclaim the lost soul of humanity.
‘A Bubble of Hope’ भन्ने कविताकाे केही हरफ…
Flying above the memory slopes,
A bubble of hope,
Rushes to aims high above,
Yet unable to bear the wind,
It tires in vain to forgive kind,
Even as the breeze breaks it open,
A bubble of hope,
Tries to show the rainbow.
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ६८ पृष्ठमा रहेकाे छ यस पुस्तककाे मूल्य ४ सय रुपियाँ रहेकाे छ ।
(१ सय ८ कविताहरू समावेश गरी कुल ८ वटा कविता सङ्ग्रह छन् । )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
